कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ८ गते)

  ०७७ जेठ ८ गते

नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ४ सय ५७ पुगेको जेठ ८ गते साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । नेपालमा कोरोना भाइरसका कारण तेस्रो व्यक्तिको पनि मृत्यु भएको छ । रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका ४१ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या तीन जना पुगेको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका चार जना जेठ ८ गते डिस्चार्ज भएका छन् । हालसम्म सङ्क्रमण पुष्टि भएकामध्ये ४९ जना निको भएका छन् ।

गृह मन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्ने निर्णयलाई कार्यान्वयन गर्न उपत्यकाका सबै स्थानीय तहलाई निर्देशन दिएको छ । मन्त्रालयले जेठ ७ गते नै निर्णय कार्यान्वयनका सम्बन्धमा स्थानीय तहलाई आठ बुँदै पत्र पठाएर यस्तो निर्देशन दिएको हो ।

प्रदेश १

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ८४ पुगेको छ । १० जना महिला र ७४ जना पुरुषमा सङ्क्रमण देखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । जेठ ८ गते थप आठ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाको केचनाकवल गाउँपालिकाका आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । केचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेण्टाइनमा रहेका १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टी भएको हो । उनीहरू सबै भारतबाट आएका हुन् । प्रदेशमा सङ्क्रमित भएकामध्ये ५८ जना उपचारमा र २६ जना डिस्चार्ज भएका छन् । प्रदेशमा जेठ ८ गतेसम्म ३ हजार ९ सय २२ जनाको स्वाब सङ्कलन गरिएको छ । स्वाब सङ्कलन गरिएकामध्ये ८४ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको छ ।

प्रदेश १ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

प्रदेश २

प्रदेश २ मा जेठ ८ गतेसम्म कोरोना भाइरसका शङ्कास्पद ७ हजार २ सय ४२ जनाको स्वाब सङ्कलन गरिएकोमा ५ हजार ३ सय ३५ जनाको रिपोर्ट नेगेटिभ र १ सय ३७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले बताउनु भयो । १ हजार ७ सय ७० जनाको रिपोर्ट आउन बाँकी रहेको छ । जेठ ८ गतेसम्म आरडीटी किटबाट परीक्षण ५ हजार ८ सय ४४ जनाको गरिएकोमा ५ हजार ८ सय ३२ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १२ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेशमा विभिन्न जिल्लामा निर्माण गरिएको ८ हजार ८ सय ९५ बेड क्षमताको २ सय १५ ओटा क्वारेण्टाइनमा ६ हजार ९८ जना व्यक्तिलाई राखिएको घिमिरेले बताउनु भयो । उहाँका अनुसार प्रदेश भरिमा हालसम्म ५ हजार १ सय ७५ जना व्यक्तिहरू होमक्वारेण्टाइनमा रहेका छन् भने ४ सय ५१ बेड क्षमताको आइसोलेशनमा १ सय ३८ जना उपचारार्थ छन् ।

धनुषाको सबैला नगरपालिका-१२ वरकुर्वामास्थित श्री फकिरचन्द गामी माविमा ०७६ चैत १४ गतेदेखि सञ्चालन गर्दै आएको ५० बेडको क्वारेण्टाइन मापदण्ड विपरित सञ्चालन हुँदै आएको क्वारेण्टाइनमा बसेका व्यक्तिहरूले गुनासो गरेका छन् । ६१ जना रहेको क्वारेण्टाइनमा शौचालय भने दुई ओटा मात्रै रहेको छ । साँझ-विहान शौचालय जान पालो कुरेर बस्नुपर्ने बाध्यता रहेको क्वारेण्टाइनमा बस्नेहरूले गुनासो गरेका छन् । क्वारेण्टाइनमा खाना समेत गुणस्तरीय नदिएको भारतको गुजरातबाट फर्केर क्वारेण्टाइनमा विगत १० दिनदेखि बस्दै आएका चन्द्रदेव मिश्रले बताए । थालमा भात हाल्ने बित्तिकै ठुस्स गन्हाउन थाल्छ । त्यही भात खाएर मलाई दुई दिनदेखि पखाला लागिरहेको पविन्द्र मण्डलले बताए । बिहानको खाना दिउँसो १२ बजेपछि मात्र दिने गरेको र आफूहरूले क्वारेण्टाइनका व्यवस्थापन समिति सदस्य रहेका वडाध्यक्ष प्रदिप महतोलाई गुनासो गर्दा तिमीहरूले कोरोना लिएर आएको भन्दै हप्काउने गरेको चन्द्रदेव मिश्रले बताए । क्वारेण्टाइन रेखदेखमा खटिएका इलाका प्रहरी कार्यालय सबैलाका हवल्दार मन्दिप पटेलले बिहान शौचालय जान खुला ठाउँमा जानु पर्ने बाध्यता रहेको बताउनु भयो । क्वारेण्टाइनमा मास्क, ग्लोब्स, सेनिटाइजरको व्यवस्थापन नहुँदा क्वारेण्टाइनमा बस्ने र सुरक्षाकर्मीहरूलाई समेत समस्या भइरहेको छ । क्वारेण्टाइनका स्वास्थ्य संयोजक रामदुलार यादवलाई यसबारेमा सोध्दा क्वारेण्टाइनमा बसेकाहरूको अस्पतालमा जस्तो बेड/बेडमै पुगेर स्वास्थ्य जाँच गरिरहनु पर्ने आवश्यकता नभएको बताउनु भयो ।

प्रदेश २ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

बागमती प्रदेश

चितवनका क्वारेण्टाइनमा नै कोरोना भाइरसको परीक्षणका लागि स्वाब सङ्कलन गर्न जनस्वास्थ्य स्नातक वा सोभन्दा माथि अध्ययन गरेका स्वास्थ्यका कर्मचारीको नेतृत्वमा तीन सदस्यीय समूह गठन गर्ने निर्णय भएको छ । यससँगै सोही समूहले क्वारेण्टाइनबाट स्वाब सङ्कलन र आरडिटी पनि गर्ने चितवनका जनस्वास्थ्य प्रमुख दीपक तिवारीले बताउनुभयो । जिल्लामा ३ सय बेडका क्वारेण्टाइन रहेका छन् । हाल क्वारेण्टाइनमा २३ जना र आइशोलेसनमा १० जना उपचाररत छन् ।

भक्तपुरमा कोरोना सङ्क्रमित पुष्टि भएका २७ वर्षीय सशस्त्र प्रहरी र २५ वर्षीया महिला जेठ ८ गते डिस्चार्ज भएका छन् । उनीहरूलाई वैशाख ३१ गते कोरोना पुष्टि भएको थियो ।

बागमती प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा जेठ ८ गतेसम्म १ हजार ५ सय २० जनाको स्वाब परीक्षण गरिएको छ भने १ हजार १ सय ३७ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । ३ सय ८० जनाको स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ । प्रदेशमा जेठ ८ गतेसम्म कुल ६ हजार ९ सय ९८ जनाको र्‍यापीड डाइगनोष्टिक टेष्ट किटबाट कोरोना परीक्षण गरिएको छ ।

लकडाउनका कारण समस्यामा परेका तनहुँका एचआइभी सङ्क्रमितहरूलाई घरघरमै एआरटी र पौष्टिक आहार उपलब्ध गराइएको छ ।

गण्डकी प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

प्रदेश ५

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जेठ ८ गतेसम्म प्रदेश ५ मा १० हजार ५  सय ६२ जनाको आरडीटी परीक्षण गरिएको छ । १४ हजार ७ सय ६० जना क्वारेण्टाइनमा रहेका छन् । कोरोना भाइरस सङ्क्रमित गुल्मी मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको जेठ ८ गते बुटवलस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । यससँगै प्रदेश ५ मा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । यसअघि जेठ ४ गते बाँकेमा २५ वर्षीय पुरुषको क्वारेण्टाइनमा नै मृत्यु भएको थियो ।

कपिलवस्तुको महाराजगञ्ज नपामा जेठ ७ गते कोरोना सङ्क्रमण पुष्टि भएका चार जना बालबालिकासहित आठ जनाको बिचल्ली भएको छ । उनीहरूलाई थप उपचारका लागि अस्पताल नपुर्‍याउँदा बिचल्ली भएको हो । हालसम्म उनीहरूका लागि सेनिटाइजरसमेत उपलब्ध नभएको स्थानीयको भनाइ छ । व्यवस्थापनको तयारी भइरहेको सो नगरपालिकाका स्वास्थ्य संयोजक राधेश्याम कलवारले बताउनु भयो ।

प्रदेश ५ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

कर्णाली प्रदेश

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले आइसियु भेन्टिलेटरसहित १ सय २० बेडको आइसोलेशन अस्पताल सञ्चालनमा ल्याएको छ । कर्णाली प्रदेश सरकारको उद्दारमा भारतबाट कालीकोट ल्याएका ४२ जनाको जेठ ८ गते स्वाब सङ्कलन गरी पीसीआर परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाउने भएको छ ।

सल्यान जिल्ला बनगाड कुपिण्डे नगरपालिकाका ४ सय ३६ जना स्थानीयहरू बबई नाकामा स्वास्थ्य परीक्षण बिना जिल्ला भित्रिएका छन् भने किट अभावका कारण कपुरकोट नाकाबाट जिल्ला भित्रिएकाहरूमध्ये ६० जनाको मात्रै आरडीटी गरिएको छ ।

कर्णाली प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

सुदूरपश्चिम प्रदेश

दार्चुला जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा नौ ओटै स्थानीय तहका जनप्रतिनिधिले माग गरेअनुसार सीमामा रोकिएका र अलपत्र परेका नागरिकको उद्दार गरिएको छ ।

कैलाली जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि सङ्घीय सरकारले खटाएका तीन जना डाक्टरको समयावधि सकिएर फर्किसकेकाले कोरोनाको बढ्दो अवस्थालाई मध्यनजर गरी सम्बन्धित निकायलाई पुनः खटाउन अनुरोध गर्ने निर्णय गरेको छ  ।

सुदूरपश्चिम प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ


अनलाइन डेस्क