कोरोना भाइरससम्बन्धी कर्णाली प्रदेशको अवस्था (चैत २८ गते)

  ०७६ चैत २८ गते

कोरोना भाइरस प्रकोप न्यूनीकरणका लागि जिल्ला-जिल्लामा भएका प्रयास सम्बन्धमा इन्सेकका जिल्ला प्रतिनिधिमार्फत प्राप्त सूचनाको आधारमा जिल्लागत अवस्था विश्लेषण यसप्रकार छ ।

इन्सेक कालीकोट जिल्ला प्रतिनिधि कालीबहादुर मल्लका अनुसार पलाता गाउँपालिकाले कोरोना नियन्त्रणका लागि ८० लाखको राहत कोष स्थापना गरेको छ । कोषमा गाउँपालिकाले ६० लाख र गाउँपालिका अध्यक्षले २० लाख जम्मा गर्ने अध्यक्ष लक्ष्मणबहादुर बमले बताउनुभएको छ । यसैगरी, गाउँपालिकामा २० हजार थान मास्क वितरण गरिएको छ भने जिल्लाभरिका स्वास्थ्यकर्मीलाई तीन लाख बराबरको व्यक्तिगत सुरक्षा सामग्री वितरण गरिएको छ ।

गाउँपालिकाले एक टोल एक स्वास्थ्यकर्मी र एक स्वयम्सेवक खटाएको छ । खटिने स्वास्थ्यकर्मी तथा स्वयम्सेवकलाई दैनिक ५ सय भत्ताको व्यवस्था गरिएको बमले जानकारी दिनु भयो ।

यसैगरी, नरहरिनाथ गाउँपालिकाले लकडाउनमा परेका दैनिक ज्याला मजदुरी गरेर खाने स्थानीयलाई लक्षित गरी सबै वडामा खाद्य सामग्री वितरण गरेको छ । पहिलो चरणमा ९ वडाका २ सय ८० परिवारलाई प्रति परिवार ३० केजीका दरले चामल र दाल, तेल, नुन, चिनी, साबुनलगायतका सामग्री हस्तान्तरण गरिएको नरहरिनाथ गाउँपालिका उपाध्यक्ष मनशोभा बुढाले बताउनु भयो ।

रास्कोट नगरपालिकाले स्थापना गरेको राहत कोषमा सोही नपा-६ का ७० वर्षीय पृथ्वीबहादुर वमले ४० हजार १ सय रकम जम्मा गर्नुभएको छ । लकडाउनको कारण विपन्न गरिब तथा मजदुरी गरेर खाने समुदायको समस्यालाई मध्यनजर गरी नगरपालिकाले स्थापना गरेको राहत कोषमा जम्मा गरेको उहाँले बताउनु भयो ।

खाँडाचक्र, तिलागुगा नगरपालिका, महवै गाउँपालिकामा विपन्नहरूको तथ्याङ्क पूर्णरूपमा नआएकोले राहत वितरण गर्न नसकिएको स्थानीय तहहरूले जानकारी गराएका छन् ।

इन्सेक हुम्ला जिल्ला प्रतिनिधि नन्द सिंहका अनुसार नेपालगञ्जमा स्थापना भएको पूर्णतारा फाउण्डेसनले हुम्ला जिल्लाका क्रियाशील सञ्चारकर्मीहरूलाई चैत २८ गते मास्क सहयोग गरेको छ ।

प्रमुख जिल्ला अधिकारी बिनीता भट्टराईको उपस्थितिमा जिल्लामा कार्यरत १३ जना सञ्चारकर्मीहरूलाई प्रति व्यक्ति दुई थान मास्क वितरण गरिएको फाउण्डेसनका संस्थापक पूर्णबहादुर रोकायाले जानकारी गराउनु भयो ।

यसैगरी, सुरक्षा अधिकारी, जनप्रतिनिधि र सामाजिक संस्थाका प्रमुखलाई पनि मास्क वितरण गरिएको थियो । साथै, उक्त संस्थाले चैत २७ गते सिमकोट गाउँपालिका-५ का ३ सय जेष्ठ नागरिक, महिला, दलित र अपाङ्गता भएका व्यक्तिहरूलाई पनि मास्क वितरण गरेको थियो ।

सर्केगाड गाउँपालिकाको चैत २७ गते बसेको बैठकले कोरोना नियन्त्रणको लागि १ करोड १ लाखको कोष खडा गरेको प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीले बताउनु भयो ।

खार्पुनाथ गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा प्रभु बैङ्क खार्पुनाथ शाखाले ५० हजार रुपियाँ सहयोग उपलब्ध गराएको छ । चैत २७ गते प्रभु बैङ्क खार्पुनाथ शाखाका प्रमुख लोकेन्द्रबहादुर शाहीले गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावललाई ५० हजार रुपियाँको चेक हस्तान्तरण गर्नुभएको हो ।

इन्सेक सल्यान जिल्ला प्रतिनिधि मीना बुढाथोकीका अनुसार कपुरकोटबाट ११ जना र त्रिवेणीबाट दुई जना गरी जम्मा १३ जनाको स्वाब सङ्कलन गरेर परीक्षणका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । चैत १ गते भारतबाट फर्केकाहरूमध्येमा केही लक्षण भएका र तेस्रो मुलुकबाट आएका सबैको कोरोना परीक्षणका लागि नमूना सङ्कलन गर्न सुरु गरिएको हो ।

सिद्धकुमाख गाउँपालिकाले ३६ विपन्न परिवारलाई राहत वितरण गरेको छ । वडा नम्बर २ का ३६ घरपरिवारलाई प्रति परिवार २५ किलो चामल, १ लिटर तेल, १ पोका नुन र २ किलो वितरण गरिएको वडा अध्यक्ष रुद्रबहादुर बुढाथोकीले जानकारी दिनु भयो ।

वनगाड कुपिण्डे नगरपालिका-४ ले ५ सय १५ परिवारलाई ६० हजार बराबरको साबुन र मास्क वितरण गरेको छ । वडा अध्यक्ष मोमत रोकाको व्यक्तिगत लगानी र सल्लेरी सामुदायिक वन डोप्के, ठूलटाकुरा सामुदायिक वन देउली, देउली भाटमारे सामुदायिक वन गर्चे, चिसापानी सामुदायिक वन मूलखोला र लेकबेसी सामुदायिक वन काफलपानीले १०/१० हजार सहयोग गरेको अध्यक्ष रोकाले जानकारी दिनु भयो ।

इन्सेक जाजरकोट जिल्ला प्रतिनिधि दिनेश श्रेष्ठका अनुसार कोरोना सङ्क्रमण परीक्षणका लागि सुर्खेतबाट आएको स्वास्थ्यकर्मीको टोलीले भेरी नगरपालिकाको क्वारेन्टाइनमा बसेका दुई जना र भारत तथा तेस्रो मुलुकबाट आई होम क्वारेन्टाइनमा रहेका १२ जनाको स्वाब सङ्कलन गरी परीक्षणको लागि सुर्खेत पठाइएको भेरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख निशा थापाले बताउनु भयो ।

यसैगरी, जिल्ला बाहिरबाट आएकालाई क्वारेन्टाइनमा राख्न सरकारले निर्देशन गरेको भए पनि

लकडाउनकै समयमा तेस्रो मुलुकबाट १८ र भारतबाट २ सय ३० जना जिल्ला भित्रिएका थिए । सरकारले निर्देशक गरेको कुरालाई बेवास्ता गरी कतिपय सामुहिकरूपमा खोलामा माछा मार्ने तथा जुवातास खेल्ने गरिरहेको जुनीचाँदे ५ का गणेश थापाको भनाइ छ ।

कोरोना भाइरसको सङ्क्रमण फैलिएको दुबई, कतार, साउदी अरेबिया, मलेसियालगायतका देशबाट फर्किएर क्वारेन्टाइनमा नबसेपछि स्थानीयहरू त्रसित बनेका छन् । 'उनीहरू परिवार र आफन्तसँग घुलमिल भएर निर्वाध घुमफिर गरिरहेका छन्, त्यसैले झन जोखिम बढेको छ' भेरी नगरपालिका-४ का अमरबहादुर शाहले भन्नु भयो ।

इन्सेक रुकुम पश्चिम जिल्ला प्रतिनिधि मनिषा केसीका अनुसार नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुम पश्चिमले त्रिवेणी गाउँपालिकालाई कोरोना भाइरस नियन्त्रणको लागि सहयोग पुग्ने विभिन्न १२ किसिमका स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

जसमा ५० वटा सेनिटाइजर, १ हजार ५ सय ६० ओटा हात धुने साबुन, १ सय ६५ सर्जिकल पञ्जा, २ हजार ५ सय लुज पञ्जा, २ सय २५ भाइरेक्स र ५ सय १० ओटा सर्जिकल मास्क रहेका छन् । त्यसैगरी, प्राथमिक उपचार बाकस, विभिन्न सचेतनामूलक व्यानर, स्टिकर, बाल्टिन, डोरीलगायतका सामग्रीहरू सहयोग गरेको रेडक्रसका सभापति रमा गौतमले बताउनु भयो । सामग्री पाएपछि काम गर्न थप सहज भएको त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष निर्मला विष्टको भनाइ छ ।

यसैबीच चैत २७ गते त्रिवेणी गाउँपालिकाको मावि सिम्रुतु र नुवाकोटडाँडा क्वारेन्टाइनमा बसेका १२ जनाको स्वाब सङ्कलन गरी परीक्षणको लागि सुर्खेत पठाइएको छ ।

इन्सेक जुम्ला जिल्ला प्रतिनिधि मानदत्त रावलका अनुसार लकडाउन हुनुअघि मजदुरीका लागि प्यूठान जिल्लामा गएका जुम्ला र कालीकोटका यूवा पाँच दिनको पैदल यात्रापछि जुम्ला पुगेका छन् । कोरोना भाइरसको त्रासपछि देशमा लकडाउन भएर ज्याला मजदुरी बन्द भएपछि उनीहरू पैदल यात्रा गरेरै जुम्ला पुगेका हुन् ।

हिमा गाउँपालिका-६ महाबै पाथरखोलाका तुलराज अधिकारीले मजदुरीका लागि प्यूठान जिल्ला पुगेको बेलामा कोरोना भाइरसका कारण देश लकडाउन भएको र कामविहीन भएपछि आर्थिक सङ्कटमा परेपछि रोल्पा हुँदै रुकुम, जाजरकोट भएर पाँच दिनमा जुम्ला पुगेको बताउनु भयो ।

यसैगरी, हर्क तिरुवाले लकडाउनको मिति निश्चित नभएपछि बरु घरमै बसौँला भनेर चाउचाउ, विस्कुट र पानीको भरमा दिन रात हिँडेर जुम्ला पुगेको सुनाउनु भयो । 'कालीकोट जिल्लाका नौ जना र जुम्लाका चार जना गरी १३ जनाको भौतिक संरचना निर्माणको जिम्मेवारी थियो । लकडाउनले काम पनि नहुने र भएका पैसा पनि सकिएपछि रातारात गरी आफ्नो जिल्ला आउनुपर्ने बाध्यता भयो' तिरुवाले भन्नु भयो ।

प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार प्यूठान जिल्लाबाट जुम्ला र कालीकोटका स्थानीय यूवा भागेर आएको जाजरकोट जिल्लासँग सिमाना जोडिएको तातोपानी गाउँपालिका-७ ताम्तीगाउँबाट जानकारी प्राप्त भएपछि त्यहाँको स्थानीय र प्रहरीको टोलीले कालीकोट जिल्ला तिलागुफा नगरपालिकाका चार जना, पलाता गाउँपालिकाका पाँच जना र जुम्ला हिमा गाउँपालिका-६ महाबै पाथरखोलाका चार जना यूवालाई नाग्म हेल्थ डेस्कमा चेकजाँच गरी १४ दिनसम्म बस्ने गरी क्वारेन्टाइनमा राखिएको छ ।

यसैबीच जुम्ला कालीकोटको सिमाना जोड्ने पक्की पुल निर्माण गर्न आएका बर्दियाका नौ जना मजदुर अलपत्र परेका छन् । लकडाउनका कारण काम रोकिएपछि घर र्फकने वातावरण नहुँदा सङ्कटमा परेका उनीहरू पुल निर्माणस्थल नजिकै बसिरहेका छन् ।

जुम्ला घर भएका मजदुर जयधुननाथ योगीका अनुसार समयमै घर फर्कन नसक्दा बर्दियाका कामदार अलपत्र परेको हुन् । कामको सिलसिलामा सुर्खेत गएका ठेकेदार लकडाउनका कारण फर्कन नसकेको पनि उहाँले बताउनु भयो ।

समस्यामा परेका मजदुरलाई तिला गाउँपालिकाले तत्काल तीन क्वीन्टल चामल, ३० केजी दाल, ३५ केजी आलु, १५ पाकेट नुन र दुई पेटी तेल उपलब्ध गराएको  छ । घर फर्काइदिन अनुरोध गरेका मजदुरहरूलाई गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले तत्काल घर पठाउन सकिने अवस्था नभएकोले जुम्लामै ढुक्कसँग बस्न आग्रह गर्नुभएको छ ।

इन्सेक दैलेख जिल्ला प्रतिनिधि अमर सुनारका अनुसार जिल्लाका ११ स्थानीय तहले निर्माण गरेका ६७ क्वारेन्टाइनमध्ये पहिलो पटक प्रयोगमा आएको दुल्लु नगरपालिका-२ भानेश्वर मावि काफलपानी क्वारेन्टाइनमा बसेका २० जनालाई शुक्रबार खादा ओढाएर घर पठाइएको छ ।

कर्णाली प्रदेश प्रयोगशालामा स्वाब परीक्षण गर्दा कोरोना भाइरसको सङ्क्रमण नदेखिएकोले १७ दिनपछि सबैलाई घर पठाइएको भानेश्वर मावि काफलपानीका व्यवस्थापन समिति अध्यक्ष जितेन्द्र थापाले जानकारी दिनु भयो ।

चैत १२ गते क्वारेन्टाइनमा राखिएकामध्ये काठमाडौँबाट आएका चार र भारतबाट आएका १६ गरी जम्मा २० जना थिए । आफूलाई कोरोना नभएको पुष्टि भएपछि निर्धक्क भएको दुल्लू नगरपालिका-२ नाउलीकी उमा थापाले बताउनु भयो ।

जिल्लास्तरीय क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले दिनुभएको जानकारीअनुसार दैलेखका ६७ स्थानमा निर्माण गरिएका क्वारेन्टाइनमा २ सय ४७ र आइसोलेसनमा चार जना बसेका छन् ।

इन्सेक सुर्खेत जिल्ला प्रतिनिधि दुर्गा थापाका अनुसार चैत २८ गते सुर्खेत जिल्ला प्रहरीले लकडाउन उल्लङ्घन गर्ने ४२ महिला र ६२ पुरुष गरी जम्मा १ सय ४ जनालाई केही समय नियन्त्रणमा लिई लकडाउन तथा कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी जानकारी गराई छाडेको जनाएको छ ।

यसैगरी, कोरोना भाइरस नियन्त्रणका लागि वीरेन्द्रनगर नगरपालिकाले २ करोड ८० लाखको कोष निर्माण गरेको छ । उक्त कोषमा प्रभु बैङ्क शाखा सुर्खेतले १ लाख ५० हजार रकम जम्मा गरेको प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिनु भयो ।

भेरीगङ्गा नगरपालिका-१ मा बसेका राउटे समुदायमा खाद्यान्न सङ्कट परेको छ । गत पुसमा घरमै पोलिएर थलिएका ६० वर्षीय कान्छाराम शाही र कलेजोको समस्याले थला परेका २१ वर्षीय कपिल शाहीको समस्या लकडाउनको समयमा झन् बल्भिmएको राउटे समुदायको क्षेत्रमा सक्रिय दानसिंङ शाहीले बताए ।

यस विषयमा इन्सेक, सुर्खेत जिल्ला प्रतिनिधि दुर्गा थापाले सामाजिक विकास मन्त्री दल रावलको ध्यानाकर्षण गराउनुभएको छ । मन्त्री रावलले राउटेको उपचार र राहतको व्यवस्था स्थानीय तहले गर्नुपर्ने धारणा राख्नु भयो । यद्यपि प्रदेश सरकार र स्थानीय सरकार तथा अन्य सरोकारवाला निकायसँग आफूले समन्वय गर्ने पनि मन्त्री रावलको भनाइ छ ।


इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत