कोरोना भाइरससम्बन्धी कर्णाली प्रदेशको अवस्था

  ०७६ चैत २५ गते

कर्णाली प्रदेश सरकारले कोरोना भाइरस रोकथाम, नियन्त्रण, उपचार, राहत तथा आवश्यक व्यवस्थापन गर्न स्थानीय तहलाई आर्थिक सहयोग गर्ने भएको छ ।

प्रदेश सरकारको चैत २५ गते बसेको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा भएको रुपियाँबाट वीरेन्द्रनगर नगरपालिकालाई ३० लाख, अन्य नगरपालिकाहरूलाई २० लाख र गाउँपालिकाहरूलाई १५ लाख रुपियाँको दरले सम्बन्धित स्थानीय तहले स्थापना गरेको विपद् व्यवस्थापन कोषका लागि बजेट उपलब्ध गराउने भएको हो ।

बैठकले देश बाहिर र प्रदेश बाहिर अलपत्र परेका कर्णालीबासी नागरिकको तत्काल व्यवस्थापन गर्न नेपाल सरकारलाई अनुरोध गरेको छ । यसैगरी, ठूलो सङ्ख्यामा भारतलगायत अन्य देशबाट आएका कर्णाली प्रदेशका नागरिकमा सङ्क्रमण भएको हुन सक्ने तथा एक व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण फैलिन सक्ने सम्भावनालाई दृष्टिगत गरी घुम्ती प्रयोगशाला परीक्षण सेवाको तत्काल व्यवस्थापन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णयगरिएको कर्णाली प्रदेश सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले बताउनु भयो ।

साथै, कर्णाली प्रदेशभित्रका सबै स्वास्थ्यकर्मीहरू कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारमा संलग्न रहेको र गर्मीयाम सुरुवातसँगै अन्य मौसमी महामारी हुन सक्ने अवस्थालाई ख्याल गर्दै औषधि, उपकरण र विशेषज्ञसहितको टोली तयारी अवस्थामा राखी आवश्यकता अनुसार प्रदेशमा पठाउन नेपाल सरकारलाई अनुरोध गर्ने बैठकको निर्णय छ ।

कोरोना भाइरस प्रकोप न्यूनीकरणका लागि जिल्ला-जिल्लामा भएका प्रयास सम्बन्धमा इन्सेकका जिल्ला प्रतिनिधिमार्फत प्राप्त सूचनाको आधारमा जिल्लागत अवस्था विश्लेषण यसप्रकार छ ।

कालीकोट जिल्ला प्रतिनिधि कालीबहादुर मल्लका अनुसार कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी चैत २४ गते जिल्ला विपद् व्यवस्थापन समिति कालीकोटको बैठकमा सहभागी भई पाँच जनाको 'थ्रोट स्वाब' लिएर सुर्खेत फर्किनु भएको छ ।

मलेसियाबाट आएका सान्नी त्रिवेणी गाउँपालिका-१ का एक, सोही गाउँपालिका-२ का एक, कतारबाट आएका सोही गाउँपालिका-४ का दुई र कैलालीदेखि आएका शुभकालिका गाउँपालिका-३ का एकजना गरी पाँच जनाको 'थ्रोट स्वाब' लिएर फर्किएको स्वास्थ्य सेवा कार्यालय कालीकोटका सूचना अधिकारी कटक महतले जानकारी दिनु भयो ।

१४ दिन क्वारेन्टाइनमा बसेर घर फर्किएका उक्त व्यक्तिहरूलाई परीक्षणको नतिजा नआउञ्जेल होम क्वारेन्टाइनमा बस्न सुझाव दिइएको पनि महतले बताउनु भयो । उहाँका अनुसार कालीकोटमा १ सय ६५ पुरुष र ११ महिला गरी १ सय ७६ जनालाई क्वारेन्टाइनमा राखिएकोमा १४ दिन पूरा भएकालाई घर पठाएर हाल २९ जनालाई मात्र क्वारेन्टाइनमा राखिएको छ ।

रुकुम पश्चिम जिल्ला प्रतिनिधि मनिषा केसीका अनुसार चौरजहारी नगरपालिकाले कोरोना भाइरस फैलिन नदिन १४ ओटै वडामा आवतजावत गर्न रोक लगाएको छ ।

त्यसैगरी, भाइरसको जोखिम न्यूनीकरण र राहतको लागि चौरजहारी नपाले ६० लाखको विपद् व्यवस्थापन कोष निर्माण गरेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीका अनुसार उक्त कोषमा नगरपालिकाले २० लाख रुपियाँ जम्मा गरेको, सङ्घीय सरकार र प्रदेश सरकारबाट नगरपालिकामा आउने रकमसमेत जम्मा गरिने निर्णय गरिएको जानकारी दिनु भयो । प्रत्येक कर्मचारीको तीनदेखि पाँच दिनसम्मको तलब उक्त कोषमा जम्मा गरिने भएको छ ।

कोषमा सहयोग गर्न नगरपालिकाले सार्वजनिक अपिल गरेपछि चौरजहारी अस्पतालले एक सय बोरा चामल र उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रेम सुनारले ४० बोरा चामल सहयोग गरेको नगरपालिकाले जनाएको छ ।

यसैबीच आठबीसकोट नगरपालिकाले १२ शैयाको कोरोना विशेष अस्पताल निर्माणको काम थालेको छ । १० दिनमा निर्माण गरिसक्ने गरी निर्माणको काम चैत २५ गतेदेखि सुरु गरिएको नगरप्रमुख गोर्खबहादुर केसीले बताउनु भयो ।

त्यसैगरी, जिल्ला सदरमुकाम मुसिकोटस्थित क्वारेन्टाइनमा बसेका सात जना व्यक्तिहरू दुई हप्ता अवधि पुरा गरेर घर फर्किएका छन् । उनीहरूमा कुनै लक्षण नदेखिएपछि घर पठाइएको र क्वारेन्टाइन खाली भएको नगरपालिकाले जनाएको छ ।

हुम्ला जिल्ला प्रतिनिधि नन्द सिंहका अनुसार अदानचुली गाउँपालिकाका स्थानीयले चामल अत्याधिक अमिलो भएको गुनासो गरेपछि चैत २४ गते नेपाल खाद्य संस्थान श्रीनगर डिपोको तीन ओटै गोदामको अनुगमन गरिएको छ ।

अनुगमनपछि गाउँपालिकाका अध्यक्ष दल फडेराले जिल्ला प्रशासन कार्यालयमा समेत कुरा गरेर अमिलो भएको चामल तत्काल फिर्ता गर्न पहल गर्ने बताउनु भयो । अध्यक्ष फडेराले कुहिएको अमिलो चामल नागरिकले नलिन अपिल गर्दै डिपो प्रमुखलाई यस्तो चामल बिक्री वितरण नगर्न निर्देशनसमेत दिनु भएको छ ।

श्रीनगर खाद्य डिपोमा करिब १ सय ५० क्वीन्टल चामलमध्ये ३५ बोरा चामल बिग्रिएको देखिएकाले पुरानो अस्पतालको गोदाममा छुट्याएर राखिएको डिपो प्रमुख रामकृष्ण नन्दन सिंहले जानकारी दिनु भयो । प्रमुख सिंहका अनुसार गोदाममा भएको चामलमध्ये कुन अमिलो हो र कुन खान लायक छ भनेर छुट्याउने काम भइरहेकाले गोदाममा कति चामल अमिलो भएको भन्ने विषयमा एकीन भन्न सकिँदैन । केही दिनमा सबै चामल छुट्याइसक्ने उहाँको भनाइ छ ।

नेपालगञ्ज, सुर्खेतलगायतको शहरबाट मुगु जिल्लाको गमगढी हुँदै हुम्ला आएर क्वारेन्टाइनमा बसेकालाई चैत २४ गते बेलुका घर पठाइएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका डा. नविन रोकायाका अनुसार १४ दिनको अवधि पुगेपछि १० जनालाई क्वारेन्टाइनबाट घर फर्काइएको हो । मुगु हुँदै हुम्ला प्रवेश गर्दा उनीहरूलाई हेल्थ डेक्समा चेकजाँच भएको र क्वारेन्टाइनमा बस्दा स्वास्थ्यमा केही समस्या नपाएपछि घर फकाईएको डा. रोकायाले जानकारी दिनु भयो ।

यसैबीच जिल्ला सुरक्षा समितिको बैठकले 'कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर' स्थापना गरेको छ । कोभिड-१९ को सङ्क्रमणबाट जिल्लाबासीलाई जोगाउन प्रमुख जिल्ला अधिकारी विनीता भट्टराईको संयोजकत्वमा सात सदस्यीय क्राइसिस म्यानेजमेन्ट सेन्टर स्थापना गरिएको हो । समितिको बैठकले पाँच सदस्यीय संयुक्त अप्रेसन केन्द्र स्थापना गर्ने र शान्ति सुरक्षा अनुगमन तथा नियन्त्रणको कार्य गर्ने निर्णय गरेको छ ।

केन्द्रीय सर्कुलर अनुसार आपूर्ति तथा अत्यावश्यक सेवा सहजीकरण कार्यका लागि जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । साथै, सूचना तथा प्रविधि कार्यका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ ।

जाजरकोट जिल्ला प्रतिनिधि दिनेश श्रेष्ठका अनुसार वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री जाजरकोट पठाउनु भएको छ ।

स्वास्थ्य सेवा विभागसँग समन्वय गरेर पठाएका व्यक्तिगत सुरक्षा सामग्री पिपिइ १ सय ४० थान, थर्मल गन १० थान, मास्क १ हजार ७ सय थान, वेड १२ सेट, गज १ सय थान, गाउन १० थान, ग्लोब्स ४ सय ५० थान, डिटोल साबुन, डिटोल लिकुइड, हेण्ड वासलगायतका सामग्री चैत २५ गते जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तमार्फत स्वास्थ्य सेवा कार्यालयलाई मन्त्रीका स्वकीय सचिव मुक्ति बस्नेतले हस्तान्तरण गर्नु भएको छ ।

सामग्री बुझ्दै अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक सामग्री पठाउन पहल गर्ने मन्त्री बस्नेतलाई धन्यवाद दिँदै थर्मल गन र पीपीई जिल्लाका अन्य स्वास्थ्य संस्थालाई पनि पठाइने बताउनु भयो ।

यसैबीच निर्माण व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष रत्नबहादुर खड्काले जाजरकोटका स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) उपलब्ध गराउनु भएको छ ।

व्यक्तिगत सुरक्षा सामग्री नहुँदा उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीनै जोखिममा रहेको जानकारी पाएपछि खड्काले व्यक्तिगत लगानीमा १ सय थान पीपीई उपलब्ध गराएको जानकारी दिनु भयो । उपाध्यक्ष खड्काले उक्त सामग्री चैत २५ गते स्वास्थ्य सेवा कार्यालयमा आयोजित एक कार्यक्रममा हस्तान्तरण समेत गर्नु भयो ।

जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावलले व्यक्तिगत लगानीमा अत्यावश्यक पीपीई उपलब्ध गराएर ठूलो सहयोग गरेकोमा खड्कालाई धन्यवादसमेत दिनु भयो ।

यसैगरी, जिल्ला समन्वय समितिका सदस्य तेजविक्रम शाहले निजी लगानीमा भेरीनपा-३ का ८३ विपन्न परिवारलाई चामल, दाल, तेल र नुन वितरण गर्नु भएको छ ।

वडा कार्यालयले दिएको विपन्न परिवारको सूचीका आधारमा प्रतिपरिवार ३० किलो चामल, दुई किलो दाल, एक लिटर तेल र एक किलो नुन वितरण गर्नु भएको हो ।

दैनिक ज्यालादारी काम गरेर गुजारा चलाउँदै आएका परिवारलाई लकडाउनमा काम गर्न नपाउँदा बिहानबेलुकाको छाक टार्न निकै समस्या परिरहेको अवस्थामा पाएको खाद्यान्नले ठूलो राहत मिलेको स्थानीय संगिता नेपालीले बताउनु भयो ।

जुम्ला जिल्ला प्रतिनिधि मानदत्त रावलका अनुसार भारत तथा तेस्रो मुलुकबाट जुम्ला आएका स्थानीय ३ सय २४ जनाको घुम्ती मेडिकल टोलीले स्वाब सङ्कलन गरी कोरोना परीक्षण गर्न काठमाडौँ पठाइएको छ । जिल्लाको एक नगरपालिका र सात गाउँपालिकाको विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा बसेका सबैको स्वाब सङ्कलन गरी परीक्षण गर्न पठाइएको हो ।

कनकासुन्दरी गाउँपालिकाको लासीपाटन चौरमा ५० जना, हिमा गाउँपालिकाको देवारगाउँ खेल मैदानमा १ सय २४ जना र जुम्लाको विमालस्थलमा १ सय ५० जना गरी ३ सय २४ जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्न काठमाडौँ पठाएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक मङ्गल रावलले बताउनुभयो ।

पातारासी, गुठीचौर, तातोपानी, तिला गाउँपालिका र चन्दननाथ नगरपालिकाका लागि जुम्ला विमानस्थल, हिमा गाउँपालिकाका लागि देवारगाउँ खेलमैदान र कनकासुन्दरी तथा सिञ्जा गाउँपालिकाका लागि लासीपाटन चौरमा स्वाब सङ्कलन गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताउनु भयो । सङ्घीय सरकारअन्तर्गतको कोरोना भाइरस सङ्कट व्यवस्थापन अप्रेसनको घुम्ती मेडिकल टोली र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोलीले स्वाब सङ्कलन गरेको उहाँले जानकारी दिनु भयो ।

दोस्रो पटक कोरोना परीक्षणका लागि जुम्लाबाट कर्णाली प्रदेश अस्पतालमा थप ६ जनाको स्वाब सङ्कलन गरी पठाइए पनि नतिजा आएको छैन । यसअघि जुम्लाबाट स्वाब सङ्कलन गरेर पठाइएको तीन जनाको नतिजा नेगेटिभ आएको थियो ।

डोल्पा जिल्ला प्रतिनिधि विष्णुप्रसाद देवकोटाका अनुसार ठूलीभेरी नगरपालिकाले कोरोना विपद् व्यवस्थापनका लागि १० लाख रुपियाँको कोष निर्माण गरेको छ । चैत २५ गते बसेको नगर कार्यपालिकाको बैठकले आवश्यकता अनुसार कोषको रकम बढाउन सकिने र राहत वितरण गर्नका लागि अति विपन्नको लगत सङ्कलन गरिरहेको नगर प्रमुख गणेशबहादुर शाहीले जानकारी दिनु भयो ।


इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत