कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार ८ गते)

  ०७७ असार ८ गते

नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ९ हजार ५ सय ६१ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले असार ८ गते प्रेस ब्रिफिङमा सो जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले २४ घण्टामा ६ हजार १ सय ९८ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको जानकारी दिनु भयो । उहाँले २४ घण्टामा ५ सय ३५ जनामा कोरोना पुष्टि भएको र ३ सय ७६ जना डिस्चार्ज भएको जानकारी दिनु भएको छ । मन्त्रालयका अनुसार कूल सङ्क्रमितमा ९१ प्रतिशत पुरुष र ९ प्रतिशत महिला रहेका छन् । त्यसैगरी डिस्चार्ज भएका २ हजार १ सय ४८ जनामध्ये ९२ प्रतिशत पुरुष र ८ प्रतिशत महिला रहेको मन्त्रालयले प्रकाशन गरेको स्थिति प्रतिवेदनमा उल्लेख छ । रसुवा जिल्लाबाहेक सबै जिल्लामा कोरोना सङ्क्रमित पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ ।

प्रदेश २

प्रदेश २ मा असार ८ गते ७८ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाका अनुसार सप्तरीमा दुई, सिरहामा ५२, धनुषामा आठ, महोत्तरीमा दुई, सर्लाहीमा नौ, रौतहटमा एक र बारामा चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३ हजार २९ जना पुगेको छ । प्रदेशमा कोरोना सङ्क्रमित मध्ये १ हजार ४५ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित वीपी मावि भारदहको क्वारेण्टाइनबाट राजविराजस्थित आइसोलेशन केन्द्र ल्याउने तयारी गरिएका एक कोरोना सङ्क्रमित सोही वडाका २४ वर्षीय पुरुष असार ८ गते भागेका छन् । असार ८ गते कोरोना सङ्क्रमितको रिपोर्ट आएपछि उनलाई अरूबाट अलग्याएर छुट्टै कोठामा राखिएकोमा पानी पर्न थालेपछि सुनसान भएको मौका छोपी भागेको नगरपालिकाका स्वास्थ्य संयोजक रामदेव यादवले बताउनु भयो । भारतको छत्तिसगढबाट जेठ २२ गते आएका उनको स्वाबको रिपोर्ट प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरले असार ८ गते पोजिटिभ भनेर पठाएको छ ।

रौतहट प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार चन्द्रपुर नगरपालिका-६ स्थित जनज्योति माविको क्वारेण्टाइनमा बस्नेहरूले राम्रोसँग खाना पनि नपाएको र क्वारेण्टाइनमा बस्ने कोठा र क्वारेण्टाइन क्षेत्र सरसफाई गर्न आग्रह गरेपनि सुनुवाइ नभएको आरोप लगाएका छन् । दैनिक प्रयोगमा आउने साबुन, ब्रस र मञ्जनको पनि व्यवस्था नगरिएको एक बिरामीले आरोप लगाए । चन्द्रपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण सिग्देलले क्वारेण्टाइन व्यवस्थापन समिति बनाएर जिम्मा दिएको र त्यसको हेर्ने सम्पूर्ण जिम्मा सो समितिलाई रहेको बताउनु भयो । चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले क्वारेण्टाइन जिल्लाकै उत्कृष्ट रहेको र क्वारेण्टाइनमा बस्नेहरूलाई कुनैपनि समस्या नरहेको बताउनु भयो ।

बागमती प्रदेश

यस प्रदेशमा असार ८ गते सात जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । सिन्धुपाल्चोक जिल्लाका दुईजना र चितवन जिल्लाका पाँचजनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो सँगै प्रदेशमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ३ सय ८ जना पुगेको छ । असार ८ गते धादिङ जिल्ला अस्पतालबाट १७ जना उपचारपछि निको भएर घर फर्केका छन् । यससँगै प्रदेशबाट ७३ जना उपचारपछि निको भएर घर फर्केका छन् भने हालसम्म चार जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोतमराज सेढाईले बताउनु भयो ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा असार ८ गते थप २० जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या ५ सय ४० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभयो । तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार गाउँपालिकामा आइसोलेशन नहुँदा ऋषिङ गाउँपालिकाका २१ जना सङ्क्रमितहरूलाई तीन दिनदेखि क्वारेण्टाइनमै राखिएको छ । असार ६ गते बिहान कोरोना पोजेटिभ देखिएका उनीहरूलाई अहिलेसम्म आइसोलेशनको व्यवस्था नहुँदा क्वारेण्टाइनमै राख्नु परेको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताउनु भयो ।

कर्णाली प्रदेश

सुर्खेतको छिञ्चुस्थित शारदा माविको क्वारेण्टाइनमा १४ दिन बसेर जेठ २९ गते घर फर्किएका सुर्खेत भेरीगङ्गा नपा-५ भर्लेनीका ३५ वर्षीय युवाको असार ७ गते मृत्यु भएको छ । झाडापखालाबाट ग्रस्त ती युवाको मेडिकलमा लैजाँदै गर्दा मृत्यु भएको भेरीगङ्गा नगरपालिकाका प्रमुख भुपेन्द्र चन्दले बताउनु भयो । कर्णाली प्रदेश अस्पतालमा असार ८ गते गरिएको पीसीआर परीक्षणमा मृतक युवाको रिपोर्ट नेगेटिभ देखिएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारीले बताउनु भयो । असार ८ गते उनको दाहसंस्कार गरिएको छ ।

सुदूरपश्चिम प्रदेश

बझाङ प्रतिनिधि रमेश केसीका अनुसार छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरी माविको क्वारेण्टाइनमा बसेका सोही ठाउँका ३० वर्षीय एक युवकले असार ७ गते राति क्वारेण्टाइनभित्रै आत्महत्या गरेका छन् । तीन दिनअघि भारतको बैङ्लोरबाट आएर असार ६ गतेदेखि क्वारेण्टाइनमा बसेका युवक झुण्डिएको अवस्थामा भेटिएका वडा नम्बर ७ का वडाध्यक्ष पदम मण्डेलले बताउनु भयो । मृत फेला परेका युवकको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गर्न सदरमुकामबाट स्वास्थ्यकर्मीको टोली घटनास्थलतर्फ आइरहेको वडाध्यक्ष मण्डेलको भनाइ छ । क्वारेण्टाइनभित्रै झुण्डिएको अवस्थामा फेला परेका युवक बसेको क्वारेण्टाइनमा चार जना बस्दै आएको भए पनि भारतबाट फरक-फरक मितिमा आएकाले सबै जनालाई अलग-अलग कोठामा राखिएको वडाध्यक्ष मण्डेलले बताउनु भयो । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


अनलाइन डेस्क