कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २८ गते)

  ०७७ जेठ २८ गते

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ हजार ३ सय ६४ पुगेको छ । जेठ २६ गते २ सय ७९ जना सङ्क्रमित थपिएपछि सङ्क्रमितको सङ्ख्या ४ हजार ३ सय ६४ पुगेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६० वर्षमाथिका ४१ जनामा र २० वर्षमुनीका १ हजार २ सय ३४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये ४ हजार ५५ जना पुरुष र ३ सय ९ जना महिला रहेका छन् ।

प्रदेश १

प्रदेश १ मा जेठ २८ गते १४ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेश १ बाट १ सय २४ जना डिस्चार्ज भएका छन् ।

झापा प्रतिनिधि नरेश खातीका अनुसार मेचीनगर नगरपालिकाले क्वारेण्टाइनमा बस्नेसँग प्रति व्यक्ति १ हजार रुपियाँका दरले रकम उठाएको सार्वजनिक भएको छ । मेचीनगर नगरपालिका-१ को क्वारेण्टाइनमा बस्ने युवासँग वडा कार्यालयले १ हजार रुपियाँका दरले रकम लिएको अध्यक्ष पासाङ शेर्पाले स्वीकार गर्नुभयो । वडाध्यक्ष तामाङले क्वारेण्टाइनमा बस्नेहरूका लागि खाना व्यवस्थापन गर्न शुल्क उठाइएको बताउनु भयो । 'मेचीनगर नगरपालिकाले क्वारेण्टाइनमा बस्ने आफैँले खानाको व्यवस्थापन गर्नुपर्ने निर्णय गरेको थियो । क्वारेण्टाइनमा बसेका मजदुरबाट पैसा उठाउने सर्वदलीय निर्णय भएको अध्यक्ष तामाङले बताउनु भयो ।

प्रदेश २

प्रदेश २ मा जेठ २८ गते १ सय ९६ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा सङ्क्रमितको सङ्ख्या १ हजार ५ सय ७३ जना पुगेको छ । प्रदेशमा कोरोना सङ्क्रमितमध्ये २ सय ९९ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार जिल्लामा दैनिक सङ्क्रमित बढेपछि आइसोलेशन बेड अभाव भएको छ । जेठ २८ गते आइसोलेशनबाट तीन जना डिस्चार्ज भएपछि छिन्नमस्ता गाउँपालिका-२ रमपुरास्थित क्वारेण्टाइनमा होल्डिङ्ग गरेर राखिएका चार जनालाई ल्याउने तयारी गर्दा पुनः ६ जना थपिएको गजेन्द्रनारायण सिंह अस्पतालका डा. रणजितकुमार झाले बताउनु भयो । थपिएका ६ जनालाई छिन्नमस्ता गाउँपालिकास्थित सोही क्वारेण्टाइनमा होल्डिङ्ग गर्न आग्रह गरिएको डा. झाले बताउनु भयो ।

सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार कर्जन्हा नगरपालिका स्थित जनसेवा माविमा रहेको क्वारेण्टाइनमा बसेकाहरूले समयमा खाना तथा खाजा नदिएको, खाना गुणस्तरीय नभएको, शौचालय फोहोर भएको भन्दै नगर प्रमुख, प्रशासकीय अधिकृत सहितको टोलीलाई जेठ २८ गते गालिगलौज गर्दै ढुङ्गामुढा गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुलाल प्रसाद जैसवालले बताउनु भयो । नगर प्रमुख गङ्गा पासवानले शौचालय सफा गराउने र खानाको गुणस्तर बढाउने प्रतिबद्धता जनाउनु भएको छ । कर्जन्हा नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख जगदिश मण्डलले क्वारेण्टाइनमा १ सय ८ जना रहेको र उनीहरूले नै शौचालयमा बोतल फालेर जाम गरेकाले समस्या आएको बताउनु भयो । क्वारेण्टाइनमा बनेको खाना नेपाली सेनालगायत स्वास्थ्यकर्मीहरूले पनि खाने गरेकोले गुणस्तरीयता प्रश्न गर्नु नपर्ने मण्डलको भनाइ छ ।

बागमती प्रदेश

यस प्रदेशमा हालसम्म १ सय ३७ जनामा कोरोना भाइरसका सङ्क्रमित पुष्टि भएको छ । इन्सेक काठमाडौँ जिल्ला प्रतिनिधि विमला पौडेलका अनुसार जेठ २७ गतेसम्म खोलिएका पसलहरूलाई प्रहरीले बल प्रयोग गरि बन्द गराएको भन्दै त्यसको विरोधमा जेठ २८ गते न्युरोड, रञ्जनागल्ली, धर्मपथलगायतका ठाउँमा विभन्न नारा लेखेका प्लेकार्ड बोकेर स्थानीय व्यापारीहरूले प्रदर्शन गरेका छन् । सरकारले लकडाउन खुकुलो बनाउने सुरक्षित तवरले पसल-व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग स्थानीय व्यापारीहरूको छ । सरकारले ठूला व्यापारी र साना व्यापारीलाई भेदभाव गरेको गुनासो गर्दै उनीहरूले आफूहरूको घर भाडा मिनाहा गर्न, बैङ्क तथा वित्तीय संस्थाको ब्याज मिनाहा गर्न माग समेत गरेका छन् । प्रदर्शनमा व्यापारीहरूले 'हाम्रो चुलो बाल्ने वातावरण बनाइदे सरकार', 'रहरले होइन, बाध्यताले आएका हौँ' लगायतका नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष नरेश कटुवालले आफू व्यापार व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको भन्दै अब सरकारलाई तालाचाबी बुझाउने बताएका छन् । 'लकडाउनको कुनै मोडालिटी पनि चेन्ज नगर्ने र व्यवसायीलाई राहत प्याकेज पनि घोषणा नगरेको भन्दै अबको व्यवसायको जिम्मा लिन पनि सरकारलाई आग्रह गर्नुभयो ।

मकवानपुर प्रतिनिधि पुष्पराज अधिकारीका अनुसार विदेश तथा भारतबाट आएका नागरिकले आफ्नो स्थानीय तहको क्वारेण्टाइन जानु अघि जिल्ला समन्वय समितिले हेटौँडाको वन विज्ञान संस्थानमा रहेको होल्डिङ स्टेशनमा एक रात बस्न व्यवस्था गरिएको जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले बताउनु भयो । होल्डिङ स्टेशनको लागि जिल्ला समन्वय समितिमा गठन गरिएको विपद् व्यवस्थापन कोषमा आवश्यकता अनुसार आर्थिक योगदान मकवानपुका सबै स्थानीय तहले गर्ने भएका छन् । होल्डिङ स्टेशनको सुरक्षा नेपाली सेनाले गर्नेछ । होल्डिङ सेन्टरमा आएकाहरूलाई सामान्य स्वास्थ्य परीक्षण, खानापानीको व्यवस्था, आराम गर्ने स्थान तथा मनोपरार्मश सेवा उपलब्ध हुने खुलालले बताउनु भयो ।

गण्डकी प्रदेश

पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार भारतबाट आएर ११ दिनदेखि क्वारेण्टाइनमा बसेका १ सय ६७ जना व्यक्तिको कोरोना परीक्षण रिपोर्ट समयमा प्राप्त नहुँदा पर्वतमा क्वारेण्टाइनमा बसेका व्यक्तिहरूलाई समस्या भएको छ । जिल्ला स्तरीय कोरोना रोकथाम तथा व्यवस्थापन समितिले जिल्ला भित्रिएर क्वारेण्टाइनमा बसेको पाँच दिनपछि मात्रै स्वाब सङ्कलन गर्ने गरेको छ । यसो गर्दा पर्वतमा जेठ १८ गते देखि भित्रिएका सम्भावित सङ्क्रमित व्यक्तिहरूको रिपोर्ट जेठ २८ गतेसम्म प्राप्त नभएको हो । जेठ २३ गतेदेखि सङ्कलित स्वाब परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइएकोमा ६ दिन बित्दा अझै पनि रिपोर्ट आउन नसकेको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर शिशिर देवकोटाले जानकारी दिनुभयो ।

भारतबाट आएकाहरु सदरमुकाममा रहेका क्वारेण्टाइनमा बसिरहेका छन् । रिपोर्ट आउन ढिलाइ हुँदा उनीहरू स्थानीय तहको क्वारेण्टाइनमा जान पाएका छैनन् । परीक्षणका लागि ताकेता गरिएको र लामो समयसम्म रिपोर्ट नआउँदा धेरै जना एउटै क्वारेण्टाइनमा बस्नुपरेकोले सामाजिक दुरी कायम गर्न मुस्किल भएको साथै क्वारेण्टाइनको व्यवस्थापनमा समेत समस्या भएको प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीले जानकारी दिनुभयो ।

प्रदेश ५

कपिलवस्तु प्रतिनिधि पार्वती आचार्यका अनुसार कोरोना भाइरसको लक्षण नदेखिएको भन्दै आइसोलेशन सेन्टरमा थप उपचारका लागि राखिएका १ सय ४३ जनालाई पीसीआर परीक्षण नगरी घर पठाइएको छ । स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिका अनुसार स्थानीय तहहरूले आइसोलेशन सेन्टरमा थप उपचारका लागि राखिएका सङक्रमितलाई लक्षण नदेखिएको भन्दै घर पठाउन थालिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले बताउनु भयो । कृष्णनगर नपाको क्वारेण्टाइनमा बसेर घरमा गएका ५ सय जनाभन्दा बढीले जेठ २८ गते नगरपालिका घेराउ गरेका छन् । वडास्तरको क्वारेण्टाइनमा खानाको व्यवस्था राम्रो नभएको भन्दै उनीहरूले नगरपलिकाको कार्यालय घेराउ गरेका हुन् । क्वारेण्टाइनमा बसेका नागरिकहरूलाई व्यवस्थापन गर्दा नगरपालिकाको १ करोड ५० लाख रुपियाँ खर्च भएको भन्ने समाचार सुनेपछि आन्दोलित भएको उनीहरूको भनाइ छ । नगर भित्रका केही क्वारेण्टाइनमा बसेका व्यक्तिहरूले नपाएको सेवा सुविधा बापतको रकम दिइने मेयर रजत प्रताप शाहले बताउनु भयो ।

बाँके प्रतिनिधि स्मृति देवकोटाका अनुसार जानकी गाउँपालिका-२ को आइसोलेशनमा रहेका एक जना कोरोना सङ्क्रमित ३५ वर्षीय पुरूष जेठ २७ गते बिहान शौचालय जाने बहानामा भागेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । यसैगरी जानकी गाउँपालिका-१ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा बनाइएको क्वारेण्टाइनमा रहेका सुन्दरलाल काँदुलाई जेठ २६ गते राति सर्पले टोकेको वडा अध्यक्ष मोहम्मद रजा राईले बताउनु भयो । राति सर्पले टोके पनि एम्बुलेन्सका लागि फोन सम्पर्क नभएपछि बिहान मात्र अस्पताल पुर्‍याइएको राईले बताउनु भयो । उहाँको उपचारपछि अस्पतालबाट डिस्चार्ज गरसिकिएको राईले बताउनु भयो ।

कर्णाली प्रदेश

जाजरकोट प्रतिनिधि दिनेशकुमार श्रेष्ठका अनुसार नलगाड नगरपालिकाले भारतबाट आएका ९७ जनामध्ये कोठा अभावमा त्रिभुवन मावि दल्लीस्थित एउटै कोठामा २७ जनासम्म राख्नु परेको नगरप्रमुख टेकबहादुर रावलले बताउनु भयो । धेरै दिन कोचिएर बस्नु पर्दा निकै सकस भएको नलगाड नगरपालिका-१० का हिराबहादुर नेपालीको भनाइ छ । उहाँले भन्नु भयो- '९७ जनाको लागि दुई ओटा मात्र शौचालय छ । पालो नै पाइँदैन । कुनै दिन त दुई घण्टापछि मात्र पालो आउँछ ।' नुहाउनका लागि पुरुष र महिलाको धारा एउटै छ, त्यो पनि खुला ठाउँमा हुँदा निकै समस्या भएको क्वारेण्टाइनमा रहेकी एक महिलाको गुनासो छ ।

इन्सेक सुर्खेत जिल्ला प्रतिनिधि दुर्गा थापाका अनुसार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको अभियानमा इन्सेकले वीरेन्द्रनगर नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । जेठ २८ गते इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले नगरपालिकाको कार्यालयमा कार्यबाहक नगरप्रमुख मोहनमाया ढकाललाई उक्त सामग्री हस्तान्तरण गर्नु भयो ।

सुदूरपश्चिम प्रदेश

बैतडी प्रतिनिधि नरी बडुका अनुसार मेलौली नगरपालिका-५ महारुद्रकी गर्भवती महिलाले २० दिनदेखि स्वास्थ्य चौकीको क्वारेण्टाइनमा बस्दै आएको र आफूलाई खानाको समेत समस्या भएको बताएकी छन् । पीसीआर परीक्षण गरेको हप्ता दिन बितिसक्दा पनि रिपोर्ट नआएको र क्वारेण्टाइनमा खानाको समस्या हुन थालेपछि भोकै बस्नुपरेको उनले बताएकी हुन् । उनले भनिन्-'१४ दिन क्वारेण्टाइनमा बसेर आरडीटी गर्दा पोजिटिभ देखिएको भन्दै पीसीआर परीक्षण गर्न स्वाब लिएर धनगढी पठाएको एक हप्ता भइसक्दा पनि कुनै रिपोर्ट आएको छैन । क्वारेण्टाइनमा खानबस्न निकै समस्या छ ।' अन्य व्यक्तिको पीसीआर परीक्षण ढिलो भए पनि गर्भवती महिलाको पीसीआर परीक्षण छिटो गरिदिन धनगढी प्रयोगशालालाई अनुरोध गर्ने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश भट्टले बताउनु भयो । मेलौली प्रहरी चौकीका इञ्चार्ज जनकसिंह धामीले गर्भवती महिलाको आरडीटी पोजेटिभ देखिएकाले पीसीआर परीक्षणको नतिजा नआएसम्म क्वारेण्टाइनमा बसी दिन अनुरोध गरिएको बताउनु भयो । क्वारेण्टाइनमा रहनु भएका १ सय ५० जनाभन्दा बढीको पीसीआर परीक्षण गर्न एक हप्ताअघि स्वाब धनगढी पठाएको भए पनि परीक्षण नहुँदा नतिजा आउन नसकेको जिल्ला अस्पताल बैतडीका डाक्टर बसन्तराज जोशीले बताउनु भयो ।

कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार क्वारेण्टाइनमा बसेको दुई हप्ता भइसक्दा समेत आफूहरूको कोरोना परीक्षण नगरिएको भन्दै घोडाघोडी नगरपालिकाको घोडाघोडी बहुमुखी क्याम्पसको क्वारेण्टाइनमा बसेका व्यक्तिहरूले जेठ २८ गते जनप्रतिनिधिहरूको विरोध गर्दै क्वारेण्टाइनबाट बाहिर निस्किएर नाराबाजी गरेका छन् । क्वारेण्टाइनमा बसेकाहरूले आफूहरूलाई प्लाष्टिकको चामल प्रयोग गरेको खाना खुवाएको समेत गुनासो गरेका छन् । घोडाघोडी नगरपालिकाका प्रशासकीय अधिकृत खगेन्द्रबहादुर सिंहले क्वारेण्टाइनमा प्रयोग भएको चामल नगरपालिकाले खरिद गरेको नभई सहयोगीहरूबाट प्राप्त भएको बताउनु भयो । प्लाष्टिक भनिएको चामलको गुणस्तर चेकजाँचका लागि खाद्य तथा गुणस्तर नियन्त्रण कार्यालय, धनगढी पठाएको सिंहको भनाइ छ ।


अनलाइन डेस्क