कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज ७ गते)
असोज ७ गते १ हजार १ सय ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ६७ हजार ८ सय ४ पुगेको छ । गत २४ घण्टामा ९ हजार ४ सय ९७ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार असोज ७ गतेसम्म कोरोना सङ्क्रमणका कारण ४ सय ३६ जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये ४९ हजार ९ सय ५४ जना निको भएका छन् । असोज ७ गते १ हजार ८ सय ९३ जना निको भएका छन् भने निको दर ७३.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । १७ हजार ४ सय १४ जनाको उपचार भइरहेको छ । असोज ७ गतेसम्म झण्डै ९ लाख ५० हजार स्वाब परीक्षण गरिसकिएको पनि मन्त्रालयले जनाएको छ ।
प्रदेश २
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार कोरोना सङ्क्रमित हनुमाननगर कङ्कालिनी नगरपालिकाका एक जना जनप्रतिनिधिलाई प्रादेशिक कोभिड-१९ विशेष अस्पताल जनकपुरधाममा भेण्टिलेटर नपाएपछि थप उपचारका लागि असोज ७ गते काठमाडौँ रिफर गरिएको छ । असोज ६ गते कोरोना सङ्क्रमित भएका उनलाई चिनीको मात्रा बढेको र निमोनियाको लक्षण देखिएकोले भेण्टिलेटरमा राख्नुपर्ने आवश्यकता भएकाले काठमाडौँस्थित हृयाम्स अस्पताल पठाउनु परेको हनुमाननगर कङ्कालिनी नगरपालिकाका स्वास्थ्य संयोजक रामदेव यादवले जानकारी दिनु भयो । यादवका अनुसार राजविराजस्थित प्रयोगशालाले स्वाब लिन नमानेपछि असोज ६ गते जनकपुर पठाइएको ४६ ओटा स्वाबमध्ये असोज ७ गते २८ जनाको रिपोर्ट आएको र त्यसमध्ये एक प्रहरी र एक अनमीसहित १० जना सङ्क्रमित भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा असोज ७ गते भएको परीक्षणमा भिम दल गणका चार जना नेपाली सेना र डाकनेश्वरी नगरपालिकाका एक जनामा कोरोना सङ्क्रमण भएको बताउनु भयो ।
सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार कोरोना सङ्क्रमित औरही गाउँपालिका-३ का ५० वर्षीय पुरुषको असोज ७ गते बिहान धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइशोलेसन कक्षमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले बताउनु भयो । मृतकको टाउकोमा रगत जमी उपचारको लागि विराटनगरस्थित न्यूरो अस्पतालमा असोज ५ गते लगिएको थियो । सोही दिन कोरोना परीक्षणको लागि स्वाब सङ्कलन गर्दा असोज ६ गते रिपोर्ट पोजेटिभ देखिएपछि थप उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । योसँगै जिल्लामा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । शवको व्यवस्थापन गोलबजार नपा-१ स्थित गागन खोलामा गरिने जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी शालिग्राम शर्मा पौडेलले बताउनु भयो ।
सर्लाही प्रतिनिधि बुधन साहका अनुसार बरला नगरपालिकामा कोरोना सङ्क्रमित व्यक्तिको सङ्ख्या बढ्न थालेको तथा नगरपालिकामा वडा सदस्य र केही कर्मचारीहरूमा कोरोना सङ्क्रमण देखिएपछि नगरपालिकाले असोज ७ गते सूचना जारी गर्दै सील गरेको छ । असोज ८ गतेदेखि लागु हुने गरी असोज १५ गतेसम्मका लागि बलरा नगर क्षेत्र भित्रका अति आवश्यक स्वास्थ्य सेवाबाहेक अन्य सेवा बन्द गरिएको नगरपालिकाका प्रमुख अभय सिंहले बताउनु भयो ।
बागमती प्रदेश
काठमाडौँमा ४ सय ९०, भक्तपुरमा ९५ र ललितपुरमा ५० जना गरी काठमाडौँ उपत्यकामा असोज ७ गते ६ सय ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसैबीच काठमाडौँका १६ वर्षीय पुरुष र ६८ वर्षीया महिला तथा ललितपुरका ७४ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको प्रेस मिटमा जनाइएको छ ।
धादिङ प्रतिनिधि सीताराम अधिकारीका अनुसार जिल्ला अस्पतालमा कार्यरत एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आपतकालिन सेवा बाहेकका सेवा बन्द भएको छ । धादिङ अस्पतालमा आपतकालिन, ज्वारो क्लिनिक र प्रसूति सेवा बाहेक अस्पतालका सम्पूर्ण सेवा बन्द गरिएको हो । अस्पतालमा कार्यरत केही स्वास्थ्यकर्मीहरूको स्वाब सङ्कलन गरी पठाउँदा एक जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि अन्य सेवा बन्द गरिएको छ । नियमित रुपमा सञ्चालन गरिएको बहिरङ्ग, अन्य विषेशज्ञ लगायतका सेवा कोरोना सङ्क्रमणका कारण रोक्नु परेको अस्पतालका सूचना अधिकारी विक्रम बिकले जानकारी दिनुभयो ।
चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार भरतपुर अस्पताल र यस मातहत रहेको कोभिड ल्याबका कर्मचारीले अझै कोरोना जोखिम भत्ता पाएका छैनन् । चैतदेखिको गणना भइ भत्ता पाउनु पर्नेमा अहिलेसम्म नपाएको ल्याब टेक्नेसिएन रमेश अधिकारीले गुनासो गर्नु भयो । भरतपुर अस्तपालमा अर्थ मन्त्रालयले कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषको २ करोड ३३ लाख ६७ हजार रुपियाँ जम्मा भएको छ । भदौ ३ गते नै मन्त्रालयले रकम जम्मा गरे पनि हालसम्म स्वास्थ्यकर्मीको हातमा भत्ता परेको छैन । अस्पतालको खातामा पैसा जम्मा भएको एक महिना बितिसक्दा पनि आफूहरूले नपाउनु दुःखको कुरा भएको स्वास्थ्यकर्मी कल्पना थापाले बताउनु भयो । भरतपुर अस्पतालका लेखा प्रमुख भृगुराज खनालले अस्पतालको खातामा रकम आए पनि वितरण नभएको बताए । भरतपुर अस्पतालले चैतदेखि असारसम्म चार महिनाको मात्रै रकम माग गरी केन्द्रमा पठाएको थियो । तर, माग गरेको भन्दा आधा कम अर्थात् २ करोड ३३ लाख ६७ हजार रुपियाँमात्र आएपछि थोरै रकम के कसरी वितरण गर्ने भन्नेमा अस्पताल अलमलमा परेको खनालले बताउनु भयो ।
काठमाडौँ प्रतिनिधि विमला पौडेलका अनुसार स्वास्थ्य तथा जनङ्ख्या मन्त्रालयले सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ । नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको असोज ७ गते बसेको बैठकले २५ हजार जनाभन्दा बढी कोरोना भाइरस सक्रिय सङ्क्रमित भए लकडाउन गर्नुपर्ने निष्कर्षनिकालेको जानकारी दिनुभयो । बैठकले कोरोना सङ्क्रमणको दर बढिरहेकोले जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने सेवा र व्यवसाय कम्तिमा अझै एक महिना नखोल्न सिफारिस गर्ने निर्णय समेत गरेको छ ।
सुदूरपश्चिम प्रदेश
कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार भूमि सुधार तथा मालपोत कार्यालय, कैलालीमा कार्यरत एक कर्मचारीमा असोज ६ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि असोज ७ गतेदेखि असोज ९ गते सम्मका लागि सेवा प्रवाह बन्द गरिएको सो कार्यालयका प्रमुख प्रेमसिंह कुँवरले बताउनु भयो । सेती प्रादेशिक अस्पतालमा असोज ४ गते गरिएको पीसीआर परीक्षणका क्रममा असोज ६ गते कार्यालयका एक जना कर्मचारीमा कोरोना पुष्टि भएपछि कार्यालयबाट प्रवाह गरिने सम्पूर्ण सेवा बन्द गरिएको कुँवरले बताउनु भयो । धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायले हालसम्म धनगढी उपमहानगपालिकाका विभिन्न वडामा १ सय ७६ महिला र ३ सय १३ पुरुष गरी ४ सय ८९ जनामा कारोना सङ्क्रमण पुष्टि भइसकेको बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
सुस्त मनस्थितिकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–५ कोइलाडी बर्साइनका ४६ वर्षीय बंकर भनिने मौधकर खंगविरुद्ध प्रहरीले चैत १७ गते उजुरी दर्ता गरेको छ । पीडितका बुबाले…
बलात्कार घटनाको कसुरमा सात वर्ष कैद
१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी ब्यारेजका २३ वर्षीय अनीष कुमार मण्डललाई चैत १५ गते ७ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको…
नेपाल मानव अधिकार वर्ष पुस्तक परिमार्जनसहित इतिहासको निरन्तरता विषयक कार्यशाला सम्पन्न
इन्सेकले सन् १९९२ देखि हरेक वर्ष प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकको आगामी वर्षदेखि केही परिमार्जित ढाँचामा ल्याउने उद्देश्यले काभ्रेको धुलिखेलमा आयोजित दुई दिने कार्यशाला सम्पन्न भएको छ…
बलात्कार गरेको कसुरमा कैद सजायको फैसला
नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले आठराई त्रिवेणी गाउँपालिका– १ का १०, ११ र १२ वर्षीय बालकलाई चैत १६ गते कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री बनाउन माग गर्दै धर्ना
द्वन्द्वपीडित समाजले चैत १७ गते पोखरामा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री बनाउन माग गर्दै धर्ना विरोध प्रदर्शन गरेका छन् । संक्रमणकालीन न्याय सम्बन्धि वेपत्ता पारिएका व्यक्तिहरूको छानविन, सत्य निरूपण तथा मेलमिलाप…