कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ ३१ गते)

  ०७७ भदौ ३१ गते

भदौ ३१ गते १ हजार ५ सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ५८ हजार ३ सय २७ पुगेको छ । गत २४ घण्टामा १० हजार ४ सय ९४ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार भदौ ३१ गतेसम्म कोरोना सङ्क्रमणका कारण ३ सय ७९ जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये ४१ हजार ७ सय ६ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । भदौ ३१ गते १ हजार ६८ जना डिस्चार्ज भएका छन् भने निको दर ७१.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । १६ हजार २ सय ४२ जनाको उपचार भइरहेको छ ।

प्रदेश २

सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार कोरोना सङ्क्रमित खडक नपा-३ का ३५ वर्षीय एक पुरुषको भदौ ३१ गते बिहान उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले बताउनु भयो । एक वर्षदेखि मृगौला रोगबाट पीडित भई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा नियमित डायलासिस सेवा लिइरहेका उहाँ उच्च रक्तचापको समस्याबाट पनि पीडित रहेको चिकित्सकले बताएका छन् । उहाँसहित ६ जना मृगौला पीडितको भदौ २९ गते कोरोना सङ्क्रमण पुष्टि भएकोमा भदौ ३० गते अवस्था गम्भीर बन्दै गएपछि सोही दिन राजविराजस्थित अस्पतालबाट वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. रणजीतकुमार झाले बताउनु भयो । खडक नगरपालिकाभित्र नेपाली सेनाले शवको व्यवस्थापन गरेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख यादवले बताउनु भयो । यो सँगै सप्तरीमा मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ ।

सर्लाही प्रतिनिधि बुधन साहका अनुसार मलङ्गवा नपा-८ स्थित नापी कार्यालय मलङ्गवाका केही कर्मचारीहरूमा कोरोना सङ्क्रमण भएपछि नापी कार्यालय मलङ्गवाले भदौ २९ गते सूचना जारी गरी नापी कार्यालय भित्रका आन्तिरक काम बाहेकका सम्पूर्ण कामकाज तथा अन्य सेवाहरू बन्द गर्ने गरी सात दिनको लागि नापी कार्यालय सील गरिएको नापी कार्यालयका अधिकृत कृष्णदेव सिंहले बताउनु भयो । नापी कार्यालयबाट उपलब्ध हुने सेवाहरू भदौ ३१ गतेदेखि लागू हुने गरी असोज ७ गतेसम्मका लागि पूर्ण रूपमा सील गरिएको नापी कार्यालयका अधिकृत सिंहले बताउनु भयो ।

बागमती प्रदेश

यस प्रदेशमा भदौ ३१ गते काठमाडौँमा ६ सय ५२, मकवानपुरमा ६२, ललितपुरमा ६०, भक्तपुरमा २२, चितवनमा ३७, काभ्रेपलान्चोकमा १८, धादिङमा सात, दोलखामा चार, चितवन, नुवाकोट, सिन्धुपाल्चोक र सिन्धुलीमा एक/एक, जना गरी ८ सय २९ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यससँगै प्रदेशमा सङ्क्रमित हुनेको सङ्ख्या १७ हजार ५ सय ८० जना पुगेको छ । जसमध्ये ८ हजार ८ सय ६४ जना उपचारपछि घर फर्किएका छन् भने ८ हजार ५ सय ९० जनाको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको छ । आज थप चार जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको पुष्टि भएसँगै यस प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या १ सय २६ जना पुगेको छ ।

काभ्रे प्रतिनिधि हिरामान तामाङका अनुसार कोरोना भाइरस सङ्क्रमणको कारण पनौती नगरपालिका-३ कुशादेवीका ४१ वर्षीय पुरुषको भदौ ३० गते मृत्यु भएको छ । भदौ २७ गते पेटको समस्या भएपछि केएमसी अस्पताल काठमाडौँमा भर्ना भएकोमा अस्पतालले भदौ २८ गते स्वाब सङ्कलन गरेको र २९ गते पोजेटिभ रिर्पोट आएको पनौती नगरपालिकाका स्वास्थ्य संयोजक पुरुषोतम तिमल्सिनाले बताउनु भयो । योसँगै जिल्लामा दुई जना महिला र दुई जना पुरुष गरी चार जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले बताउनु भयो । हालसम्म जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ४ सय ३९ पुगेको छ भने २ सय ८३ जना निको भएर घर फर्किएका छन् । ९५ जना विभिन्न अस्पतालको आइसोलेशनमा उपचाररत रहेका छन् भने ५८ जना होम आइसोलेशनमा रहेका छन् ।

गण्डकी प्रदेश

तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडास्थित खैरेनीटार स्वास्थ्यचौकीको सेवा बन्द गरिएको छ । स्वास्थ्य चौकीमा परीक्षणका लागि आएकी २३ वर्षीया महिलामा कोरोना सङ्क्रमण देखिएपछि स्वास्थ्य चौकीको सम्पूर्ण सेवा बन्द गरिएको हो । प्रसूतिका लागि आएकी ती महिलामा रक्तचापको समस्या देखिएपछि पोखरा रिफर गरिएको थियो । पोखरामा स्वाब परीक्षण गर्दा उनमा भदौ ३० गते कोरोना पुष्टि भएको थियो । उनका पतिलाई पनि भदौ ३१ गते कोरोना पुष्टि भएको छ । शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी ती महिलाको सम्पर्कमा आएकाले सेवाहरू भदौ ३१ गते देखि नै बन्द गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमित महिला करीब दुई घण्टा स्वास्थ्यचौकीमा थिइन् । स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी र कर्मचारी सबैको पिसीआर रिपोर्ट नआइन्जेल सम्पूर्ण सेवा बन्द गरिएको श्रीवास्तवले बताउनुभयो ।

कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार भदौ २७ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रसूति विभागमा आकस्मिक शल्यक्रिया गरिएकी तनहुँको शुक्लागण्डकी नगरपालिका-१० की २३ वर्षीया महिलामा भदौ ३० गते कोरोना सङ्क्रमण पुष्टि भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अर्न्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रसूति सेवा असोज १ गतेसम्मका लागि बन्द गरिएको छ । प्रतिष्ठान निर्देशक डाक्टर अर्जुन आचार्यले विभाग तथा वार्डको निर्मलीकरणका लागि प्रसूति सेवा बन्द गरिएको जानकारी दिनुभयो । ति महिलाको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई क्वारेण्टाइनमा राखिएको र उनीहरूको नतिजा नेगेटिभ नआएसम्मका लागि असोज १ गतेसम्म सेवा बन्द गरिएको डाक्टर आचार्यले बताउनुभयो । अस्पतालमा गण्डकी प्रदेशका ११ ओटै जिल्लाबाट गरी दैनिक १ हजारको हाराहारीमा बिरामी सेवा लिन आउने गर्दछन् ।

प्रदेश ५

रुपन्देही प्रतिनिधि रीमा बिसीका अनुसार बुटवल उमनपा-११ की ७२ वर्षीया महिलाको कारोना सङ्क्रमणका कारण भदौ ३१ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको भेण्टिलेटरमा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएछि भदौ १० गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि भर्ना भएकी महिलालाई भदौ ११ गतेदेखि भेण्टिलेटरमा राखेर उपचार भइरहेको थियो । भदौ १० गते गरिएको कोरोना परीक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन तथा कोरोना फोकल पर्सन डाक्टर सुदर्शन थापाले बताउनु भयो ।

कपिलवस्तु प्रतिनिधि पार्वती आचार्यका अनुसार यस अघि जिल्ला प्रशासन कार्यलयले जारी गरेको निषेधाज्ञाको समय भदौ ३१ गते राति १२ बजेबाट सकिँदैछ । भदौ ३१ गते बसेको कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले अर्को सूचना जारी नभएसम्मको लागि लकडाउन थप गरेको छ ।

प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जारी लकडाउनको अवधिमा सबै प्रकारका सभा सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, पार्टी प्यालेस, मनोरञ्जनस्थल, सैलुन, व्यूटीपार्लर, स्विमिङ पुल, जिमखाना, समूहमा खेल्ने खेलहरू कवर्ड हल, पुस्ताकालय तथा संग्राहलय पूर्ण रूपमा बन्द हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश

इन्सेक कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार गोदावरी नगरपालिकाको कार्यलयमा कार्यरत एक कर्मचारीमा भदौ ३० गते कोरोना सङ्क्रमण पुष्टि भएपछि समुदाय स्तरमा कोरोना सङ्क्रमण फैलिन नदिनका लागि कार्यालयबाट प्रवाह गरिने सम्पूर्ण सेवाहरू भदौ ३१ गतेदेखि असोज ७ गतेसम्म बन्द गरिएको गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले बताउनु भयो । सेती प्रादेशिक अस्पतालमा भदौ २६ गते गरिएको नमूना पीसीआर परीक्षणका क्रममा भदौ ३० गते कार्यालयका एक जना कर्मचारीमा कोरोना पुष्टि भएपछि स्वास्थ्य सेवा, फोहरमैला व्यवस्थापन र दमकल सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको गोदावरी नगरपालिकाका नगर प्रमुख हरिसिंह साउदले बताउनु भयो । यसभन्दा अगाडि पनि गोदावरी नगरपालिकाका विभिन्न वडामा गरी ५ सय १० जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको र नगरपालिकाका कर्मचरीमा पनि कोरोना पुष्टि भएकोले समुदाय स्तरमा फैलिन नदिनका लागि केही समयका लागि कार्यालयबाट दिने सेवाहरू बन्द गरिएको नगरप्रमुख साउदले बताउनु भयो ।


अनलाइन डेस्क