कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार ५ गते)

  ०७७ असार ५ गते

कोरोना भाइरसको सङ्क्रमणबाट असार ५ गतेसम्म ८ हजार २ सय ७४ जना सङ्क्रमित भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असार ५ गते जारी स्थिति प्रतिवेदनमा मन्त्रालयले ६ हजार ८ सय ५० जनाको उपचार भइरहेको, १ हजार ४ सय २ जना निको भएर डिस्चार्ज भएको र २२ जनाको मृत्यु भएको उल्लेख गरिएको छ । २४ घण्टामा ६ हजार २ सय ३१ जनाको कोरोना परीक्षण गरिएकामा ४ सय २६ जनामा कोरोना पुष्टि भएको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी २४ घण्टामा २ सय १६ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १

प्रदेश १ मा असार ५ गते थप दुई जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । दुई जना थप भएसँगै प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या ४ सय २४ पुगेको छ । प्रदेशमा असार ५ गते १० जना उपचारपछि निको भएर घर फर्किएका छन् । प्रदेशमा कूल २ सय ३४ जना डिस्चार्ज भएका छन् । प्रदेश सरकारले असार ५ गते विभिन्न मुलुकबाट नेपाल आएका १ सय ४ जनालाई सुनसरीको बराह क्षेत्र नगरपालिकास्थित चतरामा निर्माण गरेको होल्डिङ एरियामा राखेको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले होल्डिङ एरियामा बसेकाहरूको विवरण सम्बन्धित स्थानीय तहमा पठाइएको बताउनु भयो । स्थानीय तहले प्राप्त विवरणका आधार उनीहरूलाई क्वारेण्टाइनमा राख्ने र आरडीटी तथा पीसीआर परीक्षण गर्नेछन् ।

प्रदेश २

प्रदेश २ मा असार ५ गते नौ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाका अनुसार सप्तरीका चार र सर्लाहीका पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । प्रदेशमा सङ्क्रमितको सङ्ख्या २ हजार ७ सय ९० जना पुगेको छ । प्रदेशमा कोरोना सङ्क्रमित मध्ये ७ सय ४० जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

बागमती प्रदेश

यस प्रदेशमा असार ५ गते थप ३७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा हालसम्म २ सय ८१ जनामा सङ्क्रमण पुष्टि भएको हो । जसमध्ये ५० जना उपचारपछि निको भएर घर फर्केका छन् भने बाँकी २ सय ७७ जना आइशोलेसनमा रहेको र चार जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयको वेभसाइटमा उल्लेख गरिएको छ ।

काठमाडौँ प्रतिनिधि विमला पौडेलका अनुसार असार ५ गतेदेखि लागु हुने गरी सरकारले लकडाउनलाई व्यवस्थित बनाउन राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाएको छ । हाल केही खुकुलो रहेको लकडाउनलाई थप व्यवस्थित बनाउन भन्दै सरकारले 'लकडाउन व्यवस्थित गर्नेसम्बन्धी सुरक्षा मापदण्ड-२०७७' जारी गर्दै रातको समयमा पैदल र सवारी साधान चलाउन रोक लगाएको हो ।

मापदण्ड कडाइका साथ पालना गराउन सुरक्षा निकाय र ७७ ओटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिनुभयो । उहाँले सुरक्षा मापदण्डमा कोरोना सङ्क्रमणविरूद्ध स्वास्थ्य मन्त्रालयले जारी गरेको 'हेल्थ प्रोटोकल'को पूर्ण रूपमा पालना गराउन पनि भनिएको बताउनु भयो । यसका लागि सुरक्षा निकाय, सेवा प्रदायक, सेवाग्राहीको जिम्मेवारी, नागरिकको दायित्वसमेत उल्लेख गरेर मापदण्ड तय गरिएको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा असार ५ गते थप ३२ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३ सय ८० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार धौलागिरी अञ्चल अस्पताल बागलुङले लगातार एक हप्ता आइसोलेशनको सरसफाइमा खटिएका कर्मचारीलाई अनिवार्य रुपमा क्वारेण्टाइनमा बस्नुपर्ने नियम बनाएको छ ।

प्रदेश ५

बर्दिया प्रतिनिधि मानबहादुर चौधरीका अनुसार बारबर्दिया नपा- ३ का ३५ वर्षीय पुरूषमा असार ४ गते आरडिटी परीक्षण रिपोर्ट नेगेटिभ आएपछि क्वारेण्टाइनबाट घर पठाएको राती एक्कासि बिरामी परेपछि उपचारका लागि जिल्ला अस्पताल, गुलरिया लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । घर फर्किएकै दिन राती छाती दुखेर श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि जिल्ला अस्पताल गुलरिया लैजाँदै गर्दा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बर्दियाका जनस्वास्थ्य निरीक्षक कृष्णगोपाल चौधरीले इन्सेक प्रतिनिधिलाई बताउनु भयो । मृतकको स्वाब परीक्षणका लागि असार ५ गते भेरी अस्पताल नेपालगञ्जमा पठाइएको चौधरीले बताउनु भयो । शव जिल्ला अस्पतालमा राखिएको छ । स्वाब परीक्षण रिपोर्ट आएपछि मात्र शव व्यवस्थापन गरिने प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताउनु भयो । उनी दुई साताअघि काठमाडौँबाट नेपालगञ्ज हुँदै बारबर्दिया नपाको क्वारेण्टाइनमा १४ दिन बसेर आरडीटी परीक्षणको नतिजा नेगेटिभ आएपछि घर फर्किएका थिए ।

गुल्मी प्रतिनिधि टोपलाल अर्यालका अनुसार छत्रकोट गाउँपालिका-५ मैनडाँडाका ६९ वर्षीय पुरूषको असार ४ गते राती होम क्वारेण्टाइनमा मृत्यु भएको प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो । पन्थका अनुसार मृतक प्यारालाइसिसका बिरामी थिए । भारतबाट उपचार गराएर जेठ २५ गते आएका उनलाई होम क्वारेण्टाइनमा छुट्टै व्यावस्थापन गरिएको थियो । मृतकको आरडीटी परीक्षण पोजेटिभ आएको थियो । उनको स्वाब असार ४ गते सङ्कलन गरेर प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको संयोजक पौडेलले बताउनु भयो । आरडीटी पोजेटिभ आएकाले शवलाई नेपाली सेनाले व्यवस्थापन गरेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताउनु भयो ।

कर्णाली प्रदेश

कर्णाली प्रदेश अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका तीन जनामा कोरोना सङ्क्रमण देखिएपछि असार ४ गतेदेखि चार दिनका लागि आइसीयू कक्ष सिल गरिएको छ । जेठ ३१ र ३२ गते आकस्मिक कक्षमा भर्ना भएका सुर्खेत र दैलेखका दुई जना बिरामीमा असार ४ गते कोरोना सङ्क्रमण देखिएपछि उनीहरूको उपचारमा संलग्न ४२ जना स्वास्थ्यकर्मीसहितको टोलीलाई अस्पतालकै क्वारेण्टाइनमा राखिएको अस्पतालका सुपेरिटेण्डेण्ट डाक्टर डम्मर खडकाले बताउनुभयो ।


अनलाइन डेस्क