कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ९ गते)

  ०७७ जेठ ९ गते

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जेठ ९ गते थप ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५ सय १६ पुगेको छ । जसमा पुरुष ४ सय ४० र महिला ७६ जना रहेका छन् । सेती प्रादेशिक अस्पतालमा भएको प्रयोगशालामा कैलाली जिल्लाका १९, २३ र २६ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी डडेल्धुराका एक जना २८ वर्षीय पुरुष, बैतडी जिल्लाका एक जना २२ वर्षीय पुरुष रहेका छन् । त्यसैगरी भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणबाट बाँकेका १४ जनामा कोरोना पुष्टि भएको छ । उनीहरू १८ देखि ६१ वर्षउमेर समूहका पुरुषहरू रहेका छन् । त्यस्तै रतुवामाई २ मोरङ्गका ४१ वर्षीय पुरुषमा पनि सङ्क्रमण पोजेटिभ देखिएको छ । यसैगरी, सर्लाही जिल्लामा १५, कपिलवस्तुमा नौ, चितवनमा दुई, नवलपरासी पश्चिमका तीन, नवलपरासी पूर्वका एक जनामा कोरोना सङ्क्रमण देखिएको हो । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा दुई, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक र किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा गरीएको परीक्षणमा ६ जनामा कोरोना पुष्टि भएको जनाइएको छ । नयाँ सङ्क्रमितमा एक जना मकवानपुर, एक जना भक्तपुर, एक जना सप्तरी र ६ जना बाराका रहेका छन् । हालसम्म कोराना सङ्क्रमित जिल्ला ४० पुगेको छ । जेठ ९ गते बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचाररत २१ जना डिर्स्चाज भएका छन् ।

प्रदेश १

प्रदेश १ मा जेठ ९ गते थप एक जना कोरोना सङ्क्रमण पुष्टि भएको छ । मोरङको रतुवामाई नगरपालिका-२ का ४१ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । मोरङमा एक जना थपिएसँगै प्रदेशमा सङ्क्रमितको सङ्ख्या ८५ पुगेको छ । ८५ जना सङ्क्रमितमध्ये २६ जना डिस्चार्ज भएका छन् ।

प्रदेशमा ४० हजार बढी नागरिकको पीसीआर(पोलिमर चेञ्ज रियाक्सन) परीक्षण गरिने भएको छ । मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा जेठ ९ गते बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिको बैठकले कोभिड-१९ को परीक्षण कार्ययोजना स्वीकृत गरेको छ । भारतबाट स्वदेश फर्कने नेपाली नागरिकहरू र प्रदेशभित्र कोरोना सङक्रमित पहिचानका लागि परीक्षणको दायरा बढाउन लागिएको हो ।

कोरोना भाइरसको नियन्त्रण, उपचार व्यवस्थाको लागि अहिले सञ्चालनमा रहेका बेड क्षमताहरूको समेत बृद्धि गरिने भएको छ । यसका लागि कोशी कोभिड अस्पताल १ सय, झापामा २ सय, पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ २ सय, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ३ सय, कृष्णदास आश्रम बराहश्रेत्र २ सय र नेपाली सेना इटहरीमा ५० गरी थप ८ सय ५० बेड थपिने भएको छ । प्रदेशमा भारतबाट स्वदेश फर्कने नेपाली नागरिकहरूको व्यवस्थापन गर्न संयुक्त कार्ययोजना समेत स्वीकृत गरिएको छ । कार्ययोजना अनुसार इलाम, झापा, मोरङ र सुनसरी जिल्लामा होल्डिङ्ग एरिया पहिचान गरी निर्माण समेत थालिएको छ । होल्डिङ्ग एरियामा १५ हजार बेड सङ्ख्या बन्ने भएको छ । इलाममा २ हजार, झापामा ४ हजार, मोरङ्गमा ५ हजार र सुनसरी जिल्लामा ४ हजार बेड तयार गर्न लागिएको हो ।

प्रदेश १ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

प्रदेश २

प्रदेश २ मा जेठ ९ गते सर्लाही जिल्लाका १५, बारा जिल्लाका ६ र सप्तरीमा एक जना गरी २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोरोना सङ्क्रमित हुनेहरूमा सर्लाही जिल्ला गोडैता नगरपालिका-८, ९, ११, १३ र १४ तथा रामनगर बहुअर्वा गाउँपालिका-७ का २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८ र ३९ वर्षीय पुरुष र १८ वर्षीया महिला रहेका छन् । त्यसैगरी बारा जिल्ला सिमरनगढ नगरपालिका २२, २७, ३०, ३४, ३८ र ४५ वर्षीय पुरुष तथा सप्तरी जिल्लाको बलान-बिहुल गाउँपालिका-४ वेल्हीका ३५ वर्षीय पुरुष रहेका छन् ।

प्रदेशमा जेठ ९ गतेसम्म कोरोना भाइरसका शङ्कास्पद ७ हजार ५ सय ३६ जनाको स्वाब सङ्कलन गरिएको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले बताउनु भयो । जेठ ९ गतेसम्म आरडीटी किटबाट परीक्षण ५ हजार ८ सय ६५ जनाको गरिएको छ । प्रदेशमा विभिन्न जिल्लामा निर्माण गरिएको १० हजार ६ सय ७४ बेड क्षमताको २ सय २८ ओटा क्वारेन्टाइनमा ६ हजार ६ सय ८६ जना व्यक्तिलाई राखिएको सचिव घिमिरेले बताउनु भयो । उहाँका अनुसार प्रदेश भरिमा हालसम्म ५ हजार १ सय ५५ जना व्यक्तिहरू होमक्वारेन्टाइनमा रहेका छन् भने ४ सय ५१ बेड क्षमताको आइसोलेशनमा १ सय ४३ जना उपचारार्थ छन् ।

सिरहाको नरहा गाउँपालिका-१ मा जेठ ९ गते राहतको विषयमा नेपाली कांग्रेस र नेकपाका कार्यकर्ता बीच विवाद हुँदा १८ जना घाइते भएका छन् । गाउँपालिकाले १० दिन अघिनै राहत बाँडिसके पनि कांग्रेसका केही असन्तुष्ट कार्यकर्ता र नेकपाका कार्यकर्ताबीच विवाद भएको हो ।

प्रदेश २ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

बागमती प्रदेश

यस प्रदेशमा जेठ ९ गते चितवन जिल्लाका दम्पतिमा कारोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी मकवानपुरकी एक जना र भक्तपुरकी एक गरी दुई जना महिलामा सङ्क्रमण देखिएको छ । योसँगै यस प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३१ पुगेको छ । जसमध्ये ११ जना निको भएर घर फर्केका छन् । अन्यको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । काभ्रेको धुलिखेल अस्पतालमा कोरोना भाइरसबाट मृत्यु भएकी महिलाका नवजात शिशु र पतिसहितका परिवार डिस्चार्ज भएका छन् । सिन्धुपाल्चोक जिल्लाका बाह्रबिसे नगरपालिका-९ राम्चेकी २९ वर्षीय सुत्केरी महिलाको जेठ १ गते राति उपचारका क्रममा मृत्यु भएको थियो । महिलाको मृत्युपछि नवजात शिशु, पति, उनका आमा र बहिनीलाई आइसोलेशनमा राखेर उपचार गरिएको थियो । उनीहरूमा कोरोना सङ्क्रमण नदेखिएपछि शुक्रबार डिस्चार्ज गरिएको अस्पतालका प्रशासकीय निर्देशक डाक्टर रमेश माकजुले जानकारी दिए ।

ललितपुरको लगनखेलस्थित पाटन अस्पतालमा उपचाररत सर्लाहीका ७७ वर्षीय पुरुषको कोभिड-१९ का कारण नभइ अरू नै रोगले मृत्यु भएको जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिनुभयो । त्यसैगरी अल्का अस्पताल जावलाखेलमा उपचार गर्दागर्दै मृत्यु भएका नवलपरासीका ६५ वर्षीय पुरुषको स्वाब परीक्षण गर्न प्रयोगशालामा पठाइएको पनि उहाँले बताउनु भयो ।

महानगरीय प्रहरी वृत्त कालिमाटी, काठमाडौँमा रहेका प्रहरीमा कोरना पोजेटिभ देखिएसँगै महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा रहेका १८ जना प्रहरीको आरडीटी परीक्षण गरिएको छ । उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

बागमती प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा जेठ ९ गतेसम्म १ हजार ८ सय १८ जनाको स्वाब परीक्षण गरिएको छ । तिमध्ये १ हजार ५ सय ९३ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । २ सय २० जनाको स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ । प्रदेशमा जेठ ९ गतेसम्म ७ हजार ७ सय १ जनाको र्‍यापीड डाइगनोष्टिक टेष्ट किटबाट कोरोना परीक्षण गरिएको छ ।

सरकारद्वारा कोभिड-१९ को उपचारका लागि 'डेडिकेटेड अस्पताल'को रुपमा तोकिएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा नौ शैय्याको आइसियू तयार गरिँदै छ । कोभिड-१९ का बिरामीको उपचाका लागि विशेष सुविधासहितको कोभिड उपचारमैत्री शैय्या निर्माण भइरहेको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिनुभयो । गण्डकी प्रदेशमा पाँच जनामा कोरोना सङ्क्रमण देखिएकामा बागलुङका दुई जना निको भएर डिस्चार्ज भएका छन् । नवलपरासी पूर्वका दुई जनाको उपचार चितवनमा र लमजुङका एक जनाको उपचार काठमाडौँमा भइरहेको छ ।

गण्डकी प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

प्रदेश ५

प्रदेश ५ मा जेठ ९ गतेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या २ सय २७ पुगेको छ । जसमध्ये बाँके जिल्लाका २२ जना निको भएर घर फर्केका छन् । घर फर्किनेमा १२ जना पुरूष र नौ जना महिला रहेका छन् । उनीहरू १७ देखि २० दिनसम्म आइसोलेशनमा बसेका थिए । बाँकेमा जेठ ९ गते थप १४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । सङ्क्रमित हुनेमा नरैनापुर गाउँपालिका १३ जना र राप्ती सोनारी गाउँपालिका एक जना रहेका छन् ।

प्रदेश ५ को मन्त्रीपरिषद्को बैठकले तराईका जिल्लामा २ सय र पहाडी जिल्लामा ५० बेडको आइसोलेशन केन्द्र बनाउने निर्णय गरेको छ । आइसोलेशन केन्द्रमा पीसीआरबाट पोजेटिभ देखिएका र कोभिड-१९ को लक्षण नदेखिएका बिरामीलाई राख्ने र आइसोलेशन केन्द्र बनाउन कोभिड कोषबाट रकम दिने निर्णय गरेको छ ।

प्रदेश ५ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

कर्णाली प्रदेश

दैलेख जिल्ला सदरमुकामको आइसोलेशन वार्डमा राखिएका कोरोना सङ्क्रमित युवकलाई उपचारमा लापरबाही भएको भन्ने जनदबाबपछि जेठ ९ गते कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ ।

भारतको विभिन्न स्थानबाट आएका १ हजार ९ सय ३० जना मजदुरहरूलाई प्रदेश ५ र कर्णाली प्रदेशको सीमा क्षेत्र सुर्खेतको भेरीगङगा नपा-५ बबईमा जेठ ८ गते आरडीटी परीक्षण गर्दा १३ जनामा कोरोना पोजेटिभ फेला परेपछि वीरेन्द्रनगरस्थित क्वारेण्टाइनमा राखिएको छ ।

जुम्ला जिल्लाका स्थानीय तहले विपन्न परिवार, श्रमिक, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू गरी ४ हजार घरधुरीलाई राहत वितरण गरेका छन् ।

कर्णाली प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

सुदूरपश्चिम प्रदेश

कैलाली जिल्ला जानकी गाउँपालिकाका तीन, बैतडी जिल्ला परशुराम नगरपालिकाका एक र डडेल्धुरा जिल्ला शिवनाथ गाउँपालिकाका एक जना गरी थप पाँच जनामा जेठ ९ गते कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

बैतडी जिल्लाको नेपाल-भारत सीमानाका जुलाघाटमा अलपत्र परेका, क्वारेण्टाइनमा बसेका र घर फर्कन चाहने ३ सय ७८ जना नागरिकलाई स्वदेश फर्काइएको छ । डोटी जिल्लामा एक जना सडक मजदुरको जेठ ८ गते आरडिटी परीक्षण गर्दा पाजेटिभ रिपोर्ट आएपछि जेठ ९ गते थ्रोट स्वाब नमूना सङ्कलन गरी परीक्षणका लागि धनगढीस्थित प्रयोगशालामा पठाइएको छ । अछाम जिल्लाको मेल्लेख गाउँपालिकास्थित जनता माध्यामिक विद्यालयको क्वारेण्टाइनमा रहेका २५ वर्षीया महिलामा आरडीटी रिपोर्ट पोजेटिभ आएपछि वयलपाटा अस्पतालको आइसोलेशन कक्षमा भर्ना गरिएको छ ।

सुदूरपश्चिम प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ


अनलाइन डेस्क