कोरोना भाइरससम्बन्धी कर्णाली प्रदेशको अवस्था

  ०७६ चैत २७ गते

कोरोना भाइरस प्रकोप न्यूनीकरणका लागि जिल्ला-जिल्लामा भएका प्रयास सम्बन्धमा इन्सेकका जिल्ला प्रतिनिधिमार्फत प्राप्त सूचनाको आधारमा जिल्लागत अवस्था यसप्रकार छ ।

जुम्ला जिल्ला प्रतिनिधि मानदत्त रावलका अनुसार कोरोना भाइरस रोकथाम, नियन्त्रण, उपचार, राहत तथा आवश्यक व्यवस्थापन गर्न जुम्लामा ६ करोड ९ हजार रुपियाँको व्यवस्था भएको छ ।

एक नगरपालिका, सात गाउँपालिका, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्थानीय प्रशासनमा कोरोना रोकथाम गर्न बजेट व्यवस्थापन भएको हो । स्थानीय तहले १० लाखदेखि एक करोड रुपियाँसम्मका कोरोना विपद् कोष बनाएका छन् । यसअघि चालु आर्थिक वर्षमा विपद् कोषका लागि सबै स्थानीय तहले १०/१० लाख बजेट विनियोजन गरे पनि कोरोनाविरुद्वको कोषमा थप बजेट विनियोजन गरेका हुन् ।

कोषमा बजेट कम हुने भएपछि जनप्रतिनिधिले बैठक भत्तादेखि कर्मचारीका तलब पनि कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । चन्दननाथ नगरपालिकाले एक करोड, सिंजा गाउँपालिकाले १ करोड ९ हजार, कनकासुन्दरी गाउँपालिकाले ६० लाखको कोरोना विपद् कोष स्थापना गरेको छ । त्यसैगरी, गुठीचौर गाउँपालिकाले २० लाख, पातारासी गाउँपालिकाले १० लाख, हिमा गाउँपालिकाले १० लाख, तिलाले १० र तातोपानीले १५ लाखको कोरोना विपद् कोष बनाएका छन् ।

जुम्लाको हिमा गाउँपालिकाले लकडाउनको समयमा सबैको घरमा समस्या भएको भन्दै प्रत्येक घरधुरीलाई ३० केजी चामल र २५ केजी नुन वितरण गर्न सुरु गरेको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताउनु भयो ।

गाउँपालिकाको वडा नम्बर १, २, ३ र ५ का एक हजार ५ सय ६७ घरधुरीलाई चैत २६ गते घरदैलोमै पुगेर राहत वितरण गरिएको उहाँले बताउनु भयो । गाउँपालिकाका २ हजार ३ सय ३५ घरधुरीमध्ये १ सय ५० घरधुरी अतिविपन्न भएकाले उनीहरूलाई थप राहतको व्यवस्था गर्ने अध्यक्ष शाहीले जानकारी दिनु भयो ।

यस्तै लकडाउनको समयमा खाद्यसङ्कट हुन सक्ने भन्दै हिमा गाउँपालिकाले खाद्य बैंक स्थापना गरेको छ । गाउँपालिका अध्यक्ष शाहीका अनुसार नेपाल खाद्य संस्थान सुर्खेतबाट खरिद गरिएको चामल, दाल, नुन, तेल सबै एकै ठाउँमा राखी सङ्कटको समयमा अतिविपन्नलाई पहिलो प्राथमिकता राख्दै आवश्यक भएका स्थानीय व्यक्तिलाई उपलब्ध गराइने छ ।

गाउँपालिकाका सबै घरधुरीलाई ४७ लाख रुपियाँ बराबरको चामल खरिद गरेको प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाको भनाइ छ । उहाँले सुर्खेतस्थित खाद्य संस्थानको कार्यालयबाट ७ हजार क्वीन्टल चालम आयात गरिसकेको बताउनु भयो ।

यसैबीच कामको सिलसिलामा प्यूठान गएका यूवा भागेर लकडाउनको समयमा पाँच दिनको पैदल यात्राबाट रोल्पा, जाजरकोट हुँदै जुम्लाको तातोपानी गाउँपालिका-७ ताम्तीमा प्रवेश गरेको समयमा प्रहरीले गिरफ्तार गरी निगरानी केन्द्रमा बुझाएको छ ।

डीएसपी लालबहादुर धामीका अनुसार प्यूठानबाट जुम्लाको ताम्ती गाउँमा आएका १३ जना र पातरखोला गाउँका चार जना यूवालाई स्थानीय र प्रहरीको सहयोगमा गिरफ्तार गरी क्वारेन्टाइनमा राखिएको छ । यसैगरी, कालीकोट जिल्ला तिलागुफा नपाका चार जना, पलाता गाउँपालिकाका पाँच जना र जुम्लाको हिमा गाउँपालिकाका चार जना यूवालाई गिरफ्तार गरी सम्बन्धित गाउँपालिका अन्तर्गतका निगरानी केन्द्रमा राखिएको छ ।

प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेका अनुसार जुम्लामा अहिले ३३ जना निगरानी केन्द्रमा बसेका छन् भने २ सय १३ जना १४ दिनको अवधि पुरा गरेर घर फिर्ता भएका छन् । यस्तै कोरोना सङ्क्रमण भएको आशङ्का गरिएका ६ जनामा कोरोना सङ्क्रमण नभएको पुष्टि भएको छ । नमूना परीक्षणका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएकोमा रिपोर्टमा कोरोना नभएको पुष्टि भएको हो ।

मुगु जिल्ला प्रतिनिधि जीवन सेजुवालका अनुसार कोरोना भाइरस रोकथाम, नियन्त्रण, उपचार र राहत वितरणलाई प्रभावकारी बनाउन जिल्लाका चारै स्थानीय तहका प्रत्येक वडामा निगरानी तथा खोजी दस्ता गठन गरिएको छ ।

स्थानीय सरकारले क्वारेन्टाइन, आइसोलेसन वेडको तयारी पुरा गर्दा पनि भारत र तेस्रो मुलुकबाट आएका तथा गाउँमा रुघाखोकी, ज्वरो आएका नागरिक चेकजाँच र क्वारेन्टाइनमा बस्न नआएपछि जिल्लाका सबै वडामा खोजी दस्ता गठन गरिएको हो ।

सङ्क्रमणको जोखिममा रहेका व्यक्तिको निगरानी तथा खोजी गरी क्वारेन्टाइनमा बसाल्न सहयोग गर्न, क्वारेन्टाइनमा बस्न नमान्नेलाई प्रहरीको सहयोग लिनुका साथै वडामा माइकिङ्ग तथा सचेतनाका अन्य कार्य गर्न, कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामीलाई आइसुलेसनमा पठाउने र कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक पर्ने अन्य तथ्याङ्क सङ्कलनका लागि खोजी दस्ता गठन गरी त्यसको जानकारी जिल्ला प्रशासन कार्यालयलाई दिन स्थानीय सरकारलाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले जानकारी दिनु भयो ।

चार वटा स्थानीय तहमा रहेका १९ ओटा हेल्थ डेक्समा ३ हजार ३ सय ९३ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । जिल्लाभरि १ सय ९२ बेड क्वारेन्टाइन, आठ ओटा आइसोलेसन बेड रहेका छन् । क्वारेन्टाइनमा रहेका ४९ जनामध्ये ४७ जना घर फर्केका छन्  ।

यसैगरी, गत पुस र माघमा कतारबाट आएका सोरु गाउँपालिकाका दुई र भारतबाट आएका एक गरी तीन जना स्वाब परीक्षणका लागि जिल्ला अस्पतालमा आएका छन् ।

सोरु गाउँपालिकाको तारापानी क्वारेन्टाइनमा बस्दै आएका उनीहरूको १४ दिन बसाइ सकिएपछि आफूहरूमा कुनै लक्षण नदेखिए पनि ढुक्क हुनका लागि स्वाब दिएको उनीहरूले बताएका छन् । जिल्लामा ६० हजार बढी जनसङ्ख्या भए पनि हालसम्म तीन जनाको मात्र स्वाब सङ्कलन भएको छ ।

विकट तथा दुर्गमको कारण गाउँ-गाउँबाट स्वाब सङ्कलन गरेर सुरक्षितरूपमा जिल्ला अस्पताल पुर्‍याउन समस्या भएकाले स्वाब सङ्कलनमा कठिनाइ भएको जिल्ला अस्पताल मुगुका डा. डबलबहादुर मल्लले बताउनु भयो । डा. मल्लका अनुसार छिटो नतिजा लिन गाउँ-गाउँमा घुम्ती शिविर गरेर स्वाब सङ्कलन गर्नुपर्ने हुन्छ ।

हुम्ला जिल्ला प्रतिनिधि नन्द सिंहका अनुसार सिमकोट गाउँपालिकाले कोरोना भाइरसको प्रकोप रोक्ने कार्यमा स्वास्थ्यकर्मीलाई उत्प्रेरित गर्न भारइरस सङ्क्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीको १० लाखको बिमा गरिदिने भएको छ ।

चैत २६ गते बसेको गाउँपालिकाको बैठकले कोरोना भाइरसबाट सङ्क्रमितको उपचारका क्रममा स्वास्थ्यकर्मी आफै सङ्क्रमित भएर मृत्यु भएमा निजको परिवारलाई स्वास्थ्य बिमा बापत १० लाख रुपियाँ राहत दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले बताउनु भयो । बैठकले महामारी न्यूनीकरणमा खटिएका कर्मचारीका लागि तहअनुसार जोखिम भत्ता दिने निर्णयसमेत गरेको छ ।

यसैबीच कोरोना सङ्क्रमणको त्रासले धेरै मानिस जम्मा हुन नपाउने प्रशासनको उर्दीले गर्दा हुम्लाको मृत्यु संस्कार अनुसार तेह्रौँ दिनका दिन मलामीलाई अन्नप्रसाद गर्नुपर्ने कार्य गर्नमा समस्या भएको छ ।

खार्पुनाथ गाउँपालिका-३ स्थायी घर भएकी हाल सदरमुकाम सिमकोटमा रहँदै आएकी रिठु रोकायाले पति सुत्तबहादुर रावलको निधन भएको तेह्रौँ तिथिमा लकडाउन जारी रहेको कारण मलामीलाई अन्नप्रसाद ग्रहण गराउन सक्नुभएको छैन । स्थानीय प्रशासनले लकडाउनको समयमा सामान्य विधि पुर्‍याएर तेह्रौँ तिथि उम्काउन अनुरोधसमेत गरेको थियो ।

स्थानीय चलनअनुसार मृत्यु भएको तेह्रौँ तिथिका दिन सबै मलामीलाई एक छाक दाल, भात र तरकारी खुवाउनु पर्ने हुन्छ । परिस्थिति सहज भए ४५ औँ दिनमा खुवाउने सोच रहेको उहाँले बताउनु भयो ।

त्यसैगरी, कोरोनाकै कारण सिमकोट गाउँपालिका-५ का राना रावतले पनि बुवाको ४५ औँ दिनमा गरिने संस्कार पूर्णरूपमा गर्न नसकेको बताउनु भयो । उहाँका अनुसार उक्त दिनमा छोरीचेलीदेखि मृतकका साथीसङ्गीलाई अन्नप्रसाद ग्रहण गराउनुपर्ने चलन छ ।

रुकुम पश्चिम जिल्ला प्रतिनिधि मनिषा केसीका अनुसार विभिन्न क्वारेन्टाइनबाट एकैपटक २९ जनाको स्वाब सङ्कलन गरिएको छ ।

कर्णाली प्रदेश अस्पताल, सुर्खेतबाट आएको स्वास्थ्यकर्मीको टोलीले चैत २६ गते चौरजहारी नपाको क्वारेन्टाइनमा बसेका सात, भारत तथा तेस्रो मुलुकबाट आएका सात, सानीभेरी गाउँपालिकाबाट १४ र मुसीकोट नगरपालिकाबाट एक जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि सुर्खेत पठाइएको छ ।

विदेशबाट आएका तथा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाको स्वाब सङ्कलन गरिएको जिल्ला अस्पताल सल्लेका कोरोना रोग नियन्त्रण समितिका फोकल पर्सन ईश्वर रावलले जानकारी दिनु भयो ।

सरकारले देशबाहिरबाट आएका सबै जनाको स्वाब परीक्षण गर्नुपर्ने भनेकाले त्यसैअनुसार पहल भइरहेको उहाँले बताउनु भयो । यसअघि जिल्लाका दुई जना व्यक्तिको स्वाब परीक्षण गरिएकोमा नेगेटिभ रिपोर्ट आएको थियो ।

सल्यान जिल्ला प्रतिनिधि मीना बुढाथोकीका अनुसार मुक्तिनाथ विकास बैंक शाखा कार्यालय श्रीनगरले लकडाउनबाट प्रभावितलाई लक्षित गरी दुई स्थानीय तहलाई १ लाख बराबरको खाद्य सामग्री हस्तान्तरण गरेको छ ।

शारदा नपा र छत्रेश्वरी गाउँपालिकालाई चामल, दाल, तेल, नुन, चिनी, साबुनलगायतका ५०/५० हजार रुपियाँ बराबरको खाद्य सामग्री हस्तान्तरण गरिएको बैंक शाखा कार्यालय श्रीनगरका प्रबन्धक सुनिल रेग्मीले बताउनु भयो ।

यसैगरी, ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शारदा नपाले स्थापना गरेको विपद् कोषमा जम्मा हुने गरी ५० हजार रुपियाँ सहयोग गरेको छ । सहकारी संस्थाका अध्यक्ष धिरेन्द्रकुमार शाक्यले नगरप्रमुख सुरेश अधिकारीलाई ५० हजारको चेक हस्तान्तरण गर्नुभएको हो ।

यस्तै नगरपालिकालाई दाङ तुलसीपुर निवासी निर्माण व्यवसायी पूर्णबहादुर भण्डारीले ३० हजार रुपियाँ र खलङ्गा निवासी सन्देश श्रेष्ठले ५ हजार रुपियाँ सहयोग गरेको नगरपालिकाले जनाएको छ ।

यसैबीच विदेशबाट फर्किएकामा कोरोना भाइरस सङ्क्रमण भए/नभएको परीक्षण गर्न स्वाब सङ्कलन गर्न थालिएको छ । चैत १ गते भारतबाट फर्केकामध्ये केही र तेस्रो मुलकबाट आएका सबैको कोरोना परीक्षणका लागि नमूना सङ्कलन गर्न थालिएको हो । स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुनकुमार बुढाका अनुसार दार्मा गाउँपालिकाका १० र कुमाख गाउँपालिकामा तीन जनाको स्वाव सङ्कलन गरिएको छ । सङ्कलित सबै नमूना परीक्षणका लागि सुर्खेत पठाइएको छ ।

डोल्पा जिल्ला प्रतिनिधि विष्णुप्रसाद देवकोटाका अनुसार त्रिपुरासुन्दरी नगरपालिकाले लकडाउनको समयमा नागरिकलाई दैनिक उपभोग्य बस्तुको अभाव हुन नदिन हप्तामा एक दिन बिहान पसल खुला गर्ने निर्णय गरेको छ ।

ग्याँस, तेल, नुन, चामल, चिनी, दाललगायतका उपभोग्य बस्तुको अभाव हुन गई दैनिक गुजारामा समस्या आउन थालेपछि हप्तामा एक पटक बिहानको समयमा पसलहरू खुला गर्ने निर्णय गरिएको नगरका कार्यकारी प्रमुख पितृभक्त गिरीले जानकारी दिनु भयो ।

प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले नागरिकलाई खाद्यान्नलगायतका दैनिक उपभोग्य बस्तुको अभाव हुन नदिन उद्योग बाणिज्य सङ्घ डोल्पाको संयोजनमा निश्चित पसल खुला गर्ने र एक मिटरको दुरीको फरकमा रहेर किनमेल गर्ने व्यवस्था मिलाइएको बताउनु भयो ।

प्रजिअ सुनारका अनुसार नेपाल सरकारको खाद्य कम्पनी लिमिटेड दुनैमा ३ हजार क्वीन्टल चामल मौज्दात रहेको र सडक मार्गबाट केही दिनअघि ग्याँस सदरमुकाम दुनैमा पुर्‍याइएको छ । यसैगरी, तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकामा खाद्यान्न अभाव भएको खबर आएकाले प्रदेश सांसद बीरबहादुर शाहीको पहलमा सडक मार्गबाट १८ सय क्वीन्टल चामल ल्याउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी सुनारले जानकारी दिनु भयो ।

कालीकोट जिल्ला प्रतिनिधि कालीबहादुर मल्लका अनुसार चैत २७ गते क्वारेन्टनइनमा बस्ने दुई जना थपिएसँगै कालीकोटमा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ३२ भएको छ । १ सय ९५ जना क्वारेन्टाइनमा बसेकोमा १ सय ६३ जना घर फर्केका छन् भने ३२ जना हाल क्वारेनटाइनमा रहेको जिल्ला अस्पताल कालीकोटका सूचना अधिकारी कटक महतले जानकारी दिनु भयो ।

महतका अनुसार चैत २७ गतेसम्म कालीकोट जिल्लाका विभिन्न स्थानीय तहमा स्वास्थ्य चेक जाँचका क्रममा २१ जना सामान्य ज्वरोका बिरामी पाइएका छन् । स्वाब परीक्षणका लागि प्रदेश अस्पतालमा पठाइएका सबैको रिपोर्ट नेगेटिभ आएको सूचना अधिकारी महतले बताउनु भयो ।

यसैगरी, खाँडाचक्र नगरपालिका मान्ममा रहेको एकीकृत भवनलाई ५० सैयाको कोरोना अस्पताल बनाउने निर्णय भएको छ । नगरपालिका प्रमुख जसीप्रसाद पाण्डेको अध्यक्षतामा चैत २७ गते बसेको सरोकारवालाको बैठकले सङ्घीय सरकारको पाँच तले सुविधा सम्पन्न भवन प्रयोगविहीन अवस्थामा रहेको हुनाले आइसोलेसन वार्डसहितको कोरोना अस्पताल बनाउने निर्णय भएको हो ।

नौ वटा स्थानीय तहले चैत २७ गतेसम्म विभिन्न ७८ ठाउँलाई क्वारेन्टाइन स्थलको रूपमा छनोट गरेर स्थानीय सरकारको पहलमा जिल्लाभर ६ सय ९१ ओटा बेड निर्माण गरिएका छन् । जिल्लाको मान्म, रास्कोट, नरहरिनाथ र महाबैको ओदामा गरी १५ वटा आइसोलेसन वार्ड पनि बनाइएको छ । क्वारेनटाइनमा रहेकालाई स्थानीय सरकारको सहयोगमा खान बस्नको व्यवस्था मिलाइएको छ । खाँडाचक्र नपा र तिलागुफा नपाले मान्म र गाल्जे बजार क्षेत्रमा किटनाशक औषधि कोलोरिन छरेका छन् ।

जाजरकोट जिल्ला प्रतिनिधि दिनेश श्रेष्ठका अनुसार लकडाउनको समयमा मादक पदार्थ सेवन गरी सार्वजनिक स्थल तोडफोड गर्नेलगायतका उत्छृङ्खल कार्यमा संलग्न भेरी नपा-४ का २६ वर्षीय साजन विक, २५ वर्षीय नविन श्रेष्ठ र २४ वर्षीय कालुकास विक्रम शाहलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी किशोरकुमार श्रेष्ठले बताउनु भयो ।

चैत २६ गते राति घर अगाडि राखिएका बाइक ढालिदिने, नपाले बाटोमा राखेका डस्टवीन फाल्नेलगायतका कार्य गरेको स्थानीयको सूचनाको आधारमा उनीहरूलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । गिरफ्तार परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी आवश्यक कारवाहीको प्रक्रिया अघि बढाइएको डिएसपी श्रेष्ठले जानकारी दिनु भयो ।

कुशे गाउँपालिका-५ पाँचकाटियास्थित रामचन्द्र प्राथमिक विद्यालयको भवनमा गाउँपालिकाले १५ बेडको क्वारेन्टाइन स्थापना गरेको छ । गाउँपालिका अध्यक्ष बस्नेतले कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी सचेतनामूलक कार्यक्रम सबै वडा, टोल तथा घर नछुट्ने गरी गरेको र सबै नागरिकलाई सेनिटाइजर, मास्क, साबुनलगायतका सामग्री वितरण गरेको जानकारी दिनु भयो ।

दैलेख जिल्ला प्रतिनिधि अमर सुनारका अनुसार कर्णाली प्रदेशसभा सदस्य सुशीलकुमार थापाले आफ्नो एक महिनाको पारिश्रमिक र समाजसेवी दानबहादुर रावललगायत अरु सहयोगीसमेतको गरी करिब साढे तीन लाख रुपियाँ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराउनुभएको छ ।

निर्वाचन क्षेत्र नं. २ का पाँच ओटा स्थानीय तहभित्रका स्वास्थ्य संस्था, जिल्ला प्रशासन कार्यालयलगायत ६ ओटा सुरक्षा निकाय र दैलेखका सञ्चारकर्मीलाई मास्क, सेनिटाइजर जस्ता सामग्री चैत २७ गते वितरण गरिएको छ । चामुण्डाबिन्द्रासैनी, आठबीस नगरपालिका र ठाँटीकाँध गाउँपालिकामा चैत २८ गतेसम्म मास्क, सेनिटाइजरसँगै स्वास्थ्यकर्मीलाई पीपीई सेट दिइने सांसद थापाले जानकारी दिनु भयो ।

यसैगरी, दुल्लू नपा-१ नाउलेकटुवाल निवासी थीरबहादुर थापाले व्यक्तिगतरूपमा आफ्नो वडाका ५ सय ५० घरधुरीका स्थानीयलाई ५० हजार रुपियाँ बराबरको मास्क र हरेक घरलाई एक/एक ओटा साबुन वितरण गरिएको जानकारी दिनुभएको छ ।


इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत