कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ २० गते)
भदौ २० गते १ हजार ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४४ हजार २ सय ७७ पुगेको छ । भदौ २० गते १२ हजार ४ सय ७३ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार भदौ २० गतेसम्म कोरोना सङ्क्रमणका कारण २ सय ८० जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये २७ हजार १ सय २७ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । भदौ २० गते १ हजार ५ सय ६६ जना डिस्चार्ज भएका छन् भने निको दर ५९.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । १७ हजार ८ सय ७० जनाको उपचार भइरहेको छ । मन्त्रालयका अनुसार ताप्लेजुङ, सोलुखुम्बु, मुस्ताङ, मुगु, डोल्पा र हुम्ला जिल्ला शुन्य सङ्क्रमित भएका जिल्ला हुन् भने ५ सय भन्दा बढी सङ्क्रमित रहेका जिल्लाहरूमा मोरङ, सुनसरी, धनुषा, पर्सा, बारा, रौतहट, सर्लाही, काठमाडौँ, ललितपुर, चितवन र रुपन्देही छन् ।
प्रदेश १
मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार कोरोना सङ्क्रमणबाट जिल्लामा थप चार जनाको मृत्यु भएको छ । दुई जना महिला र दुई जना पुरूषको मृत्यु भएको भदौ २० गते सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका-४ की ६४ वर्षीया महिला, विराटनगर महानगरपालिका-११ की ४३ वर्षीया महिला, धनपालथान गाउँपालिका-३ का ५५ वर्षीय पुरूष र बुढीगङ्गा गाँउपालिका-५ का ४५ वर्षीय पुरूष छन् । धनपालथान गाँउपालिकाकाका पुरूषको भदौ २० गते कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा मृत्यु भएको हो । बाँकी तीन जनाको भदौ १९ गते साँझ मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । बुढीगङ्गाका पुरूषको विराट मेडिकल कलेजमा, विराटनगर-४ की महिलाको कोशी अस्पताल र विराटनगर-११ की महिलाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । मोरङमा कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ । विराटनगर महानगरपालिकाका १३ जना, बुढीगङ्गा गाँउपालिकाका तीन जना, रङ्गेली नगरपालिका, धनपालथान गाँउपालिका, सुनवर्षी नगरपालिका, बेलबारी नगरपालिका र पथरीशनिश्चरे नगरपालिकाका एक/एक जनाको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार जिल्लामा ९७ जना प्रहरीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको तथा कार्यस्थलमा खटिएका प्रहरीलाई नै कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालयमा गम्भीर प्रकृतिका उजुरी बाहेकका सेवाहरू रोकिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीको हिरासतमा रहेका तथा चमेना गृह सञ्चालन गरिरहेका व्यक्तिमा समेत कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि गम्भीर प्रकृतिका उजुरी बाहेकका सेवा रोकिएको सुनसरी प्रहरी प्रमुख कमल थापाले जानकारी दिनुभयो ।
गण्डकी प्रदेश
गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार भदौ २० गतेबाट गोरखा नगरपालिका सील गरिएको छ । कोरोना जोखिम बढेको ठहर गर्दै भदौ २० गते दिउँसो १२ बजेबाट एक साताका लागि नगरपालिका क्षेत्रमा निशेधाज्ञा गरिएको गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले बताउनुभयो । निशेधाज्ञा अवधिमा अत्यावश्यक काम बाहेक हिँड्डुल नगर्न भनिएको छ । गोरखा अस्पतालमा उपचाररत एक महिलाको मृत्यु भएपछि अस्पतालको इमरजेन्सी सेवा भदौ २० गतेबाट बन्द गरिएको छ । ७५ वर्षीय ती महिलालाई अचेत अवस्थामा गोरखा अस्पतालमा भर्ना गरिएको थियो । मृतकको पीसीआर परीक्षणको लागि नमूना सङ्कलन भइसकेको र रिपोर्ट नआउँदा सम्मको लागि इमरजेन्सी सेवा बन्द गरिएको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताउनुभयो ।
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार देवघाट गाउँपालिका-५ मा थप पाँच जनामा कोरोना सङ्क्रमण देखिएपछि र्सवसाधारणमा थप जोखिम बढ्न सक्ने भएकोले वडा कार्यालयबाट प्रवाह हुने सेवा सुविधा भदौ २४ गतेसम्म बन्द गरिएको छ । गाउँपालिकाले भदौ १९ गते सूचना प्रकाशन गरी जोखिम कम गर्न वडा नम्बर ५ को कार्यालयको सेवा बन्द गरिएको वडा अध्यक्ष यालबहादुर गुरुङले बताउनु भयो । यस अघि देवघाटमा समुदायमा कोरोना सङ्क्रमण देखिएपछि गत भदौ १ गते देखि लगाइएको निषेधाज्ञा भदौ १२ गते सकिएको थियो ।
प्रदेश ५
रुपन्देही प्रतिनिधि रीमा बिसीका अनुसार बुटवल उपमहानगरपालिका- ११ का ४० वर्षीय पुरुषको कारोना सङ्क्रमणका कारण भदौ १९ गते राति कोरोना विशेष अस्थायी अस्पतालको भेण्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको छ । यसैगरी नवलपरासी प्रतापपुर गाउँपालिका-२ की ३७ वर्षीया महिलाको भदौ २० गते कोरोना विशेष अस्पताल, बुटवलमा मृत्यु भएको छ । बुटवलका पुरुष भदौ १५ गते र नवलपरासीकी महिला भदौ १७ गते अस्पतालमा भर्ना भएका थिए । उनीहरूको उपचार भेण्टिलेटरको सहायतामा आइसीयूमा भइरहेको थियो । दुवै जनामा ज्वरो र श्वासप्रश्वासको समस्या रहेको तर अन्य दीर्घ रोग नरहेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन तथा कोरोना फोकल पर्सन डाक्टर सुदर्शन थापाले बताउनु भयो । शवलाई लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको शव गृहमा राखिएको र अन्तिम संस्कारका लागि परिवार र सम्बन्धित निकायसँग समन्वय भइरहेको अस्पतालले जनायो ।
यसैगरी, रुपन्देहीमा भदौ २० गते बसेको जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले लकडाउनको मोडालिटी परिवर्तन गरि खुकुलो बनाउने निर्णय गरेको छ । बैठकको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लाभर बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म पसल-व्यवसाय खोल्न पाउने गरी भदौ २८ गते राति १२ बजेसम्म निशेधाज्ञा आदेश जारी गरेको छ । यसअघि भदौ २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएएको थियो । प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले जारी गरेको निशोधाज्ञा आदेशमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर दैनिक सात घण्टा पसल-व्यवसाय सञ्चालन गर्न पाइने बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी
३३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा मिर्चैया नगरपालिका–१२ का ४० वर्षीय रामदेव दास विरुद्ध पीडित परिवारले इलाका प्रहरी कार्यालय मिर्चैयामा असोज ९ गते उजुरी दिनु भयो । पीडित पक्षका…
यौन दुर्व्यवहार घटनाको कसुरमा बालकलाई सुधार गृहमा राख्ने फैसला
नौ वर्ष ३ महिना १५ दिनकी बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा १४ वर्ष ५ दिनका बालकलाई २०८० असोज ८ गते साढे १ वर्ष बाल सुधार गृहमा राख्ने फैसला भएको छ…
फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नु पर्ने मागसहित अभियन्ता ईः आठ दिनदेखि धर्नामा
फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नु पर्ने मागसहित अभियन्ता ईशान श्रेष्ठ (ईः ) आठ दिनदेखि काठमाडौँ महानगरपालिका मेयरको कार्यालय अगाडि धर्नामा बस्नुभएको छ । फुटपाथ व्यवसायीमाथि महानगरपालिकाले दुर्व्यवहार गर्न बन्द गरिनु…
बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजाय फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश उद्धव भट्टराईको इजलासले ०८० असोज ९ गते स्याङ्जाको वालिङ नगरपालिका-६ का २३ वर्षीय रेमन गुरुङ र चितवनको रत्ननगर नगरपालिका-१६ का २३…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका-१० का वडाध्यक्ष ३५ वर्षीय छविरमण धमलालाई असोज ९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८० असार २५ गते बलात्कार…