कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ १८ गते)

  ०७७ भदौ १८ गते

भदौ १८ गते १ हजार २ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४२ हजार ८ सय ७७ पुगेको छ । भदौ १८ गते १३ हजार ४ सय १३ जनाको स्वाब परीक्षण गरिएकोमा १ हजार २ सयभन्दा बढीमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार भदौ १८ गतेसम्म कोरोना सङ्क्रमणका कारण २ सय ५७ जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये २४ हजार २ सय ७ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । भदौ १८ गते ९ सय १७ जना डिस्चार्ज भएका छन् भने निको दर ५६.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । १८ हजार ४ सय १३ जनाको उपचार भइरहेको छ ।

प्रदेश १

सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार जिल्ला प्रशासन कार्यालयले भदौ १२ गतेदेखि जारी गरेको निषेधाज्ञाको अवधि थप गरेको छ । कोरोना भाइरसको जोखिम प्रतिदिन बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालयले भदौ १८ गते सूचना प्रकाशित गर्दै भदौ २५ गतेसम्म निषेधाज्ञा जारी रहने जनाएको छ । भदौ १८ गते देखि निषेधाज्ञाको समयावधि सकिए पनि अवस्थामा सुधार नआएपछि भदौ १८ गते बसेको बैठकले निषेधाज्ञालाई निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताउनु भयो । निषेधाज्ञाका समयमा शववाहन, एम्बुलेन्स र खाद्य सामग्री बोक्ने सवारी बाहेक अरू सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

तेह्रथुम प्रतिनिधि भगिश्वर लिम्बूका अनुसार म्याङलुङ नगरपालिकाले भदौ २५ गतेसम्म निषेधाज्ञालाई जारी राख्ने निर्णय गरेको छ । कोरोना भाइरसको जोखिम बढेपछि न्यूनीकरणका लागि भदौ १८ गतेको बैठकले निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको नगरपालिका मेयर सञ्जयकुमार आङदेम्बेले बताउनु भयो । निषेधाज्ञाका समयमा अत्यावश्यक बाहेक अन्य सबै प्रकारका सेवा सञ्चालनमा रोक लगाएको नगरपालिकाले जनाएको छ ।

प्रदेश २
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार राजगढ गाउँपालिका–६ फकीरा घर भई राजविराज नपा–७ मा बस्दै आएका ५० वर्षीय पुरुष र राजविराज नपा–७ का ५५ वर्षीय पुरुषको भदौ १८ गते दिउँसो एक घण्टाको अन्तरालमा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा मृत्यु भएको छ । छिन्नमस्ता अस्पताल राजविराजबाट रेफर भएका मधुमेह र उच्च रक्तचापबाट पीडित ५५ वर्षीय पुरुष कोभिड–१९ अस्पताल धरानमा भदौ ८ गतेदेखि भर्ना भएका थिए भने मधुमेहबाट पीडित ५० वर्षीय पुरुषमा ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि भदौ १८ गते भर्ना भएका थिए । धरानमा भदौ १८ गते गरिएको पीसीआर परीक्षणमा ५० वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको मृतकका परिवारका सदस्यले बताए ।
पर्सा प्रतिनिधि कृष्णचन्द्र लामिछानेका अनुसार भदौ १८ गते बिहानीपख जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमा १ हजार ५ सय भन्दा बढी मजदुर जम्मा भएपछि प्रहरीले हस्तक्षेप गरेको छ । लकडाउनका कारण श्रम गरेर बाँच्नु पर्ने अवस्थाका उनीहरू जिल्ला प्रहरी कार्यालय पर्साले राहत दिने कुरा प्रकाशमा आएपछि गएका थिए । तर, राहत पाउने आशमा पुगेका सर्वसाधरणमाथि प्रहरीले लाठी चार्ज गरेको पीडितहरूको आरोप छ । राहत लिनका लागि २५ देखि ५० रुपियाँ खर्चेर फारम भरेका थिए । मजदुरी तथा ज्यालादारी गरी खाने तथा निषेधाज्ञाको बेला चुलो नबल्ने अवस्थामा पुगेका १ सय ५ परिवारलाई राहत उपलब्ध गराएको जिल्ला प्रहरी कार्यालयका एसपी गङ्गा पन्तले बताउनु भयो । तर, भदौ १८ गते पनि राहत वितरणको हल्ला चलेपछि ठूलो सङ्ख्यामा सर्वसाधारणको भीड जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेको थियो । कार्यालय अगाडि जम्मा भएका व्यक्तिहरूले होहल्ला गरेपछि भीड नियन्त्रण गर्न सामान्य बल प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोजित कुँवरले बताउनु भयो । बीरगंज महानगरपालिकाका मेयर विजयकुमार सरावगीका राजनीतिक सल्लाहकार मुकेश द्विवेदीले महानगरले अति विपन्न परिवारलाई पहिचान गरी राहत वितरण गर्नको लागि जिल्ला प्रहरी कार्यालयलाई २ सय पोका राहत सामग्री उपलब्ध गराएको बताउनु भयो  । उहाँले गरिब तथा अति विपन्न परिवारलाई महानगरले प्रहरीको सहयोगमा थप राहत पनि उपलब्ध गराउने बताउनु भयो ।

बागमती प्रदेश  

काठमाडौँमा ३ सय ५७, चितवनमा ५६, ललितपुरमा ४५, भक्तपुरमा ३४, मकवानपुरमा १५, काभ्रेपलान्चोक र धादिङमा ६/६, नुवाकोटमा चार, सिन्धुपाल्चोकमा दुई, रामेछाप र दोलखामा एक/एक जना गरी यस प्रदेशमा भदौ १८ गते ५ सय २९ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । यससँगै प्रदेशमा सङ्क्रमित हुनेको सङ्ख्या ९ हजार ४ सय ६२ जना पुगेको छ । जसमध्ये १ हजार ५ सय ९९ जना उपचारपछि घर फर्किएका छन् भने ७ हजार ७ सय ९४ जनाको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको छ । भदौ १९ गते चितवनमा दुई महिला र एक पुरुषको मृत्यु भएसँगै हालसम्म यस प्रदेशमा कोरोना भाइरस सङ्मणको कारण मृत्यु हुनेको सङ्या ६९ जना पुगेको छ ।

चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार भरतपुर अस्पतालमा १८ गते साँझ ५ बजेको एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार राप्ती नगरपालिका-९ की ६५ वर्षीया महिलाको मृत्यु भएको हो । यसअघि चितवन मेडिकल कलेजमा पूर्वी नवलपरासी गैंडाकोट नगरपालिका-२ का ३७ वर्षीय पुरुष र भरतपुर महानगरपालिका-११ की ४० वर्षीया महिलाको मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिनुभयो । चितवनमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । जसमध्ये चितवनका ११ जना, मकवानपुरका चार जना, नवलपरासी पूर्वका दुई जना, गोरखा, कैलाली र बाराका एक/एक जना रहेका छन् ।

यसैबिच, भरतपुर अस्पतालले कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि आइसोलेशन बेड थप गरेको छ । हाल उपचार हुँदै आएको ७५ शैयामा १ सय शैया थप गरिएको भरतपुर अस्पतालले जनाएको छ । सरकारको निर्देशन र चितवनको वस्तुस्थितिलाई बुझेर आइसोलेशन थप गरिएको भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डाक्टर भोजराज अधिकारीले जानकारी दिनुभयो ।

धादिङ प्रतिनिधि सीताराम अधिकारीका अनुसार गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । रसुवा जिल्ला गोसुाइकुण्ड गाउँपालिका-६ का ३१ वर्षीय पुरुषलाई प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याउँदै गर्दा उनको मृत्यु भएको थियो । मृतकको स्वाब भदौ १५ गते परीक्षणका लागि राष्ट्रिय प्रयोगशाला पठाइएकोमा उनको कोरोना पुष्टि भएको गजुरी गाउँपालिका स्वास्थ्य संयोजक डाक्टर रामहरी रेग्मीले बताउनुभयो ।

रामेछाप प्रतिनिधि नवराज घिमिरेका अनुसार जिल्लामा जारी निषेधाज्ञा ०७७ भदौ १८ गतेबाट एक हप्ताको लागि थप गरिएको छ । जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्र रामेछापले कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शार्माको अध्यक्षतामा भदौ १८ गते बसेको बैठकले भदौ १८ गते राति १२ बजेसम्म जारी निषेधाज्ञालाई थप गरी भदौ २५ गते राति १२ बजेसम्म जारी राख्ने निर्णय गरेको हो ।

गण्डकी प्रदेश

पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार कोरोना महामारी सँगै पर्वत जिल्लामा उच्च सतर्कता अपनाउने क्रममा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले कानुन व्यवसायीलाई समेत मुद्दा बहस पैरवीमा रोक लगाउनु भएको छ । भदौ १८ गते खिमराज गुरुङ सहितको किर्ते मुद्दामा पर्वत जिल्ला अदालतको आदेशबाट थुनामा रहेका आरोपितको मुद्दा बन्दी प्रत्यक्षीकरण सरह उच्च अदालतमा दर्ता भएपछि सोही मुद्दा उपर पैरवी गर्न जाने क्रममा आफूहरूलाई प्रमुख जिल्ला अधिकारी रेग्मीले रोकेको पर्वत बार एसोसिएशनका अध्यक्ष चन्द्रबहादुर क्षेत्रीले आरोप लगाउनु भयो । 'प्रजिअको अनुमति लिएर मात्रै अर्को जिल्ला जाने भन्ने सोचका साथ अनुमति मागियो तर प्रजिअले जान नपाउने बताउनुभयो ।'-अध्यक्ष क्षेत्रीले भन्नुभयो-'प्रमुख जिल्ला अधिकारीले बागलुङ गइहालेपनि फर्केर पर्वतमा छिर्न पाइँदैन भन्नुभयो ।'

कानुन व्यवसायी मानव अधिकार रक्षक पनि भएको र विशेष परिस्थितिमा जस्तो सुकै महामारी र जोखिम अवस्थामा पनि उपस्थित हुनुपर्ने भएकोले प्रमुख जिल्ला अधिकारीले रोक लगाउन नमिल्ने बार एसोसिएशन पर्वतका निवर्तमान अध्यक्ष भोलानाथ शर्माले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले विशेष परिस्थितिको विषयमा आफुलाई कसैले जानकारी नगराएको र आफ्नो र समग्र जिल्लाको सुरक्षाका लागि सामान्य काममा जिल्ला बाहिर नजान अनुरोध गरेको बताउनु भयो । उहाँले जिल्ला कोरोना रोकथाम तथा व्यवस्थापन समितिको सर्वपक्षीय निर्णय अनुरुप नै उक्त निर्णय गरेको हुँदा सबैलाई सचेत गराउने सिलसिलामा बिरामी, काजकिरिया, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी बाहेकका अन्यलाई आवातजावतमा रोक लगाइएको जानकारी दिनु भयो ।

प्रदेश ५
प्यूठान प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार जिल्ला प्रशासन कार्यालयले भदौ १२ गतेदेखि लगाएको निशेधाज्ञा पुनः एक हप्ता थप गरेको छ । कोरोना  सङ्क्रमणको  नियन्त्रण तथा रोकथामका लागि भदौ १८ गते  जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिड सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी)को बैठकले भदौ २५ गतेसम्म निशेधाज्ञा थप गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी गौरव पन्थीले बताउनु भयो । उपभोक्तालाई  मध्यनजर गर्दै  दैनिक उपभोग्य सामाग्री विक्री वितरण गर्ने पसलहरूमा सुरक्षाको मापदण्ड अपनाएर बिहान ७ बजेदेखि १० बजेसम्म खोल्न सकिने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी पन्थीले बताउनु भयो ।

कर्णाली प्रदेश

सल्यान प्रतिनिधि मिना बुढाथोकीका अनुसार कपुरकोटस्थित धनवाङ स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ १८ गतेदेखि एक साताका लागि चौकी सील गरिएको छ । सङ्क्रमित व्यक्ति धेरैको सम्पर्कमा रहेकाले र यसअघि पनि समुदाय स्तरमा गरिएको परीक्षणमा एक व्यक्तिलाई कोरोना भेटिएपछि सर्वदलीय बैठकले सील गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष भिमबहादुर सेनले जानकारी दिनुभयो ।


अनलाइन डेस्क