कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १५ गते)

  ०७७ जेठ १५ गते

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जेठ १५ गते १ सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ४२ जना पुगेको छ । जसमा पुरुष ९ सय ४० जना र महिला १ सय २ जना रहेका छन् । कोरोना सङ्क्रमण ५१ जिल्लामा फैलिएको छ । सङ्क्रमित मध्ये निको भएर १ सय ८७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज भएका १ सय ४४ जना पुरुष र ४३ जना महिला रहेका छन् । मन्त्रालयका अनुसार कोरोना भाइरसका कारण ललितपुर महानगरपालिका-२२ बुङमतीका ५६ वर्षीय पुरुषको जेठ १४ गते मृत्यु भएको छ । त्यसैगरी भारतबाट घर फर्कदै गर्दा जेठ १० गते कपिलवस्तुको सीमा नजिकै बाटोमै मृत्यु भएका अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका-९ का पुरुषको कोरोना परीक्षण गर्दा जेठ १५ गते पोजेटिभ रिपोर्ट आएको छ । मन्त्रालयका अनुसार प्रदेश १ का आठ, प्रदेश २ का सबै (आठ), बागमती प्रदेशका १२, गण्डकी प्रदेशका चार, प्रदेश ५ का नौ, कर्णाली प्रदेशका तीन र सुदूरपश्चिम प्रदेशका सात गरी ५१ जिल्लामा कोरोना सङ्क्रमित पहिचान भएका छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा १ सय २९, प्रदेश २ मा ४ सय १५, बागमती प्रदेशमा ४४, गण्डकी प्रदेशमा १७, प्रदेश ५ मा ३ सय ६९, कर्णाली प्रदेशमा ४७ र सुदूरपश्चिम प्रदेशमा २१ जना कोरोना सङ्क्रमित पहिचान भएका छन् ।

कोरोना संक्रमण नियन्त्रणका लागि लकडाउनको समयावधि लम्ब्याइएको भए पनि संक्रमणको दर बढिरेहको छ । कोरोना भाइरस संक्रमण फैलिएका जिल्लाको संख्या ५१ जिल्ला पुगेको छ । सरकारले जेठ १५ गते संघीय संसद्मा प्रस्तुत गरेको बजेटमा कोरोना संक्रमण नियन्त्रण तथा उपचारका लागि तत्काल आवश्यक पर्नसक्ने औषधि, उपकरण तथा उपचार सामग्री कम हुन नदिन ६ अर्ब बजेट छुट्याइएको छ । यसैगरी, चिकित्सक स्वास्थ्यकर्मी तथा प्रयोगशालमा काम गर्ने कर्मचारीका लागि व्यक्तिगत सुरक्षाका उपकरण सहित प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ भने कोरोनालगायत अन्य संक्रामक रोग विरुद्ध कार्य गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ५ लाखसम्मको निःशुल्क स्वास्थ्य बिमा गर्ने व्यवस्था गरिएको छ ।

प्रदेश १

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ३० पुगेको छ । जेठ १५ गते २६ जना नयाँ सङ्क्रमित थपिएका छन् । थपिएका मध्ये एक जना सोलुदूधकुण्ड नगरपालिका र २५ जना झापाको कचनकवल गाउँपालिकाका हुन् । कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना सङ्क्रमण पुष्टी भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । जेठ १५ गते पुष्टी भएका सङ्क्रमित पुरषहरू १५ देखि ४२ वर्षका छन् । कचनकवलमा कोरोना सङ्क्रमितको सङ्ख्या ७३ जना पुगेको छ । झापामा मात्र सङ्क्रमितको सङ्ख्या ७९ जना पुगेको छ । उदयपुरमा ३३ जना, धनकुटामा सात जना, मोरङमा पाँच जना, सुनसरीमा तीन जना, सोलुखुम्बु, भोजपुर र खोटाङका एक/एक जनामा सङ्क्रमण देखिएको छ । प्रदेश १ का सङ्क्रमितमध्ये ३० जना उपचार पछि निको भएका छन् । कोरोना सङ्क्रमित एक सय जना अहिले उपचाररत छन् ।

प्रदेश १ मा कोरोना भाइरसका शङ्कास्पद ६ हजार ३ सय ३४ जनाको स्वाब सङ्कलन गरिएको छ । जेठ १५ गते प्रदेशभरीमा ५ सय ६८ जनाको स्वाब सङ्कलन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । स्वाब सङ्कलन गरिएकामध्ये १ सय ३० जनाको रिपोर्ट पोजेटिभ, ५ हजार ७ सय ९२ जनाको नेगेटिभ र ४ सय १२ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । प्रदेश १ मा आरडीटी विधिबाट ११ हजार ४ सय ६ जनाको परीक्षण गरिएको छ । आरडीटी गरिएका ६२ जनाको रिपोर्ट पोजेटिभ र ११ हजार ३ सय ४४ जनाको रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ मा ८ हजार २ सय ७७ वेडको क्वारेण्टाइन निर्माण गरिएको छ । जेठ १५ गते १ सय ६७ वेड थप गरिएको छ । क्वारेण्टाइनमा २ हजार ८८ जना, होल्डिङ एरियामा ५ सय ८६ जना र होम क्वारेण्टाइनमा ८ हजार ७ सय ९७ जना रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश १ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

प्रदेश २

प्रदेश २ मा जेठ १५ गते सप्तरीमा १८, सिरहामा ६, धनुषामा २९, महोत्तरीमा १७, सर्लाहीमा सात, रौतहटमा तीन, पर्सामा चार गरी ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा जेठ १५ गतेसम्म कोरोना भाइरसका शङ्कास्पद ११ हजार जनाको स्वाब सङ्कलन गरिएकोमा ८ हजार ९ सय ८० जनाको रिपोर्ट नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले बताउनु भयो । १ हजार ६ सय २० जनाको रिर्पोट आउन बाँकी रहेको छ । जेठ १५ गतेसम्म आरडीटी किटबाट परीक्षण ६ हजार ३ सय ४४ जनाको गरिएको छ । जसमा ३५ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ भने ६ हजार ३ सय ९ रिपोर्ट नेगेटिभ आएको छ । प्रदेशमा विभिन्न जिल्लामा निर्माण गरिएको १८ हजार ९३ बेड क्षमताको ३ सय ९ ओटा क्वारेण्टाइनमा १५ हजार ४२ जनालाई राखिएको सचिव घिमिरेले बताउनु भयो । उहाँका अनुसार प्रदेश भरिमा हालसम्म ५ हजार ५ सय २ जना व्यक्तिहरू होमक्वारेण्टाइनमा रहेका छन् भने ६ सय ६५ बेड क्षमताको आइसोलेशनमा २ सय १२ जना उपचारार्थ छन् ।

जनकपुरधाम उपमहानगरपालिका १८ जना वडाध्यक्षहरूले उपमहानगरपालिका प्रमुख लालकिशोर साहलाई तीन सूत्रीय माग अघि सार्दै जिल्ला समन्वय समितिका प्रमुख रामदेव बनरैत यादवलाई जेठ १४ गते ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्रमा नेपाल-भारत सिमावर्ती क्षेत्रबाट हजारौं सर्वसाधारणहरू आउने क्रम बढिरहेकाले प्रत्येक वडामा क्वारेण्टाइन निर्माण गर्न, नगरपालिकाले रियल पीसीआर मेसिन खरिद गर्नुपर्ने र जटही नाकाबाट उपमहानगरपालिका भित्र आउने युवाहरूलाई भोजन र यातायातको व्यवस्था अनिवार्यरूपमा गर्नुपर्ने माग गरेका राखेका छन् । वडाध्यक्षहरूको ज्ञापन पत्र बुझ्दै प्रमुख यादवले वडाध्यक्षहरूको मागप्रति आफू गम्भीर रहेको बताउदैँ यसको लागि तत्काल पहल गर्ने बताउनु भयो ।

सप्तरीमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या बढेपछि सङ्क्रमितलाई राख्न आइसोलेशन कक्षको अभाव भएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कूल २४ जना संक्रमितलाई राख्ने क्षमता भएकोमा संक्रमितको सङ्ख्या ३३ पुगे छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले सङ्क्रमितको सङ्ख्या बढेकाले तत्कालका लागि नौ जनालाई बोदे बर्साइन नगरपालिकाको क्वारेण्टाइनमा अलग्गै कोठामा राख्ने गरी व्यवस्था मिलाइएको बताउनु भयो ।

प्रदेश २ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

बागमती प्रदेश

बागमती प्रदेशमा जेठ १५ गतेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भई आइसोलेशनमा रहेका ३२ जना, डिस्चार्ज भएका ११ जना, मृत्यु भएका दुई जना गरी जम्मा सङ्क्रमित ४५ जना रहेका छन् । प्रदेशमा क्वारेन्टाइनमा १ हजार ६ सय ३१ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जेठ १५ गते हेटौंडाको कोरोना प्रयोगशालामा १ हजार ४ सय ८५ जनाको स्वाबको नमुना प्राप्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा कूल २ हजार ५ सय ६९ जनाको जेठ १५ गतेसम्म स्वाब परीक्षण गरिएको छ भने २ हजार ४ सय ७४ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । ७९ जनाको परीक्षण रिपोर्ट आउन बाँकी रहेको छ । जेठ १५ गते प्रदेशमा थप चार जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कूल १७ जना सङ्क्रमित भएको छ । जसमध्ये पाँच जनाको जिल्ला अस्पताल स्याङ्जामा, ६ जनाको धौलागिरी अस्पताल बाग्लुङमा र नवलपुरका तीन जना भरतपुरको कोरोना अस्पतालमा उपचाररत् छन् । जेठ १५ गतेसम्म कूल ८ हजार ३ सय ५६ जनाको र्‍यापीड डाइगनोष्टिक टेष्ट किटबाट कोरोना परीक्षण गरिएको छ । स्याङ्जाकी सङ्क्रमित ३९ वर्षीया महिलालाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ । स्याङ्जामा महिलाका लागि छुट्टै आइसोलेशन कक्ष नभएकाले जेठ १५ गते बिहान ल्याइएको हो । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला देवचुली नगरपालिका-१ का १९ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएका २६ जनाको स्वाब सङ्कलन गरिएको छ ।

गण्डकी प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

प्रदेश ५

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रदेश ५ मा जेठ १५ गतेसम्म आरडिटी विधिबाट १८ हजार ७ सय ९४ जनाको परीक्षण गरिएको छ भने २९ हजार १ सय ५८ जना क्वारेण्टाइनमा रहेका छन् । जेठ १५ गतेसम्म ३ सय २९ जनाको आइसोलेशनमा उपचार भइरहेको छ । यसैगरी, ३८ जना निको भई घर फर्केका छन् । प्रदेश ५ मा जेठ १५ गते चार जनामा सङ्क्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका २८ वर्षीय पुरुष र बर्दियाका २९ देखि ३४ वर्षसम्मका तीन जना पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म प्रदेश ५ का नौ जिल्लाका ३ सय ६९ जना सङ्क्रमित भएका छन् । भारतबाट धमाधम मानिसहरू आउन थालेपछि पाल्पा जिल्लाका कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले किट अभावमा नियमित स्वाब सङ्कलन र आरडीटी परीक्षण रोकिएको जनाएको छ । रुकुम पूर्व जिल्ला पुथाउत्तरगङ्गा गाउँपालिका वडा नम्बर १३ र १४ मा जेठ १४ गते तीन जनामा कोरोना पुष्टि भएपछि १५ गते दुई वडासँगै छिमेकी वडा १०, ११ र १२ लाई पूर्णरूपमा सिल गरिएको छ ।

प्रदेश ५ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

कर्णाली प्रदेश

दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिका वडा नम्बर १ का एक जना पुरुष, वडा नम्बर ३ भूर्तीका चार जना पुरुष, वडा नम्बर ४ सोतका २० वर्षीया एक जना महिलासँगै एक वर्षीय बालक र वडा नम्बर ५ छातिकोटका एक जना पुरुष गरी आठ जनामा जेठ १५ गते कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएका आठै जनालाई जेठ १५ गते सदरमुकामको सरस्वती मावि तर्ताङ्गमा रहेको कोरोना आइसोलेशन वार्डमा राखिएको छ । योसँगै दैलेख जिल्लामा कोरोना सङ्क्रमितहरूको सङ्ख्या १६ पुगेको छ भने प्रदेशको हिसाबले सुर्खेत जिल्लाको ३० जनासमेत गरी कर्णाली प्रदेशमा सङ्क्रमितहरूको सङ्ख्या ४६ पुगेको छ । सल्यान जिल्लाको दार्मा गाउँपालिका कोरोना विमा गराउने पहिलो स्थानीय तह बनेको छ । जाजरकोट जिल्लाको सदरमुकामस्थित भेरी ज्ञानोदय क्याम्पस र त्रिभुवन माविमा बनाइएका क्वारेन्टाइनमा भारतबाट आएका २ सय ६७ जनाको भिटिएम अभावले पीसीआर परीक्षण हुन सकेको छैन ।

कर्णाली प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

सुदूरपश्चिम प्रदेश

जेठ ८ गते नेपाल भारत जोड्ने दार्चुला धार्चुला नाका भएर भित्रिएका दार्चुला जिल्ला महाकाली नगरपालिकाका २१ वर्षीय युवाको धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला अस्पताल दार्चुलाको आइसोलेशनमा राखिएको छ भने दार्चुलामा कोराना सङ्क्रमण पुष्टि भएपछि अपिहिमाल गाउँपालिकाका कोराना नियन्त्रण तथा व्यवस्थापन समितिको जेठ १५ गते बसेको बैठकले गाउँपालिकाका सबै वडा सिल गर्ने निर्णय गरेको छ । सेती अस्पतालको आइसोलेशनमा मृत्यु भएका कैलाली जिल्लाको गौरीगङ्गा नगरपालिका-७ का ५५ वर्षीय वीरबहादुर बन्तोला र कृष्णपुर नगरपालिका-७ का वडा अध्यक्ष कल्लु रानाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । डडेल्धुरा जिल्लामा किट अभावका कारण क्वारेन्टाइनमा रहेका करिब २ हजार ५ सय ९६ जनाको स्वाब सङ्कलन कार्य रोकिएको छ ।

सुदूरपश्चिम प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ


अनलाइन डेस्क