कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ १ गते)

  ०७७ भदौ १ गते

भदौ १ गते ५ सय ८१ जनामा कोरोना पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या २७ हजार २ सय ४१ पुगेको छ । जसमध्ये १ सय ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भदौ १ गते जारी गरेको प्रतिवेदन अनुसार सङ्क्रमितमध्ये १७ हजार ४ सय ९५ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । भदौ १ गते १ सय ६० जना डिस्चार्ज भएका छन् भने निको दर ६४.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । ९ हजार ६ सय ३९ जनाको उपचार भइरहेको छ । गत २४ घण्टामा ११ हजार ५ सय २० जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदनमा उल्लेख छ । भदौ १ गतेसम्म ५ लाख २९ हजार ४ सय २७ जनाको स्वाब परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ । भदौ १ गते हुम्ला, डोल्पा, मुस्ताङ, मनाङ र सङ्खुवासभामा सङ्क्रमितको सङ्ख्या शुन्य रहेको छ ।

प्रदेश १

मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार कोरोना भाइरसको सङ्क्रमणबाट भदौ १ गते कोशी अस्पतालमा थप एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–८ का ४७ वर्षीय पुरुषको भदौ १ गते साँझ उपचारका क्रममा मृत्यु भएको कोशी अस्पतालले जनाएको छ । श्वासप्रश्वासमा समस्या भएपछि साउन ३२ गते अस्पताल भर्ना गरिएका बिरामीको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख ज्ञानबहादुर बस्नेतले बताउनु भयो । यो सँगै मोरङमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।

सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखिएका दुई जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि उनीहरूलाई झुम्का कारागारमा निर्माण गरिएको आइसोलेशनमा राखिएको छ । जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा थुनाका लागि पठाइएकामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि आइसोलेशनमा राखिएको जिल्ला प्रहरी कार्यालयका एसपी कमल थापाले बताउनु भयो । जिल्लामा कोरोना भाइरस सङ्क्रमितहरूलाई हेला र दुर्व्यवहार नगर्न आम समुदायमा इन्सेक सुनसरीले आग्रह गरेको छ । भदौ १ गते इन्सेक सुनसरी, मानव अधिकार सञ्जाल सुनसरीले एक विज्ञप्ति जारी गर्दै महामारीको विषम् परिस्थितीमा कोही कसैलाई हेला र दुर्व्यवहार नगर्न अपिल गरेका छन् । जिल्लामा एक जना कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका एक व्यक्ति होम आइसोलेशनमा बसेपछि उनीमाथि आम रूपमा हेला र दुर्व्यवहार भएकोप्रति सम्वेदनशील हुँदै मानव गरिमा कायम राख्न इन्सेकले आग्रह गरेको छ ।

प्रदेश २

प्रदेश २ मा भदौ १ गते सम्ममा ७ हजार ७ सय ९५ जना कोरोना सङ्क्रमित पुगेकोमा ३ हजार ७ सय १० जना उपचारपछि निको भएर घर फर्किएका छन् । प्रदेशमा हाल ४ हजार ३७ जना सङ्क्रमितहरू उपचाररत छन् । भदौ १ गते सम्ममा ४८ जना सङ्क्रमितको मृत्यु भएको नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार धनौजी गाउँपालिका–३ बस्ने ६५ वर्षीय पुरूषको प्रादेशिक अस्पताल जनकपुरमा कोरोना भाइरसको सङ्क्रमण भइ उपचारको क्रममा भदौ १ गते बिहान मृत्यु भएको आइसोलेशन धनुषाका संयोजक डाक्टर जामुनप्रसाद सिंहले बताउनु भयो । रूघा–खोकी र श्वास–प्रश्वासमा समस्या भएर साउन ३१ गते प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका उनको भदौ १ गते मृत्यु भएपछि नेपाली सेनाको टोलीले स्थानिय सरकारको समन्वयमा शव व्यवस्थापन गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रमेश बस्नेतले बताउनु भयो ।

महोत्तरी प्रतिनिधि अजयकुमार साहका अनुसार जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट जारी आदेशमा भदौ १ गते मध्यरातदेखि लागु हुने गरि भदौ १० गतेसम्मको लागि निषेधाज्ञा लागु गरिएको छ । यस निर्णयलाई अटेर गरी आदेश अवज्ञा गर्नेलाई स्थानीय प्रशासन ऐन, २०२८ तथा सङ्क्रामक रोग ऐन २०२० बमोजिम कारवाही हुने प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताउनु भयो । सदरमुकाम क्षेत्रमा भदौ १ गते मध्यरातसम्म पहिलेदेखि नै निषेधाज्ञा रहेकोमा जिल्लाभर सङ्क्रमण बढ्दै जाँदा निषेधाज्ञा थप कडाइका साथ जिल्ला भरि लागु गरिएको हो । यस अवधिमा अत्यावश्यकबाहेक पैदल हिँड्डुलमा समेत प्रतिबन्ध रह्ने छ ।

सर्लाही प्रतिनिधि बुधन साहका अनुसार मलङ्गवा नगरपालिकामा भदौ २ गतेदेखि ९ गतेसम्मका लागि पूर्ण रूपले सील गर्ने नगर समितिले निर्णय गरेको मलङ्गवा नगरपालिकाका प्रमुख निरसल साहले बताउनु भएको छ ।

रौतहट प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार रौतहट जिल्ला अदालतले भदौ १ गते एक सूचना जारी गरी निषेधाज्ञा अवधिमा उक्त अदालतबाट प्रवाह गरिने सेवालाई सीमित गरेको जनाएको छ । साउन २३ गते भएको निर्णयअनुसार भदौ १ गतेबाट लागु हुने गरी बन्दी प्रत्यक्षीकरणको निवेदनलगायतका अति महत्वपूर्ण मुद्दा र निवेदनसम्बन्धी काम मात्रै गर्ने अदालतले जनाएको छ ।

सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार जिल्ला प्रशासन कार्यालय सप्तरीले साउन ३२ गते सबै स्थानीय तह, अन्य सरकारी, निजी तथा गैरसरकारी सङ्घसंस्थालाई निर्णय कार्यान्वयन गर्न लिखित पत्राचार गरेको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत आनन्द ठाकुरद्वारा हस्ताक्षरित पत्रमा धार्मिकस्थलमा दैनिक नित्य पूजाबाहेक समूहमा हुने अन्य गतिविधि सञ्चालन नगर्न भनिएको छ ।

पर्सा प्रतिनिधि कृष्णचन्द्र लामिछानेका अनुसार पर्सामा निषेधाज्ञालाई थप प्रभावकारी बनाउन साउन ३२ गतेबाट बीरगंजमा सेना परिचालन गरिएको छ । यसअघि साउन १० गते अनिश्चितकालका लागि घोषणा गरिएको निषेधाज्ञालाई भादौ १३ गते सम्मका लागि तोकिएको छ । भदौ १३ गते सम्मका लागि सेना परिचालन हुने पर्साका प्रमुख जिल्ला अधिकारी आशमान तमाङले जानकारी दिनु भयो ।  प्रजिअ तमाङले एक विज्ञप्ति जारी गर्दै भदौ १३ गते बिहान ५ बजेसम्म सेना परिचालित रहने जानकारी दिनु भएको हो ।

बागमती प्रदेश

यस प्रदेशमा भदौ १ गते काठमाडौँमा १ सय ३९, ललितपुरमा १५, भक्तपुरमा १४, मकवानपुरमा आठ, धादिङ र सिन्धुपाल्चोकमा पाँच/पाँच, काभ्रेमा चार, चितवनमा तीन, नुवाकोट र सिन्धुलीमा एक/एक जना गरी १ सय ९५ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । यससँगै प्रदेशमा सङ्क्रमित हुनेको सङ्ख्या ३ हजार ६१ जना पुगेको छ । जसमध्ये ७ सय २ जना उपचारपछि घर फकिएका छन् भने २ हजार ३ सय ४१ जनाको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको छ । हालसम्म यस प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ ।

धादिङ प्रतिनिधि सीताराम अधिकारीका अनुसार जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढेको र एक जनाको मृत्यु समेत भएपछि पालिकाहरूले भदौ ५ गतेसम्मका लागि आफ्नो नियमित सेवा बन्द गरेको सूचना प्रकाशन गरेका छन् । यसरी सेवा बन्द गर्ने स्थानीय तहहरूमा बेनिघाटरोराङ, गजुरी, गल्छी, सिद्धलेक, थाक्रे, ज्वालामूखी, त्रिपुरासुन्दरी, गङ्गाजमुना गाउँपालिका र नीलकण्ठ र धुनबीबेसी नगरपालिकाले भदौ ५ गतेसम्मका लागि नियमित सेवा अन्तर्गतका सबै काम रोकेको पालिकाहरूले जारी गरेको सूचनामा उल्लेख छ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण समुदाय स्तरमा फैलने सक्ने जोखिमलाई मध्यनजर गर्दै स्थानीय तहका सरकारहरूले प्रवाह गर्ने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको सूचनामा जनाइएको छ । नगरपालिका तथा गाउँपालिकाको कार्य क्षेत्र भएका विभिन्न सङ्घ, संस्था, वित्तीय संस्था सार्वजनिक यातायात, होटल उद्योग तथा व्यापार व्यवसायहरू बन्द गर्न आग्रह गरिएको छ । स्वास्थ्य सेवा र अत्यावस्यक सेवा बाहेकका सबै काम रोक्नु परेको सूचनामा उल्लेख गरिएको हो ।

चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीका भरतपुर सरकारी अस्पतालमा सङ्क्रमितका लागि छुट्टाइएको बेड भरिएको छ । अस्पतालमा ७५ बेड आइसोलेशन तयार पारिएको थियो । त्यस्तै १० बेड आइसीयू छुट्याइएको थियो । आइसीयूमा तीन जना छन् । हाल अस्पतालमै ५३ जना पुष्टि भएका सङ्क्रमित छन् । अन्य आशङ्कित तर पुष्टि नभएकाहरूका कारण ७५ बेड आइसोलेशन भरिएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताउनु भयो । अब नयाँ सङ्क्रमित थपिए कहाँ राख्ने भन्ने चिन्ताको विषय बनेको पौडेलले बताउनु भयो । ३० जना सङ्क्रण पुष्टि भएकाहरू होम आइसोलेशन छन् । चितवन जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाका निजी अस्पताललाई २० प्रतिशत शैया कोभिडा–१९ को सङ्क्रमितको व्यवस्था छुट्याउन निर्देशन दिएको छ । भदौ १ गते सूचना जारी गर्दै प्रशासनले स्वास्थ्य मन्त्रालयको स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्र (एचइओसी)बाट प्राप्त सूचनाको आधारमा जिल्लामा रहेका सबै निजी अस्पतालले आफ्नो क्षमताको कम्तिमा पनि २० प्रतिशत शैया कोभिड–१९ सङ्क्रमितको उपचारको लागि छुट्याउन निर्देशन दिएको छ ।

यसैबीच, राप्ती नगरपालिका–१ पिप्लेमा प्रहरीले भदौ १ गते दिउँसो एक राउण्ड हवाइ फायर गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको निषेधाज्ञा उल्लङ्घन गर्न खोजेपछि प्रहरीले हवाई फायर गरेको जनाएको छ । निषेधाज्ञा उल्लङ्घन गरेर सडकमा आएका युवा र निषेधाज्ञाको पालन गर्नुपर्छ भन्ने युवाहरू बीच झडप हुन थालेपछि हावाइ फायर गर्नुपरेको प्रहरीले जनाएको छ । करिब २ सयको सङ्ख्यामा मानिसहरू भेला भएर निषेधाज्ञा उल्लङ्घन गर्न खोजेपछि स्थितिलाई नियन्त्रणमा लिन एक राउन्ड हवाई फायर गरेको बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक बसन्त लामाले बताउनु भयो । कोरोना सङ्क्रमण रोकथामको लागि जिल्ला प्रशासन कार्यालयले चितवनका ६ ओटा पालिकामा भदौ १ गतेबाट ५ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।

सिन्धुपाल्चोक प्रतिनिधि नातिबाबु धितालका अनुसार जिल्लामा कोरोना सङ्क्रमित राख्ने ठाउँको अभावमा सङ्क्रमितहरूलाई सुरुक्षित रूपमा राख्न समस्या भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईँले बताउनु भयो । सदरमुकाम चौतारामा रहेको एक गैरसरकारी संस्थाका चार जना कर्मचारीलाई साउन ३२ गते कोरोना पोजेटिभ देखिएपछि उनीहरूलाई राख्ने ठाउँ (आइसोलेशन) को अभाव भएको हो । यसअघि जिल्लाको विभिन्न ठाउँमा स्थापना गरिएको आइसोलेशन कक्ष लकडाउन समाप्ति सँगै बन्द गरिएकाले हाल सङ्क्रमितलाई राख्न समस्या भएको प्रमुख चापागाईँले बताउनु भयो । चापागाईका अनुसार अहिले जिल्लामा मेलम्ची र बाह्रबिसेमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा केही बेडको आइसोलेशन भए पनि खाली छैनन् । कोभिड–१९ को सङ्क्रमित देखिएका गैरसरकारी संस्थाका दुई महिला र दुई पुरुष गरी चार जना कर्मचारीहरू मध्ये एक महिला र एक पुरुषलाई मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेशनमा पठाइएको छ भने एक महिला र एक पुरुषलाई राख्ने ठाउँको अभाव भएर हाल संस्थाको कार्यालयमै राखिएको सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चका कार्यक्रम अधिकृत हरि तिमल्सिनाले बताउनु भयो ।

गण्डकी प्रदेश

तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका कोरोना भाइरस सङक्रमण समुदायमा फैलन सक्ने परिस्थिति सृजना भएको भन्दै कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको भदौ १ गते बिहान बसेको बैठकले स्थानीय प्रशासन ऐन, २०२८ अनुसार व्यास र भानु नगरपालिकामा निशेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताउनु भयो । जिल्ला प्रशासन कार्यालयले भदौ १ गते निषेधाज्ञा सम्बन्धी सूचना जारी गर्दै व्यास नगरपालिकामा भदौ १ गते दिउँसो १२ बजेदेखि भदौ ७ गते दिउँसो १२ बजेसम्म र भानु नगरपालिकामा भदौ १४ गतेसम्म निषेधाज्ञा जारी गरेको जनाएको छ । यो अवधिमा अत्यावश्यक सेवा बाहेकका अन्य कुनै पनि कार्यहरू गर्न पाइने छैन । बैङ्क तथा वित्तीय संस्थाका कुनै पनि सेवाहरू पूर्णरूपमा बन्द गरिने छ । त्यस्तै उद्योग कलकारखाना तथा अन्य सेवाहरू बन्द गर्नु पर्ने प्रमुख जिल्ला अधिकारी आचार्यद्वारा जारी सूचनामा उल्लेख छ ।

म्याग्दी प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार कोरोनाको सङ्क्रमण समुदाय स्तरमा पनि प्रवेश गरिसकेको वर्तमान अवस्थामा म्याग्दीमा विदेशबाट आउने नागरिकहरूलाई मात्रै नभएर अर्को जिल्लाबाट आएकालाई पनि होल्डीङ सेन्टरमा राख्नका लागि तयारी थालिएको छ । प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार सिसिएमसीको बैठकले बाहिर जिल्लाबाट म्याग्दी प्रवेश गर्ने कालिपुलको पक्की पुल बाहेक अन्य सबै झोलुङ्गे पुलहरू बन्द गर्ने भएको छ । बेनी नगरपालिका–१ रत्नेचौर र बेनीबजारको बसपार्क नजिकैको पक्की पुलबाट मात्रै म्याग्दी प्रवेश गर्ने व्यवस्था गरिने प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनु भयो । सिसिएमसीको बैठकले भदौ १ गते बेलुकादेखि अन्य जिल्लाबाट म्याग्दी प्रवेश गर्ने सबै झोलुङ्गे पुल तथा अन्य मार्ग बन्द गर्ने र कालिपुल स्थित पक्की पुलबाट मात्र प्रवेश गर्ने व्यवस्था गर्ने बारेमा छलफल भएको प्रजिअ अधिकारीले बताउनु भयो ।

त्यसैगरी, मुस्ताङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलका अनुसार मुस्ताङ प्रवेश गर्ने नाका घाँसामा सुरक्षा व्यवस्था निकै कडा गरिएको छ । प्रजिअ पौडेलले भन्नुभयो –‘तापक्रम नाप्ने तथा डिसइन्फेक्ट गर्ने काम हामीले घाँसामै गर्ने र स्थानीय जनप्रतिनिधिहरूसँगको समन्वयमा क्वारेण्टाइनमा राख्ने व्यवस्था गरिएको छ ।’

कर्णाली प्रदेश

सुर्खेत प्रतिनिधि दुर्गा थापाका अनुसार बढ्दो कोरोना भाइरसको जोखिमलाई कम गर्न भेरीगङ्गा नगरपालिकाले भदौ १ गतेदेखि नगरपालिका क्षेत्रभित्रका बजारहरू पूर्णरूपमा बन्द गरेको छ । भेरीगङ्गा नपाका प्रमुख भुपेन्द्र चन्दको अध्यक्षतामा साउन ३२ गते बसेको बैठकले भेरीगङ्गा नगरपालिकाका छिन्चु, रामघाट जहरे र भिङ्गनी बजार पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको हो । कोरोना सङ्क्रमणको जोखिम बढ्न सक्ने भदौ १ गते बिहानदेखि ५ गते राति १२ बजेसम्मका लागि बजारहरू बन्द गरिएको भेरीगङ्गा नगरपालिकाका उपप्रमुख रेणु आचार्यले बताउनु भयो ।

जुम्ला प्रतिनिधि मानदत्त रावलका अनुसार सदरमुकाम रहेको चन्दननाथ नगरपालिका सहित जिल्लाका तातोपानी, हिमा, सिंजा गुठीचौर र कनकासुन्दरी गाउँपालिमा पुनः निषेधाज्ञा जारी गरिएको छ । पातारासी गाउँपालिकामा भने यस अघि नै निषेधाज्ञा जारी गरिएको थियो । समुदायमा कोरोना भाइरस सङ्क्रमण फैलिन थालेपछि साउन ३२ गते राति १२ बजेदेखि लागु हुने गरी नगरपालिका सहित स्थानीय तहहरूमा अनिश्चितकालीन निषेधाज्ञा जारी प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताउनु भयो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेशनमा ६ जना उपचारत रहेका छन् । साउन ३२ गते कोरोना सङ्क्रमणबाट निको भई ६ जना घर फर्किएको सहायक प्रमुख जिल्ला अधिकारी ओपप्रकाश देवकोटा पनि उहाँले बताउनु भयो ।


अनलाइन डेस्क