कोरोना भाइरसबाट बच्न बागमती प्रदेशमा उच्च सतर्कता

  ०७६ माघ २७ गते

बागमती प्रदेश सरकारले नोबल कोरोना भाइरसको संक्रमणबाट बच्नका प्रदेशमा उच्च सतर्कता अभियान थालेको छ ।
प्रदेशमा भाइरसको संक्रमण फैलन नदिनका लागि सामाजिक विकास मन्त्रालयले उच्च स्तरिय समिति र प्रदेश स्तरिय द्रुत प्रतिकार्य समिति गठन गरेको छ । सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर गोकर्णमणी दुवाडीको संयोजकत्वमा उच्च स्तरिय समिति गठन गरिएको हो ।

samajik bikas mantralay

समितिको सदस्यहरुमा स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर रमेश अधिकारी, प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका निर्देशक डाक्टर बसन्त अधिकारी, प्रदेश स्वास्थ्य तालिम केन्द्रका निर्देशक बद्री खड्का, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डाक्टर नारायणबहादुर कार्की, सामाजिक विकास मन्त्रालयका चिकित्सा महाशाखा प्रमुख डाक्टर पुरुषोत्तम सेढाईलगायत रहेनु भएको छ । समितिले नेपालको चीनसंग जोडिएको नाका तथा पर्यटकीय क्षेत्रहरुमा विशेष निगरानी बढाएको छ ।
यस्तै स्वास्थ्य निर्देशक रमेश अधिकारीको संयोजकत्वमा प्रदेश स्तरीय द्रुत प्रतिकार्य समिति गठन गरको छ । समितिमा प्रदेश प्रहरी प्रमुख, प्रदेश खानेपानी सरसफाई प्रमुख, सामाजिक विकास महाशाखा प्रमुख, हेटौडा अस्पतालका मेडिकल सुपरिटेण्डेट, पशु सेवा कार्यालयका प्रमुख, सामाजिक विकास मन्त्रालय चिकित्सा शाखा प्रमुख सदस्य छन् ।
प्रदेश भित्रका मानिसमा भाइरसको संक्रमण देखिए हेटौडा अस्पताल र चितवन अस्पतालमा छुट्टै राखेर उपचार गर्ने व्यवस्था मिलाइएको निर्देशनालयका निर्देशक डाक्टर रमेश अधिकारीले जानकारी दिनुभयो । अरुसँगै राखेर उपचार गर्दा अन्य मानिसलाई पनि संक्रमण फैलन सक्ने भएकाले दुई अस्पतामा बेड सहित दुई ओटा कोठामा उपचारको व्यवस्था गरिएको छ । कोरोना भाइरस हावामा एक मिनेट र मानव शरिरमा चौध दिनसम्म मात्रै जिवित रहन सक्ने हुँदा स्वस्थ व्यवहारले संक्रमण नियन्त्रण गर्न सकिने प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थाका निर्देशक डाक्टर वसन्त अधिकारीले बताउनुभयो ।
संक्रमण देखिएमा उच्च ज्वरो आउने, श्वासप्रश्वासमा समस्या, लामो समयसम्म रुघाखोकी लागिरहने लक्षण देखिए तत्काल चिकित्सकसंग परामर्श लिन सुझाव दिएका छन् । यस्तै संक्रमितलाई परिक्षण गर्दा चिकित्सकलाई समेत भाइरस सर्न सक्ने भएकाले प्रदेशभरीका सरकारी अस्पतालहरुमा एक थान ‘चिकित्सक बचाउ’ गाउन खरिद गर्न निर्देशन दिइएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थाका निर्देशक डाक्टर वसन्त अधिकारीले बताउनुभयो ।
प्रदेश स्वास्थ्य निर्देशनालयले भाइरसको संक्रमणबाट बच्नका लागि सबैलाई सचेत हुन र स्वस्थ व्यवहार गर्न आह्वान गरेको छ । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, जेष्ठ नागरिक, दीर्घरोगीहरुलाई भाइरसले छिट्टै प्रभाव पार्ने भएकाले विशेष सावधानि अपनाउन र अन्य व्यक्ति सम्पर्कमा आउँदा कम्तिमा तीन फिटको दुरी कायम गर्न आग्रह गरेको छ ।
नेपालमा अहिलेसम्म शंकास्पद १४ जनाको स्वास्थ्य परिक्षण गर्दा एक जनामा संक्रमण देखिएको डाक्टर अधिकारीले बताउनुभयो । छिमेकी देश चीनबाट कोरोना भाइरस फैलिएकाले नेपालमा पनि संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन सुरु गरिएको उहाँले बताउनुभयो ।


पुष्पराज अधिकारी