कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ २७ गते)

  ०७७ भदौ २७ गते

भदौ २७ गते १ हजार २ सय १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ५३ हजार १ सय २० पुगेको छ । गत २४ घण्टामा १० हजार १ सय ७६ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार भदौ २७ गतेसम्म कोरोना सङ्क्रमणका कारण ३ सय ३६ जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये ३७ हजार ५ सय २४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । भदौ २७ गते ८ सय ५२ जना डिस्चार्ज भएका छन् भने निको दर ७०.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । १५ हजार २ सय ६० जनाको उपचार भइरहेको छ । मन्त्रालयका अनुसार सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, मुगु, डोल्पा र हुम्ला शुन्य सङ्क्रमित भएका जिल्ला हुन् भने सुनसरी, सर्लाही, काठमाडौँ, चितवन, ललितपुर र रुपन्देही ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला हुन् ।

प्रदेश १

मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र विराटनगरमा उपचारत एक पुरुषको भदौ २७ गते मृत्यु भएको छ । विराटनगर महानगरपालिका- ८ का ६९ वर्षीय पुरुषको भदौ २७ गते दिउँसो साढे १२ बजे मृत्यु भएको उपचार केन्द्रका सूचना अधिकृत आनन्द लामिछानेले बताउनु भयो । भदौ २२ गते कोराना सङ्क्रमण देखिएपछि कोशी कोभिड-१९ उपचार केन्द्रमा उनलाई भर्ना गरिएको लामिछानेले बताउनु भयो । मृतक उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए । कोरोना सङ्क्रमणबाट मोरङमा मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ । विराटनगरमा १७, बुढीगङ्गामा चार, ग्रामथान, बेलबारी, पथरीशनिश्चरे, धनपालथान, रङ्गेली, सुनवर्षीमा एक-एक जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार रामधुनी नगरपालिकाका एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ४३ वर्षीय पुरुषको भदौ २६ गते दिउँसो ४:३० बजे मृत्यु भएको हो । उनलाई इनरुवा जिल्ला अस्पताल, सुनसरीबाट रिफर भएर प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो । उनी विगत १ वर्षदेखि झुम्का कारागारमा रहेका थिए । उनलाई १० दिनदेखि ज्वरो आएको थियो भने दुई दिनदेखि खोकी र स्वास/प्रस्वासमा समस्या भएको थियो । भदौ २६ गते प्रतिष्ठानको ल्याबमा परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएको थियो । त्यसैबेलादेखि उनी प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना भएका थिए । उनको अन्त्यष्टि कोरोना गाइडलाईन अनुसार भदौ २७ गते गरिएको प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाले बताउनु भयो ।

प्रदेश २

सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार राजविराज नपा-३ का ३९ वर्षीय निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित उहाँको परिवारका ७० वर्षीय पुरुष, ३० र ३८ वर्षीया महिलामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताउनु भयो ।

सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार जिल्ला स्तरीय सीसीएमसीको भदौ २७ गते बसेको बैठकले असोज १० गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले बताउनु भयो । कोरोना सङ्क्रमण थप बढ्दै गएको हुँदा भदौ २८ गतेदेखि असोज १० गतेसम्म सबै स्थानीय तहहरूलाई कडाइका साथ लकडाउन पालना गराउन अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी कणेलले बताउनु भयो । यसअघि सीसीएमसीको बैठकले भदौ १५ गतेदेखि भदौ २७ गतेसम्म निषेधाज्ञा लगाएको थियो । निषेधाज्ञा सँगै केही खुकुलो गरी बिहान ५ बजेदेखि दिउँसो ३ बजेसम्म बजार, पसल सुरक्षा मापदण्ड पूरा गरेर खोल्न दिने निर्णय भएको र निषेधाज्ञा उल्लङ्घन गर्ने सबैलाई कारबाही प्रकृया अपनाउन सुरक्षा संयन्त्रलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी कणेलले बताउनु भयो ।

धनुषा प्रतिनिधि दिपेन्द्र प्रसाद सिंहका अनुसार जनकपुरधाम उमनपा-४ मुरली चोकका पूर्व जिल्ला शिक्षा अधिकारी ६० वर्षीय योगेन्द्र झाको कोरोना सङ्क्रमणबाट भदौ २६ गते मृत्यु भयो । श्वास/प्रश्वास समस्याले ग्रसित हुनु भएका झालाई भदौ १९ गते प्रादेशिक अस्पताल जनकपुरमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । भदौ २२ गते पीसीआर परीक्षण गर्दा उहाँमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि कोभिड अस्पतालमा लगेर भेन्टिलेटरमा राखेर उपचारकै क्रममा मृत्यु भएको प्रदेश २ का स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय झाले बताउनु भयो । मृतकको जनकपुरधाम उपमहानगरपालिकाको समन्वयमा श्रीनाथ गण महेन्द्रनगरका नेपाली सेनाको टोलीले दुधमति नदीको किनारमा शवको व्यवस्थापन गरेको जिल्ला प्रशासन कार्यालय धनुषाका सूचना अधिकारी गणेश मिश्रले बताउनु भयो । यो सँगै धनुषामा कोरोना सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ ।

यसैगरी प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारार्थ महोत्तरीको मनरासिसवा नगरपालिकाको बथनाहा का ६५ वर्षीय पुरुषको कोरोना भाइरसको सङ्क्रमणबाट भदौ २६ गते मृत्यु भयो । उच्च रक्तचापका दीर्घरोगी ती पुरुषलाई श्वास/प्रश्वासमा समस्या र ज्वरो आएपछि उपचारको लागि भदौ १९ गते प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरिएको थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेका ती पुरुषको बिहान मृत्यु भएको प्रदेश २ का स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय झाले बताउनु भयो ।

बागमती प्रदेश

यस प्रदेशमा भदौ २७ गते काठमाडौँमा ३ सय ७७, चितवनमा ९७, ललितपुरमा ३७, भक्तपुरमा १५, मकवानपुरमा १३, रामेछापमा सात, नुवाकोट, दोलखा र सिन्धुपाल्चोक एक/एक जना गरी ५ सय ४४ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यससँगै प्रदेशमा सङ्क्रमित हुनेको सङ्ख्या १४ हजार ५ सय ९४ जना पुगेको छ । जसमध्ये ६ हजार ८ सय २० जना उपचारपछि घर फर्किएका छन् भने ७ हजार ६ सय ७६ जनाको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको छ । काठमाडौँमा एक महिला र दुई पुरुष, भक्तपुरमा दुई पुरुष र चितवनमा एक जना पुरुष गरी थप ६ जनाको मृत्यु भएपछि हालसम्म यस प्रदेशमा कोरोना भाइरस सङ्मणको कारण मृत्यु हुनेको सङ्या १ सय १ जना पुगेको छ ।

मकवानपुर प्रतिनिधि पुष्पराज अधिकारीका अनुसार राक्सिराङ गाउँपालिकाले समुदायस्तरमा कोरोना भाइरस सङ्क्रमण फैलिएकोले जोखिम कम गर्न भन्दै अत्यावश्यक र विद्युतीय माध्यमबाट प्रदान गरिने बाहेकका सबै सेवाहरू बन्द गरेको छ । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले भदौ २६ गते सूचना जारी गर्दै कोभिड-१९ भाइरस समुदायस्तरमै फैलन सुरु गरेकोले बढ्दो जोखिमलाई मध्यनजर गर्दै असोज २ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवाहरू बन्द रहने बताउनु भयो । मकवानपुरमा हालसम्म ६ सय २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने राक्सिराङ गाउँपालिकामा ११ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश

पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार जिल्लामा समुदायमा केारोना सङ्क्रमण देखिएपछि एक हप्ता कुश्माबजार सील गरिएको छ । भदौ २६ गते राति १२ बजेदेखि लागु हुने गरी पर्वतको कुश्मा नगरपालिकाका ४, ५, ६ र ७ नम्वर वडा सील गर्ने निर्णय भएको हो । अत्यावश्यक काम बाहेक अन्य सबैजसो सेवा बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनु भयो । उहाँका अनुसार भदौ २६ राति १२ बजेदेखि लागु हुने गरी असोज ३ गते राति १२ बजेसम्म सील गर्ने निर्णय गरिएको छ । वडा सील गरिए पनि अत्यावश्यक सेवाका सवारी साधनहरू भने सञ्चालन हुने भएका छन् ।

प्रदेश ५

रुपन्देही प्रतिनिधि रीमा बिसीका अनुसार देवदह नपा-६ का ६० वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण भदौ २६ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा मृत्यु भएको छ । ज्वरो, खोकी र श्वास/प्रश्वासमा समस्या देएपिछि भदौ २६ गते बिहान अस्पताल पुर्‍याए लगत्तै कोराना जाँच गर्दा पोजेटिभ आएपछि उहाँलाई लुम्बिनी प्रादेशिक अस्पतालको आइसीयु कक्षमा राखी उपचार गरिएको थियो । मृतकलाई दम र छारेरोगको पनि समस्या रहेको लुम्बिनी प्रादेशिक अस्पतालका डाक्टर विष्णु गौतमले बताउनु भयो । यसैगरी, ओमसतिया गाउँपालिका-५ का ४० वर्षीय पुरुषको भदौ २६ गते राति बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालको भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएको छ । ज्वरो, खोकी र श्वास/प्रश्वासमा समस्या देखिएपछि भदौ १४ गते लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्थायी अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेकोमा भदौ २६ गते मृत्यु भएको डा. विष्णु गौतमले बताउनु भयो । मृतक लामो समयदेखि उच्च रक्तचाप, मधुमेहको बिरामी र तीन वर्षअघि मुटुको शल्यक्रिया गरेको व्यक्ति समेत रहेको डा. थापाले बताउनु भयो । यससँगै, रुपन्देहीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ ।

नवलपरासी पश्चिम प्रतिनिधि नारायण पराजुलीका अनुसार कोरोना सङ्क्रमणका कारण सुस्ता गाउँपालिका- ५ पक्लीहवाका ५५ वर्षीय पुरुषको भदौ २६ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटबलमा मृत्यु भएको छ । सङ्क्रमित पुरुषको स्वास्थ्यमा समस्या देखिएपछि भदौ १९ गते अस्पताल पुर्‍याइएको थियो । उनमा मधुमेह, उच्च रक्तचाप र कलेजोको पनि समस्या रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताउनु भयो । यससँगै पश्चिम नवलपरासीमा कोरोना सङ्मणका कारण मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।

रुकुम पूर्व प्रतिनिधि जयमान बुढा मगरका अनुसार समुदाय स्तरमै कोरोना भाइरस पुष्टि भएपछि रुकुमकोट बजार १० दिनसम्मका लागि सील गरिएको छ । भदौ २६ र २७ गते गरी दुई दिनमा पाँच जना प्रहरी, दुई जना व्यवसायी, एक जना बैङ्कका कर्मचारी र बाँकी पाँच जना क्वारेन्टाइनका गरी १३ जनामा कोरोना भाइरस पुष्टि भएपछि भदौ २७ गते जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को आकस्मिक बैठकले सिस्ने गाउँपालिका-५ र ६ अस्थायी जिल्ला सदरमुकाम रुकुमकोट बजार १० दिनसम्म सील गर्ने निर्णय गरेको हो । बैठकले भदौ २७ गतेदेखि असोज ५ गतेसम्म सील गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताउनु भयो ।


अनलाइन डेस्क