कोरोना भाइरससम्बन्धी कर्णाली प्रदेशको अवस्था (वैशाख १ गते)

  ०७७ वैशाख १

कोरोना भाइरस प्रकोप न्यूनीकरणका लागि जिल्ला-जिल्लामा भएका प्रयास सम्बन्धमा इन्सेकका जिल्ला प्रतिनिधिमार्फत प्राप्त सूचनाको आधारमा जिल्लागत अवस्था विश्लेषण यसप्रकार छ ।

इन्सेक हुम्ला जिल्ला प्रतिनिधि नन्द सिंहका अनुसार सिमकोट गाउँपालिका-२ की ३५ वर्षीया डल्ली सुनार स्वास्थ्य सेवा कार्यालयको प्रसुती गृहमा गर्भ जाँच गराउन आउने क्रममा बाटोमै सुत्केरी हुनुभएको छ ।

चैत ३० गते ठेहेमा रहेको घरबाट गर्भ जाँच गराउन सिमकोट आउने क्रममा सिमकोट गाउँपालिकाको वडा नम्बर ४ बुराउसे गाउँको बाटोमा एक्कासी ब्यथा लागेपछि बच्चा जन्मिएको सुत्केरीका आफन्त जसु परियारले बताउनुभएको छ ।

सुत्केरी भएकी सुनार दुई घण्टा पैदल हिँडेर आउनुभएको थियो । सुत्केरी भएको स्थान प्रसुतीगृहभन्दा आधा घण्टा टाढा रहेको छ । बच्चा जन्मिएको खबर पाउना साथ लकडाउनको कारण गाडी नचलेको भए पनि जिल्ला प्रशासनसँगको समन्वयमा बुराउसेसम्म गाडी र स्वास्थ्यकर्मी पठाएर उद्धार गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाकी सिनियर अनमी सरिता बोहराले बताउनु भयो । गाडीबाट सिधै आमा र बच्चालाई प्रसुती गृहमा ल्याइएको छ । बच्चाको अवस्था सामान्य भए पनि आमालाई केही असजिलो भएको बोहराको भनाइ छ ।

जिल्लाको दक्षिण भेगमा रहेको ताँजाकोट गाउँपालिकाले लकडाउन हुँदा आपतमा परेका गरिब विपन्न र श्रमिक परिवारलाई गाउँपालिकाले चैत ३० गते राहत उपलब्ध गराएको छ । गाउँपालिकाभित्र रहेका ३ सय घरपरिवारका १ हजार ८ सय ३८ जनालाई चामल, तेल, वितरण गरेको ताँजाकोट गाउँपालिका अध्यक्ष बागदल मल्लले जानकारी दिनु भयो । सम्बन्धित वडाहरूबाट तथ्याङ्क सङ्कलन गरेर आइतबार ९१ क्विन्टल ८० केजी चामल, ३ सय प्याकेट तेल वितरण गरको मल्लको भनाइ छ ।

यसैगरी, हुम्लाका ९० जना बालबालिका नेपालगञ्जमा अलपत्र परेको भन्दै चैत ३० गते अभिभावकले जिल्ला प्रशासन कार्यालय, हुम्लामा उद्धारको माग गर्दै ज्ञापन-पत्र बुझाएका छन् । जिल्ला प्रशासन कार्यालय, हुम्लाले आजै सो ज्ञापनपत्रलाई मन्त्रालयमा पठाइसकेको र बालबालिकाको उद्धारको पहल र प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईको भनाइ छ ।

लकडाउनको कारण नेपालगञ्जमै रोकिएका बालबालिकालाई पटक-पटक उद्धारका लागि पहल गरे पनि सरोकारवाला निकायको ध्यान जान नसकेको भन्दै अभिभावक निमा तुन्डुप लामाले गुनासो गर्नुभएको छ ।

जिल्लाका अधिकांश बालबालिका काठमाडौँमा अध्ययन गरिरहेको र घर फर्किने क्रममा नेपालगञ्ज पुगेलगत्तै लकडाउन घोषणा भएपछि उनीहरू अलपत्र परेका थिए । हुम्लाका १ सय ५० जना बालबालिका तथा विद्यार्थीहरू भने केही दिनअघि सामाजिक विकास मन्त्रालयको पहलमा हुम्ला पुगेका थिए ।

सशस्त्र प्रहरी बलले हुम्लामा चैत ३० गतेदेखि सरसफाई गर्दै जनचेतना फैलाउने कार्य अगाडि बढाएको छ ।

बजारमा बढी फोहोर हुन थालेपछि स्वास्थ्यकर्मीसहितको सशस्त्र प्रहरी बलको टोलीले सरसफाईका लागि विशेष अभियान सञ्चालन गरेको सशस्त्र प्रहरी बलका डिएसपी मोहन विष्टले बताउनु भयो । लकडाउनका बेला फोहोर बढी भएर ठाउँ-ठाउँमा थुप्रो लाग्न थालेपछि सिमकोट बजारका गल्ली-गल्लीमा प्रहरीले किटनाशक औषधि छर्न सुरु गरेको हो ।

सरसफाई गर्ने क्रममा भेट भएका मानिसहरूलाई कोरोना सङ्क्रमणविरुद्ध जुट्न, सरसफाईमा ध्यान दिन र मास्क अनिवार्य प्रयोग गर्नसमेत आग्रह गर्दै आएको छ । साथै, कोरोनाविरुद्धका सन्देशमूलक गीतहरू पनि बजाउने गरेको छ ।

इन्सेक कालीकोट प्रतिनिधि कालीबहादुर मल्लका अनुसार रास्कोट नगरपालिकाले लकडाउनमा परेका विपन्न परिवारलाई वैशाख १ गते राहत वितरण गरेको छ । लकडाउनबाट प्रभावित १ देखि ९ वडाका ५ सय ३६ घरपरिवारलाई राहत वितरण गरेको नगर उपप्रमुख मिमसरा बमले जानकारी दिनु भयो । उहाँका अनुसार नगरपालिकाले अतिविपन्न, असहाय दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र किसानलाई राहत प्याकेजअन्तर्गत प्रति परिवार ३० किलो चामल, २ किलो दाल, १ पोका तेल र १ किलो नुन उपलब्ध गराइएको छ ।

यसैगरी, नगरपालिकाले दोस्रो चरणमा ५ सय ३४ घरपरिवारलाई २ हजार ७ सय रुपियाँका दरले राहत रकम बाँड्ने तयारी गरेको छ । उक्त राहत रकम प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग एवम् स्थानीय साझेदार संस्थाहरू हुरुण्डेक, सादा नेपाल र किर्डाक नेपालको समन्वयमा वितरण गरिने छ ।

खाँडाचक्र नगरपालिकाभित्र क्वारेन्टाइनमा बसेका व्यक्तिहरूको र्‍यापीड डाइगोनोजिष्ट टेष्ट गर्ने कार्यको सुरुवात गरिएको छ । पहिलो चरणमा वैशाख १ गते पाँच जनाको टेष्ट गरिएको स्वास्थ्य कार्यालय कालीकोटका सूचना अधिकारी कटक महतले बताउनुभएको छ । उहाँका अनुसार २०७६ चैत १ गतेबाट भारतलगायत अन्य देशबाट कालीकोटमा आएका सबैमा कोरोना परीक्षण गरिने छ ।

जिल्लाका नौ ओटै स्थानीय तहमा २ सय ९ जना क्वारेनटाइनमा बसेकोमा १ सय ७२ जना घर फर्केका छन् । स्वाब परीक्षण गरिएका आठ जनाको रिपोर्ट नेगेटिभ छ ।

इन्सेक दैलेख प्रतिनिधि अमर सुनारका अनुसार चामुण्डा बिन्द्रासैनी नगरपालिकाले क्वारेन्टाइनमा बसेका १ सय १२ जनालाई वैशाख १ गते घर पठाएको छ ।

कर्णाली प्रदेश प्रयोगशालामा स्वाब परीक्षण गर्दा कोरोना भाइरस सङ्क्रमण नदेखिएको पुष्टि भएपछि क्वारेन्टाइनमा राखिएको १४ औँ दिनमा पाँच ओटा क्वारेन्टाइनमा बस्ने १ सय २० जनामध्ये १ सय १२ जनालाई घरमा पठाइएको नगरप्रमुख सूर्यबहादुर शाहीले बताउनु भयो । चैत १७ गते भारतबाट आएका सबैलाई कर्णाली जनचेतना आधारभूत विद्यालय पालेतडा, भैरव माध्यमिक विद्यालय डौसुर, ओमकोट आधारभूत विद्यालय ओमकोट, जनता माध्यमिक विद्यालय बस्तेकोट र चामुण्डा क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो ।

इन्सेक जाजरकोट जिल्ला प्रतिनिधि दिनेश श्रेष्ठका अनुसार भेरी नगरपालिकामा कोरोना पत्ता लगाउन गरिने र्‍यापीड डायग्नोस्टिक टेस्ट (आर.डि.टि) सुरु भएको छ ।

२०७६ चैत ३० गते स्वास्थ्यकर्मीले १४ जनाको नमूनाको परीक्षण गर्दा कसैमा पनि कोरोना नदेखिएको भेरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख निशा थापाले बताउनु भयो । उहाँहरूमध्ये आठ जना भारतबाट, पाँच जना धादिङबाट र एक जना गुल्मीबाट आउनुभएको हो ।

यसैगरी, भेरी नगरपालिका १ ले ६० घरपरिवारलाई खाद्य सामग्री वितरण गरेको छ । वडास्तरमै जम्मा गरिएको विपद् व्यवस्थापन कोषबाट उक्त सामग्री वितरण गरिएको हो ।

नगरपालिकाले गठन गरेको टोलस्तरीय छरितो प्रतिकार कार्यदलको छनौटमा मजदुरी गरेर जीवन निर्वाह गरिरहेका प्रति परिवारलाई ३० किलो चामल, दुई किलो दाल, एक लिटर तेल र एक किलो नुन वितरण गरिएको वडा अध्यक्ष दीपक रानाले जानकारी दिनु भयो ।

वडाकै बुद्धिजीवी, शिक्षक, कर्मचारी, व्यापारी, समाजसेवी, राजनीतिज्ञ, जनप्रतिनिधि सबैले स्वेच्छिकरूपमा उठाएको ७६ हजार ६ सयबाट राहत दिएको रानाले बताउनु भयो ।

इन्सेक रुकुम पश्चिम प्रतिनिधि मनिषा केसीका अनुसार विभिन्न क्वारेन्टाइनबाट कोरोना भाइरस परीक्षणका लागि स्वाब सङ्कलन गरी सुर्खेत पठाइएका ३० जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

गत चैत २६ गते कर्णाली प्रदेश अस्पताल सुर्खेतबाट आएको स्वास्थ्यकर्मीको टोलीले चौरजहारी नगरपालिकाको क्वारेन्टाइनमा बसेका १४ जना, सानीभेरी गाउँपालिकाबाट १५ र मुसीकोट नगरपालिकाबाट एक जनाको स्वाब सङ्कलन गरी परीक्षणको लागि सुर्खेत पठाइएकोमा २०७७ वैशाख १ गते सबैजनाको रिपोर्ट नेगेटिभ आएको हो । यसभन्दा पछि विभिन्न स्थानबाट स्वाब सङ्कलन गरी पठाइएकाहरूको रिपोर्ट आउन बाँकी रहेको जिल्ला अस्पताल सल्लेका कोरोना रोकथाम तथा नियन्त्रणका फोकल पर्सन ईश्वर रावलले जानकारी दिनु भयो ।

त्यसैगरी, मुसीकोट नगरपालिकाअन्तर्गतका १४ ओटा हेल्थ डेस्कबाट वैशाख १ गते २ सय २२ जनाले जाँच गराएका छन् । स्वास्थ्य जाँच गराएका सबै जनाको अवस्था सामान्य रहेको नगरपालिकाले जनाएको छ ।

इन्सेक सल्यान जिल्ला प्रतिनिधि मीना बुढाथोकीका अनुसार कोरोनाको सामना गर्न जिल्लाका तीन ओटा नगरपालिका र सात ओटा गाउँपालिकामा छुट्टाछुट्टै कोष बनाएका छन् ।

बागचौर नगरपालिकाले ३ करोड, शारदा नगरपालिकाले १५ लाख, बनगाड कुपिण्डे नगरपालिकाले १० लाख, छत्रेश्वरी गाउँपालिकाले ८ लाख, त्रिवेणी गाउँपालिकाले ४ लाख र कालिमाटी गाउँपालिकाले १२ लाखको कोष स्थापना गरेका छन् भने सिद्धकुमाख गाउँपालिकाले ८ लाख, दार्मा गाउँपालिकाले ८६ लाख, कुमाख गाउँपालिकाले १ करोड २२ लाख र कपुरकोट गाउँपालिकाले १० लाखको कोष यसअघिनै स्थापना गरिसकेका छन् ।

उक्त कोषको रकम कोरोना रोकथाम, राहतमा खर्च भइरहेको सिद्ध कुमाख गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि रेग्मीले बताउनु भयो ।

राहत कोषबाट सिद्धकुमाख गाउँपालिकाले २ सय ७५ गरीब, असहाय तथा विपन्न परिवारलाई राहत वितरण गरेको छ । असहाय तथा विपन्न परिवारलाई राहत वितरण मापदण्ड २०७६ बमोजिम ५ हजार ८ सय ९ किलो चामल, ४ सय ७५ किलो दाल, २ सय ७५ लिटर तेल र २ सय ७५ प्याकेट नुन वितरण गरिएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत भिम भण्डारीले बताउनु भयो ।


इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत