कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ७ गते)

  ०७७ जेठ ७ गते

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेठ ७ गते २५ जनामा कोरोना पुष्टि गरेसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ४ सय २७ पुगेको जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डाक्टर विकास देवकोटाले सङ्क्रमित हुनेमा धनकुटाका पाँच जना, बाँकेका ६ जना, कपिलवस्तुका १३ जना र नवलपरासी पश्चिमका एक जना रहेको जानकारी दिनु भयो । देशभर ३८ जिल्लामा ३ सय ५८ जना पुरुष र ६९ जना महिलामा कोरना पुष्टि भएको हो ।

बुटवलस्थित क्रिमसन अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित बिरामीको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । डाक्टर देवकोटाले अहिले पनि उहाँको उपचार भेन्टिलेटरमा राखेर गरिरहेको बताउनु भयो । उहाँको स्वास्थ्य अवस्था भने गम्भीर रहेको डाक्टर देवकोटाले जानकारी दिनुभयो ।

प्रदेश १

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६६ पुगेको छ । जेठ ७ गते थप सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । सङ्क्रमित मध्ये २६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा उदयपुरका २३ जना, झापाका दुई जना र भोजपुरका एक जना छन् ।

प्रदेश १ मा जेठ ७ गतेसम्म १३ हजार ४ सय ४४ जनाको परीक्षण गरिएको छ । पीसीआर विधिबाट ३ हजार ७ सय ७ र आरडीटी विधिबाट ९ हजार ८ सय ३७ जनाको परीक्षण गरिएको छ । धनकुटा जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई जेठ ४ गते कोरोना भाइसरको सङ्क्रमण देखिएपछि अनिश्चितकालका लागि बन्द भएको जिल्ला अस्पताल सञ्चालमा आउने भएको छ ।

प्रदेश १ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

प्रदेश २

प्रदेश २ मा हालसम्म १ सय ३७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । जसमध्ये सप्तरीमा एक, सिरहामा एक, धनुषामा आठ, महोत्तरीमा चार, सर्लाहीमा पाँच, रौतहटमा २२, बारामा पाँच र पर्सामा ९१ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । १ सय ३७ कोरोना सङ्क्रमित मध्ये दुई जना उपचार पश्चात डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले बताउनु भयो ।

प्रदेश २ मा जेठ ७ गतेसम्म कोरोना भाइरसका शङ्कास्पद ६ हजार ६ सय २३ जनाको स्वाब सङ्कलन गरिएकोमा ५ हजार ८३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । १ हजार ४ सय ३ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । जेठ ७ गतेसम्म आरडीटी किटबाट परीक्षण ५ हजार ८ सय २८ जनाको गरिएकोमा ५ हजार ८ सय १६ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १२ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेश २ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

बागमती प्रदेश

कोरोनाको आशङ्कामा यस प्रदेशमा हालसम्म १५ हजार ७ सय ३१ जनामा आरडीटी विधिबाट कोरोना परीक्षण गरिएको छ । जसमध्ये १ सय ४७ जनामा एण्टिबडी पोजेटिभ देखिएको छ । यस्तै हालसम्म ५ हजार ५ सय ४० जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । क्वारेण्टाइनको सङ्ख्या ४ हजार ४ सय ६१ रहेकोमा २ सय ९५ जना बसेका छन् । कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिममा रहेका ६६ जना आइसोलेशनमा छन् ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सिन्धुपाल्चोक जिल्लामा स्थानीय सरकारले निर्माण गरेका क्वारेण्टाइन केन्द्रहरू मापदण्ड पुरा नभएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईंले बताउनु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख चापागाईंका अनुसार जिल्लामा निर्माण गरिएका क्वारेण्टाइन केन्द्रको अनुगमन गर्दा सबै ठाउँमा मापदण्ड पुरा नभएको पाइएको हो । सबै क्वारेण्टाइन केन्द्रहरूमा मापदण्ड पुरा गरी सञ्चालन गर्न स्थानीय सरकारलाई अनुरोध गरेको चापागाईंले बताउनु भयो ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिका-४ किसिगालमा ३२ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भए लगत्तै सो क्षेत्रलाई 'सिल' गरी ट्रेसिङ गर्न लागिएको नगरपालिकाका मेयर सन्तोष चालिसेले जानकारी दिनुभएको छ ।

बागमती प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा जेठ ७ गतेसम्म १ हजार ५ सय २० जनाको स्वाब परीक्षण गरिएको छ भने १ हजार १ सय ३७ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । ३ सय ८० जनाको स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ । प्रदेशमा जेठ ७ गते सम्म ६ हजार ९ सय ९८ जनाको र्‍यापीड डाइगनोष्टिक टेष्ट किटबाट कोरोना परीक्षण गरिएको छ ।

शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराले लकडाउनका समयमा दैनिक जनजिवनमा परेका प्रभावबारे ध्यानाकर्षण भएको जनाएको छ । सञ्जालले विदेश र भारतिय सिमामा रहेका नेपाली नागरिकलाई व्यवस्थित रूपमा घर फर्काइ स्वाब परीक्षण पश्चात सम्बन्धित स्थानीय तहलाई जिम्मा लगाइ घर फर्कने अवस्था सिर्जना गर्न माग गरेको छ ।

गण्डकी प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

प्रदेश ५

तिलोत्तमा नगरपालिका मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार गराई रहेका गुल्मी जिल्ला मदाने गाँउपालिका ६ का ४१ वर्षीय शिक्षक आइसियूमै उपचाररहत रहेको अस्पतालले जनाएको छ । उनलाई जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि उपचारको लागि क्रिमसन अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालको भेण्टिलेटरको सहयतामा उपचार भैरहेको अवस्थामा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा मृत्यु भएको खबर आएपछि अस्पतालले नकारात्मक हल्ला फैलाएको भन्दै यस्ता गलत हल्ला नफैलाउन विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा १ हजार ८ सय १९ जनाको थ्रोट स्वाब सङ्कलन गरी परीक्षण गरिएकोमा १ हजार ४ सय ३९ जनाको रिपोर्ट नेगेटिभ आएको, ३ सय ४३ जनाको रिपोर्ट प्रक्रियामा रहेको र ३७ जनाको रिपोर्ट पोजेटिभ रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा.राजेन्द्र गिरीले बताउनुभयो । त्यसैगरी बुटवलधागो कारखानास्थित कोरोना विशेष अस्पतालमा जेठ ६ गतेसम्म ३६ जना सङ्क्रमित रहेको लुम्बिनी प्रादेशिक अस्पलात बुटवलका बरिष्ठ फिजिसियन तथा कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बताउनुभयो । सङ्क्रमित सबैको अवस्था सामान्य रहेको र उनीहरुलाई लक्ष्ण नदेखिएको डा. थापाले जानकारी दिनुभयो ।

प्रदेश ५ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

कर्णाली प्रदेश

सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिकाले कोरोनाको आशङ्का भएका व्यक्तिलाई राख्न जेठ ५ गतेदेखि त्रिपुरेश्वर मावि ढोरेखाली र जनउच्च मावि गरी थप दुई ठाउँमा पूर्व सावधानी गृह सञ्चालनमा ल्याएको छ । यसैगरी, प्रदेश भित्रिने हरेकलाई चेकजाँच गर्न जेठ ५ गते भेरीगङ्गा नगरपालिकाको छिन्चु बजारमा स्क्रिनिङ सेन्टर स्थापना गरेको छ ।

जुम्ला जिल्लाको क्वारेण्टाइनमा सुरक्षाको अभाव भएकाले नागरिक बस्न नमान्ने र बसेका पनि १४ दिनअगावै घर जाने गरेकाले जिल्लास्तरीय एकीकृत क्वारेण्टाइन निर्माण गरी त्यसको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिएको छ । सल्यान जिल्ला शारदा नगरपालिका-१ शान्तिनगरका ४३ अतिविपन्न घरपरिवारलाई दलित सेवा सङ्घ सल्यानको पहल तथा नर्वेको सहयोगमा राहत वितरण गरिएको छ ।

कर्णाली प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

सुदूरपश्चिम प्रदेश

डोटी जिल्ला अस्पतालमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएका एक व्यक्तिको सोही अस्पतालको आइसोलेशनमा उपचार भइरहेकोमा पीसीआर रिपोर्ट नेगेटिभ आएपछि जेठ ६ गते डिस्चार्ज गरिएको छ । कञ्चनपुर जिल्ला प्रशासन कार्यालयको समन्वयमा भीमदत्त नगरपालिकाले सीमामा अलपत्र परेका १ सय ९५ जना नेपाली नागरिकहरूको जेठ ६ गते उद्दार गरी भीमदत्त नगरपालिका-४ महेन्द्रनगरस्थित बैजनाथ माध्यमिक विद्यालयको क्वारेण्टाइनमा राखिएको छ । कोरोना सङ्क्रमणको आशङ्कामा अछाम जिल्ला तुर्माखाँद गाउँपालिका-१ रहफस्थित क्वारेण्टाइनमा रहेका सात जना, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी गरी १२ जना, बान्नीगढी जयगढ गाउँपालिका र साँफेबगर नगरपालिकाका एक/एक जना र  वयलपाटा अस्पतालका दुई जना गरी १४ जनाको थ्रोट स्वाब सङ्कलन गरेर जेठ ६ गते सुर्खेत पठाइएकोमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

सुदूरपश्चिम प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ


अनलाइन डेस्क