कोरोना भाइरससम्बन्धी गण्डकी प्रदेशको अवस्था

  ०७६ चैत २५ गते

गण्डकी प्रदेश सरकारका सामाजिक विकास मन्त्री नरदेवी पुनले कुनै अस्पतालले बिरामीलाई उपचार नगराउने गरेको पाइएमा कडा कारवाही गरिने बताउनुभयो ।

उहाँले कोरोना सङ्क्रमित भएकाहरूका लागि ६ ओटा विभिन्न संस्थाहरूको एम्बुलेन्स तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो ।

इन्सेक कास्की जिल्ला प्रतिनिधि सुशन घिमिरेका अनुसार कास्कीमा हालसम्म ८४ जनाको नमूना सङ्कलन गरी परीक्षण गरिएको छ । जसमा ६६ जनाको नेगेटिभ आएको छ भने १८ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

कास्कीमा ११ ओटा क्वारेन्टाइनमा ४ सय ९३ ओटा बेड रहेका छन् । जसमा १९ जना क्वारेन्टाइनमा बसिरहेका छन् भने २ सय १६ जना होम क्वारेन्टाइनमा रहेका छन् । १ सय ११ ओटा आइसोलेशन बेड रहेकोमा सबै खाली रहेका छन् । फिभर क्लिनिक चार ओटा रहेका छन् ।

यस्तै कास्कीमा प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल, जिल्ला प्रहरी कार्यालय एसपी दानबहादुर कार्की लगायतको कोभिड-१९ सम्बन्धी जिल्ला कमाण्ड पोष्टले पोखराका ६ ओटा अस्पतालको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा पोखरा मनपा-८ मा रहेका मेट्रो सिटी र फेवा सिटी अस्पतालका आकस्मिक स्वास्थ्य सेवामा प्रयोग हुने एम्बुलेन्स सेवाग्राहीले बोलाउँदा विभिन्न बाहाना गरी सेवा दिन आनाकानी गरेकोपाइएको बताउँदै जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले मेट्रोसिटी अस्पतालको ग १ च ५४९२ र फेवासिटी अस्पतालको ग १ च २७१४ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिएको एसपी कार्कीले जानकारी दिनुभयो ।

पोखरा महानगरपालिकाले ३३ ओटै वडाका अति विपन्न, दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने १९ हजार ४ सय ४० परिवारलाई राहत वितरणथालेको प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिनुभयो ।

राहत उपलब्ध गराउन महानगरपालिकाले २ करोड ४८ लाख ५० हजारको राहत कोष बनाएको छ भने विभिन्न सङ्घसंस्था र व्यक्तिले हालसम्म १५ लाख रुपियाँ सहयोग गरेका छन् । प्रदेश सरकार गण्डकीले १ करोड रुपियाँ महानगरको कोषमा दिएको छ ।

प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले व्यक्ति र संस्थागत रूपमा अनुमति बिना राहत वितरण गरेको पाइएमा कडा कारवाही गरिने जानकारी दिनुभयो ।

उहाँले स्थानीय तह र प्रशासन कार्यालयको अनुमति बिना राहत वितरण गरेको पाइएमा नजिकैको प्रहरी कार्यलयमा खबर गरिदिन आग्रह समेत गर्नुभयो ।

इन्सेक गोरखा जिल्ला प्रतिनिधि हरिराम उप्रेतीका अनुसार गोरखा अस्पतालको फिभर क्लिनिकमा चैत २५ गते एक जना बिरामीको उपचार गरी स्वाब परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा पठाइएको छ ।

उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको गोरखा अस्पतालका सूचना अधिकरी कृष्ण ढकालले बताउनुभयो । हालसम्म अस्पतालमा उपचार गराउन आएका २२ जना बिरामीलाई होम क्वारेन्टाइनमा पठाइएको पनि उहाँले बताउनुभयो ।

त्यस्तै जिल्लाभर २ सय ८६ बेडको क्वारेन्टाइन निर्माण भएपनि यहाँ बस्नेको सङ्ख्या निकै न्यून रहेको पाइएको छ ।

हाल ६ जना मात्र मास क्वारेन्टाइनमा बसेका छन् । विदेशबाट फर्किएकाहरू समेत मास क्वरेन्टाइनमा बसेका छैनन् ।

धार्चे गाउँपालिकामा दुई, बारपाक सुलिकोटमा एक र शहिद लखन गाउँपालिकामा तीन जना गरी ६ जना मात्र क्वारेन्टाइनमा बसेका छन् ।

धार्चेको माछाखोलामा बसेका पाँच जना भने डिस्चार्ज भइसकेका छन् । जिल्लाभर भारतलगायत तेस्रो मुलुकबाट आएका ३ सय ९६ जना रहेको जिल्ला प्रशासनको तथ्याङ्कमा उल्लेख छ ।

ती मध्ये २  सय ६८ जना भारतबाट फर्किएकाहरू रहेका जिल्ला प्रशासन कार्यालयका अधिकृत हर्क रोकाले बताउनुभयो ।

'विदेशबाट आएकाहरू सेल्फ क्वरोन्टाइनमा बस्नुभयो । केहीले १४ दिन पनि पुरा गरिसक्नुभएको छ ।'-उहाँले भन्नुभयो-'अहिले १ सय ५१ जना होम क्वारेन्टाइनमा छन् ।'-स्थानीय तहका स्वास्थ्य इकाईसँगको समन्वयमा उनीहरूको स्वास्थ्य अवस्था बुझ्ने काम भइरहेको उहाँले बताउनुभयो ।

इन्सेक नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेका अनुसार चैत २५ गते दुई जनाको स्वाब परीक्षणको लागि पठाइएको छ । शहरी क्षेत्रमा लकडाउनको पालना भएको छ भने ग्रामीण क्षेत्रमा लकडाउन उल्लङघन हुन नदिन प्रहरी परिचालन गरिएको छ ।

इन्सेक पर्वत जिल्ला प्रतिनिधि सन्तोष थापाका अनुसार फलेवास नगरपालिका क्षेत्रमा विदेशबाट आएर होम क्वारेन्टाइनमा रहेका नौ जनाको स्वाब परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको कोरोना अस्थायी अस्पताल प्रमुख डाक्टर शिशिर देवकोटाले जानकारी दिनुभयो ।

चैत २४ गते पठाइएको नौ जनाको रिपोर्ट चैत २५ गते साँझसम्म प्राप्त नभएको डाक्टर देवकोटाले जानकारी दिनुभयो । पर्वतमा लकडाउनको पूर्ण रूपमा पालना भएको छ ।

इन्सेक बागलुङ जिल्ला प्रतिनिधि सृजना पन्तका अनुसार बरेङ गाउँपालिकामा भारतबाट आएका ६ जनासहित थप दुई जनाको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ ।

स्वास्थ्य कार्यालय बागलुङको टोलीले बरेङ गाउँपालिका-३ नयाँ बजारको जनता प्राथमिक विद्यालयको क्वारेन्टाइन र वडा नम्बर २ को सर्वोदय माविमा रहेको क्वारेन्टाइनमा रहेका मानिसहरूको स्वाब सङ्कलन गरिएको हो ।

कैलालीका कोरोना सङ्क्रमित युवासँगै नेपाल भारत सिमाको गौरीफण्टा नाका हुँदै आएका चार जना, अन्य नाकाबाट आएका दुई जना र उनीहरूलाई लिन गएका दुई जना गरी आठ जनाको स्वाब सङ्कलन गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताउनुभयो ।

उनीहरूको स्वाब परीक्षणको लागि चैत २६ गते पोखरा पठाइने उहाँको भनाइ छ ।

उनीहरूलाई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले जानकारी दिनुभयो ।

इन्सेक तनहुँ जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार गत फागुन २८ गते विदेशबाट घर आएका भानु नपा-९ बडहरेका ३८ वर्षीय एक युवालाई ज्वरो आउने, शरीर दुख्ने र खोकी लाग्ने भएपछि थप परीक्षणका लागि चैत २५ गते पोखरा पठाइएको छ ।

गत साता स्थानीय स्वास्थ्य चौकीमा उहाँको स्वास्थ्य परीक्षण गरिएको र निको भएर घर गएपछि पुनः ज्वरो आएपछि थप स्वास्थ्य परीक्षण र नमूना परीक्षणको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा पठाइएको भानु नपा स्वास्थ्य शाखाका प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिनुभएको छ ।

उहाँका परिवारका अन्य सदस्यलाई घरमै सुरक्षित क्वारेन्टाइनमा राखिएको भट्टराईले बताउनुभयो ।

सरकारले वैशाख ३ गतेसम्मको लागि लकडाउनको सिमा थप गरेपछि त्यसको पूर्ण कार्यान्वयनको लागि जिल्ला प्रशासन कार्यालय तनहुँले नागरिकलाई अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले चैत २५ गते प्रेस विज्ञप्ति प्रकाशन गरी लकडाउनको अवधिमा अत्यावश्यक काम बाहेक अन्य समयमा घर भित्रै बस्न अनुरोध गरेको छ ।

इन्सेक म्याग्दी जिल्ला प्रतिनिधि अमृत बास्कुनेका अनुसार जिल्लामा चैत २५ गतेसम्म तीन जना महिला र १२ जना पुरुष गरी १५ जना क्वारेनटाइनमा रहेका छन् भने १ सय ७३ बेडको क्वारेन्टाइन र ६ बेडको आइसोलेशन रहेका छन् । आइसोलेशनमा कुनै बिरामी छैनन् ।

म्याग्दी जिल्लाका २ हजार परिवारलाई स्थानीय तहले राहत वितरण गरेका छन् । म्याग्दी जिल्ला भित्रका १ हजार ९ सय ४० अति विपन्न तथा मजदुर परिवारलाई स्थानीय तहहरूले राहत वितरण गरेका हुन् ।

बेनी नगरपालिकामा ४ सय ७२, मङ्गला गाउँपालिकामा ४ सय २३, धौलागिरी गाउँपालिकामा १ सय, रघुगङ्गा गाउँपालिकामा ३ सय २६, मालिका गाउँपालिकामा ६ सय १९ गरी कुल १ हजार ९ सय ४० परिवारले राहत प्राप्त गरेका छन् ।

अन्य जिल्ला जान आउनका लागि पूर्णतया निषेधकै अवस्था छ भने एक स्थानीय तहबाट अर्को स्थानीय तहमा पुगेमा १४ दिन क्वारेन्टाइनमा बस्नै पर्ने नियम स्थानीय तहले बनाएका छन् ।

मुस्ताङमा कोरोना सङ्क्रमण फैलन नदिनका लागि उच्च सतर्कता अपनाइएको छ । विश्वभर महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)विरूद्ध ९३ ओटा बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ ।

थासाङ गाउँपालिकाको घाँसामा बनाइएको क्वारेन्टाइनमा विदेश र इन्डियाबाट फर्किएका सात जनालाई राखिएको मुस्ताङबाट प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले टेलिफोनमा जानकारी दिनुभएको छ ।

यसैगरी घरपझोङ गाउँपालिकामा सबैभन्दा धेरै ३९ बेड क्षमताको क्वारेन्टाइन बनाइएको उहाँले बताउनुभयो ।

थासाङ गाउँपालिकामा २५, उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा १४, बाह्रगुङ मुक्तिक्षेत्रमा १० र लो-घेकर दामोदरकुण्ड गाउँपालिकामा ५ बेड क्षमताको क्वारेन्टाइन रहेको प्रजिअ अर्यालले जानकारी दिनुभयो ।

त्यस्तै मुस्ताङका पाँच स्थानीय तहले सडक, बजार तथा बढि भीडभाड हुने ठाउँमा कोरोना भाइरसको किटाणु मार्ने किटनाशक औषधि मिसाइएको क्लोरिन पानी छर्किएका छन् ।

मुस्ताङका मुखियाहरूले पनि कोरोना भाइरस विरूद्ध सतर्कता अपनाउन कटुवाल प्रथामार्फत (घोक हालेर) सुरक्षित रहन स्थानीयलाई सचेत गराएका छन् ।

म्याग्दी र मुस्ताङको सिमानामा पर्ने मुख्य नाका घाँसा क्षेत्रमा नेपाल प्रहरी, नेपाली सेना, एक्याप र स्थानीयवासीको सहयोगमा मुस्ताङ प्रवेशमा रोक लगाइएको प्रजिअ अर्यालको भनाइ छ ।

त्यस्तैगरी मनाङको थोरङ्लापास क्षेत्र हुँदै मुस्ताङ प्रवेशमा पनि रोक लगाइएको छ भने प्रसिद्ध मुक्तिनाथ मन्दिरमा तीर्थयात्री र पर्यटकका लागि पुजाआजा बन्द गरिएको छ ।

स्वास्थ्यकर्मी तथा सुरक्षालाई आवश्यक पर्ने पीपीई, माक्स, पन्जा, सेनिटाइजरलगायत स्वास्थ्य सामग्रीको व्यवस्थापन सहित कोरोना भाइरस फैलन नदिन उच्च सतर्कता अपनाइएको प्रजिअ अर्यालले बताउनुभएको छ ।

यसैबीच लकडाउन हुनु पूर्व मुस्ताङ भ्रमणमा आएका विभिन्न देशका २६ जना पर्यटकहरू भने मुस्ताङमा नै रहेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।

उनीहरू आफ्नो देशभन्दा नेपालमा नै सुरक्षित हुने भन्दै मुस्ताङका विभिन्न होटेलहरूमा दुई तीन जनाका दरले बसेको उहाँले जानकारी दिनुभयो ।

मुस्ताङमा खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्रीहरू पनि पर्याप्त रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

लकडाउनको समयमा खाद्यान्न, औषधि र बिरामी बोकेका सवारीसाधन, एम्बुलेन्स र सुरक्षाका सवारीहरू भने चलेका छन् ।

यस्तै ज्याला मजदुरी गरेर खाने तथा विपन्न परिवारलाई राहत दिनका लागि स्थानीय तहले तथ्याङ्क सङ्कलन गरी राहत वितरणको काम अगाडि बढाएको जनाइएको छ ।

इन्सेक लमजुङ जिल्ला प्रतिनिधि दलबहादुर मजाकोटीका अनुसार लमजुङ जिल्लामा कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा द्रुत गतिमा काम भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले बताउनुभयो ।

तीन ठाउँमा सञ्चालन गरिएको फिभर क्लिनिकमा हालसम्म २ सय २६ जनाले सेवा लिएको प्रजिअ एवम् कमाण्ड पोष्टका संयोजक खड्काको भनाइ छ ।

बेसीशहर नगरपालिकाको जिल्ला सामुदायिक अस्पताल, सुन्दरबजार नगरपालिकाको नमुना सामुदायिक अस्पताल र दुधपोखरी गाउँपालिकाको गौंडा प्राथमिक स्वास्थ्य केन्द्रमा फिभर क्लिनिक सञ्चालन गरिएको छ ।

यसैगरी १० ठाउँमा सञ्चालन गरिएको हेल्थ डेस्कबाट अहिलेसम्म २० हजार ३ सय ८३ जनाले प्रत्यक्ष सेवा लिएको क्विक रेस्पोन्स टास्कका संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले बताउनुभयो ।

जिल्लाको प्रवेशद्वार सुन्दरबजारको पाउँदीमा स्थापना गरेको हेल्थ डेस्कमा सबैभन्दा बढी ११ हजार १ सय ८४ जनाले सेवा लिएको सहायक प्रमुख जिल्ला अधिकारी शाहीले बताउनुभयो ।

६ हजार ४ सय २३ विपन्न तथा मजदुर परिवारको लागि राहत वितरण गरिएको छ । जसमा १ लाख १० हजार केजी चामल, ८ हजार ३ सय ४ केजी दाल, ५ हजार ३ सय १९ लिटर तेल, ४ सय २६ केजी चिनी, ५ हजार ५ सय ४४ प्याकेट नुन र ५ हजार ५ सय ९० गोटा साबुन वितरण गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले बताउनुभयो ।


इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखरा