कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ ७ गते)
भदौ ७ गते ८ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ३१ हजार ९ सय ३५ पुगेको छ । गत २४ घण्टामा ८ हजार २६ जनाको स्वाब परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार भदौ ७ गतेसम्म कोरोना सङ्क्रमणका कारण १ सय ४९ जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये १८ हजार ६ सय ३१ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । भदौ ७ गते २ सय ८१ जना डिस्चार्ज भएका छन् भने निको दर ५८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । १३ हजार १ सय ५५ जनाको उपचार भइरहेको छ । भदौ ७ गतेसम्म ६ लाख ४ सय ४४ जनाको पीसीआर परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ ।
प्रदेश २
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत राजविराज नपा-५ का ४८ वर्षीय स्वास्थ्यकर्मी र गोइठी स्वास्थ्य चौकीमा कार्यरत तिरहुत गाउँपालिका-४ का २९ वर्षीय स्वास्थ्यकर्मीमा भदौ ७ गते कोरोना सङ्क्रमण देखिएपछि अस्पतालमा आंशिक र स्वास्थ्य चौकीमा पूर्ण प्रभाव परेको सम्बन्धित निकायले जनाएका छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रणजितकुमार झाले आइसोलेशनमा रहेका दुई जना सङ्क्रमित पुरुषको अवस्था गम्भीर भएको बताउनु भयो ।
सर्लाही प्रतिनिधि बुधन साहका अनुसार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जिल्ला सुरक्षा समिति, कोरोना सङ्कट व्यवस्थापन केन्द्र र जिल्ला विपद व्यवस्थापन समितिको भदौ ७ गतेको बैठकले भदौ ७ गते मध्य रातिदेखि भदौ १४ गते मध्यरातसम्मका लागि लागु हुने गरी निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनु भयो । जिल्लाभर लागु हुने गरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले एक सूचना प्रकाशन गरी जनाएको छ ।
बागमती प्रदेश
काठमाडौँमा १ सय २६, भक्तपुरमा २८, काभ्रेपलान्चोकमा २७, मकवानपुरमा १७, ललितपुरमा १२, दोलखामा ६, रामेछापमा दुई, रसुवा, धादिङ र सिन्धुलीमा एक/एक जना गरी यस प्रदेशमा भदौ ७ गते २ सय २१ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ ।
दोलखा प्रतिनिधि उद्धव पोखरेलका अनुसार जिल्ला सुरक्षा समिति दोलखाको भदौ ७ बसेको बैठकले भदौ १० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । यसअघि जारी भएको निषेधाज्ञा भदौ ७ गतेबाट समाप्त हुने भए पनि गौरीशङ्कर, कालिञ्चोक गाउँपालिका र भीमेश्वर नगरपालिका क्षेत्रमा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र अन्य स्थानीय तहमा फैलन नदिन निषेधाज्ञा जारी गरिएको जनाइएको छ ।
सिन्धुपाल्चोक प्रतिनिधि नातिबावु धितालका अनुसार छिमेकी जिल्लाहरूमा कोभिड-१९ को सङ्क्रमण बढ्दै गइरहेको र जिल्लामा पनि सङ्क्रमण फैलन सक्ने सम्भावना भएको भन्दै भदौ ७ गतेसम्म घोषणा गरिएको लकडाउनको अवधि भदौ १४ गतेसम्म बढाइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनु भयो । जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन समितिको भदौ ७ गते बसेको बैठकले एक सातासम्मका लागि जिल्लामा लकडाउन थप गर्ने निर्णय गरेको जिल्ला प्रहरी कार्यालयका एसपी प्रज्वल महर्जनले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी ढकालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम गतिविधिहरू गर्न निषेध गर्ने गरी निर्णय गरिएको र सो निर्णयलाई सबै सुरक्षा निकायहरूले प्रभावकारी कार्यान्वयन गर्न गराउन निर्देशन समेत दिएको बताउनु भयो ।
चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार कोरोना भाइरसको जोखिमका हिसाबले चितवन रेड जोनमा परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २ सय जना भन्दा बढी सक्रिय कोरोना सङ्क्रमित भएको जिल्लालाई रेड जोनमा राख्ने गरेको छ । भदौ ७ गतेसम्म चितवनमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या २ सय १७ जना रहेको छ । जिल्लामा हालसम्म ३ सय ४२ जनामा कोरोना पुष्टि भएकोमा १ सय २२ जना सङ्क्रमित निको भएर घर गइसकेका छन् भने तीन जनाको मृत्यु भएको छ । यसैबीच, होम क्वारेण्टाइनमा बसेकाहरूले स्वाब दिइएको एक हप्ता हुँदा पनि रिपोर्ट पाउन नसकेको गुनासो गरेका छन् । भरतपुर महानगरपालिका-९ का दिलिप केसीले होम क्वारेण्टाइनमा बसेको १५ दिन भएको र भदौ १ गते स्वाव परीक्षणका लागि दिएको भए पनि अझै रिपोर्ट नपाएको बताउनु भयो । स्वाब धेरै सङ्कलन भएकाले रिपोर्ट आउन ढिला हुने गरेको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताउनुभयो । अस्पतालमै सङ्कलन गरिएका स्वाबलाई प्राथमिकता दिँदा बाहिरबाट सङ्कलति स्वाब परीक्षणमा ढिला हुने गरेको अस्पतालले जनाउँदै आएको छ । हेटौँडाबाट आएकी एक महिलाको भदौ १ गते कोरोना परीक्षणका लागि स्वाब सङ्कलन भयो । भरतपुर अस्तपालको आइसीयू कक्षमा उनलाई भर्ना गरिएको थियो । तीन दिन बित्दा पनि रिपोर्ट आएन । 'रिपोर्ट किन आएन भनेर सोधपुछ गर्दा पत्ता लाग्यो स्वाब कतै मिसिङ भएछ । फेरि पनि परीक्षणका लागि भन्दै भदौ ४ गते पुनः स्वाब दिइयो ।'-बिरामीका आफन्तले भने । आइसीयू कक्षमा रहेकी ती बिरामीमा दोस्रो परीक्षणको रिपोर्ट ६ गते आउँदा कोरोना पुष्टि भएपछि उपचारमा संलग्न स्वास्थ्यकर्मी आक्रोशित बनेका छन् भने यसले स्वास्थ्यकर्मीमा सङ्क्रमण हुने जोखिम पनि बढाएको छ ।
गण्डकी प्रदेश
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार गण्डकी प्रदेशको मुख्य प्रवेशद्वार तनहुँको आँबुखैरेनी गाउँपालिकामा पुनः एक हप्ता लकडाउन थप गरिएको छ । भदौ ७ गते बसेको गाउँ कार्यपालिकाको बैठकले भदौ १४ गतेसम्मका लागि लकडाउन लम्ब्याएको हो । गाउँपालिकाले यस अगाडि भदौ १ गतेदेखि ७ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको थियो । समुदायस्तरमा कोरोना फैलन सक्ने जोखिम कायमै रहेकाले एक हप्ता लकडाउन लम्ब्याउने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिनुभयो ।
कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा पाँच दिन थप गरेको छ । प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालका अनुसार भदौ ७ गते बसेको जिल्ला सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले भदौ १२ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो । उहाँका अनुसार अत्यावश्यक सेवा प्रवाह गर्ने सरकारी कार्यालय र बैङ्क सीमित कर्मचारी उपस्थित गराएर खोल्न पाइने छ । कास्कीमा कोरोना सङ्क्रमण स्थानीय स्तरमा फैलिँदै गएपछि भदौ २ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ । बिहान ५ बजेदेखि ८ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म भने खाद्यान्न तथा तरकारी पसलहरू खोल्न दिइने उहाँले बताउनुभयो ।
गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार गोरखामा निषेधाज्ञाको अवधि एक साता थप गरिएको छ । भदौ ७ गते बसेको कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जारी निषेधाज्ञालाई भदौ १४ गते सम्म जारी राख्ने निर्णय गरेको हो । छिमेकी जिल्लामा कोरोना सङक्रमितको सङ्ख्या बढिरहेकाले गोरखालाई सुरक्षित राख्न थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताउनुभयो । निषेधाज्ञाको अवधिमा कोरोना परीक्षणको दरलाई वृद्धि गर्ने पनि बैठकले निर्णय गरेको छ । व्यापारी, बैङ्क तथा वित्तिय संस्थाका कर्मचारी, एम्बुलेन्स चालक, यातायात मजदुरको कोरोना परीक्षणको व्यवस्था मिलाउन स्थानीय तहलाई भनिएको छ । निषेधाज्ञाको अवधिमा अत्यावश्यक बाहेका सवारी, खाद्यान्न, पेट्रोलियम र औषधि बाहेकका पसल व्यवसाय पनि बन्द हुनेछन् । कोभिड-१९ को सङ्क्रमण रोकथामका लागि भएका कामको अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन टोली पनि गठन गरिएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
गाउँपालिकाले समयमै सामाजिक सुरक्षा भत्ता नदिएको ज्येष्ठ नागरिकको गुनासो
सिमकोट गाउँपालिकाबाट समयमै सामाजिक सुरक्षा भत्ता नपाएको ज्येष्ठ नागरिकहरूले गुनासो गरेका छन् । ०७८ साउनदेखि सिमकोट गाउँपालिकाले समयमै ज्येष्ठ नागरिकहरूको सामाजिक सुरक्षा भत्ता आफुहरूलाई वितरण नगरेको सिमकोट गाउँपालिका–३ का ७८…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १८ गते)
असार १८ गते ३३ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
पत्नी कुटपिट घटनाका आरोपित गिरफ्तार
भानु नगरपालिका–१ नयाँबस्तीकी ३२ वर्षीया चिजा गुरुङलाई कुटपिट गरेको आरोपमा प्रहरीले २५ वर्षीय विक्रम गन्धर्वलाई असार १८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असार १७ गते साँझ कुटपिट…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले केपिलासगढी गाउँपालिका—४ वाक्सीलाका ६१ वर्षीय लाल थापा मागरलाई असार १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १३ गते यौन…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)
असार १७ गते ३५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…