कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १७ गते)

  ०७७ जेठ १७ गते

नेपालमा जेठ १७ गते थप १ सय ८९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ४ सय ४ पुगेको छ । जसमध्ये ६ जनाको मृत्यु भएको छ भने २ सय १९ जना निको भएका छन् । सरकारले चैत ११ गतेदेखि जारी लकडाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्ले उक्त निर्णय लिएको सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले पत्रकार सम्मेलनमार्फत जानकारी गराउनु भएको छ । मन्त्रिपरिषद् बैठकले आन्तरिक तथा बाहृय हवाई उडान पनि असार १६ गतेसम्म बन्द राख्ने निर्णय गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले लकडाउनका कारण तेस्रो देशमा अडि्कएका नेपालीहरूलाई ल्याउने कार्यविधि पनि पास गरेको छ । सरकारले अब तेस्रो देशबाट दूतावासमा नाम दर्ता भएका आधारमा नेपालीलाई आवश्यकता अनुसार ल्याउने भएको छ । तर उनीहरूलाई ल्याएर काठमाडौंका होटलमा कम्तीमा १४ दिन क्वारेण्टाइनमा राखिने भएको छ ।

प्रदेश १

झापाको कचनकवल गाउँपालिकाका २७ जना कोरोना सङ्क्रमितलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भर्ना नलिएपछि सामाजिक विकास मन्त्री जीवन घिमिरेको निर्देशनमा जेठ १७ गते बिहान सो अस्पतालमा भर्ना गरिएको छ । उनीहरू जेठ १६ गते राति अस्पताल  बाहिरै बसेका थिए । सङ्क्रमितलाई भर्ना गरिएपछि प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, अस्पताल निर्देशक लगायतसँग मन्त्री घिमिरेले भर्ना नगर्नुको कारण र कमजोरीको पहिचान गर्न निर्देशनु भयो ।

प्रदेश सरकारले कोरोना सङ्क्रमितको उपचारका लागि साढे ४ सय बेडको आइसोलेशन उपचार केन्द्र निर्माणको घोषणा गरेको छ । ४ सय ५० बेड मध्ये १ सय ५० बेडको आइसोलेशनमा आयुर्वेदिक पद्धतिबाट उपचार गर्ने गरी तयारी सुरू भएको छ । सुनसरीको बराहक्षेत्रमा प्रदेश सरकारले निर्माण गर्ने १ सय ५० बेडको आइसोलेशन उपचार केन्द्रमा आयुर्वेदिक पद्धतिबाट उपचार गर्ने गरी सामाजिक विकास मन्त्री जीवन घिमिरेले जेठ १७ बराहक्षेत्रमा छलफल गर्नु भयो । सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेल, वराह क्षेत्र नगरपालिकाका प्रमुख निलम खनाल, तीनवटै सुरक्षा निकायका प्रमुख र कृष्णदास आश्रम व्यवस्थापन समितिका पदाधिकारी लगायतसँग छलफल गर्दै मन्त्री घिमिरेले बराहक्षेत्रमा आयुर्वेदिक पद्धतिबाट उपचार गरिने निश्कर्ष निकालिएको बताउनु भयो ।

प्रदेश २

सप्तरीको कञ्चनरूप नगरपालिका-१ बैरवास्थित लक्ष्मीनारायण माविको क्वारेण्टाइनमा बसेकाहरूले सुरक्षार्थ खटिएका प्रहरी कमलेश साहलाई जेठ १७ गते कुटपिट गरी घाइते बनाएका छन् । क्वारेण्टाइनमा बसेकाहरूसँग भेट्न आएका आफन्तहरूलाई दूरी कायम राखी बस्न भनेपछि क्वारेण्टाइनमा बसेका र उनीहरूलाई भेट्न आएकाहरूले मिलेर कुटपिट गरेको साहले बताए । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनरूपमा प्राथमिक उपचार पछि थप उपचारको लागि कञ्चनरुपस्थित धर्मेश्वर अस्पतालमा भर्ना गरिएको छ ।

भारतको विभिन्न शहरबाट जेठ १५ गते साँझ गुजरा आएका ७८ जनालाई रौतहटको गुजरा नगरपालिका उपमेयर रौषन खातुन शेखले जेठ १६ गते सिमराभवानीपुर क्वारेण्टाइनमा लैजान खोज्दा सोही नगरपालिका-४ का वडाध्यक्ष पवनराज गिरीले मावि कनकपुरमा लैजाने अडान राखेपछि साँझ विवाद भएको थियो । प्रहरी कार्यालय विजयपुरका इन्स्पेक्टर चन्द्रकिशोर साहको कमाण्डमा रहेको प्रहरीले भिड नगर्न र सिमराभवानीपुर क्वारेण्टाइनमा बाहिरबाट आएकालाई लैजान भनेपछि वडा अध्यक्ष गिरी पक्षका मानिसहरूले जेठ १६ गते प्रहरीमाथि ढुङ्गा मुढा गरेको जिल्ला प्रहरी कार्यालय, रौतहटकका डिएसपी भरत श्रेष्ठले बताउनु भयो । घटनामा इन्स्पेक्टर साहको देव्रे हातमा चोट लागेको डिएसपी श्रेष्ठले बताउनु भयो । गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल चौधरीले सिमराभवानीपुर क्वारेण्टाइन तयार पारेर लैजाने क्रममा वडा अध्यक्ष गिरीको समूहले अबरोध सृजना गरेको बताउनु भयो । प्रहरीमाथि ढुङ्गामुढा गरेको आरोपमा वडाध्यक्ष गिरीलाई प्रहरीले जेठ १६ गते साँझ गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय गौरमा राखेको छ ।

बाराको सुवर्ण गाउँपालिका-१ का ३५ वर्षीय पुरुषले क्वारेण्टाइनमा पानी, खाना, खाजा र बस्न समस्या भएको, क्यारेन्टाइनमा लामो समयदेखि बसे पनि स्वाब सङ्कलन र परीक्षण नगरी थुनेर राखेकाले समयमा परीक्षणको पहल गरिदिन इन्सेक जिल्ला प्रतिनिधिलाई जेठ १७ गते अनुरोध गरे । इन्सेक प्रतिनिधिले तत्कालै गाउँपालिकाका अध्यक्ष महेन्द्रराय यादवलाई उनको समस्याको बारेमा जानकारी गराउँदा गाउँपालिका अध्यक्षले क्वारेण्टाइनमा बस्नेको सङ्ख्या बढेका कारण व्यवस्थापनमा समस्या भएपनि बुझेर समाधान गर्ने बताउनु भयो । बाराको कलैया उपमहानगरपालिका-३ गङ्गापुरस्थित प्रादेशिक शैक्षिक तालिम केन्द्रमा सञ्चालन भएको कोरोना कोभिड-१९ अस्पतालका स्वास्थ्यकर्मी ओमप्रकाश कुशवाहाले कोभिड अस्पताल एकान्त ठाउँमा भएकाले रातको समयमा आफूहरूलाई डर लागेकाले शान्ति सुरक्षाको व्यवस्था मिलाउन माग गर्नु भयो । अस्पतालमा चिकित्सक ओमप्रकाश कुशवाहा, ललन महतो, पारामेडिकल्स नवल पण्डित, साक्षी गुप्ता, दुई जना कार्यालय सहयोगी र दुई जना सरसफाइकर्मी, एक जना खाना पकाउने र एक जना ल्याव कर्मचारी छन् । सो क्वारेण्टाइनमा हाल दुई जना महिला र ४८ पुरुष रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयले सो अस्पतालमा नेपाली सेनाले सुरक्षा दिने भनिएको तर सेना खटिएको छैन । सेना अस्पतालमा सुरक्षा दिन नआएसम्मका लागि नजिककै रहेको गङ्गापुर प्रहरी चौकीले सुरक्षा व्यवस्था मिलाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गौतम मिश्रले बताउनु भयो ।

बागमती प्रदेश

सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिकाको जेठ १६ गते बसेको वैठकले कोरोना भाइरस सङ्क्रमण विरुद्ध अग्रपंक्तिमा बसेर काम गर्ने ९२ जना स्वास्थ्य कर्मी, कर्मचारी र जनप्रतिनिधिहरूको एक/एक लाख रुपियाँको स्वास्थ्य बीमा गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष राजकुमार पौड्यालले बताउनु भयो । वीमा गर्ने काम जेठ १८ गतेबाट सुरु गरिने स्वास्थ्य संयोजक भुपेन्द्रलाल श्रेष्ठले बताउनु भयो ।

भारतबाट गाउँ फर्किएका पाँच जनालाई स्थानीयले क्वारेण्टाइनमा बस्न नदिएपछि दोलखाको तामाकोशी गाउँपालिका-२ का वडा सदस्य ओमबहादुर केसीले आफ्नो निजी घरमा क्वारेण्टाइन बनाइ राखेका छन् । उनीहरूलाई गाउँपालिकाले जनता आधारभुत विद्यालयमा पाँच बेडको क्वारेण्टाइन तयार गरी राख्ने तयारी गरेको थियो । झुलेका स्थानीयवासीले विद्यालयमा बनाइएको क्वारेण्टाइनमा राख्न नमिल्ने भन्दै जेठ १६ गते राति अवेरसम्म अवरोध गरेका थिए । राति अबेरसम्म स्थानीयवासीले अवरोध गरेपछि वडा सदस्य केसीले आफ्नो निजी घर क्वारेण्टाइनका लागि दिएको गाउँपालिका योजना शाखा प्रमुख रामकुमार कार्कीले बताए । उनीहरूलाई खाना, स्वास्थ्य उपचार लगाएको व्यवस्था गर्न गाउँपालिकाले चार जना स्वयम्सेवक खटाएको छ ।

धादिङको निलकण्ठ नगरपालिकाको बाल मन्दिर मावि क्वारेण्टाइनमा सरसफाइ सामग्री, अत्यावश्यक स्वास्थ्य सेवा समेत उपलब्ध छैन । जसले गर्दा क्वारेनटाइनमा बस्नेहरू जेलमा बसेको अनुभव गरेको बताउँछन् । क्वारेण्टाइनको मापदण्ड पूरा गर्न नसकिएको र भारतबाट आएकाहरूलाई विद्यालयहरूमा राखिएको नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले बताए ।

ललितपुरमा कोरोनाका शंकास्पद बिरामी ओसार्नु परेपछि एम्बुलेन्स चालक बेपत्ता हुने र सम्पर्क विहीन हुने गरेको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले बताउनु भयो ।  ललितपुरमा भएका सबै एम्बुलेन्स सञ्चालकलाई बोलाएर बैठक बस्ने तयारी भएको डा. गेलालले बताउनु भयो । उहाँले सेवा दिन मान्नेलाई स्वागत र नमान्नेको सेवा खारेज गर्ने समेत बताउनु भयो ।

गण्डकी प्रदेश

स्याङ्जाका कोभिड-१९ सङ्क्रमित बिरामीहरूको रोग प्रतिरोधात्मक क्षमता बृद्धिका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्याङ्जाले स्थानीय रूपमा उपलब्ध जडिबुटी तथा औषधिहरू उपलब्ध गराउनुका साथै तनाव व्यवस्थापनका लागि भिडियो कन्फरेन्सद्वारा योग प्राणायाम सुचारु गरेको छ बागलुङको काठेखोला गाउँपालिकाले शिक्षकहरूलाई स्वयम्सेवकको रूपमा परिचालन गरेको छ । शिक्षकहरूलाई गाउँपालिकाले निर्माण गरेको क्वारेण्टाइन व्यवस्थापन, सीमा नाकामा जाँचबुझ र सहायता कक्ष सञ्चालनको लागि परिचालन गरिएको गाउँपालिका अध्यक्ष अमर थापाले जानकारी दिनुभयो । भारतका विभिन्न स्थानबाट हालसम्म ८ सय २८ जना बागलुङ आएका छन् ।

कर्णाली प्रदेश

सामाजिक विकास मन्त्रालयका अनुसार लकडाउन अवधिमा १८ हजार ३ सय ९३ जनाले भारत तथा अन्य प्रदेशबाट कर्णाली प्रवेश गरेका छन् ।

दैलेखको दुल्लू नगरपालिका-७ पटाङ्गनिी नजिक विद्युत प्राधिकरण भवनको क्वारेण्टाइनमा मृत्यु भएका दुल्लू नगरपालिका-११ कालभैरवका ३९ वर्षीय युवकको कोरोनाको कारण मृत्यु भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पुष्टि गरेको छ ।

दुल्लूस्थित विद्युत प्राधिकरणका दुई ठूला भवनको बीचमा पाले बस्ने एक कोठे भवनमा बस्ने सुत्ने गरेका युवकको मृत्युपछि उनीसँग बसेका अरु दुई जनालाई छुट्टै अर्को कोठामा सारिएको छ । 'कोरोनामा मृत्यु भएकाहरूको शव व्यवस्थापनसम्बन्धी सङ्क्षिप्त कार्यविधि, २०७६'ले तोकिएअनुसार मृत्युपछि पीसीआर रिपोर्ट पुष्टि भएका ती युवकको शव गाडिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड फोकल पर्सन थीरप्रसाद रेग्मीले जानकारी दिनु भयो । दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलका अनुसार विद्युतीय शव दहन गर्ने र त्यस्तो सुविधा नभएको अवस्थामा जमिनमा गाड्ने नियम भएअनुसार परिवारजनको सल्लाहमा दैलेखस्थित नेपाली सेनाको इन्द्रदल गुल्मको टोलीले जेठ १७ गते शवलाई गाडेको हो ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय, डोटीले जेठ १७ गते दिएको कोरोना भाइरस (कोभिड १९) सम्बन्धी दैनिक अपडेट विवरण अनुसार जेठ १७ गतेसम्म पीसीआर विधिबाट ६ हजार ८१ जनाको नमूना संकलन गरिएको छ । संकलित नमूनामध्ये ५ हजार ५ सय ३६ जनाको कोरोना परीक्षण गरिएकोमा २१ जनामा कारोना पोजेटिभ पुष्टि भएको छ भने ५ हाजर ५ सय १६ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । पीसीआर विधिबाट ५ सय ४५ जनाको परीक्षण रिपोर्ट आउन बाँकी रहेको छ । २१ जना कारोना संक्रमितमध्ये पाँच जना निको भएका छन् । आरडीटी परीक्षण विधिबाट २१ हजार ८ सय २० जनाको नमूना संकलन गरी परीक्षण गर्दा सबै जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । सुदूरपश्चिम प्रदेश अन्तर्गत सेती प्रादेशिक प्रयोगशालमा जेठ १७ गतेसम्म ३ हजार ७ सय ६१ जनाको नमूना संकलन गरेकोमा ३ हजार २ सय १६ जनाको परीक्षण भएको र ५ सय ४५ जनाको परीक्षण गर्न बाँकी रहेको छ । सुदुरपश्चिम प्रदेशका २ हजार ३ सय १६ जनाको नमूना संकलन गरी पठाइएकोमा सबै जनाको परीक्षण भएको छ । सुदूरपश्चिम प्रदेशमा जेठ १७ गतेसम्म १ हजार १ सय १९ क्वारेण्टाइन स्थानमा ४४ हजार ८३ ओटा बेड सङ्ख्या रहेका छन् । ४ हजार ३ सय ५५ महिला र ३२ हजार ६ सय ३८ जना पुरुष गरी जम्मा ३६ हजार ९ सय ९३ जना क्वारेण्टाइनमा रहेका छन् । जसमध्ये अछाममा ४ सय १५ महिला र २ हजार ५ सय ५ पुरुष, बैतडीमा ३ सय ८ महिला र ४ हजार ३ सय १८ पुरुष, बझाङमा ३ सय ४६ महिला र १ हजार ५ सय २६ पुरुष, बाजुरामा ४ सय ८१ महिला र १ हजार ४ सय ५८ पुरुष, डडेल्धुरामा २ सय ३ महिला र ३ हजार २ सय ४४ पुरुष, दार्चुलामा ९६ जना महिला र ७ सय ४८ पुरुष, डोटीमा ७ सय ५९ महिला र ५ हजार ५ सय ६१ पुरुष, कैलालीमा १ हजार ४ सय ४३ महिला र ७ हजार ९ सय ९० पुरुष र कञ्चनपुरमा ३ सय ४  जना महिला र ५ हजार २ सय ८८ पुरुष रहेका छन् ।


अनलाइन डेस्क