कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ १३ गते)
भदौ १३ गते ८ सय ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ३७ हजार ३ सय ४० पुगेको छ । गत २४ घण्टामा ११ हजार ५ सय १६ जनाको स्वाब परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार भदौ १३ गतेसम्म कोरोना सङ्क्रमणका कारण २ सय ७ जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये २० हजार ५ सय ५५ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । भदौ १३ गते ३ सय १३ जना डिस्चार्ज भएका छन् भने निको दर ५५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । १६ हजार ५ सय ७८ जनाको उपचार भइरहेको छ । कोरोना सङ्क्रमणका कारण जेठ २ गते पहिलो मृत्यु भएपछिका तीन महिनामा यो सङ्ख्या बढेर २ सय ७ पुगेको छ ।

प्रदेश १
मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार कोरोना सङ्क्रमणबाट पथरीशनिश्चरे नगरपालिका-२ का ६२ वर्षीय पुरुषको भदौ १३ गते न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको छ । न्युरो अस्पतालका डाइरेक्टर इञ्जिनियर रञ्जितराज बस्नेतले उपचारका लागि भदौ ३ गते ल्याउदा पुरुषमा कोरोनाको लक्षणसँग मिल्दोजुल्दो ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने र श्वास/प्रश्वासको समस्या रहेको बताउनु भयो । उहाँका अनुसार पुरुषको मृत्यु भदौ १३ गते बिहान ६ बजेतिर भएको हो । मृत्युपछि पनि उपचारमा संलग्न चिकित्सकले शङ्का लागेर पुनः परीक्षणका लागि स्वाब सङ्कलन गरेर कोशी अस्पतालको प्रयोगशालामा पठाउँदा दिउँसो २ बजे उनको रिपोर्ट पाजेटिभ आएको हो । मृत्यु भएका पुरुषको शव परिवार र आफन्तलाई बुझाएको एक घण्टापछि कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले कोरोना पोजेटिभ देखिएको खबर आएपछि पुरुषको शव परिवारका सदस्य र नातेदारबाट फिर्ता गर्दै व्यवस्थापनका लागि नेपाली सेनाको विशेष टोलीलाई जिम्मा लगाइएको बताउनु भयो ।
प्रदेश २
सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार लहान नपा-१८ का ८४ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट भदौ १३ गते मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले बताउनु भयो । पेटसम्बन्धी उपचारका लागि भदौ ६ गते धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । भदौ ६ गते उनको स्वाब सङ्कलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएपछि आइसोलेशनमा उपचारकको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख यादवले बताउनु भयो । सिरहामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ ।
धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार नगराइन नपा-७ डेवडिहा बस्ने ६५ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट भदौ १२ गते मृत्यु भएको आइसोलेशन धनुषाका संयोजक डाक्टर जामुनप्रसाद सिंहले जानकारी दिनु भयो । श्वासप्रश्वास समस्याबाट पीडित पुरुषलाई भदौ १० गते भर्ना गरिएको थियो । जनकपुरमा उपचार सम्भव नभएपछि उपचारको लागि सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । मृतकको स्वाब सङ्कलन गरी परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएपछि भदौ १२ गते राति शवलाई धनुषाको महेन्द्रनगरस्थित श्रीनाथ गणबाट खटेको नेपाली सेनाको टोलीले डेवडीहामा स्थानीय तहको समन्वयमा व्यवस्थापन गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराइले जानकारी दिनु भयो । मृतक पुरुष लामो समयदेखि मुटु रोग, दमलगायत मधुमेहको रोगी हुनुहुन्थ्यो । धनुषामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सख्या १३ पुगेको छ ।
महोत्तरी प्रतिनिधि अजयकुमार साहका अनुसार पिपरा गाउँपालिका-७ का ७० वर्षीय पुरुषको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा भदौ १२ गते मृत्यु भएको थियो । मृत्यु भएपछि स्वाब सङ्कलन गरेर परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयका वरिष्ठ चिकित्सक कमलेशप्रसाद यादवले जानकारी दिनु भयो ।
यसैगरी भङ्गहा नपा-१ का ३५ वर्षीय युवकको भदौ १३ गते बिहान प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएपछि कोरोना सङ्क्रमण पुष्टि भएको छ । मृत्युपछि स्वाब सङ्कलन गरेर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । ज्वरो र रुघाखोकीका साथै सास फेर्न समस्या भएपछि युवकलाई भदौ १२ गते अस्पतालमा भर्ना गरिएको थियो । योसँगै महोत्तरीमा कोरोना सङ्क्रमण पुष्टि भएर मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।
सर्लाही प्रतिनिधि बुधन साहका अनुसार हरिपुर्वा नगरपालिकामा कोरोना सङ्क्रमण व्यक्तिको सङ्ख्या बढ्न थालेको तथा नगर पालिकामा केही कर्मचारीहरूमा कोरोना सङ्क्रमण भएपछि नगरपालिकाले भदौ १२ गते सूचना जारी गरी नगर भित्रका अति आवश्यक स्वास्थ सेवाबाहेक अन्य सेवाहरू बन्द गर्ने गरी सात दिनको लागि नगरपालिका सील गरिएको नगर प्रमुख सियाराम रायले बताउनु भयो । नगरपालिकाले नगर क्षेत्र भित्र थप सङक्रमण फैलिन नदिन स्वास्थ्य सेबाबाहेक अन्य सबै प्रकारका पसलहरू दैनिक तथा साप्ताहिक रूपमा लाग्ने हाट बजारहरू, बैङ्क तथा वित्तीय संस्थाहरू, सबै प्रकारका उद्योग तथा अति आवश्यक बाहेक सरकारी तथा गैरसरकारी संघ संस्थाहरू र कार्यालयहरूबाट उपलब्ध हुने सेवाहरू भदौ १३ गतेदेखि लागू हुने गरी भदौ २० गतेसम्मका लागि पुर्ण रूपमा सील गरिएको नगर प्रमुख रायले बताउनु भयो ।
रौतहट प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार जिल्लास्तरीय कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको भदौ १३ गतेको निर्णय अनुसार भदौ ८ गतेबाट थप गरिएको निषेधाज्ञालाई भदौ १५ गतेदेखि भदौ २१ गते राति १२ बजेसम्मलाई थप गरिएको छ । भदौ १४ गते परेको इस्लाम धर्मालम्बीहरूको पर्व माहर्रम (दाहा) सामूहिक रूपमा जम्मा भेला भई मनाउँदा निषेधाज्ञा आदेशको बर्खिलाप हुन जाने र कोरोना भाइरसको जोखिम समेत उच्च हुन जान देखिएकोले उक्त पर्व घर बाहिर जम्मा भई सामुहिक रुपमा मनाउन नपाउने गरी निषेध गरिएको छ । उक्त पर्व घरभित्र नै मनाउन अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत किरणनिधि तिवारीले बताउनु भयो ।
पर्सा प्रतिनिधि कृष्णचन्द्र लामिछानेका अनुसार बीरगंजको गण्डक बहुअरीस्थित बीरगंज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारार्थ भर्ना गरिएका बीरगंज महानगरपालिका-२२ मनियारीका ३७ वर्षीय पुरुषको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारका लागि भदौ १२ गते राति १२ बजे काठमाडौँ रिफर गरिएकोमा भदौ १३ गते बिहान ४ बजे मुग्लिन पुग्दा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेशकुमार चौरसियाले जानकारी दिनु भयो । निमोनियाको समस्या भएपछि उनलाई चार दिन पहिले तराई हस्पिटलमा भर्ना गरिएको थियो । उनको स्वाब सोही अस्पतालमा सङ्कलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएपछि भदौ १२ गते बीरगंज हेल्थ केयर कोभिड अस्पतालमा लगेर भर्ना गरिएको थियो ।
बीरगंज हेल्थ केयर कोभिड अस्पतालमै उपचारका क्रममा भदौ १२ गते मध्यरातमा बीरगंज महानगरपालिका-१२ मुर्लीका ४३ वर्षीय पुरुषको मृत्यु भएको छ । हेपाटाइटिस बी र एचआइभी एड्स सङ्क्रमित रहेका ती पुरुषको स्वास्थ्यमा समस्या भएपछि तीन दिन पहिले नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो । मेडिकल कलेजमा उपचारकै क्रममा उनको स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्दा उनमा कोरोना सङ्क्रमण पुष्टि भएपछि साँझ बीरगंज हेल्थ केयर कोभिड अस्पतालमा रिफर गरिएको थियो । कोभिड अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको डाक्टर चौरसियाले जानकारी दिनु भयो ।
यसैगरी भदौ १२ गते नै उपचारको क्रममा बीरगंज महानगरपालिका-१२ मुर्लीकी ६५ वर्षीया महिलाको मृत्यु भएको डाक्टर उदयनारायण सिंहले जानकारी दिनु भयो । श्वासप्रश्वासमा समस्या भएपछि भदौ १२ गते दिउँसो २ बजेतिर नारायणी अस्पतालमा भर्ना गरिएकी महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । न्यून रक्त चापको समस्याले ग्रसित उहाँलाई पखाला पनि लागेको थियो ।
बागमती प्रदेश
यस प्रदेशमा भदौ १३ गते काठमाडौँमा १ सय ५५, चितवनमा ५७, काभ्रेपलान्चोकमा २७, भक्तपुरमा २२, ललितपुरमा १९, मकवानपुरमा १३, धादिङमा १०, सिन्धुलीमा पाँच, नुवकोट, दोलखा र सिन्धुपाल्चोक एक/एक जना गरी ३ सय ११ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएसँगै सङ्क्रमित हुनेको सङ्ख्या ६ हजार ९ सय १६ जना पुगेको छ । जसमध्ये १ हाजर १ जना उपचारपछि घर फर्किएका छन् भने ५ हजार ८ सय ६७ जनाको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरमा दुई/दुई जना गरी थप ६ जनाको मृत्यु भएसँगै हालसम्म यस प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या ४८ जना पुगेको छ ।
रामेछाप प्रतिनिधि नवराज पथिकका अनुसार भदौ १३ गते राति १२ बजेदेखि भदौ १८ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना सङ्क्रमण निरन्तर बढेकोले निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो । नेपाल सरकारको मन्त्री परिषदको निर्णय तथा सङ्क्रामक रोग ऐन २०२० को दफा २ एवम् स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ बमोजिम निषेधाज्ञा जारी गरिएको उहाँले जानकारी दिनुभयो ।
प्रदेश ५
पाल्पा प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाका अनुसार लुम्बिनी मेडिकल कलेजमा उपचाररत तानसेन नगरपालिका-८ मदनपोखरा पिपलडाँडाकी ३० वर्षीया महिलाको भदौ १२ गते कारोना सङ्क्रमणबाट मृत्यु भएको छ । भदौ ७ गते कोरोना पोजेटिभ देखिएपछि लुम्बिनी मेडिकल कलेजको आइसोलेशन सेन्टरमा उनको उपचार भइरहेको थियो । उनलाई मुटुसम्बन्धी समस्या रहेको र कोरोनाको लक्षण समेत देखिएको उक्त अस्पतालका कोरोना फोकल पर्सन डाक्टर ममता कोइरालाले बताउनु भयो । योसँगै जिल्लामा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।
भदौ १२ गते बसेको सिसिएमसिको बैठकले भदौ १९ गते राति १२ बजेसम्मका लागि जिल्लाभर लागू हुने गरी निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताउनु भयो । यसअघि भदौ ५ गतेदेखि निशेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञाका क्रममा अत्यावश्यक बाहेक सार्वजनिक तथा निजी सवारी साधन चलाउन नपाइने प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनु भयो । एम्बुलेन्समा चालक बाहेक बिरामी र एकजना कुरुवा, ढुवानी साधनमा चालक र सहचालक मात्र रहने र यस्ता सवारी साधनहरू गन्तव्यमा पुगेर माात्र रोकिने व्यवस्था गरिएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
निर्माण व्यवसायीको लापरवाहीले अस्पताल भवन नबन्दा सेवाग्राही मर्कामा
दोरम्बा शैलुङ गाउँपालिका दोरम्बामा निर्माणाधीन १५ शय्या दोरम्बा अस्पतालको निर्माण कार्य अलपत्र परेको छ । निर्माण व्यवसायी बीचमा काम छोडेर भागेपछि अस्पताल निर्माण कार्य अलपत्र परेको हो । ०७८ चैत…
सङ्क्रमणकालीन न्यायको कानुन संशोधनका सम्बन्धमा द्वन्द्वपीडितद्वारा १६ बुँदे घोषणापत्र जारी
सङ्क्रमणकालीन न्याय कानुन संशोधनका लागि विधेयकका सम्बन्धमा द्वन्द्वपीडितहरूले १६ बुँदे घोषणापत्र जारी गरेका छन् । काठमाडौँमा चैत १० गते आयोजित द्वन्द्वपीडितहरूको राष्ट्रिय परामर्शद्वारा पारित घोषणापत्रमा सङ्क्रमणकालीन न्यायको विषयलाई निश्कर्षमा पुर्याउने…
बालकलाई चार वर्ष आठ महिना कैद
१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा १७ वर्षीय बालकलाई चैत १० गते ४ वर्ष ८ महिना कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले बालकलाई कैदका साथै ५०…
इन्सेकलगायतको सरोकारवाला निकायको सक्रियतामा बालविवाह रोकियो
जुम्लामा बालविवाह रोकिएको छ । तिला गाउँपालिका – ३ मा हुन थालेको बालविवाह चैत १० गते रोकिएको हो । तिला गाउँपालिका –५ की १६ वर्षीया बालिका र सोही गाउँपालिका –३…
बालिका बेचबिखन र ओसारपसार कसुरमा आठ वर्ष कैद
१३ र १४ वर्षीया बालिकाहरूलाई बिक्रीगर्ने उद्देश्यले भारत लगेको आरोपमा हनुमाननगर कंकालिनी नगरपालिका–६ जोगिनियाका १६ वर्षीय बालकलाई ०७९ चैत १० गते ८ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश…