कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार ३० गते)

  ०७७ असार ३० गते

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले असार ३० गते जारी गरेको प्रतिवेदनका अनुसार सङ्क्रमितको सङ्ख्या १७ हजार ६१ पुगेको छ । तीमध्ये आधाभन्दा बढी अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ३ सय २८ जना सङ्क्रमित निको भएका हुन् । असार ३० गते १ सय १६ जनामा सङ्क्रमण देखिएको हो । कूल Table_corona_July_14सङ्क्रमितमध्ये ६ हजार ६ सय ९५ जनाको उपचार भइरहेको छ ।

 प्रदेश २

प्रदेश २ मा असार ३० गतेसम्म ४ हजार ३ सय ९२ जना कोरोना सङ्क्रमित पुगेकोमा २ हजार ४ सय ८१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । प्रदेशमा हाल १ हजार ९ सय ७ जना उपचाररत छन् । असार ३० गतेसम्म चार जना सङ्क्रमितको मृत्यु भएको नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार छिन्नमस्ता गाउँपालिका–२ स्थित राष्ट्रिय प्राथमिक विद्यालयको क्वारेण्टाइनमा रहेका सोही गाउँपालिका–३ का १९ वर्षीय पुरुषलाई असार २९ गते राति करिब ९ बजे सर्पले डसेको वडा नम्बर ३ का अध्यक्ष दीपेन्द्रकुमार यादवले बताउनु भयो । सर्पदंशबाट घाइते भएका कोरोना सङ्क्रमितलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको छ । चार दिनदेखिको अविरल वर्षाका कारण क्वारेण्टाइनमा वर्षाको पानी पसेकाले क्वारेण्टाइनमा बसेकाहरूले थप असुरक्षित महसुस गरेको बताएका छन् । क्वारेण्टाइनलाई व्यवस्थित गर्न उनीहरूले माग गरेका छन् ।

कर्णाली प्रदेश

जुम्ला प्रतिनिधि मानदत्त रावलका अनुसार चन्दननाथ नगरपालिका–५ को मूल बजार क्षेत्रका व्यापारीलाई कोरोना सङ्क्रमण देखिएपछि सदरमुकाम खलङ्गामा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । कोरोना सङ्क्रमण समुदायमा फैलिनबाट रोक्न जुम्ला जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा असार ३० गते दिँउसो ३ बजेदेखि अर्को निर्णय नभएसम्मको लागि निषेधाज्ञा जारी गरेको उल्लेख छ । औषधि पसल, स्वास्थ्य सेवाबाहेक सम्पूर्ण क्रियाकलाप पूर्णरूपमा बन्द गर्ने निर्णयसहित चन्दननाथ नपाको पूर्वमा दानसाँघु, पश्चिममा उमगाड, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा तिला नदी क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको छ ।

सुदूरपश्चिम प्रदेश

डोटी प्रतिनिधि बासुदेव जोशीका अनुसार इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले असार २९ गते पूर्वीचौकी गाउँपालिकालाई मानव अधिकार समूहमार्फत पूर्वीचौकी गाउँपालिकाका प्रमुख दिर्घराज बोगटीलाई मेडिकल मास्क, साबुन, डिस्पोजेबल ग्लोब्स र सेनिटाइजरलगायतका स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरिएको छ । इन्सेकले गरेको सहयोगले गाउँपालिकालाई राहत मिल्नुको साथै मानव अधिकार संरक्षण तथा संवद्र्धनमा आगामी दिनमा पनि इन्सेकसँग गाउँपालिकाले सहकार्य गर्ने गाउँपालिका प्रमुख दिर्घराज बोगटीले बताउनु भयो ।

डडेल्धुरा प्रतिनिधि भूपेन्द्र विष्टका अनुसार इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले नवदुर्गा गाउँपालिकामा असार २९ गते नवदुर्गा गाउँपालिकास्तरीय मानव अधिकार समूहमार्फत गाउँपालिकाका अध्यक्ष कविन्द्र विष्टलाई मेडिकल मास्क, साबुन, डिस्पोजेबल ग्लोब्स र सेनिटाइजर हस्तान्तरण गरेको इन्सेकका जिल्ला कार्यक्रम सहजकर्ता लोकेन्द्र विकले बताउनु भयो । इन्सेकले गरेको सहयोग सामग्रीले नगरपालिकालाई राहत मिलेको नवदुर्गा गाउँपालिकाका अध्यक्ष कविन्द्र विष्टले बताउनु भयो । यसैगरी, इन्सेकले असार २८ गते अमरगढी नगरपालिकाका प्रमुख विपिन ओझालाई मेडिकल मास्क, साबुन, डिस्पोजेबल ग्लोब्स र सेनिटाइजर हस्तान्तरण गरेको थियो । स्वास्थ्य सामग्री ग्रहण गर्दै नगरप्रमुख ओझाले इन्सेकलाई धन्यवाद दिँदै मानव अधिकारको आगामी अभियानमा सहकार्य गर्दै अगाडि बढनुपर्ने बताउनु भयो ।


अनलाइन डेस्क