कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २३ गते)

  ०७७ असार २३ गते

कोरोना भाइरसको सङ्क्रमणबाट २४ घण्टामा २ सय ४ जना सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार असार २३ गतेसम्म १६ हजार १ सय ६८ जनामा कोरोना पुष्टि भएको छ । उहाँका अनुसार ८ हजार ६ सय ३४ जनाको उपचार भइरहेको छ भने ७ हजार ४ सय ९९ जना डिस्चार्ज भएका छन् । त्यसैगरी कोरोना सङ्क्रमणबाट ३५ जनाको मृत्यु भएको पनि डाक्टर गौतमले जानकारी दिनु भयो । असार २३ गतेसम्म ६१ वर्ष माथिका २ सय ४९ जना ज्येष्ठ नागरिकमा कोरोना देखिएको छ । १० वर्षमुनिका बालबालिकामा मात्रै ६ सय २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयद्वारा जारी स्थिति प्रतिवेदनमा उल्लेख छ ।

प्रदेश १

प्रदेश १ मा असार २३ गते थप नौ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या ६ सय ८५ पुगेको छ । प्रदेशमा असार २३ गते ६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कूल सङ्ख्या ४ सय ७९ पुगेको छ ।

प्रदेश २

प्रदेश २ मा असार २३ गते १७ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३ हजार ७ सय ५४ जना पुगेको छ । प्रदेशमा कोरोना सङ्क्रमित मध्ये २ हजार २ सय १२ जना उपचारपछि निको भएर घर फर्किएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

धनुषा प्रतिनिधि दीपेन्द्रप्रसाद सिंहका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरका निमित्त निर्देशक रामविनय साह र प्रयोगशालामा कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीहरू बीचको आन्तरिक विवादले असार २३ गतेदेखि कोरोना परीक्षण कार्य बन्द भएको छ । प्रदेश सरकारले झण्डै ६० लाख भन्दा बढी रुपियाँ खर्चेर जेठ १९ गतेदेखि विधिवत रूपमा सञ्चालनमा ल्याएको रियल टाइम पीसीआर मेसिनबाट हालसम्म ४ हजार ५ सय भन्दा बढी व्यक्तिको स्वाब परीक्षण गरिसकेको छ । परीक्षण कार्य जनकपुरमा बन्द भएपनि स्वाब सङ्कलन कार्य बन्द नहुने प्रदेश स्वास्थ्य निर्देशनालयका अधिकृत विजय झाले बताउनु भयो । प्रयोगशालाका निमित्त निर्देशक रामविनय साहले कर्मचारीहरूको असहयोगका कारण कोरोना परीक्षण कार्य प्रभावित हुँदै आएकाले असार २३ गतेदेखि स्वाब परीक्षण कार्य बन्द गर्नु पर्ने बाध्यता आएको बताउनु भयो । निमित्त प्रयोगशाला निर्देशक साहले लेखापाल अमरदीप महतो तथा ल्याब एसिस्टेन्ट जुगल यादव लगायतका कर्मचारीले सङ्घीय सरकारले पठाइ दिएको रिएजेन्ट बाहेकका अन्य सामान खरिद गर्न असहयोग गरेपछि परीक्षण बन्द गर्नु परेको बताउनु भयो । कर्मचारीहरूले अनुशासन विपरित काम गरेपछि स्पष्टिकरण सोधेपछि मुख्यमन्त्री लालबाबु राउतको स्वकीय सचिवले कारबाही नगर्न आफूलाई दबाब दिएको निमित्त निर्देशक साहको भनाइ छ । प्रयोगशालाका लेखापाल अमरदिप महतोले प्रयोगशालाका निमित्त निर्देशक रामविनय साहका कारण परीक्षण बन्द भएको दाबी गर्नु हुँदै कार्यालय प्रमुख साहले पूरा भइसकेका कामहरूको भुक्तानी गर्न नमानेपछि समस्या उत्पन्न भएको आरोप लगाउनु भएको छ ।

बागमती प्रदेश

यस प्रदेशमा असार २३ गते काठमाडौँमा १४, ललितपुरमा १०, भक्तपुरमा ४ अन्य जिल्लाका ६ जना गरी थप ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै प्रदेशमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ६ सय ७१ जना पुगेको छ जसमध्ये २ सय ४३ जना उपचारपछि घर फर्किएका र ६ जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर पुरुषोतमराज सेढाईले बताउनु भयो ।

सिन्धुपाल्चोक प्रतिनिधि नातिबाबु धितालका अनुसार जिल्ला कारागार शाखामा कार्यरत ५७ वर्षीय एक कर्मचारीलाई कोरोना पोजेटिभ देखिएपछि ०७७ असार २३ गतेदेखि चौतारा कारागारलाई सिल गरिएको जिल्ला कारागार शाखा प्रमुख बिमल अधिकारीले बताउनु भयो । कारागार सिल गरिएपछि कारागारमा रहेका बन्दीहरूसँग अर्को सूचना नआएसम्म भेटघाट गर्न पूर्ण रूपले नपाइने भएको कारागारका प्रमुख अधिकारीको भनाइ छ ।

गण्डकी प्रदेश

इन्सेक गण्डकी प्रदेश कार्यालयले असार २३ गते स्याङ्जास्थित पुतलीबजार नगरपालिकालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । इन्सेकका सुपरिवेक्षक मधु पन्थी, सहजकर्ता सिर्जना थापा र मानव अधिकार समूह अध्यक्ष तारक बहादुर थापा लगायतले नगरपालिका मेयर सिमा क्षेत्रीलाई दुई ओटा थर्मल गन, ५ सय थान मास्क र दुई लिटर सेनिटाइजर हस्तान्तरण गर्नभएको हो ।

कर्णाली प्रदेश

सल्यान प्रतिनिधि मीना बुढाथोकीका अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशद्वारा कोरोनाबाट सबैभन्दा बढी प्रभावित सल्यान जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख गोविन्दकुमार पुन र उपप्रमुख मञ्जु यरीलाई असार २३ गते स्वास्थ्य सामग्री प्रदान गरिएको छ । सो नगरपालिकालाई सेनिटाइजर, सर्जिकल मास्क र ग्लोब हस्तान्तरण गरिएको इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिनु भयो । स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै प्रदेश संयोजक सुवेदीले कोरोनाको जोखिमपूर्ण अवस्थामा नागरिकको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै स्थानीय तहले गरिरहेको प्रयासमा थप सहयोग पुगोस् भन्ने हेतुले यी स्वास्थ्य सामग्रीहरू उपलब्ध गराइएको बताउनु भयो । स्वास्थ्य सामग्री बुझ्दै नगरप्रमुख गोविन्दकुमार पुनले विपद्को यस घडीमा स्थानीय तहलाई सहयोग गरेकामा इन्सेकलाई धन्यवाद व्यक्त गर्नु भयो ।

जाजरकोट प्रतिनिधि दिनेशकुमार श्रेष्ठका अनुसार छेडागाड नगरपालिकास्थित विभिन्न क्वारेण्टाइनमा बस्दै आएकाहरूलाई राहत पुर्‍याउने उद्देश्यले असार २३ गते इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले नगरपालिकाको समन्वयमा वडा नं १ का वडा अध्यक्ष गणेशप्रसाद जैसीलाई र्सर्जिकल मास्क, सेनिटाइजर र साबुनलगायतका स्वास्थ्य सामग्री प्रदान गर्नु भयो । छेडागाड नगरपालिकाले असार १९ गते कोरोना सङ्क्रमण न्यूनिकरणका लागि सहयोग गर्न अनुरोध गरेपछि इन्सेकले स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

सुदूरपश्चिम प्रदेश

बैतडी प्रतिनिधि नरी बडुका अनुसार कोरोना सङ्क्रमित भएका व्यक्तिहरूमा कुनै लक्षण नदेखिएको भन्दै जिल्लास्थित विभिन्न क्वारेण्टाइन र अस्पतालको आइसोलेशनमा राखिएका अधिकाङ्श सङ्क्रमित व्यक्तिहरूलाई घर पठाउँदा स्थानीय तहमा कोरोना सङ्क्रमणको उच्च जोखिम बढेको स्थानीयहरूले गुनासो गरेका छन् । लक्षण नदेखिएको भन्दै सङ्क्रमितहरूलाई होम आइसोलेशनमा पठाइएको भए पनि सङ्क्रमित व्यक्तिहरू घरमा नबसी गाउँघरमा घुम्ने र सामूहिक कार्यमा सहभागी हुने गरेकाले सङ्क्रमणको जोखिम बढेको दोगडाकेदार गाउँपालिकाका स्थानीय नरेन्द्र विष्टले बताउनु भयो । जिल्लामा २ सय ९३ जना कोरोना सङ्क्रमितमध्ये २ सय ३ जनालाई होम आइसोलेशनमा रहने गरी घर पठाइएको र बाँकी ९० जनालाई स्थानीय तहले बनाएको क्वारेण्टाइन र आइसोलेशनमा राखिएको कोभिड-१९ का जिल्ला सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले बताउनु भयो । उहाँले भन्नु भयो-'डिस्चार्ज गरिएका अधिकाङ्श व्यक्तिहरूमा कोरोना लक्षण नभएकाले घर पठाइएको हो ।' लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका सङ्क्रमितलाई १४ दिन आइसोलेशनमा राखेर डिस्चार्ज गर्न सकिने सरकारले निर्देशिका पारित गरेपछि सोहीअनुसार डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय, बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनु भयो ।


अनलाइन डेस्क