कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ११ गते)

  ०७७ साउन ११ गते

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १८ हजार ६ सय १३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन ११ गते जारी गरेको प्रतिवेदनका अनुसार सङ्क्रमितमध्ये १३ हजार १ सय २८ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । ५ हजार ४ सय ४० जनाको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये निको दर ७०.५ प्रतिशत रहेको मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदनमा उल्लेख छ । साउन ११ गतेसम्म कोरोना सङ्क्रमणबाट ४६ जनाको मृत्यु भएको छ । मन्त्रालयले २४ घण्टामा ७५ जना निको भएका र १ सय ३० जनामा कोरोना देखिएको जनाएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ३ सय जनाको स्वाब परीक्षण गरिएको थियो ।

प्रदेश २ 

रौतहट जिल्ला प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार रौतहटमा ५५ वर्षीय वडाध्यक्षमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मुटु र मधुमेह रोगका बिरामी उनले काठमाडौं उपचार गर्न जानका लागि हेटौँडामा पीसीआर परीक्षण गराउँदा साउन १० गते सङ्क्रमण पुष्टि भएको स्वास्थ्यकर्मी सुबोध साहले बताउनु भयो । साहका अनुसार उहाँलाई पछिल्लो समय सुगर लेभल बढ्ने र मुटुमा पनि सामान्य समस्या देखिएको थियो । साउन १० गते वडा अध्यक्षकी पत्नीको मृत्यु करेण्ट लागेर भएको थियो । सो खबर पाएपछि वडा अध्यक्ष उनी हेटौडाबाट सिधै जिल्ला अस्पताल गौर पुगेका थिए । पत्नीको मृत्युपछि उनीसँगै करिब ३ सय जना मलामी गएका थिए । वडा अध्यक्षको प्रत्यक्ष सम्पर्कमा आएर उनकी पत्नीको मलामी गएकाहरूलाई होम क्वारेण्टाइनमा बस्न भनेको बताउँदै नगरपालिकाका प्रमुखले सबैको नामावली सङ्कलन र कन्ट्याक्ट टे«सिङ्गको काम सुरू गरिसकेको जानकारी दिनु भयो । उहाँले सङ्क्रमित वडा अध्यक्ष तीन दिन अगाडि मात्र नगर कार्यपालिकाको बैठकमा सहभागी हुनु भएकाले सम्पुर्ण जनप्रतिनिधि र नगरपालिकाको कर्मचारीको पनि स्वाब सङ्कलन गरेर परीक्षण गर्ने तयारी भइरहेको बताउनु भयो । जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत किरणनिधि तिवारीका अनुसार सङ्क्रमित वडाध्यक्षलाई हाल जिल्लाकै गरुडा नगरपालिकाको विर्तास्थित प्रहरी विद्यालयको आइसोलेशनमा राख्ने तयारी भइसकेको तर उनी मुटु र मधुमेहका रोगी भएकोले स्वास्थ्यमा समस्या आएमा बीरगंज वा काठमाडांैमा लैजान पनि गृहकार्य भइरहेको बताउनु भयो ।

प्रदेश ५ 

सरकारले लकडाउन हटाएसँगै बाँकेमा समुदाय स्तरमा कोरोना सङ्क्रमण देखिएको छ । साउन १० गते  भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नेपालगञ्जका दुई र जुम्लाका एक जनामा कोरोना पोजेटिभ देखिएसँगै समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएको पुष्टि भएको हो । नेपालगञ्ज उमनपा–११ का ३९ वर्षीय पुरुष त्रिभुवन चोकमा मिठाई पसल गर्ने व्यक्ति हुन् । बर्दिया बासगढी नपा–४ घर भइ नेपालगञ्ज उपमनपा–१२ बस्ने १९ वर्षीया महिला दैनिक ज्यालादारी काम गर्ने मजदुर भएको र दैनिक कामको खोजीमा त्रिभुवन चोकमा जाने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । सङ्क्रमितहरू कोही पनि क्वारेण्टाइनमा नबसेको र बाहिर देश तथा जिल्लातिर नगएको जनाइएको छ ।

यसैगरी यातायात व्यवस्था कार्यालय नेपालगञ्जका २२ वर्षीया महिला कर्मचारीमा साउन ११ गते कोरोना सङ्क्रमण देखिएपछि उक्त कार्यालयको सबै सेवा बन्द गरिएको छ । सङ्क्रमित महिलासँग कति कर्मचारी र सेवाग्राही सम्पर्कमा रहेका थिए भन्ने एकिन नभएको नेपालगञ्ज उमनपाका स्वास्थ्य संयोजक रामबहादुर चन्दले बताउनु भयो । चन्दका अनुसार प्रत्यक्ष सम्पर्कमा रहेका सेवाग्राहीहरू पनि कहाँ र कुन जिल्लाका थिए भन्ने जानकारी लिन कठिन हुने देखिएको छ ।

बाँके प्रतिनिधि स्मृति देवकोटाका अनुसार आन्तरिक राजश्व कार्यालय बाँकेमा कार्यरत नेपालगञ्ज उपमनपा–१६ का ३३ वर्षीय कर्मचारीमा कोरोना पुष्टि भएपछि राजश्व कार्यालय साउन ११ गते बन्द गरिएको छ । आन्तरिक राजश्व कार्यालयले साउन ११ गते सूचना जारी गर्दै कार्यालयका सम्पुर्ण कर्मचारीको पीसीआर परीक्षण भइरहेकाले सङ्क्रमणको जोखिमका कारण कर्मचारीहरू क्वारेण्न्टाइनमा रहनुपर्ने भएकोले कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द गरिएको जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेन्द्र श्रेष्ठले साउन १० गते लिएको स्वाबमा कोरोना पोजेटिभ देखिएको र कार्यालयमा कार्यरत सम्पुर्ण कर्मचारीहरूको पीसीआर परीक्षण गर्नको लागि स्वाब लिएको बताउनु भयो । सङक्रमितलाई साउन १० गते नै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुराको आइसोलेशनमा राखेर उपचार भइरहेको बताउनु भयो ।


अनलाइन डेस्क