कोरोना भाइरससम्बन्धी कर्णाली प्रदेशको अवस्था (चैत ३० गते)

  ०७६ चैत ३० गते

कोरोना भाइरस प्रकोप न्यूनीकरणका लागि जिल्ला-जिल्लामा भएका प्रयास सम्बन्धमा इन्सेकका जिल्ला प्रतिनिधिमार्फत प्राप्त सूचनाको आधारमा जिल्लागत अवस्था विश्लेषण यसप्रकार छ ।

इन्सेक हुम्ला जिल्ला प्रतिनिधि नन्द सिंहका अनुसार सिमकोटमा रहेको क्वारेन्टाइन स्थलमा बस्दै आएका व्यक्तिहरूको चैत २९ गतेबाट र्‍यापिड डाग्नोस्टिक टेस्ट सुरु भएको रानीवनस्थित क्वारेन्टाइनका सूचना अधिकारी प्रजित बोहराले बताउनुभएको छ ।

डाग्नोस्टिक टेस्ट सञ्चालन सुरु गरिएको आरडिटी किट जिल्लामा आएसँगै सिमकोटमा स्थापना भएका रानीवन क्वारेन्टाइनका २२ जना र होम क्वारेन्टाइनमा रहेका तीन जना गरी जम्मा २५ जनाको रगत परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

यसैगरी, हुम्लामा भित्रिएका करिब ८ सय ७४ जनाकै आरडिटि किट टेस्ट हुने भएको छ । जसका लागि चैत ३० गतेबाट जिल्ला स्वास्थ्य सेवा कार्यालयका ल्याब टेक्निसियन बलिराज भण्डारी ताँजाकोट, सर्केगाड, खार्पुनाथ, अदानचुली र चङ्खेली गाउँपालिकातर्फ प्रस्थान हुने छन् भने भक्ति फडेरा उत्तरी नाम्खा गाउँपालिका भेग क्षेत्रतर्फलाग्ने डा. नविन रोकायाको भनाइ छ ।

हुम्लाको उत्तरी भेगमा पर्ने नाम्खा गाउँपालिकामा खाद्यान्न सङ्कट भएको छ । दैनिक उपभोग्य वस्तु पनि चीनबाट ल्याइने हुँदा लकडाउनको असरले खाद्य सङ्कट भएको नाम्खा गाउँपालिका-४ चालागाउँका दोर्जे लामाले बताउनु भयो ।

गाउँपालिकाका तिल, जाङ, चाला, यारी, मुचु, तुम्कोट र अन्य गाउँका बासिन्दा पनि चीनबाट नै कमाई गरी ल्याएको सामग्रीबाट जीविकोपार्जन गर्नुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दाको भनाइ छ । टसि लामाले भन्नु भयो 'भोट माग्न मात्रै आउँछन्, हामीहरूलाई खाए/नखाएको कसैले सोध्दैनन् ।'

भौगोलिक विकटताका साथै यस वर्ष अत्यधिक हिमपातले बाटोघाटो आवातजावत गर्न एकातिर कठिनाइ छ भने अर्कोतर लकडाउनले असर पारेको छ । अहिले चालागाउँमा गएका स्वास्थ्यकर्मीलगायत अन्य कर्मचारीलाई पनि खानपिनको व्यवस्था गर्न स्थानीयबासीलाई समस्या परेको चाला स्वास्थ्यचौकीका इञ्चार्ज गणेश रोकायाको भनाइ छ ।

इन्सेक जुम्ला प्रतिनिधि मानदत्त रावलका अनुसार चैत १० गते जुम्ला जिल्ला प्रवेशद्वार नाग्म हेल्थ डेस्कमा एक हप्तासम्म परिचालन गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका स्वास्थ्यकर्मी निगरानी केन्द्रमा राखिएको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका रजिष्ट्रार विश्वराज काफ्लेका अनुसार १४ दिन निगरानी केन्द्रमा बसेर चैत २९ गते स्वास्थ्यकर्मी घर फर्किएका हुन् । उक्त टोलीले चैत २९ गतेदेखि नागरिकको घरघरमा पुगेर स्वास्थ्य जाँच र जनचेतनामूलक कार्यक्रममा गर्ने योजना तय गरिएको छ ।

नाग्म हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीले लकडाउनकै समयमा करिब ४ हजारभन्दा धेरै व्यक्तिको कोरोना भाइरस सङ्क्रमण स्क्रिनिङ गरेका थिए । जुम्लामा लकडाउनको सुरुदेखि नै जिल्ला भित्रिने यात्रुहरूको स्वास्थ्य स्क्रिनिङ गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डा. कपिल अमागाईको नेतृत्वमा डा. विशाल पोखरेल, निशान्त लामा, नन्दराज उपाध्याय र विशाल खड्काको टोली खटिएको थियो ।

नाग्म हेल्थ डेस्कमा दोस्रो हप्ता खटिएका हिमा गाउँपालिकाका दुई र तिला गाउँपालिकाका दुई जना स्वास्थ्यकर्मी गत २१ चैतदेखि निगरानी केन्द्रमा बसेका छन् । हेल्थ डेस्कमा एक सातासम्म बसेका स्वास्थ्यकर्मीलाई निगरानी केन्द्रमा राखिएको हो ।

हिमा गाउँपालिकास्थित पाथरखोला स्वास्थ्यचौकीका हेल्थ असिस्टेन्ट र अहेब क्वारेन्टाइनमा बसेका हुन् । त्यसैगरी, तिला गाउँपालिकास्थित कुडारी स्वास्थ्यचौकी र जुम्लाकोट स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीलाई पनि १४ दिनका लागि निगरानी केन्द्रमा राखिएको तिला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गणेश शाहीले बताउनु भयो । अहिले नाग्म हेल्थ डेस्कमा तातोपानी गाउँपालिका र चन्दननाथ नगरपालिकाका दुई/दुई जना स्वास्थ्यकर्मीलाई परिचालन गरिएको छ ।

इन्सेक कालीकोट प्रतिनिधि कालीबहादुर मल्लका अनुसार जिल्ला प्रहरी कार्यालय अन्तर्गतको जिल्ला सामुदायिक प्रहरी सेवा केन्द्रले खाँडाचक्र नगरपालिका-१ मा रहेका विपन्न बादी समुदायलाई खाद्यान्न वितरण गरेको छ ।

लकडाउनमा परेका दैनिक ज्याला मजदुरी गरेर खाइरहेका विपन्न १४ वादी परिवारलाई चैत ३० गते खाद्यान्न सामग्री वितरण गरिएको सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दुर्गबहादुर शाहीले बताउनु भयो । उहाँका अनुसार प्रति परिवार १० केजीका दरले चामल, एक/एक प्याकेट तेल, साबुन र दाल वितरण गरिएको छ ।

यसैगरी, खाँडाचक्र नगरपालिकाभित्र स्थापना गरिएका क्वारेनटाइनमा बस्ने व्यक्तिको र्‍यापिड टेष्ट गर्न सुरु गरिएको छ । कर्णाली प्रदेशबाट आएको स्वास्थ्यकर्मीको टोलीले पहिलो चरणमा क्वारेनटाइनमा रहेकाको टेष्ट गर्ने कार्यको सुरुवात गरिएको स्वास्थ्य कार्यालय कालीकोटका सूचना अधिकारी कटक महतले जानकारी गराउनुभएको छ ।

शुभकालिका गाउँपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि २० लाखको कोष स्थापना गरेको छ । उक्त कोषबाट गाउँपालिकामा रहेका अतिविपन्न र लकडाउनका कारण मजदुरी गर्न नपाएका ५ सय परिवारलाई खाद्यान्न सामग्री वितरण गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष खडानन्द चौलागाँइले जानकारी गराउनुभएको छ ।

रास्कोट, खाँडाचक्र, तिलागुफा नगरपालिका, महवै गाउँपालिकामा विपन्नहरूको तथ्याङ्क सङ्कलन नभएका कारण राहत वितरण गरिएको छैन । राहत वितरण नभएका कारण खाँडाचक्र नगरपालिकामा रहेका विपन्न समुदाय खाद्य सङ्कटमा परेका छन् ।

इन्सेक दैलेख जिल्ला प्रतिनिधि अमर सुनारका अनुसार कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि ठाँटीकाँध गाउँपालिकामा सचेतना कार्यक्रम गरिएको छ । अध्यक्ष धीरबहादुर शाहीलगायतको टोली घरदैलोमा पुगेर सचेतना अभियान सञ्चालन गरिएको हो । विकट र चेतनास्तर पनि कमजोर रहेकोले सचेतना अभियान थालिएको अध्यक्ष शाहीले बताउनु भयो ।

अभियानका क्रममा गाउँपालिकाका ६ नम्बर वडाका स्वास्थ्य संस्थामा औषधिको उपलब्धता, मौसमी ज्वरो र दीर्घरोगीको स्वास्थ्य अवस्थालगायतका विषयमा जानकारीसमेत लिइने स्वास्थ्य शाखा प्रमुख रविन्द्र भण्डारीले जानकारी दिनु भयो ।

घरदैलो भेटघाटको क्रममा परिवारका सदस्य मिलेर खेती किसानीका कामबाहेक बाहिर अनावश्यक नघुम्न, बढी ज्वरो आए वा कोरोनाको लक्षण देखिएमा स्वास्थ्य संस्थामा जान र गाउँपालिकाको क्वारेन्टाइनबाट फर्किएका अझै सुरक्षित बस्न सुझाव दिइएको अध्यक्ष शाहीले बताउनु भयो ।

गाउँपालिकाले २ नम्बर वडास्थित क्वारेन्टाइनबाट घर फर्किएका १९ जना र भारतबाट फर्किएका ६ ओटै वडाका १ सय ५७ जनाको स्वास्थ्य अवस्था, होम क्वारेन्टाइन पालना गरे/नगरेको र लकडाउन पालनाको अवस्थासमेत अनुगमन गरिएको ठाँटीकाँध गाउँपालिका-२ का वडाध्यक्ष रुपलाल विकले जानकारी दिनु भयो ।

इन्सेक रुकुम (पश्चिम) प्रतिनिधि मनिषा केसीका अनुसार त्रिवेणी गाउँपालिकाले नयाँ र अपरिचित व्यक्तिलाई आफ्नो स्थानीय तहमा आउन नदिन गाउँ-गाउँमा स्थानीय यूवालाई सीमा क्षेत्रमा परिचालन गरेको छ ।

कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन युवाहरू परिचालन गरिएको गाउँपालिकाका उपाध्यक्ष निर्मला विष्टले जानकारी दिनु भयो । उहाँका अनुसार देश बाहिरबाट आएका र देशभित्रका विभिन्न स्थानबाट गाउँपालिकामा प्रवेश गरेका ११ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

मुसीकोट नगरपालिकाले १४ ओटा स्थानबाट स्वास्थ्य सेवा दिइरहेको बताएको छ । स्वास्थ्य सेवा दिइरहेका स्थानमा भारत र अन्य मुलुकबाट आएका व्यक्तिका साथै स्थानीय सर्वसाधारण पनि स्वास्थ्य चेकजाँचको लागि आउने गरेको नगर उपप्रमुख प्रेमकुमारी सुनार केसीले बताउनु भयो । उहाँका अनुसार मुसीकोट नगरपालिकाका १४ ओटै स्थानबाट चैत ३० गतेमात्र २ सय ९१ जनाले सेवा लिएका छन् ।

बाँफीकोट गाउँपालिकाको १ नम्बर वडाबाट सात जना र २ नम्बर वडाबाट १० जना गरी १७ जनाको चैत ३० गते स्वाब सङ्कलन गरिएको जिल्ला अस्पताल सल्लेका कोरोना रोग नियन्त्रण समितिका फोकल पर्सन ईश्वर रावलले जानकारी दिनु भयो । उहाँका अनुसार स्वाब सङ्कलन गरिएका सबैजना होम क्वारेन्टाइनमै बसेका थिए । जिल्ला अस्पताल रुकुम (पश्चिम)बाट गएको स्वास्थ्यकर्मीको टोलीले स्वाब सङ्कलन गरेको र परीक्षणका लागि सुर्खेत पठाइने रावलले  बताउनु भयो ।

इन्सेक सुर्खेत जिल्ला प्रतिनिधि दुर्गा थापाका अनुसार सुर्खेतका सबै स्थानीय तहले कोरोना भाइरसको नियन्त्रणका लागि छुट्टाछुट्टै कोष निर्माण गरेका छन् ।

वीरेन्द्रनगर नगरपालिकाले २ करोड ८० लाख रुपियाँको कोष निर्माण गरेको छ । उक्त कोषमा प्रभु बैङ्क, शाखा कार्यालय, सुर्खेतले १ लाख ५० हजार रुपियाँ जम्मा गरेको प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिनु भयो ।

गुर्भाकोट नगरपालिकामा ९३ लाख, पञ्चपुरी नगरपालिकामा ६० लाख, भेरीगङ्गा नगरपालिकामा १ करोड १ लाख, लेकबेसी नगरपालिकामा १ करोडको कोष स्थापना गरिएको सम्बन्धित नगर प्रमुखहरूले बताउनुभएको छ ।

यसैगरी, सिम्ता गाउँपालिकामा १ करोड, चिङ्गाड गाउँपालिकामा २५ लाख, बराहताल गाउँपालिकामा ४० लाख र चौकुने गाउँपालिकामा १० लाखको कोष निर्माण गरिएको छ ।


इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत