कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ९ गते)

  ०७७ वैशाख ९ गते

काठमाडौँमा गरिएको परीक्षणमा तीन जना र सुनसरीमा गरिएको परीक्षणमा आठ जना गरी ११ जना नयाँ सङ्क्रमित फेला परेका छन् । वैशाख ९ गते फेला परेका सङ्क्रमितसमेत कूल ४२ जना कोरोना सङ्क्रमितको अभिलेख गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । Tableमन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा वैशाख ९ गते जारी विज्ञप्तिमा नौ जना पुरूष र दुई जना महिलामा कोरोना सङ्क्रमण देखिएको उल्लेख छ । नेपालमा हालसम्म ३६ हजार ७ सय १९ जनाको पिसीआर र आरडिटी विधिद्वारा परीक्षण भइसकेको छ । देशभर हाल क्वारेण्टाइनमा ७ हजार ६७ जनातथा आइसोलेशनमा १ सय ७ जना रहेका छन् । यसैबीच मन्त्रालयले देशका केही धार्मिकस्थलहरूमा भीडभाड भएको भन्दै सर्वसाधारणलाई समूहमा पुजा प्रार्थना नगर्न अनुरोध गरेको छ । हालसम्म काठमाडौँ जिल्लामा दुईसहित १२ जिल्लाका १४ ओटा अस्पतालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदै आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश १

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २२ पुगेको छ । उदयपुरको त्रियुगा नगरपालिका- ३ भुल्केको एक मस्जिदमा बस्दै आएका १३ जनामा यसअघि सङ्क्रमण देखिएको थियो । वैशाख ९ गते थप नौ जनामा कोरोना पोजेटिभ देखिएको छ । आठ जनाको कोशी अस्पतालमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । उनीहरूको स्वाब पुनः परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको थियो । धरानमा पुनः परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । उदयपुरका एक जनाको नेपाली सेनाले नमूना सङ्कलन गरी काठमाडौँमा परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । नेपाली सेनाले नमूना सङ्कलन गरेको सबैको रिपोर्ट आउन बाँकी छ ।

प्रदेश १ मा वैशाख ९ गतेसम्म पीसीआर र आरडिटी विधिबाट ३ हजार ७ सय ७५ जनाको परीक्षण गरिएको छ । कोरोना भाइरसको शङ्कास्पद ६ सय ७८ जनाको नमूना सङ्कलन गरिएको छ । प्रदेश १ मा गरिएको परीक्षणमा ६८ जना महिला र ३ सय ८० पुरुष गरी ४ सय ४८ जनाको नेगेटिभ रिपोर्ट आएको छ । नमूना सङ्कलन गरिएका मध्ये २ सय ९ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । प्रदेश १ मा वैशाख ९ गतेसम्म आरडिटी विधिबाट ३ हजार ९७ जनाको एण्टीवडी परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ६ जनामा एण्टीवडी पोजेटिभ आएको थियो । उनीहरूको पीसीआर परीक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । आरडिटी विधिबाट ४ सय ३६ जना महिला र २ हजार ६ सय ५५ जना पुरुष गरी ३ हजार ९१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश १ मा ४ हजार ५ सय ७१ जना क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ । वैशाख ९ गते मात्र १ सय ५३ बेड थपिएको छ । क्वारेन्टाइनमा वैशाख ९ गतेसम्म १ सय २ जना महिला र ८ सय ८० जना पुरुष गरी ९ सय ९२ जना बसेका छन् । दुई जना डिस्चार्ज भएका छन् । आईसोलेशनमा २७ जना भर्ना भएका छन् । आठ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा होमक्वारेन्टाइनमा बस्नेको सङ्ख्या ४ हजार ४ सय ८१ जना पुगेको छ । होम क्वारेन्टाइनमा ७ सय २६ जना महिला र ३ हजार ७ सय ५५ जना पुरुष बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

इटहरी उपमहानगरपालिका-२० तरहराको जङ्गलमा ११ जना भारतीय नागरिक वैशाख ९ गते फेला परेका छन् । लकडाउन भएसँगै तरहराको चारकोशे झाडीमा ११ जना भारतीय नागरिकलाई फेला पारेको इलाका प्रहरी कार्यालय, इटहरीले जनाएको छ । फेला परेका सबै भारतका मुस्लिम समुदायका हुन् । उनीहरू भोजपुरमा काम गर्नका लागि आएको र लकडाउनले जान नपाएपछि तरहराको खोटो कम्पनी छेउमा बस्दै आएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले जानकारी दिनु भयो । उनीहरू करिब एक महिनादेखि त्यहीँ बस्दै आएको डिएसपी भण्डारीले बताउनु भयो । उनीहरूलाई इटहरी अस्पतालमा राखिएको भण्डारीले जानकारी दिनुभयो ।

प्रदेश १ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

Corona Sakraman Namuna Parichhyan Prayosala_Inforgraph_SF

प्रदेश २

प्रदेश २ मा वैशाख ९ गतेसम्म कोरोना भाइरसका शङ्कास्पद ६ सय ९ जनाको स्वाब परीक्षण गरिएकोमा ५ सय ९० जनाको रिपोर्ट नेगेटिभ र चार जनाको रिपोर्ट पोजेटिभ आएको छ । १५ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

त्यसैगरी, वैशाख ९ गतेसम्म आरडीटी किटबाट परीक्षण ३ हजार ४ सय ४७ जनाको गरिएकोमा ३ हजार ४ सय ४० जनाको रिपोर्ट नेगेटिभ र सात जनाको रिपोर्ट पोजेटिभ आएको थियो । पोजेटिभ रिपोर्ट आएकामध्ये सात जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको प्रदेश २ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश २ मा वैशाख ९ गतेसम्म १ हजार २ सय ४ जना क्वारेन्टाइनमा रहेका छन् भने २ हजार ३ सय ४२ जना होम क्वारेन्टाइनमा रहेका छन् । प्रदेशका आठ ओटै जिल्लामा २ सय २७ बेड क्षमताको आइसोलेशन वार्ड छ । आइसोलेशन वार्डमा कोरोना आशङ्का गरिएका १५ जना बिरामी उपचारार्थ छन् ।

उदयपुरको बेलटारबाट सप्तरीको बाटो हुँदै वैशाख ८ गते राती भारततर्फप्रवेश गर्न लागेका तीन भारतीय जमातीलाई नियन्त्रणमा लिई राति नै आरडिटी परीक्षण गरिएको प्राथमिक स्वास्थ्य केन्द्र, कञ्चनरूपका सिनियर अहेव डम्बर गुप्ताले बताउनु भयो । कोशी टप्पु वन्य जन्तु आरक्ष पथरी व्यारेकको नेपाली सेनाद्वारा कञ्चनरूप नपा-५ स्थित खेतबाट नियन्त्रणमा लिइएका तीन भारतीयसहित कञ्चनरूप नगरपालिकामा वैशाख ९ गतेसम्म गरिएको १ सय २२ जनाकै आरडिटी परीक्षण नेगेटिभ आएको अहेव गुप्ताले जानकारी दिनु भयो ।

क्षिरेश्वरनाथ नगरपालिकाले मनोमानी किसिमले अति विपन्न परिवारलाई भन्दा हुनेखाने परिवारलाई राहत वितरण गरेको भन्दै स्थानीय अगुवाहरूले धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलालाई वैशाख ९ गते ध्यानाकर्षण गराएका छन् । करिब ३ दर्जन व्यक्तिले जिल्ला प्रशासन कार्यालय धनुषालाई ध्यानाकर्षण पत्र बुझाउँदै भेदभावपूर्ण ढङ्गले राहत वितरण गरिएको बताएका छन् । प्रदेश सरकार तथा जिल्ला प्रशासन कार्यालयले गरेको परिपत्र विपरित दलहरूलाई समेत कुनै किसिमको जानकारी नदिइ हुने खानेलाई मात्रै राहत दिएको ध्यानाकर्षण पत्रमा जनाइएको छ ।

बीरगञ्ज महानगरपालिकाको सबैभन्दा समृद्ध वडा मानिएको बीरगञ्ज महानगरपालिका-१० आदर्शनगरमा २ हजार ५ सय घरधुरीले राहत माग गरेका छन् । वडा- १० मा आदर्शनगर र घडीअर्वा गरी दुई ओटा टोल रहेका छन् । अहिले महानगरपालिकाले सबै वडाबाट सूची माग गरेर माग भएबमोजिमको राहत सामान खरीद गरी वडामा पठाउने गरिरहेको छ । वडाले सूचीकृतहरूलाई वडा कार्यालयबाट सामाजिक दूरी बनाएर राहत वितरण सुरु गरेको छ । बीरगञ्ज महानगरपालिकामा मात्रै ३० हजार ५ सय घरधुरीले राहतका लागि फारम भरेको महानगर प्रमुख विजय कुमार सरावगीले बताउनु भयो ।

प्रदेश २ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

बागमती प्रदेश

लकडाउनका कारण बागमती प्रदेश अन्तर्गतका जिल्लाहरूमा वैशाख ९ गते अलपत्र परेका यात्रुहरूको उद्दार कार्यलाई तिव्रता दिइएको छ । लकडाउनको कारण दोलखाको विभिन्न स्थानमा अलपत्र परेका मजदुरहरूलाई बस चढाएर घर पठाइएको छ । भीमेश्वर नगर आसपासमा रहेका तथा जिल्लाका विभिन्न स्थानबाट हिँडेर सदरमुकाम चरिकोट आइपुगेर अलपत्र परेका १ सय ५८ मजदुरलाई रोल्वालिङ यातायातको बस चढाएर गन्तव्यमा पठाइएको हो ।

धादिङको गल्छी गाँउपालिकाले काठमाडौँबाट पैदल हिँडेर दाङ जानको लागि गल्छी आइपुगेका ५५ जना पैदल यात्रीलाई वैशाख ९ गते गन्तव्यसम्म पुर्‍याउने व्यवस्था गरिएको छ । काठमाडौँ, नुवाकोटलगायतका ठाउँबाट पैदल हिँडेर दाङ जानको लागि गल्छी आइपुगेका ५५ जना पैदल यात्रीलाई गन्तब्यसम्म पुर्‍याउनको लागि प्रहरीको समन्वयमा बसको व्यवस्था गरेको गल्छी गाउँपालिकाकी उपाध्यक्ष राधा तिमल्सिनाले जानकारी दिनु भयो ।

ललितपुरको कान्ति लोकपथबाट मकवानपुरतर्फ पैदल यात्रा गर्ने क्रममा अलपत्र परेकाहरूलाई बागमती गाउँपालिकाको भट्टेडाँडामा ६७ जनालाई निशुल्क भोजन गराएको गाउँपालिकाका प्रवक्ता विष्णुप्रसाद तिमल्सिनाले जानकारी दिनु भयो । श्रीकृष्ण प्रणामी सेवा समाज मकवानपुरले वैशाख ९ गते ४० जना सर्वसाधारणलाई निःशुल्क गाडीको व्यवस्था गरी गन्तव्यतर्फ पठाएको छ । काठमाडौँबाट गएराति आएका सिन्धुलीका ४० जना हेटौंडामा अलपत्र परेको थिए ।

काभ्रे प्याब्सनले लकडाउनका कारण अलपत्र परेका २७ जना मजदुरको उद्धार गरेको छ ।  पनौती नगरपालिका आसपास क्षेत्रमा दैनिक ज्यालादारी गर्दै आएका कैलाली, सुर्खेत, बर्दिया, दाङ, रोल्पा घर भएकाहरूलाई उद्धार गरिएको काभ्रे प्याब्सनका अध्यक्ष पुर्णकुमार श्रेष्ठले बताउनु भयो । त्यसैगरी काठमाडौँबाट हिँडेर बनेपा आइपुगेका सिन्धुलीका ७ सयभन्दा बढी पैदलयात्रीको उद्धार गरिएको छ । सिन्धुलीमा तरकारी, फलफूल, माछा, मासु, अण्डालगायतका वस्तुहरूको आयातमा लगाइएको रोकलाई निरन्तरता दिँदै बाहिर जिल्लाबाट आउने सामानमा रोक लगाए पनि जिल्ला भित्रको तरकारी, फलफूल आयातमा भने रोक नलगाइने भएको छ ।

बागमती प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

गण्डकी प्रदेश

कास्कीको पोखरा महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय कास्कीमा स्वचालित सेनिटाइजर टनेल जडान गरी हस्तान्तरण गरेको छ । पूरा शरीरलाई सेनिटाइज गरी मानिसको कपडामा भएको भाइरसलाई मार्ने स्वाचालित सेनिटाइजर टनेल निर्माण गरी पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले कास्कीका प्रहरी प्रमुख दानबहादुर कार्कीलाई उक्त टनेल वैशाख ९ गते हस्तान्तरण गर्नुभएको हो । कास्कीकै रुपा गाउँपालिकाका प्रत्येक घरलाई तरकारीका बिउबिजन निःशुल्क वितरण गर्ने र प्रत्येक जनताको घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने अभियान अगाडि बढाएको छ । प्रत्येक घरमा न्युनतम ४० ओटा बोट हुने गरी तरकारीका बिउबिजन वितरण गर्न लागिएको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिनुभयो । वैशाख ९ गतेबाट गण्डकी प्रदेशको मुख्यद्वार तनहुँको आबुँखैरेनी गाउँपालिकाको मुग्लिनमा हरेक सवारी साधनलाई सेनिटाइजर स्प्रे गरेर मात्रै प्रदेशमा भित्र्याउने व्यवस्था सुरू गरिएको छ ।

गण्डकी प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

प्रदेश ५ 

प्रदेश ५ सरकारले प्रदेश ५ का जिल्लाहरूमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि काम गरिरहेको जनाएको छ । लकडाउनका कारण खाद्यान्न अभाव हुन नदिन स्थानीय तह र प्रदेश सरकारले काम गरिरहेको छ । प्रदेश ५ का सबैजसो जिल्लामा आरडीटी विधिबाट परीक्षण गर्ने क्रम जारी रहेको छ । वैशाख ९ गतेसम्म प्रदेश ५ मा कोरोना सङ्क्रमित फेला परेका छैनन् ।

कपिलवस्तुमा वैशाख ९ गते ७ सय ६७ जनाको आरडीटी परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । बाँकेको प्रहरी हिरासतमा रहेका थुनुवालाई अदालतमा पेश गर्दा अनिवार्य कोरोना परीक्षण रिपोर्ट सङ्लग्न हुनुपर्ने अदालतको आदेश भएअनुसार जिल्ला प्रहरी कार्यालयले थुनुवाहरूको परीक्षण आरडीटी विधिबाट गर्न थालिएको छ ।

प्रदेश ५ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

कर्णाली प्रदेश

उच्च अदालत सुर्खेत, जुम्ला इजलासले म्याद नाघेको नुन वितरण नगर्न र नगराउन आदेश गरेको छ । कोरोना भाइरसका कारण लकडाउन भएपछि हिमा गाउँपालिकाले राहत वितरण गर्दा म्याद नाघेको नुन वितरण गरेको भन्दै सोही गाउँपालिका-१ का प्रतिभा शाही र नेत्रबहादुर शाहीले ७ वैशाखमा रिट दायर गरेपछि अदातलले ९ वैशाखमा आदेश गरेको हो । उच्च अदालत सुर्खेत, जुम्ला इजलासका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द्रका अनुसार म्याद नाघेको नुनका विषयमा हिमा गाउँपालिका र गाउँ कार्यपालिकाको नाममा रिट दायर भएको थियो ।

जाजरकोट जिल्लामा रहेका अधिकांश औषधि पसलहरू बन्द भएका र खुल्ला भएका औषधि पसलहरूले पनि औषधि खरिद गर्न नपाएको हुँदा दम, मुटुरोग, ब्लडप्रेसर, सुगरलगायतका दीर्घरोग भएकाहरूले नियमित सेवन गर्ने औषधि निजी मेडिकलहरूसँग सकिएपछि समस्यामा परेका छन् । लकडाउनका कारण औषधि ढुवानी गर्न नसक्दा अभाव भएको सदरमुकाममा मेडिकल गर्दै आएका रत्नबहादुर घर्तीले बताउनु भयो । जिल्लामा रहेका मेडिकलहरूमा औषधि अभाव भइरहेको विषयमा कुरा गर्दा प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले औषधि अभाव भएका मेडिकल सञ्चालकहरूले सम्पर्क गर्नु पर्‍यो औषधि ढुवानीका लागि पासको व्यवस्था गर्न सकिने बताउनु भयो ।

कर्णाली प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

सुदूरपश्चिम प्रदेश

राष्ट्रिय मानव अधिकार आयोगको संयोजकत्वमा गठित (कोभड-१९) प्रदेशस्तरीय मानव अधिकार अनुगमन समितिको बैठक वैशाख ९ गते सम्पन्न भयो । समितिका सदस्य इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खड्कराज जोशीले विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको रोकथाम तथा नियन्त्रण र सङ्कटमा नागरिकका अधिकारको अवस्था विषयमा छलफल गरी विभिन्न निर्णयहरू गरिएको बताउनु भयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जिल्ला अस्पताल दार्चुलालाई कोरोना अस्पताल घोषणा गरेपछि चार जना डाक्टर थप गरेको छ । जिल्ला अस्पतालमा यसअघि ६ जना डाक्टर रहेकोमा सङ्घीय सरकारले कोरोनाको उपचारमा सहयोग पुर्‍याउन भन्दै थप चार जना डाक्टर पठाएपछि जिल्ला अस्पतालमा हाल १० जना डाक्टर कार्यरत रहेका छन् । सङ्घीय सरकारले सुदूरपश्चिमको लागि ३४ जना डाक्टर पठाएकोमा जिल्ला अस्पताल, दार्चुलाका लागि जनरल फिजिसियन खटाइएका छन् ।

सुदूरपश्चिम प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ


अनलाइन डेस्क