कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार ७ गते)

  ०७७ असार ७ गते

कोरोना भाइरसको सङ्क्रमणबाट असार ७ गते ४ सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ९ हजार २६ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमार्फत जानकारी दिनु भयो । कोरोना सङ्क्रमितमध्ये पछिल्लो २४ घण्टामा १ सय ९४ जना डिस्चार्ज भएका छन् । असार ७ गतेसम्म १ लाख ७५ हजार १ सय ७३ जनाको पीसीआर विधिबाट र २ लाख ६२ हजार १ सय ७४ जनामा आरडीटी गरिएको मन्त्रालयले वेभसाइटमा उल्लेख छ । मन्त्रालयका अनुसार आइसोलेशनमा ७ हजार २ सय ३१ र क्वारेण्टाइनमा ९४ हजार ९ सय २८ जना रहेका छन् । आजसम्म २३ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १० वर्षसम्मका २ सय ३७ जना बालबालिकामा कोरोना पुष्टि भएको छ । त्यसैगरी ११ वर्षदेखि २० वर्षसम्मका २ हजार १ सय ८७ जना, २१ वर्षदेखि ३० वर्षसम्मका ३ हजार ४ सय १४ जना र ३१ वर्षदेखि ४० वर्षसम्मका १ हजार ९ सय ६१ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी ४१ वर्षदेखि ५० सम्मका ८ सय ४० जना, ६१ वर्षसम्म २ सय ९१ जनामा कोरोना सङ्क्रमण भएको छ । ६१ वर्षमाथिका ९६ जना ज्येष्ठ नागरिकमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश २

प्रदेश २ मा असार ७ गते ७८ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाका अनुसार सप्तरीमा दुई, सिरहामा ५२, धनुषामा आठ, महोत्तरीमा दुई, सर्लाहीमा नौ, रौतहटमा एक र बारामा चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा सङ्क्रमितको सङ्ख्या २ हजार ९ सय २ जना पुगेको छ । प्रदेशमा कोरोना सङ्क्रमित मध्ये ९ सय ५२ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार सिरहा नगरपालिका स्थित सूर्यनारायाण सत्यनारायण मरवैता क्याम्पसको क्वारेण्टाइनमा रहेका ५२ जनामा आज कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले बताउनु भएको छ । उनीहरूलाई जिल्ला अस्पताल सिरहाको मातहतमा रहेको चन्द्र माविको आइसोलेशनमा लाने तयारी भए पनि सात बजेसम्म नलगिएको प्रमुख यादवले बताउनु भयो । अस्पतालले नै उनीहरूको बस्ने, खाने तथा उपचारको व्यवस्था गर्ने जिम्मा रहेको प्रमुख यादवले बताउनु भयो । जिल्ला अस्पताल सिरहाका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर नागेन्द्रप्रसाद यादवले अस्पतालमा तयारी पूरा भए पनि राति भएपछि मात्रै सङ्क्रमितहरूलाई लगिने र अन्य व्यवस्थापनहरू गरिने बताउनु भयो । उहाँका अनुसार अहिले सङ्क्रमितहरू क्वारेण्टाइनमै रहेका छन् ।

बागमती प्रदेश

यस प्रदेशमा असार ७ गते तीन जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । प्रदेशको नुवाकोट, ललितपुर र रामेछाप जिल्लाका एक/एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेशमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ३ सय १ जना पुगेको छ । जसमध्ये ५६ जना उपचारपछि निको भएर घर फर्केका छन् भने हालसम्म चार जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोतमराज सेढाईले बताउनु भयो ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा असार ७ गते थप १९ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या ५ सय २३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार गोरखाका कोरोना सङ्क्रमितलाई तीन दिन पछि बल्ल आइसोलेशनमा ल्याइएको छ । पालुङटार नगरपालिकाका सात जनामा असार ५ गते कोरोना सङ्क्रमण पुष्टि भएपनि गोरखा क्याम्पसको आइसोलेशन निर्माणमा ढिलाइ हुँदा तीन दिनदेखि क्वारेण्टाइनमै थिए । गोरखा अस्पतालको आइसोलेशन कक्ष भरिएसँगै गोरखा क्याम्पसमा ७० बेड क्षमताको आइसोलेशन तयार गरिएको छ ।

प्रदेश ५

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रदेश ५ मा असार ७ गते १ सय ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गुल्मीको छत्रकोट गाउँपालिका-५ मैनडाँडाका ६९ वर्षीय पुरुषको होम क्वारेण्टाइनमा रहेको अवस्थामा असार ५ गते मृत्यु भएको छ । मृत्युपछि सोही दिन स्वाब परीक्षणका लागि भैरहवा पाठाइएकोमा कोरोना पोजेटिभ देखिएपछि असार ६ गते नेपाली सेनाको सहयोगमा शव व्यवस्थापन गरिएको छ ।

कर्णाली प्रदेश

दैलेख निर्वाचन क्षेत्र नं. १ को निर्वाचन क्षेत्र पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गतको रकमबाट असार ६ गते कोरोना जाँच्ने पीसीआर मेशिन ल्याइएको छ । 'माइक्रोपेट्टे प्लस डी-ल्याब' ब्राण्डको उक्त पीसीआर मेसिन १२ घण्टा चलाउँदा ३ सय ओटा किटको रिपोर्ट निकाल्न सकिने कर्णाली प्रदेश प्रयोगशालाका बायोमेडिकल इञ्जिनियर राकेशकुमार साहले जानकारी दिनु भयो । पीसीआर मेशिन स्टलेशन गर्न प्रिफेबबाट बनाइएको भवनमा विद्युत वाइरिङ र फर्निचर व्यवस्थापन गर्न बाँकी रहेकाले प्रयोगमा ल्याउन एक साता लाग्ने इञ्जिनियर साहले बताउनु भयो ।

सुदूरपश्चिम प्रदेश

डोटी प्रतिनिधि बासुदेव जोशीका अनुसार जिल्लाका नौ ओटै स्थानीय तहले निर्माण गरेका २ सय ४६ ओटा क्वारेण्टाइनहरूमध्ये अधिकांस विद्यालयमा रहेकाले सुत्केरी तथा बालबालिकालाई बस्न, खान र शौचालयको समस्या भएको आदर्श गाउँपालिका-२ का खडक बागले बताउनु भयो । आदर्श गाउँपालिकामा २९ जना सुत्केरी तथा गर्भवती र २ सय ७६ बालबालिका क्वारेण्टाइनमा रहेका भए पनि उहाँहरूलाई बस्न र खान समस्या हुनुको साथै विद्यालयमा क्वारेण्टाइन बनाइएकाले शौचालयको समेत अभाव रहेको बागले बताउनु भयो । विभिन्न कारणले गर्दा क्वारेण्टाइन व्यवस्थापन राम्रोसँग नभएकाले गर्भवती, सुत्केरी र बालबालिकालाई समस्या भएको हुन सक्ने स्वास्थ्य कार्यालय, डोटीका प्रमुख रमेश मलासीले बताउनु भयो । नौ ओटै स्थानीय तहले तयार गरेका क्वारेण्टाइनमा हालसम्म ६० जना गर्भवती र ५ सय १५ जना बालबालिका रहेको स्वास्थ्य कार्यालय, डोटीका प्रमुख मलासीको भनाइ छ ।


अनलाइन डेस्क