कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ११ गते)

  ०७७ जेठ ११ गते

नेपालमा कोरना सङ्क्रमितको सङ्ख्या ६ सय ३ पुगेको छ । जेठ ११ गते थप १९ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ सय नाघेको हो । यसरी सङ्क्रमण हुनेमा ५ सय २४ पुरुष र ७९ महिला रहेका छन् । यस्तै सङ्क्रमण पुष्टि भएकाहरूमध्ये हालसम्म ८७ जना निको भएका छन् ।

Bar_chart_May24

कोरोना भाइरसको सङ्क्रमणबाट जोगिनका लागि भन्दै नेपालमा लकडाउन गरिएको जेठ ११ गते दुई महिना पुरा भएको छ । गत माघ ९ गते नेपालमा पहिलो कोरोना सङ्क्रमित पुष्टि भएको भएपनि चैत १० गते दोस्रो सङ्क्रमित फेला परेपछि चैत ११ गतेबाट लकडाउन गरिएको हो ।

कोरोनाका सङ्क्रमित सबै प्रदेशका छन् । ७७ जिल्लामध्ये ४२ जिल्लामा कोरोना सङ्क्रमित भेटिएका हुन् । जसमध्ये सबैभन्दा बढी प्रदेश ५ मा २ सय ८१ जना र सबैभन्दा कम कर्णाली प्रदेशमा चार जना छन् । कोरोना पुष्टि भएकामा जेठ ११ गतेसम्म ८७ जना उपचारपछि फर्किएका छन् । तीन जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । सिन्धुपाल्चोककी एक सुत्केरी, बाँकेका र गुल्मीका एक/एक जना पुरुष रहेका छन् । सबैभन्दा बढी बाँके जिल्लामा १ सय ४२ जनामा कोरोना पुष्टि भएको छ ।

यो अवधिमा प्रदेश २ का सबै आठ ओटै जिल्लामा सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी १४ जिल्ला रहेको प्रदेश १ का सात, १३ जिल्ला रहेको बागमतीका ११, ११ जिल्ला रहेको गण्डकी प्रदेशका तीन, १२ जिल्ला रहेको प्रदेश ५ का सात, १० जिल्ला रहेको कर्णाली प्रदेशका दुई र नौ जिल्ला रहेको सुदूरपश्चिमका चार जिल्लामा कोरोना सङ्क्रमित पुष्टि भएका हुन् ।

प्रदेश १

झापाको बाह्रदशी गाउँपालिकामा जेठ ११ गते एक जना कोरोना सङ्क्रमित थपिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बाह्रदशी गाउँपालिका ४५ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको छ । सङ्क्रमितलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा पठाइएको छ ।

प्रदेश १ मा पीसीआर र आरडीटी विधिबाट १५ हजार ३ सय ५४ जनाको परीक्षण गरिएको छ । जेठ ११ गतेसम्म कोरोना भाइरसका शङ्कास्पद ४ हजार ५ सय २७ जनाको नमूना सङ्कलन गरिएको छ । प्रदेश १ मा १ हजार २ सय ९२ जना महिला र ३ हजार २ सय ३५ पुरुषको नमुना सङ्कलन गरिएको छ । जेठ ११ गते २ सय १३ जनाको नमूना सङ्कलन गरिएको छ । नमूना सङ्कलन गरिएका १० जना महिला र ७७ जना पुरुषमा सङ्क्रमण देखिएको छ । नमूना सङ्कलन गरिएका ४ हजार ३ सय ८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । १ सय ३२ जनाको रिपोर्ट आउन बाँकी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ मा जेठ ११ गतेसम्म १० हजार ८ सय २७ जनाको आरडीटी गरिएको छ । आरडीटी गरिएका २९ जनाको रिपोर्ट पोजेटिभ आएको छ । आरडीटी गरिएका २ हजार १ सय २६ जना महिला र ८ हजार ६ सय ५७ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रदेश १ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

प्रदेश २

प्रदेश २ मा जेठ ११ गते बारा, पर्सा, रौतहट, सर्लाही र सप्तरीका आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौँमा गरिएको पीसीआर परीक्षणबाट ६ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले बताउनु भयो । डाकनेश्वरी नगरपालिका-३ का २२ वर्षीय र वडा नम्बर ४ का ३४ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताउनु भयो । उनीहरूको जेठ ८ गते नमूना स्वाब सङ्कलन गरेर परीक्षणका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । प्रदेशमा जेठ ११ गतेसम्म कोरोना भाइरसका शङ्कास्पद ८ हजार २ सय ५४ जनाको स्वाब सङ्कलन गरिएकोमा ६ हजार १ सय २० जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १ सय ७८ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले बताउनु भयो । १ हजार ९ सय ५६ जनाको रिर्पोट आउँन बाँकी रहेको छ ।  जेठ ११ गतेसम्म आरडीटी किटबाट परीक्षण ६ हजार १ सय ३८ जनाको गरिएको छ । जसमा १४ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ भने ६ हजार १ सय २४ रिपोर्ट नेगेटिभ आएको छ ।

प्रादेशिक अस्पताल जनकपुरधामको कोरोना विशेष अस्पतालको आइसोलेशनमा उपचार गराइरहेका सर्लाही जिल्ला धनकौलका ४० वर्षीय पुरुष जेठ ११ गते बिहान अस्पतालको झ्याल फोडेर फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले बताए । कोरोना सङ्क्रमित रहेका ४० वर्षीय पुरुष मानसिक रोगी रहेको अस्पतालका कोरोना फोकल पर्सन डा. कुलदिप पण्डितले बताउनु भयो ।

प्रदेश २ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

बागमती प्रदेश

यस प्रदेशमा जेठ ११ गते नुवाकोट र काठमाडौँ जिल्लामा एक/एक जनामा कोरोना सङ्क्रमण देखिएपछि ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना आशङ्कामा यस प्रदेशमा हालसम्म २२ हजार ८ सय ११ जनामा आरडीटी विधिबाट परीक्षण गरिएको छ । जसमध्ये ४ सय २९ जनामा एण्टिबडी पोजेटिभ देखिएको छ । यस्तै हालसम्म ८ हजार ९९ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । क्वारेण्टाइनको क्षमता ४ हजार ६ सय ३६ जनाको रहेकोमा ४ सय १० जना बसेका छन् । कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिममा रहेका ६० जना आइसोलेशनमा बसेका छन् । ९ सय ९५ शैयाको आइसोलेशन तयारी अवस्थामा राखिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सञ्चालन गरेको कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशालामा पीसीआर कीट नहुँदा कोरोना परीक्षण रोकिएको छ । एक साताअघि प्रयोगशालालाई उपलब्ध भएको करिब ४ सय ओटा कीट जेठ १० गते साँझ सकिएपछि कोरोना परीक्षण रोकिएको हो ।

बागमती प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा जेठ ११ गतेसम्म कुल २ हजार ४४ जनाको स्वाब परीक्षण गरिएको छ भने २ हजार ११ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । २९ जनाको स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ । प्रदेशमा जेठ ११ गते सम्म ७ हजार ७ सय १ जनाको र्‍यापीड डाइगनोष्टिक टेष्ट किटबाट कोरोना परीक्षण गरिएको छ ।

बागलुङका चार ओटा स्थानीय तहलाई जेठ ११ गतेबाट 'सिल' गरिएको छ । ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिका, निसिखोला गाँउपालिका र तमानखोला गाउँपालिका जेठ २० गतेसम्मका लागि सिल गरिएको हो । चार ओटै स्थानीय तहका प्रमुख, उपप्रमुख, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको बैठकले जेठ १० गते यस्तो निर्णय गरेको हो ।

गण्डकी प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

प्रदेश ५ 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसासर प्रदेश ५ मा हालसम्म आरडीटी परीक्षण १३ हजार २ सय ६७ क्वारेण्टाइनमा रहेको सङ्ख्या १९ हजार ५ सय २५ जना रहेका छन् । २ सय ४७ जना आइसोलेशनमा रहेका छन् । रोग निको भएर ३२ जना घर फर्केका छन् । हालसम्म प्रदेश ५ मा सात जिल्लाका २ सय ८१ जना सङ्क्रमित भएका छन् ।

जिल्ला प्रशासन कार्यालयले बाँके जिल्लाको नरैनापुर गाँउपालिकालाई निषेधित क्षेत्र घोषणा गरेको छ । उक्त क्षेमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै सङ्क्रमण रोकथाम तथा न्यूनिकरण गर्न, सङ्क्रमितहरूको कन्ट्याक्ट ट्रेसिङ गर्न र स्वाब सङ्कलन कार्यलाई प्रभावकारी बनाउन सङ्क्रमण फैलिन नदिन सङ्क्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन  २०२८ को दफा ६ को उपदफा ३ बमोजिम  जेठ ११ गते साँझ ८ बजेदेखि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि निषेधित क्षेत्र घोषण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कपिलवस्तुको वाणगङ्गा नगरपालिकाले ३ दिनदेखि अलपत्र आठ जना कोरोना सङ्क्रमितलाई एकैसाथ व्यवस्थापन गरेको छ । नगरपालिकामा आइसोलेशन सेन्टर नहुँदा तीन दिनसम्म क्वारेण्टाइनमा नै सङ्क्रमितलाई राख्नु परेको मेयर मङ्गलप्रसाद थारुले बताउनु भयो ।

प्रदेश ५ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

कर्णाली प्रदेश

दैलेख जिल्लामा भारतबाट जेठ ११ गते १ हजार ३ सयभन्दा बढी नागरिक जिल्ला भित्रिएकोमा आरडीटी र पीसीआर अभावका कारण कोरोना परीक्षण गर्न समस्या भएको छ । दैलेख जिल्लामा जेठ ११ गते थप पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँचै जनाको कर्णाली प्रदेश प्रयोगशालामा कोरोना पोजेटिभ देखिएपछि नेपालगञ्ज पठाएर पुनः परीक्षण गरिएको थियो र जेठ ११ गते सदरमुकामको सरस्वती मावि तर्ताङ्गमा रहेको कोरोना आइसोलेशन वार्डमा राखिएको छ ।

सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिकाले कोरोना भाइरसविरुद्ध खटिने कर्मचारी र जनप्रतिनिधिहरूको अधिकतम १ लाख रुपियाँको कोरोना भाइरस जोखिम विमा गर्ने भएको छ ।

हुम्ला जिल्ला सिमकोट गाउँपालिकाको जेठ १० गते बसेको गाउँकार्यपालिकाको बैठकले क्वारेण्टाइनमा बस्दै आएका नागरिकलाई प्रतिव्यक्ति ५ सय रुपियाँका दरले क्वारेण्टाइन खर्च दिने निर्णय गरेको छ ।

कर्णाली प्रदेश १ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

सुदूरपश्चिम प्रदेश

सेती अस्पतालको आइसोलेशनमा बसेका अछाम जिल्ला मेल्लेख गाउँपालिका-४ का ३२ वर्षीय पुरुषमा धनगढीस्थित पशुपन्छी अन्वेषण प्रयोगशालाको आरटी पीसीआर मेसिनबाट परीक्षण गर्दा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ ।

डडेल्धुरा जिल्लामा पहिलो पटक जेठ ९ गते सरकारी कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि सङ्क्रमित युवकको सम्पर्कमा आएका ३६ जना र अन्य १ सय जना क्वारेण्टाइनमा बसेकाहरूको स्वाब सङ्कलन गरिएको छ भने नगर क्षेत्रमा पनि थप सुरक्षा सतर्कता अपनाइएको छ । यसैगरी, परशुराम नगरपालिकामा नेपालीहरू भारतबाट फर्कने क्रम बढिरहेकाले क्वारेण्टाइनलगायतका व्यवस्थापन भइरहे पनि परीक्षण किट अभाव रहेको छ ।

सुदूरपश्चिम प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ


अनलाइन डेस्क