कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ६ गते)

  ०७७ जेठ ६ गते

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जेठ ६ गते थप २७ जना व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये झापाका नौ, मोरङका एक, सुनसरीका एक, सर्लाहीका दुई, काठमाडौँको तीन, भक्तपुरका एक, ललितपुरका एक, मकवानपुरका एक, रामेछापका एक, सिन्धुलीका एक, लमजुङका एक, कपिलवस्तुका चार र नवलपरासी पश्चिमा एक जना रहेका छन् । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ४ सय २ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो । जसमध्ये पुरुष ३ सय ४० र महिला ६२ जना रहेका छन् भने सङ्क्रमण फैलिएको जिल्ला ३६ पुगेको छ । डिस्चार्ज हुनेको सङ्ख्या ३७ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार अब लक्षण नभएका स्वदेशी तथा विदेशी नागरिकले आरडीटी र पीसीआर गर्न पाउने छन् । यसका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड पालना गर्नुका साथै सूचनाको गोपनीयता र नियमित रिपोर्टिङ गर्ने गरी सार्वजनिक स्वास्थ्य संस्थामा सशुल्क परीक्षण गर्न दिने निर्णय भएको छ ।

प्रदेश १

प्रदेश १ मा जेठ ६ गते १६ जना कोरोना सङ्क्रमण पुष्टि भएको छ । धनकुटामा पाँच जना, झापाको केचनाकवलका नौ जना, सुनसरीको इटहरी उपमहानगरपालिकाका एक जना र मोरङको पथरीशनिश्चरेका एक जनामा सङ्क्रमण पुष्टि भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ मा सङ्क्रमितको सङ्ख्या ५९ पुगेको छ । प्रदेशमा सात जिल्लामा कोरोना सङ्क्रमित देखिएका छन् । उदयपुरमा ३३ जना, झापामा १२ जना, मोरङमा चार जना, सुनसरीमा दुई जना, खोटाङमा एक जना, धनकुटामा पाँच जना र भोजपुरमा एक जना सङ्क्रमित देखिएका हुन् । सङ्क्रमितमध्ये १८ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा उदयपुरका १५ जना, झापाका दुई जना र भोजपुरका एक जना छन् । डिस्चार्ज भएका सात जना भारतीय नागरिक हुन् ।

प्रदेश १ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

प्रदेश २

यस प्रदेशमा जेठ ६ गते सर्लाहीका दुई जना व्यक्तिहरूमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जसअनुरुप सर्लाही जिल्ला बागमती नगरपालिका-९ का ३४ वर्षीय पुरुष र उदयपुर जिल्ला घरभई सर्लाहीको हरिवन नगरपालिका-१० नयाँ रोड बस्ने ३१ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी विश्वमणी पोखरेलले बताउनु भयो । सङ्क्रमित मध्ये बागतमती नगरपालिका-९ का व्यक्ति हाल काठमाडौँमै बस्दै आएका छन् भने हरिवान नगरपालिका-१० नयाँ रोडमा डेरा गरी बस्ने व्यक्तिलाई जनकपुर पठाउने तयारी भइरहेको हरिवन नगरपालिकाका नगर प्रमुख गणेश प्रसाइँले बताउनु भयो ।

प्रदेश २ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

बागमती प्रदेश

कोरोनाको आशङ्कामा यस प्रदेशमा हालसम्म १३ हजार १ सय ९७ जनामा आरडीटी विधिबाट कोरोना परीक्षण गरिएको छ । जसमध्ये १ सय १३ जनामा एण्टिबडी पोजेटिभ देखिएको छ । यस्तै हालसम्म ४ हजार ७ सय ८८ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

धादिङको थाक्रे गाउँपालिका-७ स्थित जुँगेखोला क्षेत्रमा कोरोना सङ्क्रमितको पहिचान भएकाले सो क्षेत्रमा जेठ ६ गतेदेखि ११ गतेसम्मका लागि 'सिल' गरिएको छ ।

ललितपुरको पाटन अस्पतालमा जेठ ६ गते १६ जनाको आइसोलेसन वार्डमा उपचार भइरहेको अस्पतालले जनाएको छ । कोभिड-१९ को पुष्टि भएका पाँच जनालाई समेत आइसियूमा राखेर उपचार गरिरहेको अस्पतालले जनाएको छ । काठमाडौँ महानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका 'सिल' गर्न नेपाल सरकार, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग आग्रह गरेको छ ।

बागमती प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा जेठ ६ गतेसम्म १ हजार ३ सय ३१ जनाको स्वाब परीक्षण गरिएको छ भने १ हजार ८१ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । २ सय ४७ जनाको स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ । प्रदेशमा जेठ ६ गते सम्म ६ हजार ९ सय ९८ जनाको र्‍यापीड डाइगनोष्टिक टेष्ट किटबाट कोरोना परीक्षण गरिएको छ ।

गण्डकी प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

प्रदेश ५

बाँकेको नरैनापुरका थप १२ जना पुरुषमा कोरोना पुष्टि भएको छ । योसँगै नरैनापुरमा ५९ जना सङ्क्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । उनीहरू सबै नरैनापुर गाउँपालिका-५ का निवासी रहेका छन । बाँकेमा जेठ ५ र ६ गते पीसीआर परीक्षणबाट कोरोना पोजेटिभ पुष्टि भएका ५९ जना सङ्क्रमितहरू कोरोना नदेखिएकाहरूसँगै एउटै क्वारेण्टाइनमा बसिरहेका छ्न ।

प्रदेश ५ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

कर्णाली प्रदेश

दैलेख जिल्लाको आठबीस नगरपालिका-१ सात्तलास्थित क्वारेण्टाइनमा रहेका ३८ जनाको जेठ ३ गते नोजल स्वाब सङ्कलन गरिएकोमा ३५ वर्षीय युवकको जेठ ५ गते कोरोना पुष्टि भएपछि जेठ ६ गते जिल्ला सदरमुकामको आइसोलेशन वार्डमा लगिएको छ ।

हुम्ला जिल्लाको नाम्खा गाउँपालिका-५ यारीस्थित क्वारेण्टाइनमा रहेका १७ जनाको जेठ ३ गते आरडिटी परीक्षण गर्दा एक जनाको रिपोर्ट शङ्कास्पद देखिएपछि जेठ ६ गते हेलिकप्टरमार्फत स्वाब सुर्खेत पठाइएको छ ।

रुकुम (पश्चिम)मा कोराना भाइरसको सङ्क्रमण बढ्दै आएपछि स्थानीय तहहरूले भारत तथा अन्य मुलुकबाट आउने नागरिकलाई जिल्लाको सीमाबाटै क्वारेण्टाइनमा लैजाने, अनिवार्य १४ दिन क्वारेन्टाइनमा राखेर पीसीआर रिपोर्टपछि मात्रै घर फिर्ता पठाउनेजस्ता तयारी गरेका छन् । जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकाले लडाउनका कारण प्रभावित विपन्न नागरिकलाई छाक टार्नका लागि २ नम्बर वडाका १ सय ८६ जनालाई राहत वितरण गरेको छ ।

कर्णाली प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

सुदूरपश्चिम प्रदेश

अछाम जिल्ला तुर्माखाँद गाउँपालिकाका सात जना नेपालगञ्जमा मृत्यु भएका युवकसँगै क्वारेण्टाइनमा रहेको आशङ्कामा जेठ ६ गते स्वाब सङ्कलन गरी परीक्षणका लागि सुर्खेत पठाइएको छ । साथै, क्वारेण्टाइनमा रहेका बान्नीगढी जयगढ गाउँपालिकाका एक युवकमा आरडीटी परीक्षणमा पोजेभिट देखिएपछि पीसीआर परीक्षणका लागि सुर्खेत पठाइएको र जेठ ५ गतेबाट वयलपाटा अस्पतालको आइसोलेशनमा राखिएको छ ।

दार्चुला जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको जेठ ६ गते जिल्ला सदरमुकाम खलङ्गामा भएको बैठकमा नौ ओटै स्थानीय तहका जनप्रतिनिधिहरूले सीमा पारी अलपत्र रहेका नेपाली मजदुरहरूको उद्दार गर्नुपर्ने माग गरेका छन् ।

डोटी जिल्ला आदर्श गाउँपालिका-६ को वडा अध्यक्ष लालबहादुर खडायतको अध्यक्षतामा बसेको बैठकले वडासँग जोडिएका सीमा नाकाबाट विभिन्न माध्यमबाट वडा प्रवेश गर्ने भएकाले एक गाउँबाट अर्को गाउँमा जान रोक लगाउने निर्णय गरेको छ ।

सुदूरपश्चिम प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ


अनलाइन डेस्क