कोरोना भाइरससम्बन्धी कर्णाली प्रदेशको अवस्था (चैत २९ गते)

  ०७६ चैत २९ गते

कोरोना भाइरस प्रकोप न्यूनीकरणका लागि जिल्ला-जिल्लामा भएका प्रयास सम्बन्धमा इन्सेकका जिल्ला प्रतिनिधिमार्फत प्राप्त सूचनाको आधारमा जिल्लागत अवस्था विश्लेषण यसप्रकार छ ।

इन्सेक मुगु जिल्ला प्रतिनिधि जीवन सेजुवालका अनुसार कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि छाँयानाथ रारा नगरपालिकाले नगरभित्रका ५ हजार ५ सय घरधुरीलाई स्वास्थ्य सामग्री वितरण गर्न लागेको छ ।

नगरपालिकाले १४ वडाका २६ हजारलाई प्रति व्यक्तिलाई सर्जिकल मास्क, हात धुने डिटोल साबुन र प्रति घरलाई १ सय एमएल सेनिटाजर वितरण गर्न लागिएको हो ।

चालू आर्थिक वर्षमा १४ वडामा विनियोजित गरेको कूल बजेटबाट रकमान्तर गरी प्रत्यक वडाबाट ७ लाख ५० हजार र नगरपालिकाले गरी १ करोड १० लाखमा आवश्यक उपकरण र सरसफाइका सामग्री खरिद गरी स्वास्थ्य संस्थालाई उपकरण र नागरिकलाई सरसफाइका सामग्री वितरण गर्न लागिएको छाँयानाथ रारा नगरपालिका स्वास्थ्य शाखाका संयोजक शिवहरि रोकायाले जानकारी दिनु भयो ।

चैत २९ जिल्लास्थित सञ्चारकर्मी प्रतिनिधिसभा सदस्य गोपालबहादुर बम, नगरपालिकाका  जनप्रतिनिधिहरूले नगरपालिकाले खरिद गरी वितरण गर्न लागेका  स्वास्थ्य सामग्रीको निरीक्षण तथा अवलोकन गरेका थिए ।

अवलोकनपछि सांसद गोपालबहादुर बमले कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि  सङ्घीय सरकार एक्लै लागेर सम्भव नहुने भएकाले प्रदेश र स्थानीय सरकारले पनि कोरोना भाइरसविरुद्ध सचेतना र राहत वितरणका कामहरू गर्नुपर्ने बताउनु भयो ।

इन्सेक हुम्ला जिल्ला प्रतिनिधि नन्द सिंहका अनुसार मुलुकभर लकडाउनको अवस्थामा ग्रामीण भेगका बासिन्दा जङ्गलमा च्याउ टिप्न व्यस्त छन् । गुच्ची च्याउ टिप्ने सिजन सुरु भएपछि स्थानीयहरू बिहान सबेरै च्याउ टिप्न जाने र साँझ मात्र घर र्फकने गरेको खार्पुनाथ गाउँपालिका-४ का बबरजङ्ग हमालले बताउनु भयो ।

घरबाट खाना बोकेर बिहान ६ बजे जाने र बेलुका ७ बजेमात्रै फर्कने हुँदा जङ्गलमै एकान्तबास हुने गरेको हमालको भनाइ छ । हिउँदमा हिउँ धेरै परेको कारण जङ्गलमा गुच्ची च्याउ पनि राम्रो पाइएको उहाँले बताउनु भयो । चैतदेखि जेठ महिनासम्म हुम्लाबासीले च्याउ टिपेर अतिरिक्त कमाइ गर्ने गरेका छन् । गुच्ची च्याउ मुलुकका विभिन्न शहरमा महङ्गोमा बिक्री हुन्छ ।

सिमकोट गाउँपालिकाद्वारा गाउँ-गाउँमा रहेका स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । कोरोना भाइरस (कोभिड-१९)को रोकथाम तथा नियन्त्रणका लागि ११ ओटा स्वास्थ्य संस्थालाई उक्त सामग्री वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक दानबहादुर बोहराले जानकारी दिनु भयो ।

स्याँडा, डाँडाफया, ठेहे, बरगाउँ, चौगानफया, खोल्सी र लादेबाडामा रहेका स्वास्थ्य संस्थालाई पीपीई, मास्क, डिजिटल थर्मोमिटर, ग्लोब्स र सेनिटाइजर दिइएको छ भने वडा नम्बर २, ३, ७ र ८ मा रहेका चार ओटा बर्थिङ सेन्टरहरूमा बाटा, बाल्टिन, सोलार, एप्रोनलगायतका सामग्री उपलब्ध गराइएको छ ।

इन्सेक जुम्ला जिल्ला प्रतिनिधि मानदत्त रावलका अनुसार गुठीचौर गाउँपालिका-५ धिताका कृषकले लकडाउनका कारण अप्ठेरोमा परेका बताएका छन् ।

११ ओटा दुहुना भैंसी पालेका कृषक विष्णु धितालले दैनिक ३० लिटर दुध बिक्री गर्दै आएकोमा हाल समस्या भएको बताउनु भयो । भैंसीको दुध भैंसीलाई नै खुवाउनुपर्ने बाध्यता भएको पनि उहाँले बताउनु भयो । उहाँका अनुसार दुध घरमै थन्किँदा गोठ निर्माणका लागि लिएको ऋणको व्याज तिर्न समस्या भएको छ । लकडाउनले जुम्लामा व्यापारी तथा ज्यालादारीमा काम गर्नेहरूलाई पनि समस्या भएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द महतका अनुसार जुम्लामा व्यावसायिकरूपमा भैंसी पालन गर्ने कृषक २३ जना छन् ।

यसैगरी, जिल्ला प्रशासन कार्यालय जुम्लाले म्याद नाघेको आयोडिनयुक्त नून वितरण भएको विषयमा साल्ट ट्रेडिङ कर्पोरेशनको सिंजा डिपो कार्यालयसँग लिखित जवाफ मागेको छ । साथै, उजुरी परेपछि म्याद नाघेको नुन वितरणमा प्रशासनले तत्काल रोक लगाएको छ ।

हिमा गाउँपालिकाका अध्यक्ष राजबहादुर शाहीका अनुसार राहत वितरण गर्ने क्रममा म्याद नाघेको नुन भेटिएपछि बड्की गाउँकी स्थानीय प्रतिभा शाहीले प्रशासनमा लिखित उजुरी दिनुभएको हो ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड जुम्लाका प्रमुख खगेन्द्र मल्लले भने प्लाष्टिकको प्याकेटमा हुने भएकोले आयोडिन उडेर जाने सम्भावना कम हुने बताउनु भयो । यद्यपि म्याद नाघेको नुनमा आयोडिन भए/नभएको विषयमा जानकारी पाउन ल्याब परीक्षण गर्ने तयारी भएको उहाँले बताउनु भयो ।

यसैगरी, नेपाली काँग्रेसका नेता लक्ष्मण शाहीले म्याद नाघेको नुन वितरण गरिएको समाचारप्रति ध्यानाकर्षण भएको बताउनुभएको छ ।

जुम्लाका एक नगरपालिका र सात गाउँपालिकाले विपन्न तथा ज्याला मजदुरी गर्ने घरपरिवारलाई राहत स्वरुप चामल, दाल, नुन, तेललगायत दैनिक उपभोग्य सामग्री वितरण गर्दै आएका छन् । जिल्ला समन्वय समिति उपप्रमुख कार्मा बुढाका अनुसार समितिले एकद्वार प्रणालीबाट मात्रै राहत सामग्री वितरण गर्न ध्यानाकषर्ण गराएको छ ।

इन्सेक कालीकोट जिल्ला प्रतिनिधि कालीबहादुर मल्लका अनुसार तिलागुफा नगरपालिकाले १ करोड १५ लाखको कोरोना नियन्त्रण तथा राहत कोष स्थापना गरेको छ । नगरपालिकाले फिल्डमा खटिने स्वास्थ्यकर्मी स्वयम्सेवकका लागि पाँच लाखको विमा गर्ने निर्णय समेत गरेको नगर प्रमुख रतनबहादुर शाहीले बताउनुभएको छ । यसका साथै प्रभावकारी सञ्चारका लागि नगरपालिकाका सम्पूर्ण वडामा एक/एक थान  सञ्चार सेट खरीद गरी उपलब्ध गराइने भएको छ ।

सान्नी त्रिवेणी गाउँपालिकाले ५१ लाखको कोष स्थापना गरेको छ । कोषबाट गाउँपालकाका १, २, ४ र ५ नम्वर वडामा ४०/४० विपन्न परिवारलाई ३० किलोका दरले चामललगायतका आवश्यक खाद्यान्न वितरण गरिएको गाउँपालिका अध्यक्ष डम्मरबहादुर शाहीले जाकारी दिनु भयो ।

रास्कोट नगरपालिकाले ६० लाख ५५ हजार १ सय रुपियाँको राहत कोष स्थापना गरेको नगर उपप्रमुख मिमसरा बमले बताउनुभएको छ । उहाँले राहत कोषको रकमबाट नगरभित्रका विपन्न ज्यालादारी मजदुहरूलाई चैत ३० गतेदेखि खाद्यान्न वितरण गरिने जानकारी दिनु भयो ।

रास्कोट, खाँडाचक्र, तिलागुफा नगरपालिका र महावै गाउँपालिकामा विपन्नहरूको तथ्याङ्क सङ्कलन नभएका कारण राहत वितरण गरिएको छैन । राहत वितरण नभएका कारण खाँडाचक्र नगरपालिकामा रहेका विपन्नहरूलाई खाद्यान्न अभाव भएको छ ।

इन्सेक दैलेख जिल्ला प्रतिनिधि अमर सुनारका अनुसार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सामाजिक सेवा केन्द्र (सोसेक)ले स्थानीय तहलाई सहयोग उपलब्ध गराएको छ ।

सोसेकका उप-कार्यकारी निर्देशक बसन्त श्रेष्ठका अनुसार सोसेकले परियोजना साझेदार डिसीए नेपालको आर्थिक सहयोगमा २५ लाख ५१ हजार रुपियाँ बराबरको स्वास्थ्य तथा खाद्यान्न सामग्री खरीद गरी स्थानीय तहलाई उपलब्ध गराएको हो ।

संस्थाका अनुसार दैलेखको नौमूले गाउँपालिका, दुल्लु नगरपालिका, नारायण नगरपालिका, गुराँस गाउँपालिका, भैरवी गाउँपालिका, भगवतीमाई गाउँपालिका र अछामको पञ्चदेवल विनायक नगरपालिकामा उक्त सामग्रीहरू वितरण गरिने छ ।

स्थानीय तहको आवश्यकता र विपद् व्यवस्थापन समितिको मागअनुसार २ सय ५० क्वीन्टल चामल, ५ सय किलो नुन, ५ सय किलो चिनी, १ सय किलो चिया, १ हजार किलो दाल, ५ सय लिटर तेल स्थानीय तहमार्फत वितरण गरिएको छ ।

सोसेकको सहयोगले अतिविपन्न र मजदुरलाई राहत बाँड्न सघाउ पुगेको दुल्लू नगरपालिकाका मेयर घनश्याम भण्डारीले बताउनु भयो ।

इन्सेक जाजरकोट जिल्ला प्रतिनिधि दिनेश श्रेष्ठका अनुसार स्वास्थ्य राज्यमन्त्री नवराज रावतले कोरोना भाइरसविरुद्वको लडाइँमा खटिएका स्वास्थ्यकर्मीलाई ढुक्क भएर काम गर्न आग्रह गर्नुभएको छ ।

चैत २८ गते जाजरकोट खलङ्गास्थित स्वास्थ्य सेवा कार्यालयको निरीक्षण गर्न र जिल्लामा कोरोनाको प्रभाव तथा रोकथामका लागि भइरहेका प्रयासबारे जानकारी लिने क्रममा रावतले उच्च मनोबलका साथ काम गर्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि रोग नियन्त्रणका लागि खटिएका अन्य कर्मचारीलगायत सरोकारवालालाई अनुरोध गर्नुभएको थियो ।

जिल्लामा निर्माण भएका क्वारेन्टाइन, आइसोलेसनको निरीक्षण गरी थप सामग्रीहरू केही दिनमा पठाउनेसमेत बताउनु भयो । निरीक्षणका क्रममा आफूले ल्याएका स्वास्थ्य सामग्रीहरू स्वास्थ्य सेवा कार्यालयमा हस्तान्तरणसमेत गर्नुभएको थियो ।

उक्त कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशिला बस्नेतले अस्पतालको स्तरोन्नत्तिका साथै उपकरणमा सहयोग गरी ५० सैयाको अस्पतालबाट दिइने सेवा सुविधा दिनका लागि तयार बनाउनुपर्नेमा जोड दिनु भयो । साथै, उहाँले जाजरकोटमा रहेको ५० शैयाको अस्पताललाई स्तरोन्नत्ति नगरी पश्चिम रुकुमको चौरजहारीमा रहेको सामुदायिक अस्पताललाई रकम दिएर जाजरकोट जिल्ला अस्पताललाई प्रदेश सरकारले अपहेलित गरेको गुनासो गर्नु भयो ।

छेडागाड नगरपालिकाका सूचना अधिकारी देवबहादुर बुढाले हालसम्म आठ ओटा वडामा क्वारेन्टाइन निर्माण गरिसकेको र चार ओटा वडामा निर्माणमा तीब्रता दिइएको जानकारी दिनु भयो । नगरपालिकाका १३ ओटा वडाका १८ ओटै स्वास्थ्य सहायता कक्षको लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गरी सेवा नियमित सञ्चालन भइरहेको पनि सूचना अधिकारी बुढाले जानकारी दिनु भयो ।

यसैगरी, जाजरकोटबाट क्वारेन्टाइन र होम क्वारेनटाइनमा बसेका १४ जनामा कोरोनाको आशङ्का गर्दै नमूना परक्षिणका लागि स्वाब सुर्खेत पठाइएकोमा १४ जनाकै रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारी दिनुभएको छ ।

इन्सेक रुकुम (पश्चिम) जिल्ला प्रतिनिधि मनिषा केसीका अनुसार जिल्लाको बाँफीकोट गाउँपालिकाको वडा नम्बर ६ मा १४ र ७ मा आठ जना गरी २२ जनाको चैत २९ गते स्वाब सङ्कलन गरिएको छ । भारत र अन्य मुलुकबाट आएका व्यक्तिहरूमा कोरोना सङ्क्रमण परीक्षण गर्न स्वाब सङ्कलन गरिएको हो ।

स्वाब सङ्कलन गरिएका सबैजना होम क्वारेन्टाइनमै बसेका थिए । जिल्ला अस्पताल रुकुम पश्चिमबाट गएको स्वास्थ्यकर्मीको टोलीले स्वाब सङ्कलन गरेको र परीक्षणका लागि सुर्खेत पठाइने गाउँपालिकाका स्वास्थ्य संयोजक जानकी मल्लले जानकारी दिनु भयो ।

विदेशबाट आएका तथा मिल्दोजुल्दो लक्षण देखिएकाहरूको स्वाब सङ्कलन गरिएको जिल्ला अस्पताल सल्लेका कोरोना रोग नियन्त्रण समितिका फोकल पर्सन ईश्वर रावलले जानकारी दिनु भयो ।

इन्सेक सल्यान जिल्ला प्रतिनिधि मीना बुढाथोकीका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले वनगाड कुपिण्डे नगरपालिकालाई कोरोना भाइरस रोकथामसम्बन्धी सामग्री हस्तान्तरण गर्नुभएको छ ।

पीपीई चार थान, सर्जिकल मास्क २ सय ५० थान, सेनिटाइजर ६ ओटा सामग्री नगरपालिकालाई हस्तान्तरण गर्दै राज्यमन्त्री रावतले अब छिट्टै एम ९० मास्क र थर्मल गन उपलब्ध गराउने बताउनु भयो । नगर प्रमुख गोविन्द पुनले अब छिट्टै ४० शैयाको क्वारेन्टाइन बनाइने पनि जानकारी दिनु भयो । साथै, राज्यमन्त्री रावतले नगरपालिकाले बनाएको २० शैयाको क्वारेन्टाइन पनि अनुगमन गर्नु भयो  ।

यसैगरी, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानले क्वारेन्टाइनमा आवश्यक पर्ने कम्बल २५ थान, बाल्टिन चार थान, त्रिपाल दुई थान, जग चार थान र साबुन १० ओटा प्रदान गरेको छ । रेडक्रसका कर्णाली प्रदेश सदस्य गणेश विसीले वनगाड कुपिण्डे नगरपालिकालाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।

इन्सेक सुर्खेत जिल्ला प्रतिनिधि दुर्गा थापाका अनुसार वीरेन्द्रनगर नगरपालिकास्थित  विभिन्न क्वारेन्टाइनमा बसेका १ सय ८३ जना क्वारेन्टाइन अवधि पुरा गरी चैत २९ गते घर फर्किएका छन् ।

भारत तथा नेपालका विभिन्न जिल्लाबाट आएका उनीहरूको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि १४ दिनको समय पुरा गरेर घर फर्किएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका चेतननीधि वाग्लेले जानकारी दिनु भयो । उहाँका अनुसार प्रदेश सरकारले सबैलाई आ-आफ्नो घरसम्म पुर्‍याउने गाडीको व्यवस्था गरेको छ । हाल क्वारेन्टाइनमा स्वाब रिपोर्टको पर्खाइमा रहेका पाँच जना मात्र छन् ।

यसैगरी, जिल्ला प्रहरी कार्यालय सुर्खेतले २९ गते सुर्खेतमा लकडाउन उल्लङ्घन गर्ने १ सय २० महिला र र १ सय ५३ पुरुष गरी २ सय ७३ जनालाई बजारका विभिन्न स्थानबाट नियन्त्रणमा लिएर लकडाउन र कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी सजक गराई सम्झाइबुझाइ छाडिएको छ ।

गुर्भाकोट नगरपालिका-६ मा पर्ूर्वी नेपालका विभिन्न ठाउँबाट आएका ४० जनालाई क्वारेन्टाइनमा राखेको छ । मजदुरी गर्न गएका गुर्भाकोटका उनीहरूलाई लकडाउनको समयमा फकिँदै गर्दा २८ गते सल्लीबजारमा प्रहरीले भेटेर पठाएको नगर प्रमुख हस्तबहादुर पुनले बताए ।


इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत