कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १३ गते)

  ०७७ असार १३ गते

कोरोना भाइरसको सङ्क्रमणबाट असार १३ गतेसम्म सङ्क्रमितको सङ्ख्या १२ हजार ३ सय ९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमार्फत जानकारी दिनु भयो । तिमध्ये २८ जनाको मृत्यु भएको, २ हजार ८ सय ३४ जना निको भएर घर फर्किएका र ९ हजार ४ सय ४७ जनाको उपचार भइरहेको पनि डाक्टर गौतमले जानकारी दिनु भयो ।

प्रदेश १

प्रदेश १ मा असार १३ गते थप १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या ५ सय ३३ पुगेको छ । प्रदेश १ मा असार १३ गतेसम्म ३ सय ५५ जना डिस्चार्ज भइसकेका सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश २

प्रदेश २ मा असार १३ गते २९ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३ हजार ३ सय १९ जना पुगेको छ । प्रदेशमा कोरोना सङ्क्रमितमध्ये १ हजार ४ सय १५ जना उपचारपछि निको भएर घर फर्किएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार जिल्लामा दैनिक कोरोना सङ्क्रमित थपिएपछि आइसोलेशन बेडको अभावमा छिन्नमस्ता र बलान बिहुल गाउँपालिकाका पाँच/पाँच जना तथा तिरहुत गाउँपालिकाका दुई जना सङ्क्रमितलाई स्थानीय तहकै क्वारेण्टाइनमा राखिएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले बताउनु भयो । प्रमुख यादवले जिल्लाको एक मात्र आइसोलेशन केन्द्र रहेको राजविराजस्थित साईकृष्णा मेडिकल कलेज एण्ड हस्पिटलमा १ सय ३ ओटा बेड रहेकोमा ९३ जना डिस्चार्ज हुँदा बाँकी १ सय १५ जना सङ्क्रमितमध्ये १२ जनालाई बेड अभावमा क्वारेण्टाइनमै राखिएको बताउनु भयो ।

धनुषा प्रतिनिधि दीपेन्द्रप्रसाद सिंहका अनुसार प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशन वार्डमा भर्ना भई उपचार अभावको क्रममा छटपटिएर मृत्यु भएका हंसपुर-७ नौखाखोर प्रसाहीका १५ वर्षीय राजु सदाको परिवारलाई प्रदेश सरकारले ५ लाख रुपियाँ राहत दिने असार १२ गते घोषणा गरेको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले मृतक राजु सदाप्रति श्रद्धाञ्जली र पीडित परिवार प्रति समवेदनासहितको विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गर्नु भएको छ ।

बागमती प्रदेश

यस प्रदेशको रसुवा जिल्लामा पहिलोपल्ट असार १३ गते नौ जनामा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण पुष्टि भएको छ । यससँगै यस प्रदेशका सबै जिल्लामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । असार १३ गते रसुवा जिल्लाका नौ जना सहित २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ३ सय ८७ जना पुगेको छ । कोरोना भाइरस सङ्क्रमितमध्ये १ सय ८ जना उपचारपछि घर फर्किएका र पाँच जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोतमराज सेढाईँले बताउनु भयो ।

चितवन प्रतिनिधि दीपेन्द्र अधिकारीका अनुसार भरतपुर अस्पतालमा उपचाररत कैलालीका एक जना कोरोना सङ्क्रमितको असार १३ गते बिहान मृत्यु भएको छ । लामो समयदेखि फोक्सोको क्यान्सरको समेत उपचार गराइरहेका ५० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि चितवन मेडिकल कलेजबाट असार ११ गते राति भरतपुर अस्पताल सारिएको थियो । चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको प्रत्यक्ष निगरानीमा राखेर उपचार गराउँदा पनि सङ्क्रमित पुरुषलाई बचाउन नसकिएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो ।

इन्सेक, बागमती प्रदेश कार्यालय हेटौँडाका अनुसार इन्सेक बागमती प्रदेश संयोजक तथा केन्द्रीय स्तरको मानव अधिकार अनुगमन समितिका सदस्य कृष्ण गौतम, सोही समितिका सदस्य गैसस महासङ्घ बागमती प्रदेशका अध्यक्ष दामोदर अर्याल लगायतको टोलीले असार १३ गते हेटौँडामा कोरोना भाइरस रोकथामका लागि सञ्चालनमा आएका आइसोलेशन वार्ड, क्वारेण्टाइन तथा होल्डिङ सेन्टरको अनुगमन गरेको छ ।

अनुगमन टोलीमा नेपाल बार उच्च अदालतका अधिवक्ता युवराज ओली, मानव अधिकार सङ्गठनकी केन्द्रीय सदस्य अप्सरा बस्नेत, गैसस महासङ्घका कमल विश्वकर्मा, इन्सेक बागमती प्रदेशका कार्यक्रम संयोजक गणेश भण्डारी तथा गैसस महासङ्घ सचिवालयकी मेनुका खड्का रहनु भएको थियो ।

अनुगमन टोलीले हेटौँडाको श्रमिक माविको भवनमा सञ्चालित आइसोलेशन वार्ड, वन विज्ञान अध्ययन संस्थानमा रहेको होल्डिङ सेण्टर र राप्ती रोडको गोरक्षेश्वर क्षेत्र विकास समितिको भवनमा रहेको क्यारेन्टाइनको समेत अनुगमन गरेको छ । हेटौँडाको श्रमिक माविको क्वारेण्टाइनमा एक जना महिला सहित पाँच जना कोरोना सङ्क्रमितको उपचार भइरहेको र उहाँहरूमा कोरोना भाइरसको कुनै लक्षण नभएकोले जोखिम नदेखिएको क्वारेण्टाइन इन्चार्ज जनस्वास्थ्य अधिकृत भोला चौलागाईँले बताउनु भयो ।

उहाँले सो आइसोलेशनमा एक महिला सहित १३ जना क्वारेण्टाइनमा रहेको समेत जानकारी दिनु भयो । यस आइसोलेशनमा डाक्टर सहित नौ जना स्वास्थ्यकर्मी रहेकामा तीन जना आवासीय रूपमा कार्यरत रहेका छन् । पुरुष शौचालय अस्थायी प्रकृतिको रहे पनि स्वाब सङ्कलन कक्ष, उपचार, खाना, बस्न, झुल सहितको सुत्ने व्यवस्था र सञ्चारको लागि वाईफाईलगायत सबै भौतिक सुविधा सन्तोषजनक रहेको अनुगमन टोलीलाई आइसोलेशनमा रहेकाहरूले बताएका छन् ।

यसैगरी गोरक्षश्वर समितिको क्वारेन्टाइनमा तीन जना महिला सहित ११ जना रहेको पाइयो । क्वारेण्टाइनमा डाक्टरसहितको टोली चौबिसै घण्टा खटिएको र यहाँ पनि खाना, बस्न, शौचालय, झुल, औषधि सबै भौतिक सामग्रीको उपलब्धता रहेको छ । तर, पीसीआर परीक्षण नेगेटिभ भइ आफ्नो गाउँठाउँमा गएका व्यक्तिलाई स्थानीयले नस्वीकार्ने भएकाले क्वारेण्टाइनमै फर्कन बाध्य हुने समस्या रहेको डा. लक्ष्मीनारायण भगतले बताउनु भयो । क्वारेण्टाइनबाट घर फर्कन चाहनेलाई स्थानीय अटो तथा मयुरी समेतले सेवा दिन नमान्ने गरेको उहाँले अनुगमन टोलीलाई जानकारी दिनु भयो ।

जिल्ला समन्वय समितिले सञ्चालन गरेको वन विज्ञान अध्ययन संस्थान हेटौँमा रहेको होल्डिङ सेण्टरलाई ५० जना रात बस्न सक्ने गरी स्तरोन्नति गरिएको त्यहाँ कार्यरत होल्डिङ सेण्टरका इन्चार्ज उपेन्द्र पोखरेलले बताउनु भयो ।

होल्डिङ् सेण्टरमा प्रवेश गर्नलाई साबुन पानीले हात धुने, स्यानिटाइजर लगाउने, खाजाको लागि चाउचाउ, विस्कुट पानीको व्यवस्था, आराम कक्ष, राति बस्नु परे झुलसहित भौतिक दुरी कायम गरी आठ जना महिला र १२ जना पुरुषको लागि बेडको व्यवस्था समेत रहेको छ । होल्डिङ सेन्टर जेठ २८ गतेदेखि सञ्चालनमा आएको र ओमन, मलेसिया, कतार, कुवेत, दुवही, साउदीलगायत आठ देशबाट आएका ९० जनाभन्दा बढीले सेवा लिइसक्नु भएको पोखरेलले बताउनु भयो ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा असार १३ गते थप ८२ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या ८ सय ८८ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभएको छ ।

प्रदेश ५

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रदेश ५ मा असार १३ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला टेकुमा गरिएको परीक्षणमा अर्घाखाँचीका १६ जना, गुल्मीका सात जना, कपिलवस्तुका एक जना गरी २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बुटवलमा गरिएको परीक्षणमा अर्घाखाँचीका दुई जना, पाल्पाका २६ जना प्यूठानका ४९ जना, रुपन्देहीका आठ जना गरी ८५ जनामा सङ्क्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका दुई जना, बर्दियाका चार जना गरी ६ जना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाङमा गरिएको परीक्षणमा दाङका ३१ जना, कपिलवस्तुका सात जना र रोल्पाका एक जना गरी ३९ जनामा पोजेटिभ देखिएको छ । असार १३ गते प्रदेश ५ मा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या १ सय ५४ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसैगरी असार १३ गते कोरोना विशेष अस्पताल दाङबाट एक जना, सुशील कोइला प्रखर अस्पताल बाँकेबाट बर्दियाका पाँच जना र बाँकेका २३ जना गरी ३१ जना निको भएर घर फर्किएका छन् ।


अनलाइन डेस्क