कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ ४ गते)
भदौ ४ गते ७ सय ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमितको सङ्ख्या २९ हजार ६ सय ४५ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ८ सय ३२ जनाको स्वाब परीक्षण गरिएकोमा ७ सय ७ जनामा कोरोना सङ्क्रमण देखिएको हो । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार भदौ ४ गतेसम्म कोरोना सङ्क्रमणका कारण १ सय २६ जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये १७ हजार ९ सय ६४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । भदौ ४ गते २ सय ६४ जना डिस्चार्ज भएका छन् भने निको दर ६०.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । ११ हजार ५ सय ५५ जनाको उपचार भइरहेको छ ।
प्रदेश १
मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड- १९ उपचार केन्द्रमा आइसीयू र भेण्टिलेटर सेवाको सुरुवात भदौ ४ गतेबाट भएको छ । कोरोना भाइरसका लक्षण सहितका सङ्क्रमितको उपचारका लागि आइसीयू र भेण्टिलेटर सेवा सुरुवात भएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनु भयो । मन्त्रालयमा भदौ ४ गते आयोजित पत्रकार सम्मेलनमा कोरोना भाइरसको लक्षण देखिएकालाई अस्पताल र सामान्य प्रकृतिका सङ्क्रमितलाई स्थानीय तहमै उपचारको प्रबन्ध गरिएको मन्त्री घिमिरेले बताउनु भयो । कोशी कोभिड-१९ उपचार केन्द्रमा १० ओटा आइसीयू बेड, दुई ओटा फिक्स र तीन ओटा पोर्टेवल सहित पाँच ओटा भेण्टिलेटर तयारी अवस्थामा रहेको सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले बताउनु भयो । आइसीयूमा भदौ ४ गतेसम्म तीन जना व्यक्तिहरू उपचाररत छन् । ०७६ चैत २१ गतेदेखि सञ्चालनमा ल्याइएको कोरोना उपचार केन्द्रमा ०७७ वैशाख ५ गतेदेखि कोरोना सङ्क्रमितलाई भर्ना सुरु गरिएको थियो ।
सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) धरानका स्वास्थ्यकर्मीहरू कोरोना सङ्क्रमणको दोहोरो जोखिममा रहेको भन्दै भदौ ४ गते आन्दोलनमा उत्रिएका छन् । प्रतिष्ठान भित्र मात्रै भदौ ४ गतेसम्म २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमण पुष्टि हुनेहरूमा डाक्टर, डाक्टरका परिवार, नर्स, हेल्पर, विद्यार्थी रहेका छन् । प्रतिष्ठान भित्र यसरी कोरोना सङ्क्रमितको सङ्ख्या बढ्नुको कारण पहिलो प्रतिष्ठान भित्रका डाक्टरहरू धरान बाहिर जानु र धरान बाहिरबाट विद्यार्थीहरू प्रतिष्ठानमा पढ्न आउनु हो । प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीबाट प्रतिष्ठानका स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको भन्दै गाइनो विभागमा कार्यरत नर्सहरू भदौ ४ गते आन्दोलनमा उत्रिएको प्रतिष्ठानका डा. निदेश सापकोटाले बताउनु भयो ।
प्रदेश २
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार भदौ २ गते मृत्यु भएका राजविराज नगरपालिका-४ का २८ वर्षीय पुरुषमा भदौ ४ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै सप्तरीमा मृत्यु हुनेको सङ्ख्या चार पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । निमोनिया लगायत श्वास प्रश्वासमा समस्या भएपछि घरमा बसिरहेका उनलाई राजविराजस्थित छिन्नमस्ता अस्पताल भर्ना गरिएकोमा लगत्तै थप उपचारका लागि भदौ २ गते वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याउने बित्तिकै सोही साँझ मृत्यु भएको थियो । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालले भदौ २ गते राति मृतकको स्वाब सङ्कलन गरेपछि परिवारका सदस्यहरूले राजविराजमा अन्तिम संस्कार गरेका थिए । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भदौ ४ गते गरिएको स्वाव परीक्षणमा राजविराज कार्यक्षेत्र भएका पत्रकार र बिष्णुपुर गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी सङ्क्रमित भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
बारा प्रतिनिधि भोलानाथ पौडेलका अनुसार कलैया उपमहानगरपालिका-१० मटिअर्वाका ५९ वर्षीय एक पुरुषको साउन ४ गते नारायणी अस्पताल बीरगञ्जमा कोरोना सङ्क्रमणका कारण मृत्यु भएको डा. उदयनारायण सिंहले बताउनु भयो । साउन ३ गते राति श्वास प्रश्वासको समस्या आएकाले नारायणीमा उपचार गर्न ल्याइएकोमा उनको मृत्यु भएको डा. सिंहले बताउनु भयो । मृत्युपछि पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएकाले शव व्यवस्थापन गर्न नेपाली सेनासँग सल्लाह भइरहेको र मृतकको घरपरिवार साथै सम्पर्कमा आएका व्यक्तिहरूको ट्रेसिङ्ग कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गौतम मिश्रले बताउनु भयो ।
धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार नगराइन नपा–३ फुलगा बस्ने ४५ वर्षीय श्याम साहको उपचार अभावमा भदौ ४ गते मृत्यु भएको पीडित परिवारले आरोप लगाएको छ । निजी विद्यालयका सञ्चालक साहलाई श्वासप्रश्वासमा समस्या देखिएपछि प्रादेशिक अस्पताल जनकपुरको इमरजेन्सीबाट आइसीयूमा भर्ना गरिनुपर्ने भन्दै रेफर गरिएको थियो । तर, प्रादेशिक अस्पतालमा आइसीयू सेवा बन्द रहेकाले समयमै उपचार नपाएर साहको मृत्यु भएको मृतकका भाञ्जा विजय साहले आरोप लगाउनु भयो ।
यसैगरी सबैला नपा–२ बस्ने २५ वर्षीय प्रमोदकुमार महतोको भदौ ३ गते उपचार अभावमा जनकपुरमा मृत्यु भएको पीडित परिवारले आरोप लगाएको छ । मृगौलाका रोगबाट पीडित प्रमोदलाई प्रादेशिक अस्पतालमा उपचार गर्न चिकित्सक, मन्त्री, सांसदलगायत सबैलाई आग्रह गर्दा पनि समयमा भर्ना नगरेपछि उपचार नपाएर मृत्यु भएको मृतकका बुवा जोगेन्द्र महतोले गुनासो गर्नु भयो ।
प्रादेशिक अस्पताल जनकपुरका डाक्टर जामुनप्रसाद सिंहले श्वासप्रश्वासमा समस्या भएर आएका प्रमोद महतोलाई इमरजेन्सीबाट अन कल गरी दुई जना चिकित्सक बोलाइएको बताउनु भयो । मृगौलाका रोगी भनिएका उहाँको पुरानो कागजात नभएकाले उपचार गर्न समस्या भएको भन्दा बिरामीलाई प्रादेशिक अस्पताल जनकपुरबाट आफूखुशी लगेपछि मृत्यु भएको बताउनु भयो ।
बागमती प्रदेश
यस प्रदेशमा भदौ ४ गते काठमाडौँमा १ सय ७४, ललितपुरमा १८, भक्तपुरमा आठ, दोलखा र धादिङ दुई/दुई, नुवाकोट, चितवन, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुली एक/एक जना गरी २ सय ९ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । यससँगै प्रदेशमा सङ्क्रमित हुनेको सङ्ख्या ३ हजार ५ सय ७४ जना पुगेको छ । जसमध्ये ७ सय २४ जना उपचारपछि घर फर्किएका छन् भने ३ हजार ३५ जनाको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको छ । हालसम्म यस प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या २५ जना पुगेको छ ।
धादिङ प्रतिनिधि सीताराम अधिकारीका अनुसार गजुरी गाउँपालिकाले खाद्यान्न पसल, तरकारी, फलफूल पसल, डेरी पसल हरेक दिन बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन गर्ने गरी भदौ ४ गतेको निर्णयले भदौ ९ गतेसम्म सबै व्यापार/व्यवसाय र उद्योग तथा शैक्षिक संस्थाहरू बन्द गर्ने सूचना गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले बताउनु भयो । कोभिड १९ सङ्क्रमण फैलिएपछि काठमाडौँमा निषेधाज्ञा लागु भएकोले धादिङबाट काठमाडौँ प्रवेश गर्न खोजेका सबै सवारी साधनहरू सडकमा रोकिएका छन् ।
चितवन प्रतिनिधि दिपेन्द्र अधिकारका अनुसार चितवनमा कोरोना सङ्क्रमित एक पुरुषको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत रत्ननगर नगरपालिका-१३ का ६५ वर्षीय पुरुषको ४ गते दिउँसो मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार विगत ६ दिनदेखि कोभिड-१९ आइसीयूमा उपचार पुरुषमा बेड सोर्स, फोक्सोको टिबी, सेप्सीस, एकेआई लगायतका समस्या पनि थियो । उनी करिब २ हप्ता अघि तनहुँ जिल्लास्थित छोरीको घरबाट आएको जानकारी समेत पौडेलले दिनु भयो । यो सहित चितवनमा कोरोना सङ्क्रमित भएर मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । तीन जना चितवनकै हुन् । एकजना कैलाली घर भएर उपचारका लागि भरतपुर आएका व्यक्तिको पनि सङ्क्रमणका कारण मृत्यु भएको थियो । चितवनमा अहिलेसमम्म २ सय ८१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये हालसम्म १ सय १३ जना निको भएर घर फर्किसकेका छन् ।
गण्डकी प्रदेश
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार पीसीआर रिपोर्ट नेगेटिभ आउदा पनि तनहुँको भानु नगरपालिका-११ मा नगरपालिकाका एक प्राविधिक र स्वास्थ्यकर्मी सामाजिक बहिष्कारमा परेका छन् । स्वाब सङ्कलनमा एकसाथै काम गर्ने एक इन्जिनियरलाई कोरोना पोजेटिभ देखिएपछि वडाध्यक्ष र टोल विकास संस्थाका अध्यक्ष सहितका गाउँलेले ती प्राविधिक र उनलाई घरमा आश्रय दिने उनकी दिदीलाई सामाजिक बहिष्कार गरेको पीडितहरूले बताएका छन् । साउन २८ गते गरिएको पीसीआर रिपोर्ट नेगेटिभ आएपनि पीडित केही दिन क्वारेण्टाइनमा बस्ने गरी घर आएका थिए । तर आफ्नो घर साँघुरो भएको कारण नजिकै धन्सारमा रहेको दिदीको घरमा बस्न गएका थिए । तर गाउँलेहरूले कोरोना सङ्क्रमितसँग बसेर आएको भन्दै उनलाई घरमा नराख्न उनकी दिदीलाई दबाब दिएका थिए । उनीहरू दुवैलाई टोल विकास संस्थाले नै निर्णय गरेर घर भित्रै नजरबन्दमा राखेको थियो । पीडितले आफू स्वास्थ्य संस्थामा कार्यरत रहेको र स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेको बताउदा पनि टोल विकास संस्थाका पदाधिकारीले घरबाट बाहिर निस्कन नदिएको, पशु चौपायलाई घाँस पानी हाल्न जान पनि नदिएको गुनासो गर्नुभयो । आफूहरूलाई अमानवीय व्यवहार भएको हुँदा दोषीहरूलाई प्रचलित कानुन अनुसार कारबाही गर्न माग गर्दै दुवै जनाले भदौ ४ गते इमेल मार्फत जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । जिल्ला प्रशासन कार्यालयले यसबारेमा बुझ्न र वास्तविक कुरा बुझेर दोषीलाई नियन्त्रणमा लिएर आउन समेत इलाका प्रहरी कार्यालय डुम्रेका इन्चार्ज प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठको नेतृत्वमा प्रहरी टोलीलाई निर्देशन सहित प्रशासनले घटनास्थलमा पठाएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनु भयो ।
प्रहरी टोली गाउँमा पुगेपछि गाउँलेहरूले आफूहरूबाट गल्ती भएको भन्दै अब आइन्दा यस्तो कमजोरी नगर्ने बताएका थिए । टोल विकास संस्थाका पदाधिकारीहरूले आफूहरूले अब कसैलाई पनि कोरोनाको नाममा बहिष्कार नगर्ने र समाजमा मिलेर बस्ने प्रतिबद्धता जनाएका थिए ।
कर्णाली प्रदेश
दैलेख प्रतिनिधि अमर सुनारका अनुसार जिल्लामा समुदायमा कोरोना सङ्क्रमण रोकथामका लागि पटक पटक जारी गरिएका सुरक्षा सावधानी सूचनालाई बेवास्ता भइरहेको विश्लेषण गरी जिल्ला प्रशासन कार्यालय दैलेखले भदौ ४ गते दिउँसो २ बजेदेखि भदौ ७ गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताउनु भयो ।
कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि प्रशासनले जारी गरेको सूचनाहरूको बेवास्ता बढेको कारण तीजमा भीडभाड, भेला, धार्मिक कार्यक्रम रोकथाम गर्न निषेधाज्ञा लागु गर्नु स्वभाविक भएको नागरिक समाजका संयोजक खड्गबहादुर सिजापती बताउनु भयो ।
सुदूरपश्चिम प्रदेश
कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार जिल्ला प्रशासन कार्यालय, कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा भदौ ३ गते बसेको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले भदौ ४ गते राति १२ बजेदेखि भदौ १४ गते राति १२ बजेसम्म जिल्ला भरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । कैलाली जिल्लामा कोरोना सङ्क्रमितहरूको सङ्ख्यामा दिनानुदिन बढ्दै गएको र सङ्क्रमितमध्ये १५ जनामा आन्तरिक ट्राभल हिस्ट्री भएका समेत पुष्टि भएकोले समुदायस्तरमा थप सङ्क्रमण फैलिन नदिनका लागि निषेधाज्ञाको निर्णय गरेको जिल्ला प्रशासन कार्यालय, कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताउनु भयो । निषेधाज्ञामा अतिआवश्यक औषधी, खाद्यान्न, तरकारी, फलफुल, दुध, मासुको हकमा सुरक्षाका मापदण्ड पालना गरी बिहान ५ बजेदेखि ९ बजेसम्म चार घण्टा खोल्न सकिने र अतिआवश्यक काम बाहेक घरबाहिर ननिस्कन र बाहिर निस्कनै परे अनिवार्य मास्क लगाउन आग्रह गरेको छ ।
डडेल्धुरा प्रतिनिधि भुपेन्द्र विष्टका अनुसार जिल्ला स्तरीय कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको भदौ ३ गते बसेको बैठकले भदौ ४ गतेदेखि लागु हुने भदौ १२ गतेसम्म आंशिक लकडाउन गर्ने निर्णय गरेको छ । जिल्लामा सञ्चालित अतिआश्यक सेवा तथा वस्तुहरू विक्री वितरण गर्ने पसलहरू बाहेक सम्पूर्ण पसलहरू भदौ १२ गतेसम्मका लागि बिहान ५ बजेदेखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाउने र भिडभाडलाई कम गर्नका लागि जिल्लामा सञ्चालित मोटरसाइकलहरूमा समेत जोर विजोर प्रणाली लागु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताउनु भयो । यसका साथै गौरा पर्व र हरितालिका तिज भिडभाड गरेर मनाउदा कोरोना सङ्क्रणमको जोखिम बढ्ने सम्भावना रहेकोले सामूहिक रुपमा मनाउन नपाउने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
सुस्त मनस्थितिकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–५ कोइलाडी बर्साइनका ४६ वर्षीय बंकर भनिने मौधकर खंगविरुद्ध प्रहरीले चैत १७ गते उजुरी दर्ता गरेको छ । पीडितका बुबाले…
बलात्कार घटनाको कसुरमा सात वर्ष कैद
१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी ब्यारेजका २३ वर्षीय अनीष कुमार मण्डललाई चैत १५ गते ७ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको…
नेपाल मानव अधिकार वर्ष पुस्तक परिमार्जनसहित इतिहासको निरन्तरता विषयक कार्यशाला सम्पन्न
इन्सेकले सन् १९९२ देखि हरेक वर्ष प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकको आगामी वर्षदेखि केही परिमार्जित ढाँचामा ल्याउने उद्देश्यले काभ्रेको धुलिखेलमा आयोजित दुई दिने कार्यशाला सम्पन्न भएको छ…
बलात्कार गरेको कसुरमा कैद सजायको फैसला
नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले आठराई त्रिवेणी गाउँपालिका– १ का १०, ११ र १२ वर्षीय बालकलाई चैत १६ गते कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री बनाउन माग गर्दै धर्ना
द्वन्द्वपीडित समाजले चैत १७ गते पोखरामा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री बनाउन माग गर्दै धर्ना विरोध प्रदर्शन गरेका छन् । संक्रमणकालीन न्याय सम्बन्धि वेपत्ता पारिएका व्यक्तिहरूको छानविन, सत्य निरूपण तथा मेलमिलाप…