कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ३ गते)

  ०७७ साउन ३ गते

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १७ हजार ५ सय २ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन ३ गते जारी गरेको प्रतिवेदनका अनुसार सङ्क्रमितमध्ये ११ हजार ६ सय ३७ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । ५ हजार ८ सय २५ जनाको उपचार भइरहेको छ भने ४० जनाको मृत्यु भएको छ । गत २४ घण्टामा ३ हजार ३ सय ३१ जनाको पीसीआर विधिबाट परीक्षण गरिएकोमा १ सय ३ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये निको दर ६६.५ प्रतिशत रहेको मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदनमा उल्लेख छ । साउन ३ गते सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय ५२ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । सबैभन्दा कम प्रदेश १ मा ७९ जना सक्रिय सङ्क्रमित रहेका छन् । सबैभन्दा बढी प्रदेश ५ का ३ हजार ७ सय १५ जना सङ्क्रमित डिस्चार्ज भएका छन् भने सबैभन्दा कम बागमती प्रदेशका ४ सय ३२ जना सङ्क्रमित डिस्चार्ज भएका छन् ।

प्रदेश २

प्रदेश २ मा साउन ३ गतेसम्ममा ४ हजार ४ सय ८३ जना कोरोना सङ्क्रमित पुगेकोमा २ हजार ६ सय ३३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । प्रदेशमा हाल १ हजार ८ सय ४४ जना सङ्क्रमितहरू उपचाररत छन् । साउन ३ गते सम्मा ६ जना सङ्क्रमितको मृत्यु भएको नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश ५

रोल्पा प्रतिनिधि हरिसरा घर्तीका अनुसार रोल्पा नगरपालिका–.१० र ४ मा गरी सङ्क्रमण पुष्टि भएका १३ जनामध्ये एक जना पीसीआर रिपोर्ट नआउँदै गाउँ तथा बजार क्षेत्रमा खुल्ला रूपमा हिँडडुल गरेको पाइएपछि उक्त वडा साउन ३ गते १२ बजेदेखि सिल गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । साथै साउन ४ गतेदेखि बजार क्षेत्रमा पूर्णरूपमा लकडाउन गरिने प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानाले इन्सेक प्रतिनिधिलाई बताउनु भयो । सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान गरी पीसीआर परीक्षण रिपोर्ट नआउँदासम्म लकडाउन यथावत रूपमा रहने छ । यस अवधिमा कार्यालयहरू सञ्चालनमा आएपनि साउन ३ गतेको सर्वपक्षीय बैठकले अर्को सूचना नभएसम्म सेवाप्रवाह नगर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रानाले बताउनु भयो ।


अनलाइन डेस्क