कोरोना भाइरससम्बन्धी गण्डकी प्रदेशको अवस्था

  ०७६ चैत २६ गते

गण्डकी प्रदेशमा चैत २६ गतेसम्म कोरोना भाइरस परीक्षणका लागि २ सय ५९ जनाको नमूना सङ्कलन गरिएको छ ।

जसमध्ये १ सय ३५ ओटा नेगेटिभ, दुई ओटा पोजेटिभ र १ सय २२ ओटाको नतिजा आउन बाँकी रहेको छ ।

यस्तै पोखरा मालेपाटन कृषि तालिम केन्द्रको क्वारेण्टाइनमा रहेका १६ जना घर फर्किएका छन् ।

इन्सेक कास्की जिल्ला प्रतिनिधि सुशन घिमिरेका अनुसार क्वारेण्टाइनमा रहेका १६ जनाको रिपोर्ट नेगेटिभ आएपछि घर फर्काइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

पोखरा महानगरपालिकाको (अति विपन्न, दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्नेहरूका लागि) राहत कोषमा अहिलेसम्म ३ करोड ६४ लाख ७१ हजार ६१ रुपियाँ जम्मा भएको छ ।

हाफ र फुल प्याकेज गरी पोखरा महानगरपालिकाले ३३ वडाबाट १८ हजार ६ सय २० परिवारको नाम स्वीकृत गरी राहत वितरण थालिसकेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीका अनुसार हालसम्म पोखरामा लकडाउन अटेर गरी हिँडेका ३ हजार ५ सय ७७ सर्वसाधारण सचेतनामूलक जानकारी दिएर छोडिएको छ ।

यस्तै चैत २५ गते पोखराका मेट्रोसिटी र फेवासिटी अस्पतालले आकस्मिक स्वास्थ्य सेवामा प्रयोग हुने एम्बुलेन्स सेवाग्राहीले फोन गरेर बोलाउँदा सेवा दिन आनाकानी गरेको अभियोगमा नियन्त्रणमा लिइएका एम्बुलेन्सका चालकलाई प्रहरीले सचेत गराइ छाडेको छ ।

सर्वसाधारणलाई कोरोना सङक्रमणबारे शङ्का लागेमा घरबाटै चिकित्सकीय परामर्श लिन सहयोग पुर्‍याउने लक्ष्यका साथ सञ्चालित हेलो डाक्टर १०९२ कार्यक्रममा हालसम्म ५ सय २ जनाले चिकित्सकीय परामर्शसहितको सेवा लिएका छन् ।

इन्सेक गोरखा जिल्ला प्रतिनिधि हरिराम उप्रेतीका अनुसार भिमसेन थापा गाउँपालिकामा विदेशबाट फर्केका २६ जना सेल्फ क्वारेण्टाइनमा रहेको गाउँपालिका अध्यक्ष ईश्वर पाण्डेले बताउनुभएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यलयको स्रोतसाधन र प्राविधिकबाट स्थानीय तह र सबै सुरक्षा निकायको सहयोगमा सामूहिक क्वारेण्टाइनमा बसेकाहरूको तत्काल र होम क्वारेण्टाइनमा रहेकाहरूको स्वाब परीक्षणको लागि नमूना सङ्कलन गरिने जिल्ला प्रशासन कार्यालयका अधिकृत हर्क रोकाले बताउनुभयो ।

भिमसेन थापा गाउँपालिकाले १५ लाख ५० हजार रुपियाँको विपद व्यवस्थापन कोष स्थापना गरेको छ । कोषमा गाउँपालिकाले १० लाख रुपियाँ, प्रदेश सरकारले ५ लाख रुपियाँ र साधना लघुवित्तबाट ५० हजार रुपियाँ प्राप्त भएको गाउँपालिका अध्यक्ष पाण्डेले बताउनुभयो ।

उक्त रकम कोरोनासँग सम्बन्धित स्वास्थ्य सामग्री खरिद र विपन्न वर्गलाई राहत उपलब्ध गराउन खर्च गरीने उहाँले बताउनुभयो ।

गाउँपालिकाको ८ ओटै वडामा हृयाण्ड माइक उपलब्ध गराइ दैनिक माइकमार्फत कोरोना सम्बन्धित सचेतना दिइएको पाण्डेको भनाइ छ ।

इन्सेक नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेका अनुसार चैत २६ गतेसम्म कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा २० जनाको स्वाब परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईंले बताउनुभएको छ ।

उहाँका अनुसार हालसम्म विदेशबाट आएका १६ जना र उनीहरूको सम्पर्कमा आएका चार जना गरी जम्मा २० जनाको स्वाब परीक्षण गरिएको छ ।

कोभिड -१९ सँग मिल्दोजुल्दो लक्षण देखिएकाहरूको स्वाब सङ्कलन गरी परिक्षण गरिएको हो । चैत २६ गते जिल्लामा कोरोना परीक्षणको लागि कसैको स्वाब सङ्कलन गरिएको छैन ।

जिल्लामा २४ ओटा आइसोलेशन बेड रहेका छन् भने विभिन्न स्थानमा तयार गरिएका क्वारेण्टाइनमा ७ सय ५५ बेड रहेका छन् ।

सरकारले घोषणा गरेको लकडाउन बजार तथा शहरी क्षेत्रमा कार्यान्वयन भइरहेको भएपनि ग्रामीण क्षेत्रमा प्रभावकारी हुन सकेको छैन ।

ग्रामीण तथा राजमार्ग भित्री क्षेत्रमा सर्वसाधारणको चहलपहल पछिल्लो दिनमा केही बढेको देखिएको छ । कृषि बाली भित्राउन कृषकहरू ग्रामीण क्षेत्रमा आवतजावत गर्नुपर्ने भएकाले केही चाप बढेको भएपनि अन्य सर्वसाधारणहरूको समेत साँझको समयमा आवतजावत बढेको छ ।

जिल्लामा स्थानीय तहहरूले वडा तहबाट गरिब तथा विपन्न र ज्यालादारी गर्ने परिवारको नामावली सङ्कलन गरेसँगै राहत वितरण गरिरहेका छन् ।

हुप्सेकोट गाउँपालिकामा राहत सामग्री खरिद प्रक्रियामा विवाद हुँदा स्थानीयले केही समय राहत सामग्री रहेको गोदाममा गरेको तालाबन्दी सबै पक्षको छलफलपछि खोलिएको छ ।

चैत २६ गते वडाको सहजीकरणमा राहत सामग्री वितरण सुरू गरिएको गाउँपालिका उपाध्यक्ष कोपिला मल्लले जानकारी दिनुभयो ।

इन्सेक पर्वत जिल्ला प्रतिनिधि सन्तोष थापाका अनुसार जिल्लामा सर्वसाधारणले लकडाउनको पालना गरेपनि जनप्रतिनिधिहरूले भने राहत विवरण सङ्कलनका क्रममा स्थानीय तह स्थित कार्यालयहरूमा भिडभाड गरेर राहत विवरण सङ्कलन गरेका छन् ।

राहत वितरण अभियान चैत २६ गतेदेखि विहादी गाउँपालिका, मोदी गाउँपालिका र महाशिला गाउँपालिकामा सुरू भएको छ भने कुश्मा नगरपालिका, फलेवास नगरपालिका, जलजला गाउँपालिका र पैञ्यु गाउँपालिकाले कोरोना पीडितहरूको विवरण सङ्कलन कार्यमा नै व्यस्त रहेका छन् ।

प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले एक विज्ञप्ति जारी गरी राहत वितरण तथा सङ्कलन कार्यमा भिडभाड नगर्न अनुरोध गर्दै भिडभाड गरेमा र अनावश्यक तस्विरहरू सामाजिक सञ्जालमा राखेको पाइएमा कारबाही गर्ने चेतावनी दिनुभएको छ ।

महाशिला गाउँपालिकाले १ सय ५६ जना पीडितलाई पहिलोचरणको राहत वितरण गर्दैछ भने विहादी गाउँपालिकाले ५ सय ६७ परिवार र पैञ्यु गाउँपालिकाले ८ सय परिवारलाई राहत वितरण गर्नका लागि विवरण सङ्कलन गरेको छ ।

पर्वतमा चैत २६ गते विदेशबाट आएर होम क्वारेण्टाइनमा रहेका १८ जनाको स्वाब परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको कोरोना अस्थायी अस्पताल प्रमुख डाक्टर शिशिर देवकोटाले जानकारी दिनुभयो ।

चैत २५ गते पठाइएको नौ जनाको रिपोर्ट आज साँझसम्म प्राप्त नभएको डाक्टर देवकोटाले जानकारी दिनुभयो ।

इन्सेक बागलुङ जिल्ला प्रतिनिधि सृजना पन्तका अनुसार बागलुङको बरेङमा कैलालीका कोरोना सङ्क्रमित युवासँगै नेपाल भारत सिमा नाका गौरीफण्टा हुँदै आएका चार जना, सुनवल नाकाबाट आएका दुई जना, उनीहरूलाई लिन गएका दुई जना सहित बागलुङमा सङ्क्रमण पुष्टि भएका दुई जना गरी १० जनाको स्वाब परीक्षणको लागि पोखरा पठाइएको धौलागिरी अञ्चल अस्पताल बागलुङका निमित्त सुपरिटेण्डेण्ट शैलेन्द्र पोखरेलले जानकारी दिनुभयो ।

उनीहरूको रिपोर्ट चैत २७ गते आउने उहाँले बताउनुभयो । बागलुङका १० ओटै स्थानीय तहका जनप्रतिनिधिले होम क्वारेण्टाइनमा बस्न भनिएका विदेश र स्वदेशकै विभिन्न जिल्लाबाट गाउँ आएका व्यक्तिहरुको अनुगमन गरेका छन् । जिल्लासँगै स्थानीय तह प्रवेश गर्ने नाकाहरूमा थप कडाइ गरेर आवतजावतमा रोक लगाइएको छ ।

नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले कोरोना सङकटका बेला अझ सशक्त भुमिका खेल्न जिल्लाका पत्रकारहरूलाई आग्रह गरेको छ ।

चौतर्फी जोखिमपूर्ण अवस्थामा पनि पत्रकारहरूले अहिलेसम्म खेलेको भुमिकाको प्रंशसा गर्दै महासङ्घले बागलुङका दुई सङ्क्रमितको पुष्टिसँगै देशभरमै जोखिमपूर्ण जिल्लाको रूपमा देखिएकाले अझ बढी सम्वेदनशील र जिम्मेवारीपूर्ण भुमिका खेल्न आग्रह गरेको हो ।

इन्सेक तनहुँ जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार तनहुँमा चैत २६ गते कसैको पनि स्वाब परीक्षण गरिएको छैन ।

स्थानीय तहहरूले विपन्न नागरिकलाई राहत वितरणको कार्य जारी राखेका छन् । व्यास नपा-१३ मा विपन्न वर्गको लगत सङकलनमा छुट भएको स्थानीयले गुनासो गरेका छन् ।

स्थानीय बासिन्दा ईश्वरप्रसाद पाण्डेले लगत सङ्कलनमा वास्तविक विपन्नको नाम छुटाइएको बताउनु भयो ।

वडा सदस्य एकराज तिवारीले छुट भएको गुनासो आएमा पुनः नाम सङ्कलन गरेर राहत दिने बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले लकडाउनको पालना गर्न अनुरोध गरेको छ । सञ्चारकर्मीको लागि प्रेस काउन्सिलले जारी गरेको परिचय-पत्रको आधारमा सवारी साधन सञ्चालन गर्न दिने निर्णय भएको छ ।

इन्सेक म्याग्दी जिल्ला प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार म्याग्दी जिल्लाका करिब २ हजार ७ सय अति विपन्न तथा मजदुर परिवारलाई स्थानीय तहहरूले राहत वितरण गरेका छन् ।

जिल्लाका पाँच ओटा स्थानीय तहहरूले २ हजार ६ सय ८८ परिवारलाई रहत वितरण गरेका हुन् । चैत २६ गतेसम्म बेनी नगरपालिकामा १ हजार १ सय ७०, मङ्गला गाउँपालिकामा ४ सय ७३, धौलागिरी गाउँपालिकामा ६ सय १९, रघुगङ्गा गाउँपालिकामा ३ सय २६, मालिका गाउँपालिकाले ६ सय १९ गरी कुल २ हजार ६ सय ८८ परिवारले राहत प्राप्त गरेका छन् ।

जिल्लामा आज सम्म तीन जना महिला र ११ जना पुरुष गरी १४ जना क्वारेण्टाइनमा रहेका छन् भने १ सय ७३ बेडको क्वारेण्टाइन र ६ बेडको आइसोलेशन रहेका छन् ।

आइसोलेशनमा कुनै बिरामी छैनन् भने चैत २६ गते कसैको नमूना सङकलन गरिएको छैन । जिल्लाका स्थानीय तह र बेनी अस्पतालसँग गरी कुल १ सय ६९ थान पीपीई छन् ।

बेनी नगरपालिकामा १५, मङ्गला गाउँपालिका आठ, मालिका गाउँपालिका ६५, धौलागिरी गाउँपालिका आठ, रघुगङ्गा १६, अन्नपूर्ण ३९ र बेनी अस्पतालसँग १८ थान पीपीई रहेको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो ।

इन्सेक लमजुङ जिल्ला प्रतिनिधि दलबहादुर मजाकोटीका अनुसार चैत २६ गते लमजुङको मध्य नेपाल नगरपालिकाबाट १५ जनाको स्वाब परीक्षणको लागि सङ्कलन गरिएको छ ।

कोरोना भाइरसको त्रास र लकडाउनको समयमा नगरभित्रका स्वास्थ्य संस्थाले गरिरहेको सेवा प्रवाहका बारेमा बेसीशहर नगरपालिकाले अनुगमन सुरू गरेको छ ।

नगर प्रमुख गुमानसिंह अर्यालको नेतृत्वमा नगरपालिकाले नगरभित्रका स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र र वडा कार्यालयद्ववारा निर्माण गरिएका क्वारेण्टाइनका बारेमा अनुगमन सुरू गरिएको हो ।

अहिलेको अवस्थामा पनि सर्वसाधारण नागरिकले स्वास्थ्य संस्थाबाट सजिलै प्रभावकारी सेवा प्रवाह भए/नभएको, औषधि तथा उपकरणको अवस्था र दिनरात खट्ने स्वास्थ्यकर्मीको समस्या बुझ्न अनुगमन गरिएको नगरप्रमुख गुमानसिंह अर्यालले बताउनुभयो ।

यो अवस्थामा आपतमा परेका ज्यालादारी गर्ने मजदुरहरूले नगर प्रमुखलाई सिधै सम्पर्क गर्न सकिने व्यवस्था समेत गरिएको बेसीशहर नगरपालिकाका प्रेस संयोजक कृष्ण केसीले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यलयले दुधपोखरीको खाद्यान्न गुणस्तर अनुगमनको लागि प्रतिनिधि पठाएको सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले बताउनुभयो ।


इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखरा