कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज ५ गते)
असोज ५ गते १ हजार १ सय ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ६५ हजार २ सय ७६ पुगेको छ । गत २४ घण्टामा ९ हजार ५ सय ३३ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार असोज ५ गतेसम्म कोरोना सङ्क्रमणका कारण ४ सय २७ जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये ४७ हजार २ सय ३८ जना डिस्चार्ज भएका छन् । असोज ५ गते ९ सय ७६ जना डिस्चार्ज भएका छन् भने निको दर ७२.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । १७ हजार ६ सय ११ जनाको उपचार भइरहेको छ ।
प्रदेश १
मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार असोज ५ गते ताप्लेजुङकी ३७ वर्षीय महिलाको विराट मेडिकल कलेजमा र सुनसरी इनरुवाकी ४९ वर्षीय महिला र झापा मेचीनगरकी ७२ वर्षीया वृद्धाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरी कोरोना भाइरस सङ्क्रमणका कारण तीन जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिकामा असोज ५ गते ९७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । विराटनगरमा ४३ महिला र ५४ पुरुषमा सङ्क्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा प्रदेश १ मा १ सय १९ जनामा कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । असोज ५ गतेसम्म प्रदेश १ मा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको छ । प्रदेश १ मा असोज ५ गते १६ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट १०, कालिसदन आईसोलेसन, विराटनगर र झुर्किया प्राथमिक स्वास्थ्य केन्द्र, रतुवामाईबाट ३-३ जना डिस्चार्ज भएका छन् । हालसम्म २ हजार ५ सय ५२ जना डिस्चार्ज भएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार असोज ५ गतेसम्म १ लाख १६ हजार ५ सय ५२ जनाको पीसीआर परीक्षण गरिएको जनाएको छ ।
प्रदेश २
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार कोरोना रिपोर्ट पोजिटिभ आएको केही घण्टामा नै असोज ४ गते अपरान्ह मृत्यु भएकी बिष्णुपुर गाउँपालिका-३ की ६२ वर्षीया महिलाको असोज ५ गते अपरान्ह मात्र शव व्यवस्थापन भएको छ । शव व्यवस्थापनका लागि खाल्डो खन्न आवश्यक पर्ने स्काभेटर र्सर्भिसिङ्गमा भएकाले शव व्यवस्थापन गर्न ढिलाई भएको जानकारी दिनुहुँदै बिष्णुपुर गाउँपालिकाका अध्यक्ष लिलाम्बर यादवले मृतककै गाउँ मुसहरनियामा असोज ५ गते शव व्यवस्थापन गरिएको जानकारी दिनु भयो । कोभिड- १९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन कार्यविधि २०७६ मा शवलाई चाँडो भन्दा चाँडो अन्तिम संस्कार गर्ने स्थलमा पुर्याउनु पर्ने उल्लेख छ ।
यसैगरी सप्तरीमा असोज ५ गते एक पत्रकारसहित चार जना कोरोना सङ्क्रमित भएका छन् । स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले दिएको जानकारी अनुसार खडक नपा-८ की ३० वर्षीया पत्रकार, तिलाठी कोइलाडी गाउँपालिका-८ का आठ वर्षीय तथा तिरहुत गाउँपालिका-१ का १५ र ६० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण देखिएको छ ।
बागमती प्रदेश
काठमाडौँमा ५ सय ३६, भक्तपुरमा ७१, ललितपुरमा ६२, काभ्रेपलाञ्चोकमा १५, मकवानपुरमा सात, धादिङमा ६, नुवाकोटमा पाँच, दोलखामा तीन, सिन्धुलीमा दुई र सिन्धुपाल्चोकमा एक जना गरी यस प्रदेशमा असोज ५ गते ७ सय ८ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यससँगै प्रदेशमा सङ्क्रमित हुनेको सङ्ख्या २१ हजार ७ सय ७८ जना पुगेको छ । जसमध्ये ११ हजार ३ सय ९६ जना उपचारपछि घर फर्किएका छन् भने १० हजार २ सय २७ जनाको उपचार विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा भइरहेको छ । थप १० जनाको मृत्यु भएसँगै यस प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या १ सय ५५ जना पुगेको छ ।
गण्डकी प्रदेश
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार एकै दिन १७ जना नयाँ सङ्क्रमित थपिएपछि शुक्लागण्डकी नगरपालिकाले असोज ५ गतेदेखि एक साताका लागि वडा नम्बर ५ र वडा नम्बर १० को केही क्षेत्रमा बन्दाबन्दी गरेको छ । नगर कार्यपालिकाको बैठकले असोज ५ गतेबाट लागू हुने गरी असोज १२ गतेसम्म वडा नम्बर ५ को ज्ञानज्योति टोल र शान्तिटोलको क्षेत्र तथा वडा नम्बर १० को साँखे बजार क्षेत्रमा बन्दाबन्दीको निर्णय गरेको नगरपालिकाका प्रवक्ता खिम कुमालले जानकारी दिनु भयो । वडा नम्बर ५ का एकै परिवारका दुई घरमा बस्ने १२ जनासँगै प्रहरी, भारतीय सैनिकलगायत १७ जनामा असोज ५ गते सङ्क्रमण पुष्टि भएको थियो ।
प्रदेश ५
बाँके प्रतिनिधि स्मृति देवकोटाका अनुसार कोरोना सङ्क्रमणका कारण एक जना कैदीको असोज ५ गते मृत्यु भएको छ । सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिका-४ का ५८ वर्षीय पुरुषलाई सुर्खेत कारागारबाट भदौ २२ गते नेपालगञ्ज कारागारमा उपचारका लागि ल्याइएको थियो । उनमा दमको समस्या रहेको र उपचारका क्रममा भदौ २२ गते पीसीआर रिपोर्ट पोजेटिभ आएपछि भेरी अस्पतालको आइसोलेशनमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यायलय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनु भयो ।
रोल्पा प्रतिनिधि हरिसरा घर्तीका अनुसार गङगादेव गाउँपालिकामा आठ जनामा जना कोरोना सङ्क्रमणको पुष्टि भएपछि उक्त गाउँपालिकालाई असोज ४ गतेदेखि १० गतेसम्मको लागि सील गरिएको गाउँपालिकाका प्रेस संयोजक अशोक वलीले जानकारी दिनु भयो । उहाँका अनुसार यस समय अवधिमा कुनै पनि सरकारी तथा गैरसरकारी कार्यालयबाट सेवा प्रवाह हुने छैन । साथै एक वडाबाट अर्को वडामा जान समेत रोक लगाएको छ । सङ्क्रमितहरूलाई सदरमुकामस्थित आइसोलेशन केन्द्रमा राखिएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
सुस्त मनस्थितिकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–५ कोइलाडी बर्साइनका ४६ वर्षीय बंकर भनिने मौधकर खंगविरुद्ध प्रहरीले चैत १७ गते उजुरी दर्ता गरेको छ । पीडितका बुबाले…
बलात्कार घटनाको कसुरमा सात वर्ष कैद
१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी ब्यारेजका २३ वर्षीय अनीष कुमार मण्डललाई चैत १५ गते ७ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको…
नेपाल मानव अधिकार वर्ष पुस्तक परिमार्जनसहित इतिहासको निरन्तरता विषयक कार्यशाला सम्पन्न
इन्सेकले सन् १९९२ देखि हरेक वर्ष प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकको आगामी वर्षदेखि केही परिमार्जित ढाँचामा ल्याउने उद्देश्यले काभ्रेको धुलिखेलमा आयोजित दुई दिने कार्यशाला सम्पन्न भएको छ…
बलात्कार गरेको कसुरमा कैद सजायको फैसला
नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले आठराई त्रिवेणी गाउँपालिका– १ का १०, ११ र १२ वर्षीय बालकलाई चैत १६ गते कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री बनाउन माग गर्दै धर्ना
द्वन्द्वपीडित समाजले चैत १७ गते पोखरामा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री बनाउन माग गर्दै धर्ना विरोध प्रदर्शन गरेका छन् । संक्रमणकालीन न्याय सम्बन्धि वेपत्ता पारिएका व्यक्तिहरूको छानविन, सत्य निरूपण तथा मेलमिलाप…