कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ ३ गते)
भदौ ३ गते ६ सय ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमितको सङ्ख्या २८ हजार ९ सय ३८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ५ सय २२ जनाको स्वाब परीक्षण गरिएकोमा ६ सय ८१ जनामा कोरोना सङ्क्रमण देखिएको हो । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार भदौ ३ गतेसम्म कोरोना सङ्क्रमणका कारण १ सय २० जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये १७ हजार ७ सय ७० जना अस्पतालबाट डिस्चार्ज भएका छन् । भदौ ३ गते १ सय २० जना डिस्चार्ज भएका छन् भने निको दर ६१.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । ११ हजार १ सय १८ जनाको उपचार भइरहेको छ । भदौ १ गतेसम्म ५ लाख ५४ हजार ३ सय ८८ जनाको स्वाब परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ ।
प्रदेश १
मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान(घोपा)मा उपचारका क्रममा बुढीगङ्गा गाउँपालिका-२ की ६७ वर्षीया बृद्धाको भदौ २ गते राति मृत्यु भएको छ । कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि भदौ २ गते विराट मेडिकल कलेजले बृद्धालाई वीपी रेफर गरेको थियो । योसँगै मोरङमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेका सङ्ख्या नौ पुगेको छ ।
सङ्खुवासभामा प्रतिनिधि भविन कार्कीका अनुसार भदौ २ गते कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका तीन जना दुई दिनदेखि आइसोलेशन सेण्टर नहुँदा उपचारबाट वञ्चित भएका छन् । प्रदेश सरकारले निर्माण गरेका सबै आइसोलेशन वार्ड भरिएपछि जिल्लामै राखेर उपचार गर्नु पर्ने भएपनि दुई दिन बित्दा समेत क्वारेण्टाइनमै अलपत्र परेका छन् । जिल्ला अस्पतालले खाँदबारी नगरपालिका-९ ढुङ्गे विरौनाको प्राथिमक विद्यालयमा निर्माण गर्न लागिएको आइसोलेशन वार्डमा स्थानीयले विरोध जनाएपछि अझै अन्योल भएको जिल्ला अस्पतालका प्रवक्ता सुजाता पौडेलले जानकारी दिनु भयो । कोरोना सङ्क्रमण पुष्टि भएकाहरूलाई छुट्टै राखेर उपचार गर्नु परेपनि आइसोलेशन सेण्टर नहुँदा सङ्क्रमित उपचारबाट वञ्चित भएका छन् ।
सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान(घोपा)मा उपचाररत धरान उपमहानगरपालिका-१५ की ७१ वर्षीया महिलाको भदौ ३ गते उपचारका क्रममा मृत्यु भएको छ । साउन २३ गते कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि प्रतिष्ठान भर्ना गरिएकी बृद्धाको उपचारका क्रममा मृत्यु भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताउनु भयो ।
प्रदेश २
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार कोरोनाको लक्षण देखिएका राजविराज नपा-४ का २८ वर्षीय युवकको भदौ २ गते मृत्यु भएपछि सोही राति स्वाब सङ्कलन गरी परिवारले राजविराजमा अन्तिम संस्कार गरेका छन् । कोरोनाकै लक्षण देखिएपछि साउन ३० गते स्वाब दिएका कञ्चनरुप नपा-८ का ४५ वर्षीय पुरुषको मृत्यु भएपछि भदौ ३ गते उनका परिवारले स्वास्थ्य कार्यालय र स्थानीय तहलाई जानकारी नदिई सप्तकोशी व्यारेजमा अन्तिम सस्कार गरेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताउनु भयो । मृतक दुवैको पीसीआर परीक्षणको रिपोर्ट आएको छैन ।
रौतहट प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार भदौ २ गते राति १२ बजेदेखि भदौ १७ गते राति १२ बजेसम्मको लागि माधवनारायण नगरपालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ । अत्यावश्यक काम बाहेक हिँडडुल तथा आवतजावत गर्न प्रतिबन्ध लगाउने गरी सील गरिएको नगर प्रमुख वीरेन्द्रप्रसाद यादवले बताउनुभयो ।
सर्लाही प्रतिनिधि बुधन साहका अनुसार हरिपुर नगरपालिकामा कोरोना सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या बढ्न थालेपछि नगरपालिकाले एक सूचना जारी गर्दै १५ दिनसम्मको लागि पूर्ण रूपमा सील गर्ने निर्णय गरेको छ । नगरपालिकाले भदौ ३ गते सूचना जारी गर्दै हरिपुर नगर भित्रका अति आवश्यक सेवाबाहेका अन्य सेवा बन्द गर्ने प्रमुख प्रशासकीय अधिकृत उदयप्रसाद देवकोटाले बताउनु भयो ।
बागमती प्रदेश
काठमाडौँमा १ सय ३४, चितवनमा २४, मकवानपुरमा २३, ललितपुरमा १७, भक्तपुरमा आठ, नुवाकोटमा दुई र धादिङमा एक जना गरी यस प्रदेशमा भदौ ३ गते २ सय ९ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । यससँगै प्रदेशमा सङ्क्रमित हुनेको सङ्ख्या ३ हजार ५ सय ७४ जना पुगेको छ । जसमध्ये ७ सय २४ जना उपचारपछि घर फकिएका छन् भने २ हजार ८ सय २६ जनाको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको छ । हालसम्म यस प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या २४ जना पुगेको छ ।
धादिङ प्रतिनिधि सीताराम अधिकारीका अनुसार गल्छि गाउँपालिकामा पुनः एक हप्ताको लागि लकडाउन गरिएको छ । पहिलो पटक आहृवान गरेको लकडाउनको समय भदौ ३ गते रातिबाट सकिने भएपछि भदौ ९ गतेसम्मको लागि लकडाउन लम्ब्याउने निर्णय भएको उपाध्यक्ष राधा तिमल्सिनाले बताउनुभयो । गाउँपालिकाले अत्यावश्यक बाहेकका होटल, रेष्टुरेण्ट, सहकारी, शैक्षिक संस्थालगायतका व्यवसायहरू बन्द गर्न आग्रह गरेको छ । खाद्यान्न पसलहरू भने बिहान ७ बजेदेखि ९ बजेसम्म सुरक्षा सावधानी अपनाएर खोल्न सकिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।
चितवन प्रतिनिधि दिपेन्द्र अधिकारका अनुसार कोरोना भाइरस सङ्क्रमणबाट भदौ २ गते एक जनाको मृत्यु भएको छ । साथै मृतक बृद्धाका चार जना आफन्तमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले बताउनुभयो । खैरहनी नगरपालिका-३ गोठसोर निवासी १०८ वर्षीया बृद्धाको कोरोना सङ्क्रमणबाट घरमै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारीले जानकारी दिनुभयो । भदौ १ गते स्वाब सङ्कलन गरी कोरोना परीक्षणका लागि भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशाला पठाइएको थियो । मृत्यु पश्चात मात्रै ती बृद्धाको रिपोर्ट पोजिटिभ आएको हो । योसँगै चितवनमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेका सङ्ख्या दुई पुगेको छ । यसअघि भरतपुर अस्पतालमा उपचारका क्रममा भरतपुर महानगरपालिका-११ का एक बृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो ।
नुवाकोट प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार जिल्लामा कोरोना समुदायस्तरमा फैलिएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको अवधि बढाएको छ । कोभिड-१९ जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले भदौ २ गते रातिदेखि लागू हुने गरी सात दिनलाई निषेधाज्ञा अवधि थप गरेको छ । यसअघि साउन २४ गतेदेखि १० दिनको लागि गरिएको निषेधाज्ञा भदौ २ गते रातिदेखि सकिने भएपछि सात दिन थप गरिएको प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले बताउनुभयो । विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, दुप्चेश्वर, लिखु, पञ्चकन्या, शिवपुरी, सूर्यगढी गाउँपालिकाको सम्पूर्ण क्षेत्र र तादी, ककनी र तारकेश्वर गाउँपालिकाको केही वडाहरूमा निषेधाज्ञा जारी गरिएको छ । जिल्लामा हालसम्म ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये ५४ जना निको भइसकेका छन् । अन्यलाई त्रिशूली जिल्ला अस्पताल, खरानीटार अस्पताल र काठमाडौँका विभिन्न अस्पतालको आइसोलेशनमा राखेर उपचार गरिएको छ ।
सिन्धुपाल्चोक प्रतिनिधि नातिबावु धितालका अनुसार बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा सदरमुकाम चौतारास्थित जिल्ला समन्वय समितिको हलमा भदौ ३ गतेबाट २५ बेडको आइसोलेशन स्थापना गरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईंले बताउनु भयो । हाल सङ्क्रमितको सङ्ख्या बृद्धि भएसँगै आइसोलेशन नहुँदा बिरामी राख्न समस्या भएकाले सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा आइसोलेशन स्थापना गरेको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले बताउनु भयो । दुई दिनअघि जिल्लामा चारजना कोराना सङ्क्रमितलाई राख्ने ठाउँ (आइसोलेशन) नभएको सञ्चार माध्यमले उजागर गरेपछि बागमती प्रदेशको ध्यान केन्द्रित भएको बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री युवराज दुलालले बताउनु भयो ।
गण्डकी प्रदेश
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भटटराईका अनुसार समुदायका व्यक्तिमा कोरोना सङक्रमण देखिएपछि शुक्लागण्डकी नगरपालिकाले एक हप्ता लकडाउन गर्ने निर्णय गरेको छ । दुलेगौडास्थित एक पसलमा सवारी चालकको काम गर्दै आएका २९ वर्षीय पुरुषमा भदौ ३ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाले भदौ ३ गते राति १० बजेदेखि भदौ १० गते राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । समुदायस्तरमा कोरोना सङक्रमित भेटिएपछि जोखिम न्यूनीकरणका लागि लकडाउन गर्ने निर्णय गरिएको नगर प्रमुख किसान गुरुङले जानकारी दिनुभयो । गुरुङका अनुसार यस अवधिमा अत्यावश्यक सेवा, स्वास्थ्य सेवा, सरसफाई सेवा र विपद् व्यवस्थापन सेवासँग सम्बन्धित कार्यहरू सञ्चालन गर्न पाइनेछ ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) प्रतिनिधि तिर्थराज डुम्रेका अनुसार समुदायमा कोभिड-१९ को सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)ले भदौ ३ गते राति १२ बजेदेखि भदौ ९ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले एक आदेश जारी गर्दै खुला स्थानमा भेला हुन, भीडभाड गर्न र सभा जुलूस गर्न, जात्रा महोत्सव, दैनिक नित्य पूजाबाहेकका धार्मिक गतिविधि गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, होटल- रेष्टुरेन्ट सञ्चालन गर्न र निजी तथा सार्वजनिक यातायात सञ्चालन गर्न निषेध गर्नु भएको हो । जिल्लाको विभिन्न स्थानमा स्थानीय बासिन्दामा कोरोना सङ्क्रमण पुष्टि भएपछि तत्काल निषेधाज्ञा जारी गर्न जिल्लाका विभिन्न सरोकारवालाहरूले सुझाव दिएका थिए ।
प्रदेश ५
नवलपरासी पश्चिम प्रतिनिधि नारायण पराजुलीका अनुसार रामग्राम नगरपालिका-२ घर भएका ३८ वर्षीय पुरुषको ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा भदौ २ गते मृत्यु भएको छ । उनलाई कोरोना पोजेटिभ देखिएपछि भैरहवाबाट कोरोना विशेष अस्पताल बुटवल लगिएको थियो । बुटवलको कोरोना अस्पतालमा एक दिन भर्ना भएर उपचार गराइरहेका उनलाई साउन ३० गते थप उपचारका लागि पाटन अस्पताल लगिएको थियो । मधेस आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका उनी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए ।
रुपन्देही प्रतिनिधि रीमा बिसीका अनुसार कोरोना सङ्क्रमणको जोखिम समुदायस्तरमा बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भदौ २ गतेदेखि भदौ ७ गते राति १२ बजेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको भदौ २ गते बसेको बैठकले लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित सासु गिरफ्तार
गौरीगंगा नगरपालिका–१ की २८ वर्षीया कबिता बुढाको हत्या गरेको आरोपमा प्रहरीले ५० वर्षीया सासु लक्ष्मी बुढालाई जेठ २३ गते गिरफ्तार गरेको छ । जेठ २२ गते गौरीगंगा नगरपालिका—१ स्थित केदारेश्वर…
न्याय माग्दै २० वर्ष बित्यो, आरोपितको समेत पहिचान भएन
सशस्त्र द्वन्द्वको क्रममा माओवादी कार्यकर्ताबाट मारिएका कृष्णप्रसाद अधिकारीको परिवारले २० वर्षदेखि अनसनसमेत विभिन्न अभियान र आन्दोलनमार्फत खोजेको न्याय अझै पाउन सकेको छैन । कृष्णका बुबा नन्दप्रसादको ३३४ दिन अनसन बसेर…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ र १४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना बालकसहित पाँच जनालाई जेठ २२ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा गढवा गाउँपालिका–६ का १८…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संशोधन दर्ता
प्रतिनिधिसभामा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी तेस्रो संशोधन) विधेयक, २०७९ मा २८ ओटा संशोधन प्रस्ताव दर्ता भएको छ । टीआरसी विधेयक कानुन, न्याय…
सर्वोच्च अदालतद्वारा रेशम चौधरीको आममाफीविरूद्धको मुद्दामा कारण देखाउ आदेश जारी
सर्वोच्च अदालतले टिकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरूद्ध परेको रिटमा सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ । टिकापुरमा भएको थरुहट आन्दोलनका क्रममा…