कोरोना भाइरससम्बन्धी गण्डकी प्रदेशको अवस्था

  ०७६ चैत २७ गते

कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट जोगिन सरकारहरूले गरेका प्रयास तथा राहत वितरणलगायतका विषयमा इन्सेकका जिल्ला प्रतिनिधिबाट सूचना तथा समाचार प्राप्त भएका छन् ।

इन्सेक कास्की जिल्ला प्रतिनिधि सुशन घिमिरेका अनुसार कास्कीमा हालसम्म ८४ ओटा नमूना सङ्कलन गरी परीक्षण गरिएकोमा ७४ ओटाको नेगेटिभ र १० ओटाको रिपोर्ट आउन बाँकी रहेको छ ।

कास्कीमा ९६ जना होम क्वारेण्टाइनमा रहेका छन् । यसैगरी विदेशबाट आउनेको सङ्ख्या ३ सय ८९ रहेको छ ।

चार ओटा फिभर क्लिनिकबाट ११ जनाको फिभर जाँच गरिएको छ । कोरोना सङक्रमण फैलिन नदिन पोखरा महानगरपालिकाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हाइ प्रेसर वाटर स्प्रे मेशीन प्रदान गरेको छ ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यलाई उक्त मेशीन हस्तान्तरण गर्नु भएको हो । उक्त मेशीनबाट अस्पतालमा भित्रिने र बाहिरिने व्यक्ति तथा सवारी साधनलाई स्प्रे गरिने छ ।

इन्सेक गोरखा जिल्ला प्रतिनिधि हरिराम उप्रेतीका अनुसार चैत २७ गते गोरखा अस्पतालको फिभर क्लिनिकमा उपचार गराएका तीन जनाको स्वास्थ्य अवस्था सामान्य रहेकोले होम क्वारेण्टाइनमा बस्न सुझाइएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताउनु भयो ।

छिमेकी राष्ट्र भारतबाट आएका शहिद लखन गाउँपालिका-२ आरूबोट स्थित बालज्योति प्राविको क्वारेण्टाइनमा रहेका तीन जनाको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ ।

उनीहरूको रिपोर्ट भने आउन बाँकी रहेको जनस्वास्थ्य कार्यालय गोरखाका कारोना फोकल पर्सन नारायण अर्यालले बताउनुभयो ।

विदेशबाट फर्किएका सबैको परीक्षण गराउने तयारी भएपनि प्रदेशबाट घुम्ति टोली परिचालन भइसकेको छैन ।

जिल्लाका ११ ओटै स्थानीय तहहरूले मजदुरी गरेर छाक टार्दै आएका विपन्नको लगत सङकलन थालेका छन् ।

इन्सेक नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेका अनुसार चैत २७ गते कसैको पनि स्वाब परीक्षणको लागि सङ्कलन गरिएको छैन ।

जिल्लाको विभिन्न स्थानमा रहेका क्वारेण्टाइन होममा हाल नौ जना रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केशवप्रसाद चापागाईंले बताउनुभयो ।

उहाँका अनुसार हाल क्वारेण्टाइनमा रहेका सबैजना देश भित्रकै विभिन्न जिल्लाबाट आएका हुन् । कुल ८३ जना क्वारेण्टाइनमा बसेकामा ७४ जना घर फर्किसकेका छन् ।

जिल्लाका विभिन्न स्थानीय तहले किटनाशक औषधि छर्केका छन् । लकडाउन शहरी क्षेत्रमा कडाइका साथ लागु गरिएको भएपनि ग्रामीण क्षेत्रमा प्रभाव कम देखिएको छ ।

इन्सेक पर्वत जिल्ला प्रतिनिधि सन्तोष थापाका अनुसार पर्वतमा राहत वितरण अभियान भएसँगै भद्रगोल देखिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्वतले चैत २४ गते स्थानीयतहहरूलाई आपतकालिन अवस्थाका पीडित बाहेक अन्यलाई राहत वितरण नगर्न आग्रह गरेपनि स्थानीय तहहरूले उक्त आग्रह अस्वीकार गर्दै राहत वितरण कार्य धमाधम अगाडि बढाएका छन् ।

कोरोना सङ्क्रमणको सन्दर्भमा सावधानी नअपनाइ दुरी कायम नगरी राहत वितरण अभियान सञ्चालन गर्दा प्रहरी प्रशासनलाई समेत व्यवस्थापनमा समस्या उत्पन्न भएको छ ।

पर्वतमा हाल सम्म ५१ जनाको स्वाब परीक्षणका लागि पठाइएको छ । जसमध्ये ३३ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १८ जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला अस्पताल पर्वतका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर शिशिर देवकोटाले बताउनुभयो ।

चैत २७ गते कसैको पनि स्वाब सङ्कलन भएको छैन । पर्वतमा पनि र्‍यापिड टेष्ट गर्ने तयारी भएको र १ सय थान किट भित्रिएको डाक्टर देवकोटाले जानकारी दिनुभयो ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालको अध्यक्षतामा रहेको कमाण्ड पोष्ट समितिले सक्रान्तिको अवसरमा आयोजना हुने मेलाहरू सञ्चालन गर्न रोक लगाएको छ ।

नव वर्ष वैशाख सक्रान्तिको अवसरमा पर्वतमा कालीगण्डकीको तटमा पर्ने मोदीवेणी, सेतीवेणी, पुर्तिघाट, जैमिनीघाट, नयाँपुल, सहस्रधारा, वारिवेनी, मिलनचोक लगायतका स्थानमा स्नान गर्नेहरूको भिड लाग्ने गर्दछ ।

प्रसिद्ध मोदीवेणी र विश्वकै ठुलो शाल्रि्राम शिला रहेको सेतीवेणीमा ठुलो मेला आयोजन गर्ने प्रचलन समेत रहेको छ ।

त्यस्तै लकडाउनको फाइदा उठाउँदै खाना पकाउने ग्याँस बढी मुल्यमा बेचेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले चैत २७ गते जलजला गाउँपालिका-३ स्थित वारिवेनीमा व्यवसाय गरी बस्ने मिनप्रसाद रेग्मीलाई गिरफ्तार गरेको छ ।

वारिवेनीमा सञ्चालित दिप्सन मेटल स्टोर्सका सञ्चालक रेग्मीले उपभोक्तालाई बजार मुल्य भन्दा बढी रकम लिएर ग्याँस विक्री गरेको आरोप छ ।

नेपाल आयल निगमले ग्याँसको प्रति सिलिण्डर १ हजार ३ सय ७५ रुपियाँ तोकेको छ भने ढुवानी सहित भरी सिलिण्डरको १ हजार ४ सय रुपियाँ र आधा सिलिण्डरको ७ सय रुपियाँ तोकेको छ । व्यवसायी रेग्मीले १ हजार ७ सय रुपियाँ लिएर विक्री गरेको आरोप छ ।

पीडित उपभोक्ताले जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला प्रशासन कार्यालय पर्वतमा खरिद विल र लिखित उजुरी सहित गुनासो गरेपछि प्रहरीले व्यवसायी रेग्मीलाई पसल निजकैबाट गिरफ्तार गरेको हो ।

इन्सेक बागलुङ जिल्ला प्रतिनिधि सृजना पन्तका अनुसार नेपालमा पाचौँ कोरोना सङ्क्रमित बागलुङकी युवतीको स्वास्थ्य अवस्थाबारे गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी लिनुभएको छ ।

मुख्यमन्त्री गुरुङले चैत १५ गते कोरोना पुष्टि भएसँगै धौलागिरी अञ्चल अस्पताल बागलुङको आइसोलेशन वार्डमा उपचार गराइ राख्नुभएकी १९ वर्षीय युवतीलाई फोन गरी स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोविन्द नेपालीले जानकारी दिनुभयो ।

बेल्जियमबाट कतार हुँदै नेपाल आउनुभएकी युवतीले स्वास्थ्य अवस्था सामान्य रहेको मुख्यमन्त्रीसँगको कुराकानीमा जानकारी गराउनुभयो ।

मुख्यमन्त्री गुरुङले कोरोना सङ्क्रमित युवतीलार्इ पर्याप्त पानी खान सुझाव दिनुका साथै नआत्तिकन आइसोलेशनमा बस्न आग्रह गर्नुभयो ।

नेपाल सरकारले बागलुङ जिल्लामा कोरोनाको उच्च जोखिम बढेपछि कोरोनाको द्रुत परीक्षण (र्‍यापिड टेष्ट) गर्ने निर्णयसँगै चैत २७ गतेबाट बागलुङमा कोरोना परीक्षण सुरू भएको छ ।

बागलुङमा कोरोना परीक्षण गर्ने निर्णय भएको पाचौँ दिन चैत २७ गतेबाट कोरोना परीक्षण सुरू गरिएको हो ।

कोरोना परीक्षणका लागि सामग्रीसहित बागलुङ आउनुभएका स्वास्थ्य सेवा विभागका वरिष्ठ मेडिकल ल्याब टेक्निसियन धनप्रसाद पौडेलले चैत २७ गते बिहान बागलुङ, पर्वत र म्याग्दीका ल्याब टेक्निसियनसँग धौलागिरी अञ्चल अस्पताल बागलुङमा कोरोनाको नमूना परीक्षण गरेर बागलुङमा र्‍यापिड टेष्ट किटबाट कोरोना परीक्षणको सुरूवात गर्नुभएको धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.शैलेन्द्र पोखरेलले जानकारी दिनुभयो ।

कोरोनाको उच्च जोखिममा रहेको बागलुङमा र्‍यापिड टेष्ट सुरू गर्दा छिमेकी जिल्लाका ल्याब टेक्निसियनलाई समेत सहभागी गराउँदा उक्त जिल्लामा परीक्षणका लागि सहजता पुग्ने स्वास्थ्य सेवा विभागका वरिष्ठ मेडिकल ल्याब टेक्निसयन धनप्रसाद पौडेलले जानकारी दिनुभयो ।

'र्‍यापिड टेष्ट परीक्षण गर्ने र कोरोना भए/नभएको थाहा पाउने गरी ल्याब टेक्निसियनहरूलाई सिकाएको छु ।'-धनप्रसाद पौडेलले भन्नुभयो-'केही समय म र्‍यापिड टेष्ट गर्ने कार्यमा सँगै हुनेछु ।'

पौडेलका अनुसार १ हजार जनाको र्‍यापिड टेष्ट गर्ने किट, दुई थान अत्याधुनिक भेण्टिलेटर, १ सय थान पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पीपीई) र १ हजार थान मास्क समेत महाशाखाको तर्फबाट ल्याएर अस्पताललाई हस्तान्तरण गरेको जानकारी दिनुभयो ।

टोलीले चैत २७ गते अञ्चल अस्पतालमा कार्यरत तीन जना ल्याब टेक्निसियन तथा स्वास्थ्यकर्मीको नमूनाका रूपमा कोरोना परीक्षण गरिएको थियो ।

नमूनाको रूपमा परीक्षण गरिएका स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ आएको थियो । किटको सहायताबाट कोरोना परीक्षण गर्दा १५ मिनटमै कोरोनाको रिपोर्ट आउने छ ।

बागलुङमा कोरोना सङ्क्रमितको परिवार तथा बागलुङमा चैत १ गतेदेखि यता विदेशबाट आएकाहरूलाई पालैपालो परीक्षण गरिने छ ।

चैत २७ गतेदेखि ३० गतेसम्म बागलुङ नगरपालिकाका १ सय ९२ जना, २८ र २९ गते ढोरपाटन नगरपालिकाका र तमानखोला गाउँपालिकाका ७८ जना, निसिखोला गाउँपालिकाका १ सय ३ जना, बडिगाड गाउँपालिकाका १ सय ६१ जना, ३० गतेदेखि वैशाख १ गतेसम्म बरेङ गाउँपालिकाका ५६ जना, चैत ३० गते जैमिनी नगरपालिकाका ८६ जना, काठेखोला गाउँपालिकाका ५६ जना, गलकोट नगरपालिकाका १ सय २८ जना, ताराखोला गाउँपालिकाका ३३ जनाको परीक्षण गरिने गण्डकी प्रदेश स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।

र्‍यापिड टेष्टमा पोजेटिभ देखिएको अवस्थामा भने स्वाब सङ्कलन गरी पुनः परीक्षणका लागि पोखरा अथवा काठमाडौँ पठाइनेछ ।

इन्सेक तनहुँ जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार कोरोना भाइरस सङ्क्रमणको जोखिम कम गर्न सरकारले गरेको लकडाउनको कारण काम गर्न नपाउँदा दैनिक ज्यालादारी गरेर जीवन गुजारा गर्न बाध्य हुँदै आएका विपन्न समुदायका नागरिकलाई सरकारले स्थानीय तहमार्फत राहतको रूपमा खाद्य सामग्री उपलब्ध गराउँदै आएको छ । सबै स्थानीय तहमा राहत वितरण कार्य सुरू गरिएको छ ।

व्यास नगरपालिकाले पनि राहत सामग्री वितरणसम्बन्धी वितरण कार्यविधि २०७६ तयार गरी सबै वडामा राहत वितरण सुरू गरेको छ ।

टोल विकास संस्थाहरूसँग समन्वय गरी नगरपालिकाले वडा कार्यालयमार्फत राहत वितरण गर्दै आएको छ ।

यसैक्रममा व्यास नपा-१० को अधेरीभञ्ज्याङ टोलमा भने टोल भित्रका सबै घरधुरीले दामासाहीमा राहत भाग लगाएर लिएका छन् ।

विपन्न परिवारको नामावली सङ्कलन भएका परिवारले मात्र राहत पाउने भन्दाभन्दै पनि दबाब दिएर सरकारी राहत सबैले पाउनु पर्छ भन्दै जबरजस्ती भाग लगाउन बाध्य बनाएको टोल विकास संस्थाले जनाएको छ ।

वडा अध्यक्ष तुलसीराम सापकोटाले नगरपालिकाले पारित गरेको कार्यविधि विपरीत राहत भाग लगाएको बारेमा आफूले पनि धेरैपछि मात्र जानकारी पाएको बताउनुभयो ।

राहत वितरणको लागि सबै अधिकार वडाले टोल विकास संस्थालाई दिएको भन्दै उहाँले यसरी राहत भाग लगाउनु अहिलेको सङ्कटको समयमा राहतको दुरूपयोग र नगरपालिकाको नीति विपरीत भएपनि जनताले भाग लगाएर घरघरमा लगिसकेको राहत फिर्ता ल्याउन नसकिने बताउनुभयो ।

इन्सेक म्याग्दी जिल्ला प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार भारतबाट फर्केका बेनी नगरपालिकाका युवाको चैत २७ गते स्वाब परीक्षणका लागि पोखरा पठाइएको छ ।

जिल्लामा चैत २७ गतेसम्म तीन जना महिला र १५ जना पुरूष गरी १८ जना क्वारेण्टाइनमा रहेका छन् । आइसोलेशनमा कुनै बिरामी छैनन् ।

इन्सेक लमजुङ जिल्ला प्रतिनिधि दलबहादुर मजाकोटीका अनुसार जिल्लामा चैत २७ गते ५२ जनाले फिभर क्लिनिकबाट सेवा लिएका छन् ।

आज कव्होलासोथर गाउँपलिकामा दुईजना र सुन्दरबजार नगरपालिकामा ६ जना क्वारेण्टाइनमा बसेका छन् भने एक जना घर फर्केका छन् ।

चैत २६ गते मध्यनेपाल नगरपालिकाबाट सङ्कलित १५ जनाको स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ । जिल्लामा राहत वितरणको कम भइरहेको छ ।


इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखरा