कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ ६ गते)
भदौ ६ गते ६ सय ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ३१ हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भदौ ६ गतेसम्म सङ्क्रमितको सङ्ख्या ३१ हजार १ सय १७ पुगेको हो । गत २४ घण्टामा १२ हजार ५ सय १९ जनाको स्वाब परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार भदौ ६ गतेसम्म कोरोना सङ्क्रमणका कारण १ सय ४६ जनाको मृत्यु भएको छ । भदौ ६ गते मात्रै कोरोना सङ्क्रमणका कारण नौ जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये १८ हजार ३ सय ५० जना अस्पतालबाट डिस्चार्ज भएका छन् । भदौ ६ गते १ सय ३६ जना डिस्चार्ज भएका छन् भने निको दर ५८.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । १२ हजार ६ सय २१ जनाको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये १९ प्रतिशत महिला र ८१ प्रतिशत पुरुष रहेका छन् ।
प्रदेश २
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार कोरोना सङ्क्रमणबाट राजविराज नपा–७ का ७७ वर्षीय पुरुषको भदौ ५ गते ग्राण्डी अस्पताल, काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । ‘प्रोस्टेट’ को रोगले पीडित भएका उनलाई निरन्तर ज्वरो आई निमोनियाको समस्या देखिएपछि साउन ३० गते उपचारका लागि राजविराजबाट काठमाडौँ ग्राण्डी अस्पतालमा लगिएको थियो । मन्त्रालयले कोरोनाको सङ्क्रमणबाट मृत्यु भएको पुष्टि गरेपछि सोधखोज गर्दा मात्र भदौ ६ गते स्वास्थ्य कार्यालय सप्तरीले जानकारी पाएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताउनु भयो । योसमेत सप्तरीमा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।
धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार नगराइन नपा–५ स्थित गङ्गुली आइसोलेशनमा सफाई कर्मचारीले सङ्क्रमितहरूलाई थर्मलगन लिएर ज्वरो चेक जाँच गर्ने गरेको भदौ ६ गते बिहान रहस्य खुलेपछि सामाजिक विकास मन्त्री नवलकिशोर साहले आइसोलेशन धनुषा प्रमुख डाक्टर जामुनप्रसाद सिंहलाई २४ घण्टे स्पष्टिकरण माग गरेको बताउनु भयो । घटनाबारे यथार्थ बुझेर दोषीलाई कारवाही गर्न आइसोलेशन प्रमुख सिंहलाई निर्देशन दिएको मन्त्री साहले इन्सेक धनुषा प्रतिनिधिलाई बताउनु भयो । विगत १२ दिनदेखि मिथिला बिहारी नगरपालिका एक ज्येष्ठ नागरिकलाई श्वासप्रश्वासमा समस्या भएपछि डाक्टरले सफाई कर्मचारीलाई पीपीइ सेट लगाएर ज्वरो चेकजाँच गर्न पठाएको ती कर्मचारीले बताए । कोरोना सङ्क्रमित जनकपुरका एक पत्रकारले सफाई कर्मचारीले चेकजाँच गर्दै गरेको भिडियो खिच्दै सामान्य व्यक्तिको शरीरको तापक्रम कति हुन्छ भनी सोध्दा आफूलाई थाहा नभएको र ‘स्विपर’ भएको बताएपछि रहस्य खुलेको थियो । आइसोलेशनमा बस्दै आएका ३८ जना सङ्क्रमितलाई अहिलेसम्म डाक्टरले स्वास्थ्य अवस्थाबारे सोधपुछसमेत नगरेको ति पत्रकारले बताए ।
गङ्गुलीस्थित आइसोलेशन संयोजक सञ्जय ठाकुरले आफू अहिले सपहिको आइसोलेशनमा खटिएको बताउनु भयो । हाल डाक्टर दिपु यादवले गङ्गुली आइसोलेशन संयोजक भएको बताइए पनि डाक्टर यादवले फोन नउठाउने गरेको आरोप छ । सामाजिक विकास मन्त्रालयका प्रशाशक विजय झाका अनुसार गङ्गुली आइसोलेशन सेन्टरमा अहिले ३७ जना सङ्क्रमित रहेका छन् । आइसोलेशनमा तीन जना चिकित्सकसहित तीन जना पारामेडिस, तीन जना स्वीपर र एक जना कार्यालय सहयोगी गरी १० जना कर्मचारी खटाइको छ ।
सर्लाही प्रतिनिधि बुधन साहका अनुसार कोरोना भाइरस सङ्क्रमणबाट लालबन्दी नपा–१२ घर भइ लालबन्दी नपा–७ बजारमा मम होटल व्यवसाय गर्दै आएकी ३९ वर्षीया महिलाको भदौ ६ गते बिहान उपचारको क्रममा मृत्यु भएको लालबन्दी स्वास्थ्य शाखाका सह–संयोजक सुरेन्द्र खतिवडाले बताउनु भयो । ज्वरो र रुघाखोकी आएपछि साउन ३१ गते काठमाडौँको ओम हस्पिटलमा भर्ना भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको लालबन्दी नपा–७ का वडा अध्यक्ष दुर्गाबहादुर आलेले बताउनु भयो । सर्लाहीमा कोरोना भाइरस सङ्क्रमणबाट दुई जना महिला र दुई जना पुरुष गरी चार जनाको मृत्यु भएको सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनु भयो ।
रौतहट प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार कोरोनो सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको र सङ्क्रमणको जोखिमको सम्भावना समेत उच्च रहेकोले भदौ ६ गते बसेको जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णय अनुसार ०७७ भदौ १ गतेबाट थप गरिएको निषेधाज्ञालाई भदौ १४ गते आइतबार मध्यराति सम्मलाई निरन्तरता दिइएको छ । थप गरिएको निषेधाज्ञाको अवधिमा प्रत्येक दिन बिहान ७ बजेदेखि बिहान ११ बजेसम्म अतिआवश्यक उपभोग्य खाद्यान्न पसलहरू र निर्माण सामग्रीका पसलहरू खोल्न दिइने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो । स्वास्थ्य सम्बन्धी मापदण्डको उल्लङ्घन गर्ने/गराउने वा कार्यान्वयनमा अबरोध गर्ने/गराउने उपर सङ्क्रामक रोग ऐन, २०२० तथा स्थानिय प्रशासन ऐन, २०२८ बमोजिम कडा कारवाही गरिने प्रमुख जिल्ला अधिकारी यादवले बताउनु भयो ।
बागमती प्रदेश
काठमाडौँमा १ सय ६०, भक्तपुरमा ५०, मकवानपुरमा ३२, चितवनमा २७, ललितपुरमा ६, दोलखामा चार, काभ्रेपलान्चोकमा तीन, नुवाकोट र धादिङ दुई/दुई र सिन्धुलीमा एक/एक जना गरी यस प्रदेशमा भदौ ६ गते २ सय ८७ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । यससँगै प्रदेशमा सङ्क्रमित हुनेको सङ्ख्या ४ हजार ३ सय २१ जना पुगेको छ । जसमध्ये ७ सय ३४ जना उपचारपछि घर फर्किएका छन् भने ३ हजार ५ सय ४७ जनाको उपचार विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा भइरहेको छ । भक्तपुरीकी ७३ वर्षीया महिला र मकवानपुरका ४६ वर्षीय पुरुष गरी थप दुई जनाको उपचारको क्रममा मृत्यु भएसँगै यस प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या ३१ जना पुगेको छ ।
यसैबीच, काठमाडौँ महानगरपालिका-३१, बानेश्वरस्थित मिलनचोकका स्वास्थ्यकर्मी बसेको लर्ड बुद्ध गर्ल्स एण्ड ब्वाइज होस्टलका सञ्चालकलाई स्थानीयले भदौ ६ गते बिहान गालीगलौज गर्दै स्वास्थ्यकर्मी नराख्न भन्दै धम्की दिएका छन् । बलभद्र मार्गका टोल विकास समितिका अध्यक्ष सुदर्शन गौतम र सचिव दिनेश खड्काको नेतृत्वमा आएका ५०/६० जनाको समूहले कोरोना भाइरसको महामारीको समयमा अनुमति बिना स्वास्थ्यकर्मीलाई होस्टलमा राखेको भन्दै दुर्व्यवहार गरेको होस्टल सञ्चालक रोहित रानाले बताउनु भयो । सुरक्षित बासस्थानको लागि भनेर यही भदौ ४ गतेबाट सिभिल अस्पतालसँग भएको सम्झौता अनुसार स्वास्थ्यकर्मी राखेको रानाले बताउनु भयो । बानेश्वर वृतबाट प्रहरीको टोली आएपछि पनि गाली गर्दै सो समूह हिँडेको थियो । होस्टल सञ्चालनको सबै प्रकृया पुर्याई काम गर्दै आएको र आफै स्वास्थ्यकर्मी रहेका राणाले सो घटनाका कारण तनाबमा रहेको इन्सेक बगमती प्रदेशका प्रतिनिधिलाई बताउनु भयो । वडा अध्यक्ष नारायणप्रसाद भण्डारीले भने सो होस्टलमा स्वास्थ्यकर्मी बस्ने बारे जानकारी नरहेको र बिहानको घटना पनि पछि मात्र थाहा भएको बताउनु भयो । बस्तीको बीचमा रहेको होस्टलमा राति स्वास्थ्यकर्मी एम्बुलेन्समा साइरन बजाउँदै आउँदा कोरोना भाइरस सङ्क्रमितलाई राखेको आशङ्कामा स्थानीयवासीले विरोध जनाएको पाइए पनि थप जानकारी र समन्वय नभएको वडा अध्यक्ष भण्डारीले बताउनु भयो ।
दोलखा प्रतिनिधि उद्धव पोखरेलका अनुसार जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै भदौ ६ गतेसम्म घोषणा गरिएको लकडाउनको अवधि भदौ १० गतेसम्म बढाइएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताउनु भयो । यसैबीच, जिल्लामा हालसम्म १५ जना कोरोना सङ्क्रमित भेटिएकोमा १३ जना गौरीशङ्कर गाउँपालिकाको रहेका छन् । गौरीशङ्कर गाउँपालिकाबाट भदौ २ गते १ सय ४१ जनाको स्वाब परीक्षणका लागि धुलिखेल अस्पताल पठाइएकोमा दुई जना महिलासहित चार जनाको रिपोर्ट पोजिटिभ आएसँगै सो सङ्ख्या देखिएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख बिभुकुमार झाले बताउनु भयो । पहिले नौ जना र हाल चारजनाको पोजिटिभ रिपोर्ट आएसँगै गोरीशंकर गाउँपालिकामा सङ्क्रमितको सङ्ख्या १३ पुगेको हो । पोजिटिभ रिपोर्ट आएका सङ्क्रमित सबै जना गौरीशंकर गाउँपालिका-५ का रहेका छन् ।
सुदूरपश्चिम प्रदेश
अछाम प्रतिनिधि शिवराज ढुङ्गानाका अनुसार बयलपाटा अस्पतालमा कार्यरत नौ जना स्वास्थ्यकर्मी र १० जना कर्मचारी गरी १९ जनामा कोरोना पुष्टि भएपछि भदौ ५ गते साँझदेखि बयलपाट अस्पताललाई प्रहरीले सील गरेको छ । एकै पटक ठूलो सङ्ख्यामा अस्पतालकै कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि अन्यलाई नफैलियोस् भन्नका लागि आकस्मिक प्रसूति सल्यक्रिया र गम्भीर चोटपटकको शल्यक्रियाबाहेक अन्य सेवा बन्द गरिएको बयलपाट अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर विकास गौचनले बताउनु भयो । कोरोना पुष्टि भएका स्वास्थ्यकर्मी र कर्मचारीलाई सोही अस्पतालमा राखेर उपचार सुरू गरिएको पनि डाक्टर गौचनले बताउनु भयो । हालसम्म जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ७ सय ८५ पुगेकोमा ७ सय ५ जना कोरोना जितेर घर फर्किसकेका छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित सासु गिरफ्तार
गौरीगंगा नगरपालिका–१ की २८ वर्षीया कबिता बुढाको हत्या गरेको आरोपमा प्रहरीले ५० वर्षीया सासु लक्ष्मी बुढालाई जेठ २३ गते गिरफ्तार गरेको छ । जेठ २२ गते गौरीगंगा नगरपालिका—१ स्थित केदारेश्वर…
न्याय माग्दै २० वर्ष बित्यो, आरोपितको समेत पहिचान भएन
सशस्त्र द्वन्द्वको क्रममा माओवादी कार्यकर्ताबाट मारिएका कृष्णप्रसाद अधिकारीको परिवारले २० वर्षदेखि अनसनसमेत विभिन्न अभियान र आन्दोलनमार्फत खोजेको न्याय अझै पाउन सकेको छैन । कृष्णका बुबा नन्दप्रसादको ३३४ दिन अनसन बसेर…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ र १४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना बालकसहित पाँच जनालाई जेठ २२ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा गढवा गाउँपालिका–६ का १८…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संशोधन दर्ता
प्रतिनिधिसभामा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी तेस्रो संशोधन) विधेयक, २०७९ मा २८ ओटा संशोधन प्रस्ताव दर्ता भएको छ । टीआरसी विधेयक कानुन, न्याय…
सर्वोच्च अदालतद्वारा रेशम चौधरीको आममाफीविरूद्धको मुद्दामा कारण देखाउ आदेश जारी
सर्वोच्च अदालतले टिकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरूद्ध परेको रिटमा सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ । टिकापुरमा भएको थरुहट आन्दोलनका क्रममा…