कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ १७ गते)
भदौ १७ गते १ हजार १ सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४१ हजार ६ सय ४९ पुगेको छ । भदौ १७ गते १२ हजार ८ सय ७९ जनाको स्वाब परीक्षण १ हजार १ सयभन्दा बढीमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार भदौ १७ गतेसम्म कोरोना सङ्क्रमणका कारण २ सय ५१ जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये २३ हजार २ सय ९० जना अस्पतालबाट डिस्चार्ज भएका छन् । भदौ १७ गते १ हजार १ सय १२ जना डिस्चार्ज भएका छन् भने निको दर ५५.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । १८ हजार १ सय ८ जनाको उपचार भइरहेको छ ।

काठमाडौं उपत्यकाका तीन ओटै जिल्लामा भदौ ३ गते मध्यरातिदेखि एक साताका लागि प्रमुख जिल्ला अधिकारीहरूद्वारा जारी निषेधाज्ञा दोस्रो पटक एक साताका लागि थप गरिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेकोमा भदौ १० गते सो अवधिमा सात दिन थप गरेकामा भदौ २४ गतेसम्मका लागि थप गरिएको छ । प्रमुख जिल्ला अधिकारीहरूले छुट्टाछुट्टै आदेश जारी गरी यो अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामका लागि बाहेक बाहिर ननिस्कन आग्रह गरेका छन् । कोभिड-१९ को रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन जरूरी देखिएको भन्दै जिल्ला प्रशासन कार्यालयले सङ्क्रामक रोग ऐन २०२० को दफा २ एवम् स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) बमोजिम भदौ १७ गते राति १२ बजेदेखि भदौ २४ गते राति १२ बजेसम्मका लागि तोकिएका गतिविधिबाहेकका काम गर्न गराउन निषेध गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लाहरूमा निषेधाज्ञा जारी राख्न सिफारिस गरेको छ । मन्त्रालयको तथ्याङ्क अनुसार काठमाडौँ, ललितपुरसहित १२ जिल्लामा सक्रिय सङ्क्रमित छन् । यस्तै २ सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लाहरूमा लकडाउन गर्न अनुरोध गरिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनु भयो । २ सय भन्दा बढी सक्रिय सङ्क्रमित भएका १८ ओटा जिल्लामा ६० प्रतिशत सङ्क्रमित छन् ।
क्रसं | जिल्ला | सङ्क्रमित | निको | मृत्यु | सक्रिय सङ्क्रमित |
१ | काठमाडौं | ५२६७ | ५७९ | २६ | ४६६२ |
२ | पर्सा | २३९६ | १३२३ | ३८ | १०३५ |
३ | रौतहट | १८७९ | १०६६ | ६ | ८०७ |
४ | सर्लाही | १८७८ | ९०२ | ४ | ९७२ |
५ | मोरङ | १६९० | ७७० | १८ | ९०२ |
६ | कैलाली | १६४९ | १३३८ | ६ | ३०५ |
७ | धनुषा | १६१४ | १००२ | १३ | ५९९ |
८ | महोत्तरी | १३०५ | ४४० | १० | ८५५ |
९ | रुपन्देही | ११२० | ४७५ | ११ | ६३४ |
१० | बाँके | ११०५ | ७३० | ६ | ३६९ |
११ | बारा | ९७८ | ३६३ | १४ | ६०१ |
१२ | सुनसरी | ८५५ | २८९ | ६ | ५६० |
१३ | चितवन | ८३२ | २१७ | १० | ६०५ |
१४ | ललितपुर | ७७१ | १२३ | ७ | ६४१ |
१५ | भक्तपुर | ५५७ | १४३ | ९ | ४०५ |
१६ | मकवानपुर | ५४० | १६५ | ५ | ३७० |
१७ | सिराहा | ५२१ | ३०१ | ६ | २१४ |
१८ | काभ्रेपलाञ्चोक | २४३ | २९ | २ | २१२ |
१९ | जम्मा | २५२०० | १०२५५ | १९७ | १४७४८ |
प्रदेश १
मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार जिल्ला प्रशासन कार्यालयले भदौ २२ गतेसम्मका लागि परिमार्जनसहित निषेधाज्ञालाई निरन्तरता दिएको छ । प्रशासनले भदौ १६ गते थप गरेको निषेधाज्ञा अनावश्यक भएको फिर्ता लिने मोरङका उद्योगी व्यवसायीले माग गरेका छन् । उद्योग सङ्गठन मोरङ, मोरङ व्यापार सङ्घ र विराट व्यापार सङ्घले भदौ १७ गते संयुक्त विज्ञप्ति जारी गर्दै निषेधाज्ञा फिर्ता लिन प्रशासनसँग माग गरेका हुन् । सरकारले लकडाउनको अवस्थामा कर मिनाह नगर्ने, खानेपानी टेलिफोनमा सहुलियत नदिने हुँदा उद्योगीहरू थप गरिएको निषेधाज्ञा धान्न नसक्ने अवस्थामा पुगेको उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले बताउनु भयो । निषेधाज्ञा अन्त्य गर्दै नेपाल सरकार र विश्व स्वास्थ्य सङ्गठनले अवलम्बन गरेको मापदण्ड अनिवार्य पालनाको अनुगमनसहित उद्योग व्यापार सहज रूपमा चलाउने वातावरण तयार गर्नुपर्नेमा विराट व्यापार सङ्घका अध्यक्ष सुजन थापाले माग गर्नु भयो । निषेधाज्ञा महामारी नियन्त्रणको विकल्प नभएको जनाउँदै उद्योगीहरूले यसक्रममा उद्योग व्यवसाय बन्द हुँदा कर्मचारी, श्रमिक, प्राविधिकको व्यवस्थापन गर्न समस्या, बैङ्कको ऋण, व्याज किस्ता, बीमा प्रिमियम, घर बहाल कर तिर्न सकस परेको उद्योगीहरूको गुनासो छ ।
झापा प्रतिनिधि नरेश खातीका अनुसार मेची अञ्चल अस्पतालका चिकित्सक, नर्स तथा कर्मचारीहरू सरकारले बनाएको स्वास्थ्य मापदण्ड र निर्देशिका अनुसार जोखिम भत्ता नपाएको भन्दै भदौ १६ गतेदेखि आन्दोलित भएको अस्पतालका मेडिकल अफिसर डाक्टर लेनिस पोखरेलले बताउनु भयो । हालसम्म भत्ता नपाएपछि उनीहरूले पहिलो चरणमा विरोधस्वरुप हातमा कालो पट्टी बाँधेर आन्दोलन सुरू गरेका छन् । पहिलो चरणमा भदौ २२ गतेसम्म हातमा कालोपट्टी बाँधेर काम गर्ने र माग पूरा नभए २३ गतेबाट आकस्मिक बाहेक अन्य सेवा अवरूद्ध गर्ने तयारी गरी विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् । प्रदेश सरकार अन्तर्गत रहेको मेची अस्पतालका स्वास्थ्यकर्मीले सामाजिक विकास मन्त्रालयमा बोधार्थ दिँदै भदौ १६ गतेदेखि विरोध गरेका हुन् । अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर पिताम्बर ठाकुरले असारमै जोखिम भत्ताका लागि सम्पूर्ण कागजातसहित हिसाब प्रदेश १ को सामाजिक मन्त्रालयमा पठाएको बताउनु भयो ।
सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार सभापोखरी गाउँपालिकाले कोरोना भाइरसको जोखिम बढेको भन्दै न्यूनीकरणका लागि भदौ १७ गतेदेखि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि गाउँपालिकाका सील घोषणा गरेको छ । अर्को स्थानीय तहबाट प्रवेश हुने नाकामा कडाई गर्ने, अत्यावश्यकबाहेक सेवाका पसल बाहेक अरू सञ्चालनमा प्रतिबन्ध लगाउने गरी सीलको घोषणा गरेको गाउँपालिका अध्यक्ष रत्नबहादुर सुब्बाले बताउनु भयो ।
सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार जिल्ला प्रशासन कार्यालयले साउन २१ गतेदेखि लागू गरेको निषेधित क्षेत्र घोषणालाई खुकुलो बनाउने निर्णय गरेको छ । भदौ १७ गते राति १२ बजेपछि निषेधित क्षेत्रलाई केही समयको लागि खुकुलो बनाउने निर्णय भएको प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलका अनुसार स्वास्थ्य प्रोटोकल पालना गर्दै जिल्लाभर बिहान १० बजेसम्म पसलहरू खोल्न दिने निर्णय भएको छ । बिहान १० बजेसम्म खुल्ने पसलमा भौतिक दुरी २ मिटर कायम गर्नुपर्ने, सर्वसाधारणले मुल्यसूची देखिने गरी अनिवार्य राख्ने, अनिवार्य मास्क र पन्जा प्रयोग गर्नेलगायत नियम पालना गर्नुपर्ने सूचनामा उल्लेख छ ।
प्रदेश २
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार कञ्चनरुप नपा-६ दास टोलस्थित एउटै परिवारका सात जनामा भदौ १७ गते कोरोना सङ्क्रमण देखिए लगत्तै बसेको नगरस्तरीय कोरोना सङ्क्रमण नियन्त्रण समितिको बैठकले उक्त टोलमा एक घरबाट अर्को घरमा आवतजावत समेत बन्द हुने गरी 'सील' गरेको र निर्णय कार्यान्वयनका लागि प्रहरी परिचालन गरिएको छ । कोरोना सङ्क्रमण नियन्त्रणका लागि सचेतनामूलक र प्रबन्धनात्मक कार्य गर्न अर्को आदेश नहुञ्जेलसम्मका लागि सो क्षेत्र 'सील' गरिएको कञ्चनरुप नगरपालिकाका प्रमुख बसन्तकुमार मिश्रले बताउनु भयो । हाटबजार, पसलका साथै स्वास्थ्य चौकीसमेत सोही टोलमा रहेकोले स्वास्थ्य सेवा समेत बन्द गरिएको स्वास्थ्य शाखाका सहसंयोजक डम्बरप्रसाद गुप्ताले जानकारी दिनु भयो । यसैगरी समितिको बैठकले कञ्चनरुप नपा-२ र वडा नम्बर ७ मा स्वास्थ्य सेवा बाहेकका हाटबजार, पसल बन्द गर्ने निर्णय गरेको छ ।
सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार कोरोना सङ्क्रमण तथा रोकथामको लागि लहान नगरपालिकाको राहत कोष (आकस्मिक) व्यवस्थापन समतिको भदौ १६ गतेको बैठकले स्वास्थ्य तथा सरसफाइ सेवा बाहेकका सम्पूर्ण सेवा भदौ १७ गतेदेखि भदौ २७ गतेसम्मको लागि बन्द गर्ने निर्णय गरेको लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भुषालले बताउनु भयो । लहान नगरपालिका कार्यालय र २४ वटै वडाबाट प्रदान गरिने सेवासमेत बन्द गरेको अधिकृत भुषालले बताउनु भयो ।
महोत्तरी प्रतिनिधि अजयकुमार साहका अनुसार वर्दिवास नगरपालिकामा भदौ १७ गते आत्महत्या गरेकी वर्दिवास नपा-३ गौरीडाँडाकी ८० वर्षीया महिलामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको सोही नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले जानकारी दिनु भयो । भदौ १७ गते स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएको हो । ति महिलाले भदौ १७ गते बिहान झुण्डिएर आत्महत्या गरेको नगर प्रमुख कार्कीले बताउनु भयो । मृतक महिलाको भदौ १५ गते स्वाब सङ्कलन गरी परिक्षणको लागि पठाइएको थियो । मृतकको घरका अन्य तीन जनामा भदौ ११ गते कोरोना सङ्क्रमण पृष्टि भएको थियो । योसँगै जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।
बारा प्रतिनिधि भोलानाथ पौडेलका अनुसार कोरोना सङ्क्रमित सिम्रोनगढ नपा-९ बसबरीया टोलका ९७ वर्षीय पुरुषको कोभिड अस्पताल गण्डकमा उपचारको क्रममा भदौ १७ गते मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेस चौरसियाले बताउनु भयो । उच्च रक्तचाप, मुटुरोग, शरीरमा सोडियमको कमी, कोरोना पोजेटिभ रहेकाले अइसीयूमा राखेर उपचार गराउँदै गर्दा मृत्यु भएको डाक्टर चौरसियाले बताउनु भयो ।
बागमती प्रदेश
यस प्रदेशमा भदौ १७ गते काठमाडौँमा ३ सय ५०, चितवनमा ४३, ललितपुरमा ३०, मकवानपुरमा २४, भक्तपुरमा २०, दोलखामा चार, काभ्रेपलान्चोक र सिन्धुपाल्चोकमा तीन/तीन, धादिङ र रामेछाप दुई/दुई र सिन्धुलीमा एक/एक जना गरी ४ सय ८२ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । यससँगै प्रदेशमा सङ्क्रमित हुनेको सङ्ख्या ८ हजार ९ सय ३३ जना पुगेको छ । जसमध्ये १ हजार ५ सय ६९ जना उपचारपछि घर फकिएका छन् भने ७ हजार २ सय ९८ जनाको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको छ । हालसम्म यस प्रदेशमा कोरोना भाइरस सङ्मणको कारण मृत्यु हुनेको सङ्या ६६ जना पुगेको छ ।
काठमाडौँ प्रतिनिधि विमला पौडेलका अनुसार काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा पुनः तेस्रो पटक थप गरिएको छ । भदौ ३ गतेदेखि लागु हुने गरी एक साताका लागि भएको निषेधाज्ञा भदौ १० गते एक साता थप भएकोमा १७ गतेबाट फेरी भदौ २४ गतेसम्मका लागि थप भएको छ । गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीन ओटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको भदौ १६ गते बसेको संयुक्त बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो । तर, यसपटक केही सेवालाई सञ्चालनका लागि छुट दिइएको काठमाडौँ जिल्लका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार होटल, रेष्टुरेन्ट, फुटपाथ पसलअझै बन्द हुने र बैङ्क लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्ने बताउनु भयो । त्यस्तै नियमित सेवा प्रदान गर्नुपर्ने, कार्यालय जाने कर्मचारी बिहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ बजेदेखि साढे ५ बजेसम्म आउजाउ गर्न सक्ने समेत भदौ १७ गते बसेको बैठकले निर्णय गरेको दाहालले बताउनु भयो ।
धादिङ प्रतिनिधि सीताराम अधिकारीका अनुसार सिद्धलेक गाउँपालिका-६ का ४७ वर्षीय केशर सुनारको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । भदौ १६ गते पाटन अस्पतालमा मृत्यु भएका सुनारको भदौ १७ गते आएको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले बताउनु भयो । मृतक सुनार मृगौलाको समस्या र निमोनियाका कारण करिब दुई महिनादेखि उपचाररत हुनुहुन्थ्यो । सिद्धलेक गाउँपालिकाले एक साताका लागि बजार बन्द गराउनुका साथै पालिकाले सबै सेवा बन्द गरेको छ । यो सँगै धादिङमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई जना पुगेको छ । यसअघि निलकण्ठ नगरपालिका-१४ का एक पुरुषको मृत्यु भएको थियो ।
चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार कोरोना सङ्क्रमण बढ्दै जाँदा कैदीबन्दीमा कोरोना सङ्क्रमणको जोखिम बढेकाले उच्च सावधानी अपनाइएको जिल्ला कारागार कार्यालय चितवनका प्रमुख कमलप्रसाद काफ्लेले बताउनु भयो । सङ्क्रमण हुन नदिन कैदीबन्दीलाई आफन्तसँगको भेटघाटलाई पूर्ण बन्द गरिएको छ । ०७६ चैत महिनादेखि नै कैदीबन्दीलाई आफन्तसँगको भेटघाट बन्द गरिएको छ । यस्तै कैदीबन्दीलाई आफन्तले पैसा बाहेक अन्य केही दिन पाइने छैन । भित्र ल्याउने सामानमा समेत सेनिटाइज गरेर मात्र पठाइने गरिएको छ । कर्मचारीलाई अत्यावश्यक कामबाहेक कार्यालय नआउन र घरमै बस्न भनिएको काफ्लेले बताउनु भयो । अहिले कारागारमा ५५ जना महिला सहित ६ सय ८६ कैदीबन्दी छन् ।
यसैबीच, क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरमा कार्यरत दुई जना कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि भदौ १७ गते बिहानदेखि केन्द्र 'सिल' गरिएको छ । केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार चालक र प्राविधिकलाई सङ्क्रमण देखिएको हो । केन्द्रलाई पूर्णरूपमा निर्मलीकरण र कर्मचारीलाई कन्ट्याक्ट ट्रेसिङ गरेसँगै केन्द्र सञ्चालनमा आउने पौडेलले बताउनु भयो ।
यसैगरी, चितवनका दुई मेडिकल कलेजले रेम्डिसिभिर औषधीको प्रयोग थालेका छन् । चितवन मेडिकल कलेजमा हाल दुई जना कोरोना सङ्क्रमितमा यो औषधीको प्रयोगबाट उपचार भइरहेको छ । अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालका अनुसार केही दिन अघि राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्को सहयोगमा औषधी झिकाइएको हो । औषधी प्रयोग हुन थाले पनि त्यसको प्रभावबारे अहिले नै केही भन्न नसकिने डाक्टर लम्सालले बताउनु भयो । पूरानो मेडिकल कलेजमा पनि यो औषधी ल्याइसकिएको सूचना प्राप्त भएको छ । भरतपुर सरकारी अस्पतालका निमित्त मेसु डाक्टर जगन्नाथ तिवारीले सरकारी अस्पतालमा अझै यो औषधी उपलब्ध नभएको बताउनु भयो ।
गण्डकी प्रदेश
बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार बागलुङको बरेङ गाउँपालिकाले तीन दिनलाई निषेधाज्ञा जारी गरेको छ । गाउँपालिकामा कोरोना सङक्रमितको सङ्ख्या कम भएपनि सिमाना जोडिएको गुल्मीको चन्द्रकोट गाउँपालिकामा कोरोना समुदाय स्तरमा देखिएपछि भदौ १९ गतेसम्म लागु हुने गरी निषेधाज्ञा जारी गरिएको गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले जानकारी दिनुभयो । निषेधाज्ञाको अवधीमा अत्यावश्यकीय सेवा बाहेक सबै बन्द हुनेछन् ।
त्यसैगरी, बागलुङको काठेखोला गाउँपालिकाले भदौ ११ गतेदेखि १७ गतेसम्म जारी गरेको निषेधाज्ञा ४ दिन थप गरेको छ । गाउँपालिका अध्यक्ष अमर थापाले भदौ १७ गते प्रेस विज्ञप्ति जारी गर्दै भदौ १८ गते देखि भदौ २१ गतेसम्म गाउँपालिकामा निषेधाज्ञा जारी रहने जानकारी गराउनु भयो । गाँउपालिकाका कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङको क्रममा अर्का कर्मचारीमा पनि कोरोना देखिएपछि निषेधाज्ञा थप गरिएको अध्यक्ष थापाले बताउनु भयो ।
गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार भदौ १७ गतेबाट पालुङटार नगरपालिकाका दुई वडा सील गरिएको छ । पालुङटार नगरपालिकाको १ र ९ नम्बर वडामा बिरामी जाँचको सिलसिलामा पुगेका गोरखा नगरपालिका-१० का ५५ वर्षीय स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनको संर्सगमा रहेका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङ गरी पीसीआर रिपोर्ट नआउन्जेलसम्मका लागि भदौ १६ गते गरिएको निर्णय अनुसार पालुङटार नगरपालिकाको १ र ९ नम्वर वडा सील गरिएको पालुङटार नगरपालिकाका मेयर दिपक वावु कँडेलले बताउनु भयो ।
प्रदेश ५
कपिलवस्तु प्रतिनिधि पार्वती आचार्यका अनुसार कोरोना विषेश अस्पताल बुटवलमा उपचाररत कृष्णनगर नगरपालिका- ११ रामनगरकी ७० वर्षीय महिलाको भदौ १७ गते मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताउनु भयो । उहाँ लामो समयदेखि उच्च रक्तचापको बिरामी भएको र सङ्क्रमणपछि ज्वरो आउनुका साथै श्वास-प्रश्वासमा समेत समस्या देखिएको थियो । उहाँमा भदौ ७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यससँगै कपिलवस्तु्मा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । मृत्यु हुनेमा ३ पुरुष र एक महिला रहेका छन् ।
यसैगरी, जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले भदौ २२ गतेसम्मका लागि जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयमा भदौ १५ गते बसेको जिल्ला कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले एक हप्तासम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताउनु भयो । पछिल्लो समय समुदायस्तरमा कोरोना फैलिने दर बढेपछि बैङ्क र वित्तीय संस्थाहरू भने बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खोल्न पाउने समय तोकेको छ । अत्यावश्यक सेवा बाहेक सरकारी कार्यालयबाट प्रदान गरिने सेवा पूर्ण रूपमा बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
नवलपरासी पश्चिम प्रतिनिधि नारायण पराजुलीका अनुसार कोरोना सङ्क्रमणका कारण रामग्राम नगरपालिका-५ की ६५ वर्षीया भदौ १६ गते भीम अस्पताल, भैरहवामा उपचारको क्रममा मृत्यु भएको जिल्ला अस्पतालका सूचना अधिकारी डाक्टर नारायण पोखरेलले बताउनु भयो । मधुमेह र उच्च रक्तचापको समस्या भएकाले अस्पतालको आइसीयूमा राखेर उहाँको उपचार भइरहेको थियो । कोरोना पुष्टि भएपछि उहाँलाई भदौ १५ गते अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो । यससँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।
रुपन्देही प्रतिनिधि रीमा बिसीका अनुसार कोरोना सङ्क्रमणका कारण तिलोत्तमा नपा- ४ का ६८ वर्षीया महिलाको भदौ १४ गते मृत्यु भएको छ । ज्वरो र श्वास-प्रश्वासमा समस्या देएपिछि भदौ १४ गते भैरहवास्थित भीम अस्पतालमा लैजादै गर्दा मृत्यु भएको हो । भदौ ११ गते कोरोना जाँच गर्दा कोरोना पुष्टि भएपछि उहाँ होम आइसोलेसनमा बस्दै आउनु भएको थियो । भदौ १४ गते ज्वरो र श्वास-प्रश्वासमा समस्या देखिएपछि उपचारका लागि भीम अस्पताल भैरहवा लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोलर तथा सूचना अधिकारी केदारनाथ शाहले बताउनु भयो । शवको अन्तिम संस्कार परिवार र सम्बन्धित निकायहरूसँग समन्वय गरेर भदौ १५ गते गरिएको छ । हालसम्म रुपन्देहीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । जसमध्ये पाँच जना पुरुष र पाँच जना महिला रहेका छन् ।
दाङ प्रतिनिधि जयनारायण पुनका अनुसार कोरोना सङ्क्रमण समुदायस्तरमै फैलिन थालेको भन्दै रोकथामका लागि दाङमा भदौ २१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । भदौ १४ गते राति १२ बजेदेखि लागुहुने गरी एक हप्ता जिल्लाभर निषेधाज्ञा जारी गरिएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताउनु भयो ।
यसैगरी, दुई जना चिकित्सक, चार जना स्वास्थ्यकर्मी र तीन जना कार्यालय सहयोगीमा कोरोना सङ्क्रमण भएपछि भदौ १३ गतेदेखि बिरामी भर्ना रोकेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले भदौ १५ गते साँझदेखि इमरजेन्सी र प्रसूती सेवा सूचारु गरेको छ । बिरामीको समस्यालाई मध्यनजर गर्दै उपयुक्त स्वास्थ्य सतर्कता अपनाएर सेवा सूचारु गरिएको अस्पतालका निमित्त मेसु डाक्टर पदमराज अधिकारीले बताउनु भयो ।
कर्णाली प्रदेश
इन्सेक जुम्ला जिल्ला प्रतिनिधि मानदत्त रावलका अनुसार विपद व्यवस्थापन समितिको बैठकले भदौ १७ देखि चन्दननाथ नगरपालिकामा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताउनुभयो । उहाँका अनुसार भदौ १६ गते एकै दिन चन्दननाथ नगरपालिका क्षेत्र भित्र सर्वसाधारण नागरिकसहित कैदीबन्दी, बैङ्क तथा सरकारी कार्यालयका कर्मचारी र विद्युत प्राधिकरणका कर्मचारी गरी ३९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । निर्णय अनुसार सदरमुकाम खलङ्गाको पूर्वमा दानसाँघु, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय, दक्षिणमा तीला नदी र पश्चिममा गमगाड क्षेत्रभित्रका औषधि पसलबाहेक अन्य सम्पुर्ण गतिविधि पूर्ण रूपमा बन्द गरिने छ । गाउँमा धार्मिक मेला, भिडभाड नगर्न निर्देशन गरिएपनि स्थानीयले अटेरी गरेकै कारण सङ्क्रमण फैलिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर मङ्गल रावलले बताउनु भयो ।
इन्सेक सुर्खेत जिल्ला प्रतिनिधि दुर्गा थापाका अनुसार जिल्ला अदालत सुर्खेतमा कार्यरत एक महिला कर्मचारीलाई कोरोना पुष्टि भएपछि अत्यावश्यक बाहेक भदौ १७ गतेदेखि अदालतको सबै सेवा बन्द गरिएको छ । अर्को सूचना जारी नभएसम्मका लागि म्याद थप, थुनुवा र पक्राउ पुर्जी जारी गर्ने लगायतका सेवा बाहेक अन्य सेवा बन्द हुने अदालतका श्रेष्तेदार यामप्रसाद बास्कोटाले बताउनुभयो । श्रेष्तेदार बास्कोटाका अनुसार ती महिलाको भदौ १४ गते स्वाब परीक्षण गरिएकोमा भदौ १६ गते कोरोना सङ्क्रमण पुष्टि भएको हो । महिलामा कोरोना पुष्टि भए लगत्तै अदालत सील गरेर अन्य कर्मचारीहरूको स्वाब सङ्कलन गरिएको र सम्पुर्ण कर्मचारीको रिपोर्ट आएपछि मात्र सेवा सुरू गरिने बास्कोटाको भनाइ छ ।
सुदूरपश्चिम प्रदेश
बझाङ प्रतिनिधि रमेश केसीका अनुसार जिल्लामा कोरोना सङ्क्रमण समुदायस्तरमै फैलिएको भन्दै भदौ १७ गतेदेखि भदौ २५ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । दुर्गाथली गाउँपालिकामा कन्ट्रयाक्ट ट्रेसिङ गर्दा १० जना, बुंगल नगरपालिका र केदारस्युँ गाउँपालिकामा पनि स्थानीयमा कोरोना सङ्क्रमण देखिएपछि भदौ १७ गते राति १२ बजेदेखि भदौ २५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताउनु भयो । क्वारेण्टाइनमा बसेका व्यक्तिहरूको पीसीआर रिपोर्ट आउन ढिलाई भएपछि क्वारेन्टाइनमा रहेका व्यक्तिहरू घर गइसकेको अवस्थामा कोरोना पुष्टि भएपछि कन्ट्रयाक्ट ट्रेसिङ गर्दा समुदायस्तरमा पनि कोरोना सङ्क्रमण देखिएको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताउनु भयो ।
अछाम प्रतिनिधि शिवराज ढुङ्गानाका अनुसार कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि रामारोशन गाउँपालिका-३ शान्तडाको वडा कार्यालयबाट प्रवाह हुने सबै प्रकारका सेवा भदौ १६ गतेदेखि २३ गतेसम्म बन्द गरिएको छ । वडामा कोरोना सङ्क्रमण तीव्र रूपमा फैलन थालेको भन्दै यसको नियन्त्रणका लागि वडाका सेवा रोकिएको वडा अध्यक्ष ताराबहादुर साउदले बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार कसुर ठहर गर्दै १९ वर्ष कैदको फैसला
१३ वर्षीया बालिका बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले मुसिकोटका नगरपालिका –१ का १९ वर्षीय जितेन्द्र विकलाइचैत १० गते १९ वर्ष कैद र ७ लाख रूपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको…
बलात्कार पीडितलाई इन्सेकको सहयोग
बलात्कार पीडित चार वर्षीया बालिकाकाको उपचार कानुनी सेवाका लागि इन्सेकले चैत १२ गते आर्थिक सहयोग गरेको छ । मजदुरी गरेर जीवन यापन गरिरहेका एक दम्पतिलाई छोरीको न्यायका लागि ८ हजार…
यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने…
बलात्कार गरेको कसूरमा सात वर्ष कैद फैसला
२० वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई दैलेख जिल्ला अदालतले सात वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको चैत १२ गतेको इजलासबाट…
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…