कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १८ गते)

  ०७७ जेठ १८ गते

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जेठ १८ गते १ सय ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार सबैभन्दा धेरै रौतहटमा २९ जना संक्रमित थपिएका छन् । त्यस्तै सल्यानमा २५, धनुषामा २१, कालीकोटमा र दैलैखमा १८ र १८ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै सप्तरीका १२, सर्लाहीका १०, बाँकेका आठ, पर्सा र कपिलवस्तुका पाँच/पाँच, झापामा चार, बाजुरा र कैलालीमा तीन/तीन जनामा संक्रमण पुष्टि भएको हो । स्याङ्जामा दुई, तनहुँ, मोरङ र सुर्खेतमा एक/एक जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ । निको हुनेको संख्या २ सय २० पुगेको छ भने कोरोना संक्रमणबाट आठ जनाको मृत्यु भएको छ ।

प्रदेश १

मोरङ प्रतिनिधिका अनुसार प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ६५ पुगेको छ । ११ जना महिला र १ सय ५४ जना पुरुषमा सङ्क्रमण पुष्टी भएको छ । जेठ १८ गते विराटनगरमा एक र झापाको गौरादहमा चार जनामा सङ्क्रमण पुष्टि भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा विराटनगर महानगरपालिका-१२ की ४५ वर्षीया महिला र झापाको गौरादह नगरपालिका चार जना पुरुषमा कोरोना पोजेटिभ पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ बाट जेठ १८ गतेसम्म ३० जना डिस्चार्ज भएका छन् ।

भारत लगायतका स्थानबाट नेपाल भित्रिएकाहरूलाई होल्डिङ एरियामा राखेर सम्बन्धित स्थानीय तहमा पुर्‍याउने प्रदेश सरकारको निर्णय अनुसार होल्डिङ एरिया निर्माणका क्रममा स्थानीयवासीले विरोध जनाएका छन् । विराटनगर महानगरपालिकाले विराटनगरको कालिमन्दिरको धर्मशाला, डिएभी स्कुल र दिल्ली पब्लिक स्कुलमा होल्डिङ एरिया निर्माण गर्ने तयारीसँगै अवरोध भएको छ । भारतबाट जेठ १८ गते ७६ जना नेपाली विराटनगर प्रवेश गरेका छन् । उनीहरूलाई होल्डिङ एरियामा राखिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताउनु भयो ।

प्रदेश २

प्रदेश २ मा जेठ १८ गते धनुषामा २१, सर्लाहीमा १०, रौतहटमा २८ र पर्सामा पाँच जना व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरेले बताउनु भयो ।

सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार भारतबाट आएका हनुमाननगर कंकालिनी नगरपालिका-७ का युवाहरूले जेठ १८ गते क्वारेन्टाइनमा बस्न माग गर्दै प्रदर्शन गरेका छन् । तीन दिन अघि आएका श्याम सदा, अशोक मुखिया, सञ्जय मण्डलसहितले क्वारेण्टाइनमा बस्न नपाएको तथा घरपरिवार र गाउँलेहरूले घरमा पनि बस्न नदिएको भन्दै नगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शनपछि बाहिरबाट आएकाहरूलाई हनुमाननगर कंकालिनी नगरपालिका- ५ स्थित क्वारेण्टाइनमा राखिएको छ ।

सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार को धनगढीमाइ नगरपालिका-१ स्थित महेन्द्र गेनाई अस्पताललाई कोरोना सङ्क्रमित बिरामीहरूको उपचारको लागि ३० बेडको आइसोलेशन अस्पताल बनाइएको छ । आइसोलेशन अस्पतालमा कोरोना सङ्क्रमित पुष्टि भएकाहरूको उपचार गरिने अस्पताल भनिए पनि भेन्टिलेटर नभएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले बताउनु भयो ।

धनुषा प्रतिनिधि दीपेन्द्र सिंहका अनुसार कोरोना भाइरस नियन्त्रणमा ध्यान नदिएको भन्दै तरुण दल धनुषाले जेठ १८ गते साँझ जनकपुरधाममा निकालेको मशाल जुलुस तथा विरोध प्रदर्शनमा प्रहरीले रामचौकमा लाठीचार्ज गरेको छ । प्रहरीको लाठी चार्जबाट जनकपुरधाम उपमहानगरपालिका-४ निवासी तरुण दल धनुषाका उपाध्यक्ष ३० वर्षीय राकेश विक्रम साह, तरुण दलका सदस्यहरू जनकपुरधामकै २९ वर्षीय रमेश कुमार यादव, ३५ वर्षीय राहुल मिश्र, २९ वर्षीय आशुतोष नविन झा, २७ वर्षीय विजय यादव र २९ वर्षीय भरत साह घाइते भएका छन् । घाइतेहरूलाई प्रादेशिक अस्पताल जनकपुरमा उपचारको लागि भर्ना गरिएको छ । तरुण दल धनुषाका उपाध्यक्ष राकेश विक्रम साहले तिनै तहको सरकार कोरोना महामारी नियन्त्रणमा क्वारेण्टाइन, आइशोलेसनको व्यवस्थापन गर्न नसकेको र तिनै तहको सरकारको लापरवाहीले भारतबाट आउने युवाहरू सीमामै ज्यान गुमाउनु परेको भन्दै जनकपुरधाममा मशाल जुलुस र विरोध प्रदर्शन गरेका थिए ।

सर्लाही प्रतिनधि बुधन साहका अनुसार जिल्लाका अधिकांश स्थानीय तहहरूले भारतबाट फर्किएकाहरूलाई राख्नको लागि आधारभूत तथा सामुदायिक विद्यालयलाई क्वारेण्टाइन बनाएका छन् । क्वारेण्टाइनमा पर्याप्त शौचालय नहुँदा दिसा पिसाबको लागि क्वारेण्टाइनको हाताबाट बाहिर जानु पर्ने बाध्यता रहेको छ । भारतबाट लुकिछिपी चोरबाटो भएर आउनेको सङ्ख्या बढेपछि व्यवस्थापन गर्न समस्या भएको मलङ्गवा नगरपालिकाका प्रमुख निरसल साहले बताउनु भयो । क्वारेण्टाइनमा चारदेखि पाँच जनासम्म राख्न मिल्ने कोठामा २० देखि ३० जनालाई राखिएको मलङ्गवा नगरपालिका-५ भाडँसरका स्थानीय समाजसेवी लालबाबु यादवले बताउनु भयो । मलङ्गवा नगरपालिका-२ स्थित कवर्ड हलको क्वारेण्टाइनमा बसेका व्यक्तिहरू एउटै हलमा ४० जना भन्दा बढीलाई राखिएको छ, कोठालाई सेनिटाइजर नगरिएको, ओछ्यानहरू फोहर भइसकेको साथ-साथै समय-समयमा हुनुपर्ने स्वास्थ्य परीक्षण समेत बन्द भएको समाजसेवी यादवले बताउनु भयो । अव्यवस्थित क्वारेण्टाइनमा बस्दा कोरोनाको डरको साथ-साथै अरू पनि रोग लाग्ने डरले आफूहरूलाई चिन्ता लागेको क्वारेण्टाइनमा बसेका विजय कुमार महतोले बताए ।

बागमती प्रदेश

सिन्धुपाल्चोक प्रतिनिधि नातिबाबु धितालका अनुसार कोभिड-१९को कारण देखाउँदै ०७६ चैत १५ गते जिल्ला स्वास्थ्य कार्यालयले स्थगित गरिएको दादुरा-रुवेला खोप अभियान जेठ १८ गतेबाट सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोकका स्वास्थ्य प्रमखु दुर्गादत्त चापागाईँले बताउनु भयो ।

नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकाहरूलाई रुवेला र दादुरा खोप लगाउने कार्यक्रम जिल्लाका अरु स्थानीय तहमा कार्यक्रम सम्पन्न भएको तर जुगल, बलेफी, त्रिपुरासुन्दरी, लिसंखुपाखर, भोटेकोशी, सुनकोशी गाउँपालिका र बाह्रविसे नगरपालिकामा खोप कार्यक्रम स्थगित भएको थियो । खोप कार्यक्रम बन्द भएका स्थानीय तहमा रहेका ३९ हजार ५ सय ६ जना बालबालिकाहरू तत्काल लागि खोप बाट वञ्चित भएको जिल्ला स्वास्य कार्यालयका खोप अधिकृत पारथमणि न्यौपानेले बताउनु भयो ।

भक्तपुर प्रतिनिधि रमेश गिरीका अनुसार भक्तपुरमा कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लड्न विभिन्न योजनाका साथ तयारी सुरु गरिएको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण विरुद्ध लड्न भक्तपुरस्थित सङ्कट व्यवस्थापन समिति (सीएमसी) ले विभिन्न योजनासहित तयारी अगाडि बढाएको हो ।

जिल्लास्थित राजनीतिक दलका प्रमुख, सुरक्षा निकायका प्रमुखसहित बसेको बैठकले वडा, नगर र जिल्लास्तरमा कोरोना भाइरस सङ्क्रमण रोक्न योजनाबद्ध रुपमा जिम्मेवारी वहन गर्नेगरी तयारी सुरु गरिएको सीएमसीका संयोजक एवं भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो । कोभिड १९ विरुद्ध लड्न गुणस्तरीय क्वारेण्टाइन, उपचार तथा आइसोलेशन र सङ्क्रमितको ज्यान गए शवको उचित व्यवस्थापनसम्मको तयारी गरिएको उहाँको भनाइ छ ।

काठमाडौँ प्रतिनिधि विमला पौडेलका अनुसार कोरना महामारीको कारण दीर्घ रोगीहरूलाई उपचारको लागि अस्पतालसम्म पुग्न नै समस्या परेको छ । यो समस्या हल गर्न भन्दै काठमाडौँ महानगरपालिका भित्र कोरना सङ्क्रमणका लागि पाचँ ओटा र अन्य रोगी (मधुमेय सुत्केरी, डायलासिस, हृदयघात) लगायतका बिरामीका लागि पाँच ओटा एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ । महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार कोरना पोजेटिभका लागि १०२ मा सम्पर्क गर्ने र अन्य रोगीको लागि ११८० छुट्याइएको छ । तर यो पूर्ण रुपमा पर्याप्त नभएको उहाँले स्वीकार गर्नुभयो ।

सङ्घीय राजधानीमा नै एउटा पनि क्वारेण्टाइन छैन । जसले गर्दा कोरना पोजेटिभ देखिएकालाई टेकु अस्पताल लैजानुको विकल्प छैन । आरडीटी पोजेटिभ भएकालाई होम क्वारेण्टाइनमा बस्नका लागि आग्रह गर्दै पठाइने गरेको टेकु अस्पतालका प्रवक्ता डाक्टर अनुप बास्तोलाले जानकारी दिनुभयो । महानगरपालिकासगँ आफ्नै क्वारेण्टाइन नहुनाले त्यसको प्रत्यक्ष भार अस्पताललाई परेको छ । यो विषयमा महानगरापालिकाका प्रवक्ता डङ्गोलले क्वारेण्टाइन बनाउन नसकेको भन्दा पनि ठूलोमात्रामा बनाउन पर्ने त्यसका लागि स्वास्थ्य जनशक्ति नभएकाले नबनाइएको जानकारी दिनुभयो ।

गण्डकी प्रदेश

कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रममा प्रस्तुत गर्दै कोरोनाको महामारीबाट मानव जीवनको रक्षा गर्नु प्रमुख कर्तव्य रहेको बताएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले कोभिड-१९ को परीक्षणको कार्यलाई व्यापक रुपमा विस्तार गर्ने र निःशुल्क परीक्षण तथा उपचार गर्ने कार्यलाई निरन्तरता दिइने बताउनुभयो । यस्तै ज्याला मजदुरी गरी जीवन गुजारा गर्ने र विपन्न व्यक्तिहरूलाई लकडाउनको अवधिमा जीवन निर्वाहका लागि स्थानीय तहसँगको सहकार्यमा राहत तथा रोजगारी उपलब्ध गराइने नीति प्रदेश सरकारले लिएको छ ।

तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार जिल्लामा पहिलो कारोना सङ्क्रमण पुष्टि भएपछि जेठ १८ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जिल्ला भित्रका क्वारेण्टाइनहरूमा रहेका व्यक्तिहरूको स्वास्थ्य परीक्षण तथा उनीहरूमा कोरोना सङ्क्रमण पुष्टि भएमा विभिन्न अस्पतालमा आइसोलेशन कक्ष निर्माण गरी अस्पतालका चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरूलाई तयारी अवस्थामा रहन अनुरोध गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले बताउनुभयो ।

प्रदेश ५

अर्घाखाँची प्रतिनिधि नारायण भुसालका अनुसार लकडाउनका कारण जिल्लामा तरकारीको अभाव भइरहेको बेला कपिलवस्तुबाट ल्याएको तरकारी जिल्ला प्रशासन कार्यालयको निर्देशनमा प्रहरी परिचालन गरी तरकारी नष्ट गरिएको छ । कृषकको तरकारी नष्ट गर्नु भन्दा केही समय स्टोरमै सिल गर्नुपर्ने सरोकारवाला तथा उपभोक्ताहरूको धारणा रहेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताउनु भयो ।

गुल्मी प्रतिनिधि टोपलाल अर्यालका अनुसार छत्रकोट गाउँपालिका-४ दिगामको आदर्श माविको क्वारेण्टाइनमा बसेका ५६ वर्षीय चन्द्रबहादुर परियारले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेन्द्रसिंह खड्काले बताउनु भयो । परियार जेठ १६ गतेबाट क्वारेण्टाइनमा रहेका परियार शौच गर्न भनेर क्वारेण्टाइन नजिकैको दबदबेको रुखमा झुण्डिएर आत्महत्या गरेको वडाध्यक्ष डिलाराम न्यौपानेले जानकारी दिनु भयो । क्वारेण्टाइनमा बसेकाहरूको स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम रहेकामा श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रबाट डाक्टर आएर परीक्षण गर्ने क्रममा चन्द्रबहादुरलाई नदेखिएपछि खोज्ने क्रममा आत्महत्या गरेको अवस्थामा फेला परेको न्यौपानेले बताउनु भयो । मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल तम्घास ल्याइएको प्रहरीले जनायो ।

कर्णाली प्रदेश

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलका अनुसार प्रदेशमा हालसम्म ६ हजार ९ सय ९१ जनाको पीसीआर प्रविधिबाट परीक्षण गरिएकोमा एक सय २३ जनाको नतिजा पोजेटिभ आएको छ । जसमध्ये दैलेखका ४८, सुर्खेतका ३०, सल्यानका २५, कालिकोटका १८, बझाङ र बाझुराका एक/एक जना रहेका छन । एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । तीन सय ७४ जनाको नतिजा आउन बाँकी रहेको कंडेलले बताउनुभयो ।

जुम्ला प्रतिनिधि मानदत्त रावलका अनुसार भारत तथा विभिन्न जिल्लाबाट नागरिकहरू फर्किन थालेपछि सामुदायिक विद्यालयमा क्वारेण्टाइन बनाउने सरकारको नीति अनुसार क्वारेण्टाइन बनाउन खोज्दा स्थानीयले विरोध गरेको चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले बताउनुभयो । स्थानीयलाई सम्झाउन र कुरा बुझाउन खोज्दा पनि बुझ्ने प्रयास नगरेको उहाँको दुःखेसो छ । चन्दननाथ नगरपालिका- १० कार्तिक स्वामीस्थित जनज्योती मावि र ९ नम्बर वडा श्रीढुस्कास्थित शम्भुनाथ ज्ञानकुञ्ज माध्यामिक विद्यालयमा क्वारेण्टाइन बनाउन खोज्दा स्थानीयले विरोध गरेर काम अवरोध गरिएको उहाँको भनाइ छ ।

चन्दननाथ नगरपालिका- १० कार्तिकस्वामीका पदमबहादुर शाहीले रोग सर्ने डरले गाउँबस्ती नजिक क्वारेण्टाइन बनाउन नहुने भन्दै स्थानीयले विरोध गरेको बताउनुभयो । लकडाउन अवधिभर जुम्लामा १२ हजार ९२ जना नागरिक भित्रिएको जिल्ला प्रशासन कार्यालयले तथ्यांक सार्वजनिक गरेको छ ।

कालीकोट प्रतिनिधि कालीबहादुर मल्लका अनुसार भारतबाट आई क्वारेण्टाइनमा बसेका कालीकोटका १८ जनालाई कोरोना पोजेटिभ देखिएको दुई दिन पुगिसक्दा पनि उपचार थालिएको छैन । तिलागुफा नगरपालिका स्थित सत्यदेवि मावि जुविथामा रहेको क्वारेण्टाइनमा १ सय ६० जना पुरुष जेठ ९ गतेदेखि बस्दै आएका थिए । खानेकुराको उचित व्यवस्था भए पनि बस्ने ठाउ साँघुरो रहेको क्वारेण्टाइनमा रहेका विनोद शाहीले बताउनु भएको छ ।

उपचारको लागि आवश्यक जनशक्ति र आइसोलेशन वेड नभएका कारण उपचार हुन नसकेको जिल्ला अस्पताल कालिकोटका प्रमुख भिष्म पोखरेलले बताउनुभयो । उहाँले जिल्लामा रहेको एकिकृत भवनमा आइसोलेशन कक्षको व्यवस्थापन भइरहेको र पोजेटिभ देखिएका व्यक्तिलाई त्यहाँ राखेर उपचार गराउने तयारी रहेको जानकारी दिनुभयो । स्वाब परीक्षणका लागि जुम्ला पठाइएका व्यक्तिहरुको रिपोर्ट ढिला आएको र पोजेटिभ देखिएकाहरुलाई छुट्टै राखेर उपचार गर्ने ठाउँ नभएकाले सँगै राख्नु परेको प्रजिअ पोखरेलको भनाइ छ ।

कोरोना पुष्टि भएपछि तत्काल क्वारेण्टाइनबाट निकालेर अन्यत्र उचार गर्नु पर्ने भए पनि जेठ १७ गते पोजेटिभ रिपोर्ट आएका अन्य १ सय २६ जनासँगै बसिरहेको तिलागुफा नगरपालिका प्रमुख रतनबहादुर शाहीले बताउनु भयो । रिपोर्ट आएको दुई दिन पछि जेठ १८ गते साँझ क्वारेण्टाइनबाट जिल्ला सदरमुकाम खाडाँडाचक्रमा रहेको एकीकृत भवनमा राखिएको छ ।

सुदूरपश्चिम प्रदेश

बैतडी प्रतिनिधि नरी बडुका अनुसार जिल्लामा कारोना सङ्कमितहरूको सङ्ख्या वृद्धि भएसँगै प्रदेश सरकारको पहलमा जेठ १८ गते कोरोना उपचारका लागि थप दुई जना डाक्टर जिल्ला अस्पताल, बैतडी आएको अस्पताल प्रमुख डाक्टर बसन्तराज जोशीले जानकारी दिनु भयो ।

डोटी प्रतिनिधि बासुदेव जोशीका अनुसार जिल्लाको पूर्वीचौकी गाउँपालिका-७ स्थित भवानी आधारभूत विद्यालय, गजडा र सरस्वती आधारभूत विद्यालय, दुलबस्तामा तयार गरिएको क्वारेण्टाइनमा राखिएका व्यक्तिहरूलाई नेपाल कम्युनिष्ट पार्ट (नेकपा) डोटी जिल्लाका जिल्ला सदस्य कृष्णकुमार खड्काले जेठ १८ गते डेढ क्वीन्टल चामल र १५ केजी दाल व्यक्तिगतरूपमा सहयोगस्वरूप खाद्यान्न उपलब्ध गर्नुभएको पूर्वीचौकी गाउँपालिका-७ का अध्यक्ष प्रकाश साउदले बताउनु भएको छ ।


अनलाइन डेस्क