कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २२ गते)

  ०७७ जेठ २२ गते

नेपालमा जेठ २२ गतेसम्म ६५ जिल्लाका २ हजार ६ सय ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जेठ २२ गते एकै दिन ३ सय ३४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार जेठ २२ गते कोरोनाका कारण एक जनाको मृत्यु पुष्टि भएसँगै कोरोनाका कारण मृत्यु हुनेको सङख्या १० पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पाल्पाका ४० वर्षीय पुरुष्को कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । जेठ २० गते मिशन अस्पताल पाल्पाको आइसोलेशन कक्षमा उनको मृत्यु भएको थियो । उनमा कोरोना सङ्क्रमणको पुष्टि भने जेठ २२ गते मात्रै भएको हो ।

स्रोत: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
स्रोत: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

प्रदेश १

प्रदेश १ मा जेठ २२ गते ३० जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड-१९ मा उपचाररत २७ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान कोभिड-१९ मा उपचाररत तीन जना जेठ २२ गते डिस्चार्ज भएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनु भयो । सामाजिक विकास मन्त्रालयका अनुसार डिस्चार्ज हुनेको सङ्ख्या ७८ जना पुगेको छ । प्रदेश १ मा जेठ २२ गते १६ जना कोरोना सङ्क्रमित थपिएका छन् । दश जिल्लामा सङ्क्रमितको सङ्ख्या २ सय १ पुगेको छ ।

मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार सुन्दरहरैचा नगरपालिकाको गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजमा जेठ २२ गतेदेखि २ सय शैयाको कोरोना उपचार केन्द्र सञ्चालनमा ल्याइएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनु भयो । जेठ २२ गतेदेखि सङ्क्रमण देखिएकाहरूलाई गोठगाउँमा उपचार सुरू गरिएको मन्त्री घिमिरेले बताउनु भयो । गोठगाउँपछि मेची अस्पतालमा कोरोना उपचार केन्द्र सञ्चालनको तयारी भइरहेको उहाँले बताउनु भयो । प्रदेशमा पहिलो पटक उदयपुरको भुल्केमा देखिएको कोरोना सङ्क्रमणको अन्त्य भएको पनि मन्त्री घिमिरेले बताउनु भयो । वैशाख ५ गते उदयपुरको भुल्केमा सङ्क्रमण देखिएको थियो । उदयपुरमा सङ्क्रमण देखिएका ३३ जना नै डिस्चार्ज भएसँगै भुल्के सङ्क्रमणको अन्त्य भएको मन्त्री घिमिरेले बताउनु भयो ।

झापा प्रतिनिधि नरेश खातीका जेठ २२ गते जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले कचनकवल गाउँपालिकामा नेपाली सेना परिचालन गर्ने निर्णय गरेको छ । प्रदेश १ मा सबैभन्दा बढी कोरोना सङ्क्रमित भएको कचनकवल गाउँपालिकामा सेना परिचालन गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताउनु भयो । क्वारेण्टाइनको सञ्चालन र व्यवस्थापन कार्यमा थप सहयोगका लागि नेपाली सेनाको अस्थायी पोष्ट तैनाथ गर्ने बैठकले निर्णय गरेको छ ।

प्रदेश २

सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार हनुमाननगर कंकालिनी नगरपालिका-३ स्थित कंकालिनी मावि पोर्ताहाको क्वारेण्टाइनमा बसेकाहरूले घर जानुपर्ने माग गर्दै जेठ २२ गते स्वास्थ्यकर्मीहरूलाई गालीगलौज गर्दै झगडा गरेको स्वास्थ्य संयोजक रामदेव यादवले बताउनु भयो । भारतको विभिन्न राज्यबाट आई १४ देखि २२ दिन बसेकाहरूले अविलम्ब पीसीआर परीक्षण गर्नुपर्ने अन्यथा आरडिटी परीक्षण गरेर छाड्नु पर्ने भन्दै स्वास्थ्यकर्मीहरूलाई गालीगलौज गरेको र सम्झाउनु पर्ने वडा अध्यक्षले समेत क्वारेण्टाइनमा बसेकाहरूको पक्ष लिएर उनीहरूलाई छाड्न दबाब दिएको स्वास्थ्य संयोजक यादवले बताउनु भयो ।

बोदे बर्साइन नगरपालिका-५ स्थित चन्द्र नमुना माविको क्वारेण्टाइनमा बसेका व्यक्तिहरूले कोरोना परीक्षण नगरेर थुनेर राखेको आरोप लगाउँदै असन्तुष्टी व्यक्त गरेका छन् । उनीहरूले विद्यालयको डेस्क, वेञ्च सडकमा तेर्स्याएर जेठ २१ गते हुलाकी सडक समेत अबरुद्व गरेको स्थानीय उमेश साहले बताउनु भयो । नगरपालिका प्रमुख, वडा अध्यक्ष, स्वास्थ्यकर्मीहरूले पीसीआर परीक्षण गराएको तर भारतबाट आएको २० दिन बित्दा समेत आफूहरूको परीक्षणतर्फध्यान नदिएको प्रकाश मण्डलले आरोप लगाउनु भयो । उक्त क्वारेण्टाइनमा रहेका १ सय ७ जनामध्ये ९२ जना दुई साता भन्दा बढी समयदेखि बसेको क्वारेण्टाइनका इन्चार्ज ऐयुब राइनले बताउनु भयो । सप्तरीको पहिलो सङ्क्रमित डाकनेश्वरी नगरपालिका-३ हटेलका १८ वर्षीय युवकलाई २५ दिनपछि जेठ २२ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेशनबाट डिस्चार्ज गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. चुमनलाल दासले बताउनु भयो ।

धनुषा प्रतिनिधि दीपेन्द्रप्रसाद सिंहका अनुसार प्रदेश २ को प्रदेश सभाको सुरक्षार्थ खटिने पाँच जना मर्यादापालकहरूमा कोरोना सङ्क्रमण देखा परेपछि जेठ २२ गते ३ बजे बोलाइएको प्रदेश सभा बैठक स्थगित गरिएको छ । जेठ १६ गते प्रदेशसभाका सांसद, कर्मचारी र सुरक्षाकर्मीको स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौँमा परीक्षण गर्दा पाँच जना सुरक्षाकर्मीमा पोजेटिभ रिपोर्ट आएपछि प्रदेश सभामा सुरक्षा सतर्कता अपनाइएको सचिवालयका सहसचिव रञ्जित यादवले बताउनु भयो । प्रदेश सभाको बैठक जेठ २३ गते दिउँसो १ बजेलाई तय गरिएको छ । सङ्क्रमण देखिएकाहरू नेपाल प्रहरीका कर्मचारी रहेको र पाँचै जनालाई आइसोलेशनमा राखिएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताउनु भयो ।

सर्लाही प्रतिनिधि बुधन साहका अनुसार भारतबाट फर्किएका सयौँ व्यक्तिलाई जिल्ला सदरमुकाम मलंगवा नगरपालिका-२ स्थित कवर्ड हलमा बनाइएको क्वारेण्टाइनमा अव्यवस्थित तरिकाले राखिएको छ । खाना, खाजा र पानी घरबाट मगाएर खानुपरेको साथै सेनिटाइजर, माक्स, साबुन र सरफको व्यवस्था आफैँले गर्नुपरेको क्वारेण्टाइनमा बसेका २६ वर्षीय रामविश्वास यादवले बताए । क्वारेण्टाइनमा पर्याप्त शौचालय नहुँदा दिसा पिसाबका लागि बाहिर निस्कनु पर्ने बाध्यता रहेको उनले बताए । क्वारेनटाइनमा खान, खाजा तथा चिया कहिलेकाहीँ ढिलो भएको र सेनिटाइजर, मास्क र साबुनको व्यवस्था गरिएको र क्वारेनटाइनमा बस्नेहरूले जथाभावी खर्च गरिरहेको मलंगवा नगरपालिका-२ का वडा अध्यक्ष रामउजैन रायले बताउनु भयो ।

रौतहट प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा जेठ २२ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले जेठ २३ गतेदेखि जेठ ३२ गतेसम्म औषधि पसल २४ सैँ घण्टा, बैँक तथा बित्तिय संस्था प्रत्येक दिन बिहान ११ बजेदेखि २ बजेसम्म र खाद्यान्न, किराना पसल र गैर खाद्यान्न पसलहरू एक-एक दिन बिराएर आलोपालो गरी बिहान १० बजेदेखि ५ बजेसम्म खोल्न दिने निर्णय गरेको छ । सेवा प्रवाह गर्दा वा माल सामान खरिद बिक्री गर्ने क्रममा भिडभाड हुन नदिन तथा उपभोक्ता बिच ३ फिटको दुरी कायम हुने गरी लाइनको व्यवस्थापन गर्नुपर्ने, व्यवसायी र ग्राहक सबैले अनिवार्य रुपमा मास्क लगाएको हुनुपर्ने, बैँक तथा बित्तीय संस्था र पसलमा सेनिटाइजर तथा साबुनले हातधुने पानीको व्यवस्था हुनुपर्ने र व्यवसाय संचालन तथा मालसमान खरिद गर्न जाँदा सवारी साधनको प्रयोग गर्न नपाइने, तर बैँक तथा बित्तीय संस्था, औषधी पसल जस्ता अति आवश्यक सेवा सञ्चालन गर्नको लागि सवारी साधनको प्रयोग गर्नुपर्ने अवस्थामा मुख्य शहर भन्दा बाहिर तोकिएको स्थानमा पार्किङ्ग गर्न सकिने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत किरणनिधि तिवारीले बताउनु भयो ।

चन्द्रपुर नगरपालिका-८ बस्तिपुरका सात घर डोम परिवारमा खाद्यान्नको अभाव भएको छ । सोही ठाउँका ३५ वर्षीय जदुनन मल्लिकले चन्द्रपुर नगरपालिकामा ज्यालादारीमा सरसफाइको मजदुरी गरी परिवार पाल्दै आएकोमा लकडाउनका कारण हातमुख जोर्न अहिले समस्या भएको बताए । वडा कार्यालयबाट एक महिना अघि एकपल्ट राहत पाएको र त्यो पनि सकिदा भोकै मर्ने दिन आएको उनले बताए । सोही ठाउँका १८ वर्षीय संजय मल्लिकले नागरिकता नहुँदा आफूले राहतसमेत नपाएको गुनासो गरे । सो विषयमा चन्द्रपुर नगरपालिकाका अध्यक्ष रामचन्द्र चौधरीले बडास्तरबाट यसअघि राहत दिएको जनाउँदै आगामी दिनमा असहाय र विपन्न परिवारलाई राहत वितरण गरिने बताउनु भयो ।

बागमती प्रदेश

यस प्रदेशको सिन्धुली जिल्लामा जेठ २२ गते एकजना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । यो सँगै यस प्रदेशमा कोरोना सङ्क्रमण भएकाहरूको सङ्ख्या ५८ पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोतम राज सेढाईले बताउनु भयो ।

धादिङ प्रतिनिधि सीताराम अधिकारीका अनुसार जिल्लामा कोरोना भाइरसको परीक्षण गर्ने किटको अभाव भएको छ । भारत लगायतका स्थानहरूबाट गाउँ आउनेको सङ्ख्या बढेको बेला परीक्षण किट अभाव भएको हो । जेठ १ गतेदेखि जेठ २२ गतेसम्म भारतबाट ७ सय १३ जना जिल्ला भित्रिएका छन् । उनीहरू केही स्थानीय सरकारले बनाएको क्वारेण्टाइनमा बसेका छन् भने केही स्थानीय तहसँग समन्वय नगरी घरघरमा गएर बसेका छन् । सिद्धलेक गाउँपालिका-५ एक साताको बीचमा भारतबाट आएका ६ जना क्वारेण्टाइनमा नबसी घरमै बसेको स्थानीय टङ्कलाल श्रेष्ठले बताउनु भयो । आरडीटी किट जिल्लामा हाल २० ओटा मात्र रहेको स्वास्थ्य कार्यालयका प्रमुख डा. भुवन पौडेलले बताउनु भयो ।

दोलखा प्रतिनिधि उद्धव पोखरेलका अनुसार आफूहरूलाई गैरकानुनी रूपमा हटाइएको भन्दै स्वास्थ्यकर्मी र कर्मचारीहरू आन्दोलनमा उत्रिएपछि चरिकोटस्थित सरकारीस्तरको प्राथमिक स्वास्थ्य केन्द्र तथा प्रस्तावित चरिकोट अस्पतालको सेवा ठप्प भएको छ । कोरोना सङ्क्रमण फैलिरहेको बेला सदरमुकाममा रहेको सरकारी अस्पतालको सेवा ठप्प भएपछि सर्वसाधारण मारमा परेका छन् । न्याय हेल्थ नेपाल नामक गैरसरकारी संस्थाले ३६ जना स्वास्थ्यकर्मीलाई श्रम ऐन २०७४ को दफा १४५ विपरीत सम्झौता नवीकरण नगर्ने भन्दै हटाएपछि आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मीका कारण अस्पतालको आकस्मिक बाहेकका सबै सेवा ठप्प भएको हो ।

१० वर्षसम्म निःशुल्क सेवा दिने भन्दै व्यवस्थापन जिम्मा लिएको न्याय हेल्थ नेपालले दाताले बजेट कटौती गरेको भन्दै जेठ १६ गते पत्र दिएर कर्मचारीहरूलाई म्याद थप नगर्ने सूचना दिएको थियो । कोभिड-१९ को माहामारी नियन्त्रणका लागि खटाउनु पर्ने बेला १९ स्वास्थ्यकर्मीसहित निष्कासित ३६ कर्मचारीको आन्दोलनको कारण यतिबेला सेवा ठप्प भएको हो ।

इन्सेक काठमाडौँ जिल्ला प्रतिनिधि विमला पौडेलका अनुसार पछिल्लो समय उपत्यकामा व्यवसायीहरूले आफूखुसी पसल खोल्न थालेका छन् । व्यापारीले जेठ २२ गते बिहान काठमाडौँका मुख्य व्यापारिक केन्द्र न्युरोड, कोटेश्वर, बौद्ध, भोटेबहाल, इन्द्रचोकलगायतका क्षेत्रका पसलहरू खुला गरेका हुन् । जेठ २२ गते प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र व्यापारीबीचको छलफलमा लकडाउनको समयमा व्यापार व्यवसाय सञ्चालन गर्ने बारे कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समितिमा जानकारी गराउने निर्णय गरेको थियो । तर उक्त निर्णयको जबाफ नआउँदै व्यापारीहरूले आफूखुसी पसल सञ्चालन गर्न थालेका छन् ।

गण्डकी प्रदेश

तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराई का अनुसार तनहुँ जिल्लामा आरडीटी किटको अभाव भएको छ । सम्बन्धित निकायबाट नै किट नआउँदा अहिले जिल्लामा किटको अभाव भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले बताउनुभयो । जिल्लाका सबै स्थानीय तहमा अहिले करिब २ सय भन्दा बढीलाई पीसीआर परीक्षण गर्न बाँकी नै रहेको अधिकारीले बताउनुभयो । आरडीटी किट नहुँदा क्वारेण्टाइनमा बस्नेहरूको पहिलो चरणको परीक्षण गर्न नसकिएको देवघाट गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख प्रदीपकुमार बुढाथोकीले बताउनुभयो । कतिपय व्यक्तिलाई आरडीटी परीक्षण गरेर पनि घर पठाउन सकिने हुँदा उक्त किटको पनि व्यवस्था गर्न सकेमा राम्रो हुने उहाँको भनाइ छ । आरडीटी किटका लागि जिल्लामा फोन गर्दा अब स्थानीय तहले नै किट खरिद गर्नुपर्ने जवाफ आएको उहाँले बताउनुभयो ।

बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार जेठ २२ गते थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीहरूको उपचार धौलागिरी अस्पतालमा गर्ने निर्णय भएको छ । १२ बेड क्षमताको आइसोलेशन रहेको धौलागिरी अस्पतालमा यस अगाडि नै ६ जना सङ्क्रमितको उपचार भइरहेको छ । अस्पतालले जेठ २२ गते थप १२ ओटा बेडको निर्माण गरेर नयाँ सङ्क्रमितलाई पनि धौलागिरी अस्पतालमै राखेर उपचार गरिने निर्णय गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो । निसीखोला गाउँपालिकाको क्वारेण्टाइनमा रहेका सङ्क्रमित एक महिला र दुई जना पुरुषलाई सवारी साधन नभएको कारण आज क्वारेण्टाइनमै राख्नुपर्ने बाध्यता भएको गाउँपालिका प्रमुख तारानाथ पौडेलले बताउनुभयो । हामीसँग एम्बुलेन्स छैन, सवारी साधन छैन ।'-उहाँले भन्नुभयो-'सार्वजनिक सवारी साधनले सङ्क्रमित बोक्न मान्दैनन् । बिहानैदेखि दौड्धुप गरिए पनि आज कुनै व्यवस्था गर्न सकिएन ।'

प्रदेश ५

पाल्पा प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाका अनुसार युनाइटेड मिशन अस्पताल तानसेनमा आइसोलेशनमा उपचारका क्रममा जेठ २० गते मृत्यु भएका पूर्वखोला गाउँपालिकाका ४५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतबाट जेठ १८ गते आएर पूर्वखोला गाउँपालिका-२ जल्पा क्वारेण्टाइनमा रहेका उनलाई जेठ १९ गते स्वास्थ्य समस्या भएपछि तानसेनस्थित मिशन अस्पताल ल्याइएको थियो । मृत्युपछि उनको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख विश्वराज न्यौपानेले बताउनु भयो ।

कपिलवस्तु प्रतिनिधि पार्वती अचार्यका अनुसार जिल्लामा कोरोना भाइरस सङ्क्रमित बढ्दै गएपछि कृष्णनगर सिमानाका र मर्यादपुरको सुठौली सिमानाकामा नेपाली सेनाले होल्डिङ डेक्स स्थापना गरेको छ । भारतबाट आएका नागरिकहरूलाई व्यवस्थापन गरी उनीहरूको स्वास्थ्य चेकजाँच गर्ने प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताउनु भयो । १ सय दशमलव ४ डिग्री फरेनहाइट ज्वरो आएकाहरूलाई तत्कालका लागि त्यहीँ व्यवस्थापन गरिने र लक्षण नदेखिएका र सामान्य व्यक्तिहरूलाई सम्बन्धित जिल्लाको स्थानीय तहलाई जिम्मा लगाइने प्रजिअ पौडेलले बताउनु भयो । डेक्स सञ्चालनका लागि नेपाली सेनाका मेजरको कमाण्डमा २० जना टोली खटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसैगरी जेठ २१ गते शुद्धोधन गाँउपालिकाको लबनीमास्थित अलशेख अस्पतालको आइसोलेशन सेन्टरमा बस्न अस्वीकार गर्दै भागेका शुद्धोधन गाउँपालिकाका १९ जना सङ्क्रमितलाई प्रहरीले नियन्त्रणमा लिएर आधारभूत विद्यालय गौरामा छुट्टै भवनमा राखिएको इलाका प्रहरी कार्यालय पकडीका इन्स्पेक्टर गणेश सुवेदीले बताउनु भयो । अस्पलालमा बस्दा यताउता घुम्न नपाइने र विद्यालयमा भए घुमफिर गर्न पाइन्छ भनेपछि उनीहरू विद्यालयको क्वारेण्टाइनमा जान हिँडेका थिए । उनीहरू गएको सूचना पाउनासाथ प्रहरीले ल्याएर व्यवस्थापन गरेको प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताउनु भयो ।

बर्दिया प्रतिनिधि मानबहादुर चौधरीका अनुसार बबई बहमुखी क्याम्पस गुलरियाको क्वारेण्टाइनमा रहेका गुलरिया नपा- ९ गोडियनपुरका ५५ वर्षीय पुरुषको जेठ १४ गते मृत्यु भएकोमा लापरबाहीका कारण उनको मृत्यु भएको परिवारले आरोप लगाएको छ । उनी जेठ १३ गते राति अछामबाट बर्दिया जिल्ला प्रहरी कार्यालय अगाडि आइपुगेका थिए । भोक र तिर्खा लागेकोले व्यवस्था गर्न पर्‍यो भन्दा रातिको समयमा दिन नमिल्ने र बिहानमा मात्र दिन मिल्ने क्वारेण्टाइन व्यवस्थापनले जनाकारी दिएको मृतकका २० वर्षीय छोराले बताए ।

उनले भने-'स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि स्वास्थ्यकर्मी बोलाउन वा अस्पताल लैजान एम्बुलेन्स बोलाइदिन आग्रह गरेँ । तर कसैले सुनेनन् । यति राति एम्बुलेन्स आउँदैन । भोलि बिहान मात्रै सबै कुरा हुन्छ भन्दै टार्ने काम गरे । 'तपाईँहरूले नलैजाने हो भने मलाई जान दिनुस् म आफै लैजान्छु भन्दा पनि अनुमति दिइएन ।'-उनले भने ।

गुलरिया नगरपालिकाका प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले मृत्यु भएको घटना प्रहरीमार्फत थाहा पाएको र पीडित परिवारले भने जस्तो नभएको प्रतिक्रिया दिनु भयो । उहाँले बिरामी भएको थाहा भएको तर उपचार गर्न लैजान अनुरोध नगरेको र गरेको भए एम्बुलेन्स मार्फत जसरी पनि अस्पताल लैजाने व्यवस्था गरिने थियो । मृतकको पीसीआर परीक्षण नेगेटिभ आएको थियो ।

इन्सेक अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण भुसालका अनुसार पााणिनी गाउँपालिकाका गाउँसभा सदस्य तथा वडा नम्बर-८ का वडा सदस्य ५३ वर्षीय कौसर अलिलाई जेठ २१ गते सोही ठाउँका २६ वर्षीय अजिम मियाँले कुटपिट गरी घाइते बनाएको गाउँपालिकाले जनाएको छ । क्वाारेण्टाइन व्यवस्थापनमा खटिएका र कोरोना नियन्त्रण समन्वय समितिको बैठकमा सहभागी हुनका लागि कार्यालय जाँदै गर्दा  आक्रमण भएको पाणिनी गाउँपालिकाले जेठ २२ गते प्रेस विज्ञप्तिमार्फत जनकारी गराएको छ । कुटपिट गरेको भन्दै पीडित पक्षले जेठ २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । प्रहरीले आरोपितलाई जेठ २१ गिरफ्तार गरी ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रकाश क्षेत्रीले जानकारी दिनुभयो । पीडितको जेठ २१ गतेदेखि रुपन्देही जिल्लाको क्रिमशन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रीमा बिसीका अनुसार जेठ २२ गते प्रदेश ५ को कोरोना सङ्कट व्यवस्थापन केन्द्रको बैठकले कोरोना नियन्त्रण र उपचारको कामलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको छ । कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सम्बन्धित जिल्लाको स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीय तहहरूबीचको समन्वयलाई व्यवस्थित र प्रभावकारी बनाएर आवश्यक तयारी गर्ने निर्णय गरेको हो ।

कर्णाली प्रदेश

जुम्ला प्रतिनिधि मानदत्त रावलका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले एक नगरपालिका र सात गाउँपालिकाका क्वारेण्टाइनहरूमा चिकित्सक खटाउने भएको छ । स्थानीय तहले निर्माण गरेका क्वारेण्टाइनमा बसेका नागरिकहरूको स्वास्थ्य चेकजाँच तथा रेखदेख गर्नका लागि जेठ २३ गतेदेखि १५ जना चिकित्सक खटाइने प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताउनु भयो ।

सल्यान प्रतिनिधि मीना बुढाथोकीका अनुसार उद्योग वाणिज्य सङ्घले जेठ २१ गतेदेखि निश्चित समयका लागि पसल खोल्न सूचना जारी गरेको विषयमा विवाद सिर्जना भएको छ । प्रमुख व्यापारिक केन्द्र श्रीनगरमा रहेका पसलहरू खुलेपछि वडा कार्यालयले बजार खोल्न नपाइने जनाएको छ । शारदा नगरपालिका-१ ले जिल्लामा कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढिरहेकाले पसल खोल्दा जोखिम निम्त्याउने भन्दै नखोल्न र खोल्न नदिनको लागि इलाका प्रहरी कार्यालय श्रीनगरमा पत्र पठाएको वडा अध्यक्ष नवराज बुढाथोकीले बताउनु भयो । सल्यान उद्योग वाणिज्य सङ्घले जेठ २० गते एक सूचना टाँस गरी दैनिकरूपमा पसलहरू खोल्नको लागि समय सीमा बनाएको थियो ।

सुदूरपश्चिम प्रदेश

इन्सेक कञ्चनपुर जिल्ला प्रतिनिधि कोमलनिरञ्जन भाटका अनुसार भारतबाट आएका मानिसहरूले यहाँका स्थानीय तहमा रहेका क्वारेण्टाइन भरिएर व्यवस्थापनमा कठिनाइ आएको छ । जिल्लास्तरीय होम क्वारेण्टाइन कार्यविधि, २०७७ जारी गरिएको र सोहीअनुरूप भारतलगायत तेस्रो मुलुकबाट आउने मानिसले वडाध्यक्ष, सुरक्षा निकाय र स्वास्थ्यकर्मीको समन्वयमा होम क्वारेण्टाइनमा बस्न सक्ने व्यवस्था गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताउनु भयो । नौ ओटा स्थानीय तहमा रहेको १ सय ७६ ओटा क्वारेण्टाइनमा ९ हजार ७ सय १२ बेड क्षमता रहेकोमा हालसम्म ८ हजार ८ सय ५० जना रहेको र भारतबाट आउने क्रम जारी रहेकोले स्थानीय तहमा रहेका क्वारेण्टाइनको व्यवस्थापनमा समस्या भएपछि होम क्वारेण्टाइनमा पनि बस्न सक्ने व्यवस्था गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायको भनाइ छ ।


अनलाइन डेस्क