कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २६ गते)

  ०७७ जेठ २६ गते

नेपालमा जेठ २६ गतेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३ हजार ७ सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ४ सय ८८ जना निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने १४ जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये ३ हजार ५ सय ६ जना पुरुष र २ सय ५६ जना महिला रहेका छन् । मन्त्रालयका अनुसार १ लाखभन्दा बढीको पीसीआर टेष्ट र १ लाख ५० हजारभन्दा बढीको र्‍यापीड टेष्ट भइसकेको छ ।

प्रदेश १

प्रदेश १ मा जेठ २६ गते २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या २ सय ७७ जना पुगेको छ ।

सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार क्वारेण्टाइनमा आधारभूत सुविधासमेत नभएको क्वारेण्टाइनमा बसिरहेकाहरूले गुनासो गरेका छन् । जिल्लामा १२ स्थानीय तहले २६ स्थानमा कूल १ हजार २ सय ८६ बेड क्षमताको क्वारेण्टाइन सञ्चालन गरिरहेका छन् । क्वारेण्टाइनमा साबुन, पानी, सेनिटाइजर, समयमा खाना तथा खाजा र बस्ने व्यवस्था राम्रो नभएको क्वारेण्टाइनमा बस्नेहरूले गुनासो गरेका हुन् । जिल्लामा क्वारेण्टाइन व्यवस्थापन समिति गठन गरिए पनि समितिले प्रभावकारी कार्य सम्पादन गर्न नसकेको प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताउनु भयो । उहाँले स्थानीय तहले क्वारेण्टाइन व्यवस्थित भएको रिर्पोटिङ्ग गर्ने तर व्यवहारमा भने कार्यान्वयन नभएको बताउनु भयो ।

प्रदेश २

प्रदेश २ मा जेठ २६ गते १ सय ७४ जना कोरोना सङ्क्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेका अनुसार सप्तरीमा १६, महोत्तरीमा १२, सर्लाहीमा १ सय २०, रौतहटमा ११, बारामा सात र पर्सामा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय २३ जना पुगेको छ । प्रदेशमा कोरोना सङ्क्रमित मध्ये २ सय २६ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार सप्तरीमा जेठ २६ गते कोरोना सङ्क्रमित बढी देखिएको बलान बिहुल, बोदे बर्साइन, राजगढ, राजविराज, डाकनेश्वरी लगायत सबै जसो स्थानीय तहमा बजार र बैंकहरूमा सामाजिक तथा भौतिक दूरी कायम नगरी भिडभाडमा कारोबार सुरु हुन थालेपछि सङ्क्रमणको जोखिम बढेको भन्दै बुद्धिजिवीहरूले चिन्ता व्यक्त गरेका छन् । लकडाउनको उल्लङ्घन गर्दै बजार र बैंकहरूमा देखिएको भिडले घातक परिणाम ल्याउने शिक्षक देवेन्द्र मिश्रले गुनासो गर्नु भयो । जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रवक्ता एवम् प्रशासकीय अधिकृत आनन्द ठाकुरले लकडाउनको उल्लङ्घन गर्दै पसलहरू खुलिरहेको र व्यापक भिडभाड बढेको तथा सावधानीसम्म नअपनाएको जानकारी पाएको भन्दै सम्वेदनशिल समयमा आम नागरिकले स्वयम् पनि विचार पुर्‍याउनु पर्ने बताउनु भयो । त्यसैगरी, इन्सेक सप्तरी प्रतिनिधिसँग कुरा गर्दै स्वास्थ्य कार्यालय सप्तरीका बरिष्ठ मलेरिया इन्स्पेक्टर नारायणप्रसाद राउत बरैले स्वास्थ्यकर्मीहरूले स्वास्थ्य जाँच, परीक्षण, औषधी लगायतको काम जिम्मेवारीपूर्वक गरिरहे पनि क्वारेण्टाइनमा बसेकाहरूले खाना र बसोबासको व्यवस्थापन लगायतको समस्यामा स्वास्थ्यकर्मीहरूलाई गालीगलौज गर्ने व्यवहारले स्वास्थ्यकर्मीहरूको मनस्थितिमा नराम्रो असर परेको गुनासो गर्नु भयो ।

धनुषा प्रतिनिधि दीपेन्द्रप्रसाद सिंहका अनुसार प्रदेश २ सरकारले पीसीआर मेसिन सञ्चालनमा रहेको जनकपुर, बीरगञ्ज र राजविराजको ल्याबमा एक-एक र रौतटहको गौर अस्पतालमा नयाँ ल्याब सेटअप गर्ने गरी चार ओटा पीसीआर मेसिन खरिद गर्न मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको निर्देशक समितिले जेठ २५ गते निर्णय गरेको छ । समितिले परीक्षण तथा उपचारको लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्ने र कोरोना परीक्षणलाई तीब्रता दिन थप ५० हजार भिटिएम खरिद गर्ने निर्णय गरेको छ । परीक्षणमा प्रयोग हुने रिएजेन्ट लगायतका सामग्री समेत खरिद गर्न समितिले सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ । निर्देशक समितिले तेस्रो मुलुकबाट आउने नागरिकलाई प्रदेश प्रवेश विन्दुमा नेपाली सेनाले होल्डिङ्ग एरिया बनाई व्यवस्थापन गर्ने र काठमाडौँदेखि तोकिएको क्वारेण्टाइनसम्म आउदाको खाना, खाजा लगायतको यातायात खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय गरेको छ । प्रदेश सरकारले स्वदेश आउन चाहने नागरिकहरूको समन्वय र सहयोग गर्ने जिम्मेवारी आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई दिएको छ । लकडाउनको कार्यान्वयन तथा व्यवस्थापनका लागि स्थानीय तह, स्थानीय प्रशासन र निजी क्षेत्रका सङ्घ संस्थाहरूको सहकार्यमा आवश्यक रणनीति लागु गर्ने निर्णय समेत गरेको छ ।

महोत्तरी प्रतिनिधि अजयकुमार साहका अनुसार जलेश्वरस्थित कोरोना विशेष अस्पतालमा बेड नभएपछि कोरोना सङ्क्रमितहरूलाई क्वारेण्टाइनमा नै छुट्टै व्यवस्था गरी राखिएको छ । अस्पतालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५० पुगिसकेकाले थप सङ्क्रमितलाई त्यहाँ राख्न नसकेको जलेश्वर अस्पतालका अध्यक्ष सुरेश पाण्डेयले बताउनु भयो । उहाँले हालसम्म भेन्टिलेटरको भने व्यवस्थापन हुन नसकेको बताउनु भयो । जिल्लामा सङ्क्रमितको सङ्ख्या अत्याधिक भएपछि ठाउँ अभाव भएको उहाँले बताउनु भयो । उहाँले अझै क्वारेण्टाइन मै थप ३१ जना रहेको आफूलाई जानकारी आएको र उनीहरूका लागि बेडको व्यवस्थापनको प्रयास भइरहेको भन्दै बेड व्यवस्थापन हुनासाथ सबैलाई अस्पताल ल्याउने बताउनु भयो । भङ्गहा नगरपालिकाकै क्वारेण्टाइनमा रहेका तीन जना अस्पतालमा आइसोलेशन बेड नपाएपछि विगत तीन दिनदेखि क्वारेण्टाइनमै बसेका छन् ।

बागमती प्रदेश

भरतपुर कोरोना ल्याबमा परीक्षण गरिएकामध्ये २३ जना व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । सङ्क्रमितहरूमा दुई जना निजी अस्पतालमा कार्यरत चिकित्सक हुन् । यता धादिङ जिल्लामा पनि एक जना बेवारिसे महिला सहित १७ जनामा कोरोना पोजेटिभ देखिएको छ । यससँगै प्रदेशमा कोरोना सङ्क्रमतिहरू १ सय १४ जना पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोतमराज सेढाईँले बताउनु भयो ।

दोलखा प्रतिनिधि उद्धव पोखरेलका अनुसार रामेछाप जिल्लाको गोकुलगङ्गाको क्यारेण्टाइनबाट भागेका कोरोना सङ्क्रमित एक पुरुष तामाकोशी गाउँपालिकामा भेटिएका छन् । रामेछाप जिल्लाको गोकुलगङ्गा गाउँपालिका-४ बेताली घर भएका कोरोना भाइरस सङ्क्रमित पुरुष जेठ २६ गते तामाकोशी गाउँपालिका-६ च्यामा स्थित ससुराली घरमा फेला परेका हुन् ।

क्यारेण्टाइनबाट दुई दिनअघि भागेका सङ्क्रमितलाई रामेछाप प्रहरीको जिम्मा लगाइएको तामाकोशी गाउँपालिका-६ का अध्यक्ष झनकबहादुर खत्रीले जानकारी दिनुभयो । उनलाई प्रहरीले रामेछापको मन्थली लगेको छ । भारतबाट फर्किएका ती पुरुषको पीसीआर परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएपछि उनी फरार भएका थिए । वडा अध्यक्षका अनुसार उनी क्वारेण्टाइनबाट २४ गते भागेर जङ्गलमा लुकेर बसेको र जेठ २६ गते बिहान ३ बजे मात्र ससुराली घरमा पुगेका थिए ।

सिन्धुली प्रतिनिधि बिमला पाण्डेका अनुसार लकडाउनको अवस्थामा महङ्गी बढेको र मूल्यमा एकरुपता नदेखिएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सिन्धुलीमाढीमा रहेका खाद्यान्न डिपो तथा पसलहरूको अनुगमन गरेको छ । अनुगमनका क्रममा म्याद गुज्रेका खाद्यबस्तु भेटिएका छन् । २४ ओटा डिपो तथा पसलहरूमा गरिएको अनुगमनमा अखाद्य पदार्थ विक्री भइरहेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धिप्रकाश सिग्देलले बताउनु भयो । कमलामाई नगरपालिका-६ रातमाटा र वडा नं ४ ढुङ्ग्रेबासमा रहेका दुई दर्जन खाद्यान्न डिपो तथा पसलहरूको अनुगमन गर्दा म्याद नाघेका खान अयोग्य भएका खाद्यान्न बस्तुहरू भेटिएपछि नष्ट गरिएको छ ।

मकवानपुर प्रतिनिधि पुष्पराज अधिकारीका अनुसार लकडाउनको कारण मल नपाएपछि मकवानपुरका किसानले हेटौँडाको मेनरोडमा धर्ना दिएका छन् । किसान स्वःस्फुर्त रूपमा धर्नामा बसेका हुन् । हेटौँडाका मल व्यावसायीहरूले मलको कालोबजारी गरिरहेका किसानको आरोप छ । कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले मल उपलब्ध गराउन नसकेकोले कृषकलाई मल दिन नसकिएको कृषि सहकारीहरूले बताउँदै आएका छन् । मल विक्री वितरण गर्दै आएका हुप्रचौर कृषि सहकारी संस्थाका सञ्चालक सुजल श्रेष्ठले मकै कृषकहरू दैनिक युरिया मलको खोजीमा आउने गरेको बताउनु भयो । किसानको मागअनुसार मल नआएकोले कृषकहरूलाई मल दिन नसकेको उहाँले बताउनु भयो ।

भक्तपुर प्रतिनिधि रमेश गिरीका अनुसार भक्तपुर अस्पतालमा एक सुत्केरीको मृत्यु भएपछि अस्पतालको सबै सेवा बन्द गरिएको छ । सुत्केरी व्यथा लागेपछि जेठ २५ गते साँझ सवा ६ बजे अस्पताल आएकी सिन्धुपाल्चोक लिसंखुपाखर गाउपालिका-३ घरभई हाल चाँगुनारायण नगरपालिका-३ झौखेल बस्ने ३६ वर्षीय सन्तमाया लामाको सुत्केरी भएको आधा घण्टापछि राति ९ः३० बजे मृत्यु भएको अस्पतालले प्रेस विज्ञप्ति जारी गरि जानकारी दिएको छ ।

सुत्केरी भएको आधा घण्टापछि मृत्यु भएकी महिलामा कोरोना भाइरस सङ्क्रमण रहेको आशङ्काले अस्पतालको सेवा बन्द गरिएको अस्पतालको मेडिकल सुपरिटेण्डन्ट डा. सुमित्रा गौतमले जानकारी दिनुभयो । अस्पताल आउदा नै बिरामीमा खोकी, श्वासप्रश्वासमा समस्या र जाँच गर्दा छातीमा खराबी देखिएको उहाँले जानकारी दिनुभयो । सुत्केरी भए लगत्तै महिलालाई एक्कासी श्वास फेर्न गाह्रो भई शरीरमा अक्सिजनको मात्रा घटेपछि बचाउन अधिकतम प्रयास गर्दा पनि नसकिएको मेसु डा. गौतमले बताउनुभयो । महिलाको आरडीटी परीक्षणमा कोरोना भाइरस पोजेटिभ आएको थियो । मृत्युपछि स्वाब सङ्कलन गरी राति करिब १० बजे पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको र रिपोर्ट आउन बाँकी भएको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेश

कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार कास्कीमा कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा चुनौती देखिएको छ । गण्डकी प्रदेश सरकारले कोरोना सङ्क्रमितको मृत्यु भएको खण्डमा शव व्यवस्थापन गर्ने ठाउँ तथा कार्यविधि तय नगर्दा समस्या उत्पन्न भएको हो । जेठ २५ गते कोरोना सङ्क्रमणबाट मृत्यु भएका स्याङ्जा जिल्लाका ५८ वर्षीय पुरूषको शवलाई व्यवस्थापन गर्न करिब २० घण्टा लागेको छ । शवलाई कहाँ गाड्ने भन्ने बारेमा अन्यौलका बीचमा पोखरा महानगरपालिका-११ स्थित सेती घाटमा शव व्यवस्थापन भएको छ । पोखरा महानगरपालिकालाई शव व्यवस्थापनका लागि स्थान तय गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले जिम्मेवारी दिएको थियो । पोखरा महानगरले समुदायको परम्परा अनुसार उनको शव हरियो खर्कमा व्यवस्थापन गर्ने निर्णय गरेको थियो । तर, वडा नम्बर १५ हरियो खर्कमा खाल्डो खन्न पुगेको जेसिवी स्थानीयले फर्काइदिएका थिए ।

प्रदेश ५

गुल्मी प्रतिनिधि टोपलाल अर्यालका अनुसार कोरोना परीक्षण सुस्त हुँदा क्वारेण्टाइन व्यावस्थापनमा स्थानीय तहलाई समस्या पर्दै गएको छ । आरडीटी परीक्षण गरेर नेगेटिभ आएकालाई घर पठाइँदै आएकोमा एउटै क्वारेण्टाइनमा बसेकाहरूको कसैको पोजेटिभ र कसैको नेगेटिभ रिपोर्ट आउँदा समुदाय स्तरबाट आलोचना भइरहेको इस्मा गाउँपालिका उपप्रमुख बिमला खत्रीले बताउनु भयो । उहाँले पीसीआर रिपोर्ट समयमै नआउने कारण व्यावस्थापनमा निकै कठिनाइ आएको बताउनु भयो ।

दाङ प्रतिनिधि जयनारायण पुनका अनुसार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण प्रदेश कार्यालय नेपालगञ्जले जेठ २६ गते दाङको घोराहीमा गरेको अनुगमनका क्रममा स्वास्थ्य सामग्री मास्क, पीपीइ र थर्मल गनको मूल्य बढाएर विक्री वितरण गरेको भन्दै तीन ओटा सर्जिकल पसललाई २/२ लाख रुपियाँका दरले जरिबाना गरिएको कार्यालय प्रमुख कृष्णप्रसाद पौडेलले बताउनु भयो ।

कर्णाली प्रदेश

कालीकोट प्रतिनिधि कालीबहादुर मल्लका अनुसार सदरमुकाम मान्मस्थित एकीकृत भवनमा रहेको आइसोलेशनमा राखिएका कोरोना सङ्क्रमितहरूले खानेपानीको सुविधा नहुँदा शौचालयमा राखिएको पानी खाने गरेको गुनासो गरेका छन् । दुई ओटा ट्याङ्कीको पानी सकिएपछि शौचालयमा राखिएको दुषित पानी खानु परेको एक सङ्क्रमितको भनाइ छ । उक्त आइसोलेशनमा हाल २९ जना बसिरहेका छन् । सबैलाई एउटै हलमा राखिएकाले अन्य रोग लागेर बिरामी हुन सक्ने शुभकालिका गाउँपालिका निवासी २५ वर्षीय सङ्क्रमित युवाले बताउनु भयो । उहाँका अनुसार कहिलेकाहीँ धारामा आएको पानीले १९ जना सङ्क्रमितलाई हातमुख धुने, नुहाउने, पिउने गर्दा अपर्याप्त छ । यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले आइसोलेशन तत्काल व्यवस्थापन गरेकाले समस्याहरू देखिएको भन्दै सरोकारवाला निकायसँग छलफल गरी समाधान गरिने बताउनु भयो ।

सुदूरपश्चिम प्रदेश

अछाम प्रनिनिधि शिवराज ढुङ्गानाका अनुसार सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोना सङ्क्रमण आशङ्का गरिएका व्यक्तिको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन पाँच दिन रोक्न भनेपछि आरडिटी पोजेटिभ देखिएका क्वारेण्टाइनमा रहेका व्यक्तिहरूको पीसीआर परीक्षण नहुँदा सङ्क्रमण फैलने सम्भावना रहेको तुर्माखाँद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माले बताउनु भयो । स्वाब सङ्कलन रोक्नु, सङ्कलित भएका स्वाब समयमै परीक्षण नहुनु, स्वाब सङ्कलनका लागि आवश्यक भिटिएम र आरडिटी किटको अभावले कोरोना भाइरस सङ्क्रमण फैलन सक्ने स्वास्थ्य कार्यालय, अछामका प्रमुख झनकराज ढुङ्गानाले बताउनु भयो ।

डोटी प्रतिनिधि बासुदेव जोशीका अनुसार आदर्श गाउँपालिका-४ को भगवती मावि, तलाराको क्वारेण्टाइनमा रहेका व्यक्तिहरूले आफूहरूको स्वास्थ्य चेकजाँच र उपचार नगरिएको गुनासो गरेका छन् । जेठ १२ गते भारतबाट आएर गाउँपालिकाले बनाएको क्वारेण्टाइनमा बसेका ४० जनामध्ये आफूलगायत २० जनालाई झाडा पखाला लागेको भए पनि कुनै उपचार नपाएको क्वारेण्टाइनमा रहेका श्याम ओडले बताउनु भयो । उहाँले भन्नु भयो-'गाउँपालिकाका जनप्रतिनिधिसँग बिरामी भएको जानकारी गराएका छौँ । स्वास्थ्यकर्मी पठाउँछौँ भनेको १५ दिन भइसक्यो । ओढ्ने ओछ्याउने नभएका कारण चिसो लागेर बिरामी भएका छौँ ।' गाउँपालिकाका अध्यक्ष टेकबहादुर रोकायाले तुरुन्तै उपचारका लागि स्वास्थ्यकर्मी पठाउने तयारी भइरहेको बताउनु भयो । उहाँले भन्नु भयो-'क्षमताभन्दा बढी मान्छे क्वारेण्टाइनमा राख्नुपर्ने बाध्यता छ । सीमित शौचालयहरू छन् । जसका कारण मापदण्डअनुसार क्वारेण्टाइन व्यवस्थापन गर्न सकिएको छैन ।'

बाजुरा प्रतिनिधि पदमबहादुर सिंहका अनुसार बुढीगङ्गा नगरपालिकाको नगर कार्यपालिकाको जेठ २६ गते बसेको बैठकले कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीको ज्यान गएमा १० लाख क्षतिपूर्ति र सन्तानलाई १२ कक्षासम्म निःशुल्क शिक्षा दिने निर्णय गरिएको नगरपालिकाका प्रमुख दिपकविक्रम शाहले बताउनु भयो ।


अनलाइन डेस्क