कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १ गते)

  ०७७ जेठ १ गते

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ सय ४९ पुगेको छ । जसमा १ सय ९९ जना पुरुष र ५० जना महिला रहेका छन् । सङ्क्रमितहरू धेरैजसो ३० देखि ५० वर्षउमेर समूहका रहेका छन् ।

Table_May14काठमाडौँ उपत्यकामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढेपछि जेठ २ गते देखि लकडाउन कडाइ गर्न लागिएको छ । गृह मन्त्रालयले काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारी, मेयरहरू, प्रहरी अधिकारीहरूसँग छलफल गरेर जेठ २ गते देखि लकडाउन कडा बनाउने निष्कर्षनिकालेको हो । गृह मन्त्रालयले जेठ १ गते देखि लागू हुने गरी यसअघि जारी सबैखाले पास रद्द गरेको छ ।

प्रदेश १

कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचाररत भारतका २५ वर्षीय मोहम्वद अदुबकर सुल्तान जेठ १ गते डिस्चार्ज भएका छन् । सुल्तान डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको सङ्ख्या १७ जना पुगेको छ । अस्पतालमा अब १८ जना उपचाररत रहेका छन् । उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । प्रदेश १ मा ३५ जनामा सङक्रमण देखिएको छ । उदयपुरमा ३२, झापामा दुई र भोजपुरमा एक जनामा सङक्रमण देखिएको थियो ।

 

map_May14


 

प्रदेश १ मा जेठ १ गते कोरोना भाइरसका शङ्कास्पद ३ सय ६७ जनाको स्वाब सङ्कलन गरिएको छ । यसअघि वैशाख ३० र ३१ गते ९०/९० जनाको स्वाब सङ्कलन गरिएको थियो । १ सय २३ जना महिला र २ सय ४४ जना पुरुषको स्वाब सङ्कलन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ मा जेठ १ गतेसम्म ८ सय ५८ जना महिला र २ हजार ६१ जना पुरुष गरी २ हजार ९ सय १९ जनाको स्वाब सङ्कलन गरिएको छ । स्वाब सङ्कलन गरिएका मध्ये ७ सय १७ जना महिला र १ हजार ७ सय १८ जना पुरुष गरी २ हजार ४ सय ३५ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । स्वाब सङ्कलन गरिएका मध्ये ४ सय ४६ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । आरडीटी विधिबाट ८ हजार ९ सय ३३ जनाको परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २५ जनाको रिपोर्ट पोजेटिभ र ८ हजार ९ सय ८ जनाको रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । क्वारेण्टाइन बेडको सङ्ख्या ५ हजार ७ सय ८५ रहेको छ । क्वारेण्टाइनमा १ सय ५७ जना महिला र ४ सय ९० जना पुरुष गरी ६ सय ४७ जना रहेका छन् । होम क्वारेण्टाइनमा ८ हजार २ सय ७१ जना रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेशमा व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ) १ हजार ७९ ओटा वितरण गरिएको छ । जेठ १ गते ७० ओटा पीपीइ वितरण गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

इटहरी उपमहानगरपालिकामा रहेको इटहरी सामूदायिक अस्पतालको सेवा स्तरोन्नतिका लागि जेठ १ गते इटहरी उपमहानगरपालिकाले प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई ज्ञापन पत्र बुझायो । ज्ञापन पत्र बुझाउन प्रदेश सांसद लिलम बस्नेत, अस्पताल सञ्चालक समिति अध्यक्ष भूपेन्द्र बराल, सञ्चालक समिति सदस्य सञ्जीव खड्का, अस्पतालका निमित्त सुपरिटेन्डेण्ट डा. मनिषकुमार शर्मा र इमर्जेन्सी विभाग प्रमुख रामकुमार धमला लगायत सामाजिक विकास मन्त्रालय पुगेका थिए ।

प्रदेश १ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

प्रदेश २

प्रदेश २ मा जेठ १ गतेसम्म ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पर्सामा ८५ जना, बारा, रौतहट र धनुषामा तीन/तीन जना, महोत्तरी र सेलाहीमा दुई/दुई जना र सप्तरीमा एक जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये चार जना निको भइ घर फर्किएका छन् ।

प्रदेश २ मा जेठ १ गतेसम्म कोरोना भाइरसका शङ्कास्पद ४ हजार ६ सय १ जनाको स्वाब सङ्कलन गरिएको छ । जसमा ३ हजार ७ सय २९ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ९८ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले बताउनु भयो । ७ सय ७४ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । त्यसैगरी, जेठ १ गतेसम्म आरडीटी किटबाट परीक्षण ५ हजार ५ सय १० जनाको गरिएकोमा ५ हजार ५ सय जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १० जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेशमा विभिन्न जिल्लामा निर्माण गरिएको ४ हजार २ सय ५१ बेड क्षमताको १ सय ८१ ओटा क्वारेण्टाइनमा १ हजार ९ सय ८ जना व्यक्तिलाई राखिएको सामाजिक विकास मन्त्रालयका सचिव घिमिरेले बताउनु भयो । उहाँका अनुसार प्रदेश भरिमा हालसम्म ४ हजार ७ सय १४ जना व्यक्तिहरू होमक्वारेण्टाइनमा रहेका छन् भने ३ सय ९८ बेड क्षमताको आइसोलेशनमा १ सय ५ जना उपचारार्थ छन् ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा कोरोना सङ्क्रमितलाई राख्ने बेड अभाव भएपछि १६ जना सङ्क्रमितलाई सिद्धार्थ माध्यमिक विद्यालयमा निर्मित आइसोलेशन वार्डमा राखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताउनु भयो । नारायणी अस्पतालमा कोरोना सङ्क्रमितको चाप बढेपछि विपद् व्यवस्थापन समितिको वैशाख ३१ गते बसेको बैठकले विद्यालयमा २ सय बेडको आइसोलेशन वार्ड बनाउने निर्णय गरेको थियो । नारायणी अस्पतालमा अहिले ७० जना सङ्क्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ ।

प्रदेश २ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

बागमती प्रदेश

कोरोना भाइरस(कोभिड १९) को बिरामी सङ्ख्या बढ्न थालेको अवस्थामा धादिङ जिल्लामा पर्ने राजमार्गमा सवारी साधन सञ्चालनमा कडाइ गरिएको छ । पृथ्वी राजमार्ग र त्रिभूवन राजपथमा पर्ने मूख्य राजमार्ग र सहायक मार्गहरूमा जिल्ला प्रवेशमा कडाइ गरिएको इलाका प्रहरी कार्यालय गजुरीका पडिएसपी खगेन्द्र खड्काले बताउनु भयो ।

कोभिड-१९को आशङ्कामा पाटन अस्पतालमा जेठ १ गते ९ जनालाई भर्ना गरी आइसोलेशन वार्डमा उपचार भइरहेको अस्पतालले जनाएको छ । कोभिड-१९को पुष्टि भएका एक जनालाई वैशाख २४ गते बेलुकीदेखि आइसियुमा राखेर उपचार भइरहेको पाटन अस्पतालले जनाएको छ ।

त्रिवि शिक्षण अस्पताल, महारजगञ्ज काठमाडौँमा उपचाररत ६ वर्षीया बालिकालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि उपचारमा संलग्न चिकित्सक, नर्सलगागत ३८ जनालाई क्वारेण्टाइनमा राखिएको छ । काठमाडौँको चन्द्रागिरी नगारपालिकामा कोरोना सङ्क्रमित देखिएपछि सिमावर्ती कीर्तिपुर नगरपालिकाका विभिन्न टोल छिर्ने सडकमा तारबार लगाइएको छ ।

बागमती प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

गण्डकी प्रदेश

जेठ १ गतेसम्म गण्डकी प्रदेशमा कुल ७ सय ६७ जनाको स्वाब परीक्षण गरिएको छ भने ७ सय ३६ जनाको परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । २९ जनाको स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ । प्रदेशमा जेठ १ गते सम्म कुल ६ हजार ८ सय ४५ जनाको र्‍यापीड डाइगनोष्टिक टेष्ट किटबाट कोरोना परीक्षण गरिएको छ ।

नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) का ४९ वर्षीय पुरुषमा जेठ १ गते कोरोना सङक्रमण पुष्टि भएको छ । सङ्क्रमितको स्वाब परीक्षण कोभिड-१९ प्रयोगशाला भरतपुरमा भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ । उनी भारतको कोलकोत्ता हुँदै रक्सौल नाकाबाट नेपाल छिरेका थिए । तर, उनी जिल्ला भने पुगेका छैनन् । उनी जिल्ला प्रवेश नगरी सोझै भरतपुर अस्पताल चितवनमा स्वास्थ्य परीक्षणका लागि गएका थिए ।

अन्य जिल्लामा कोरोना सङ्क्रमित बढेपछि गोरखा भित्रने मुख्य नाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ । गोरखा प्रवेशद्वारको मुख्य नाका गोरखा नगरपालिका-१३ मझुवा नाकामा जेठ १ गतेबाट नेपाली सेना पनि खटाइएको छ । जेठ १ गतेबाट ५ गतेसम्म उक्त नाकामा नेपाल प्रहरी र नेपाली सेना खटिने छन् ।

गण्डकी प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

प्रदेश ५

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित ब्रिफिङ अनुसार प्रदेश ५ मा हालसम्म ७ हजार ९ सय ११ जनाको आरडीटी परीक्षण गरिएको छ । ७ हजार ९ सय ५८ जना क्वारेण्टाइनमा रहेका छन् । नेपालमा सबैभन्दा बढी प्रदेश ५ को क्वारेण्टाइनमा रहेका छन् । यसैगरी आइसोलेशनमा रहनेको सङ्ख्या १ सय १२ रहेको छ । भारतमा अलपत्र परेका र क्वारेण्टाइनमा रहेका व्यक्तिहरूलाई नेपाल ल्याउन विभिन्न जिल्लामा तयारी भइ रहेकाले क्वारेण्टाइनमा बस्नेको सङ्ख्यामा अझै बृद्धि हुने निश्चित छ ।

प्रदेश ५ को मन्त्री परिषदको बैठकले कोरोना भाइरस (कोभिड-१९) बाट प्रभावित किसानहरूलाई राहत प्रदान गर्न जेठ १ गते कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । यो कार्यक्रमका लागि ५१ करोड १४ लाख रुपियाँ साउन मसान्तसम्म खर्च हुनेछ । कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन हुने क्षेत्रमा कृषि एम्बुलेन्स परिचालनका लागि ३४ लाख रुपियाँ छुट्याएको छ । नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु र बाँकेका क्वारेण्टाइनमा बस्नेहरूका लागि विशेष व्यवस्था गर्ने, त्यसका लागि क्वारेण्टाइन व्यवस्थापन निर्देशिका तयार गरी कार्यान्वयन गर्ने पनि बैठकले निर्णय गरेको छ ।

मानव अधिकार सञ्जाल दाङले कोरोना भाइरसका कारण सिर्जित समस्याका कारण अवरूद्ध नागरिकहरूको आधारभूत सेवालाई व्यवस्थापन गर्न स्थानीय तह र सम्बद्ध जनप्रतिनिधिहरूलाई आग्रह गरेको छ । दाङका दश ओटै स्थानीय तहहरूलाई क्वारेण्टाइनको स्थलगत अनुगमन, सीमामा अलपत्र परेका आफ्ना नागरिकहरूको तत्काल उद्दार र सुरक्षित क्वारेण्टाइनको व्यवस्था, मौसम अनुसारको ओढ्ने ओछ्याउने, खानपिन र सरसफाईमा ध्यान दिन र परीक्षणका लागि आरडिटी कीटको व्यवस्थापन गर्न आग्रह गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, गुल्मीले जिल्लाका सबै नाका 'सिल' गर्ने निर्णय गरेको छ । कोरोना भाइरस सङ्कट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको वैशाख ३१ गते बसेको बैठकले जेठ १ गतेदेखि ५ गतेसम्म जिल्लाका सबै नाका पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको हो ।

बाँकेका पहिलो सङ्क्रमितका २३ वर्षीय छोराले समाजमा आफ्नो परिवारलाई कुनै ठूलो अपराध गरेको जस्तो व्यवहार हुन लागेको बताउनुभयो । उहाँले गाउँ समाजले गरेको अपहेलनाका कारण परिवारमा मानसिक तनाव भएको पनि बताउनुभयो ।

सङ्क्रमितको सङ्ख्या वढ्दै जाने अवस्था देखिएपछि कपिलवस्तुमा ५० बेडको कोरोना अस्थायी अस्पताल बनाउनका लागि रकम माग गरिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रदेश ५ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

कर्णाली प्रदेश

कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिको सहकार्यमा जाजरकोट जिल्लालाई कार्यक्षेत्र बनाएर काम गर्ने विभिन्न सञ्चार माध्यममा कार्यरत् ११ जना पत्रकारहरूको कोरोना जाँच गर्न पीसीआर विधिबाट जाजरकोट अस्पतालमा स्वाब सङ्कलन गरी सुर्खेत पठाइएको छ ।

रुकुम (पश्चिम) जिल्लाका सबै स्थानीय तहले जिल्ला बाहिर रहेका १ हजार ५ सय जना व्यक्तिको उद्दार गरिएकोमा किट अभावका कारण परीक्षण नगरी सबैलाई घर पठाइएको गाउँपालिकाले जनाएको छ । अन्य प्रदेश तथा जिल्लामा कोरोनाको सङ्क्रमण तीब्र गतिमा बढ्न थालेपछि जुम्ला जिल्ला प्रशासन कार्यालयले लकडाउनमा थप कडाइ गर्नुको साथै इपास रद्ध गरी जेठ १ गतेदेखि एक जिल्लाबाट अर्को जिल्ला जानमा पनि रोक लगाएको छ ।

डोल्पा जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला सङ्कट व्यवस्थापन समतिको बैठकले जिल्लाका आठ ओटै स्थानीय तहमा रहेका नागरिकहरूको सुरक्षामा पूर्व सतर्कता अपनाउनका लागि पीसीआर परीक्षण गर्ने निर्णय गरेको छ ।

कर्णाली प्रदेश सरकारले गरेको 'मेडिकल मार्च' अनुसार सल्यान जिल्लाका धनवाङ हेल्थपोष्ट, कालीमाटी काल्चे हेल्थपोष्ट, देवस्थल हेल्थपोष्टलगायत तीन स्थानमा चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली पठाएको छ ।

कर्णाली प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

सुदूरपश्चिम प्रदेश

कञ्चनपुरबाट काठमाडौँ गएकी ३३ वर्षीया महिलामा कोरोना सङ्क्रमण देखिएपछि स्वास्थ्य कार्यालय कञ्चनपुरले उनको सम्पर्कमा आएका ३० जनाको स्वाब सङ्कलन गरी जेठ १ गते परीक्षणका लागि कैलालीको सेती प्रादेशिक अस्पताल पठाएको छ ।

कैलालीबाट बर्दिया फर्किएकी ११ वर्षीया बालिकामा कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा आएका १ सय ३४ जनाको गोदावरी नगरपालिकाको मजगाउँ र २५ जनाको भजनीमा नमूना सङ्कलन गरी परीक्षणका लागि पठाइएकोमा आठ जनाको रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ भने अरु बाँकीको रिपोर्ट आउन बाँकी छ ।

वैशाख १८ गते भारतको धार्चुला नाकाबाट स्वदेश भित्रिएका बैतडी जिल्लाको डिलाशैनी गाउँपालिका-१ सरस्वती मावि नानारा क्वारेण्टाइनमा बसेका ५० वर्षीय पुरुषको आरडीटी रिपोर्ट पोजेटिभ देखिएकाले जिल्ला अस्पतालको आइसोलेशनमा राख्नका लागि ल्याउने तयारी भइरहेको र थ्रोट स्वाब सङ्कलन गरी पीसीआर परीक्षणका लागि धनगढी पठाइने प्रक्रिया थालिएको छ ।

बाजुरा जिल्लाको बुढीगङ्गा नगरपालिकाले नगर कार्यपालिकाको बैठकबाट कोरोना भाइरस महामारी राहत मापदण्ड कार्यविधि, २०७६ अनुसार २ करोडको राहत कोष स्थापना गरी राहत वितरण सुरु गरिएको छ ।

रोजगारीका लागि भारतमा रहेका अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका-२ जनालीकोटका शेरे हुड्केले वैशाख २८ गते भारतमा आत्महत्या गरेका छन् । चार वर्षदेखि ६ जनाको परिवारसँगै भारतको गुजरात राज्यको राजकोट बस्दै आएकामा खाद्यान्न अभाव भएको र घरधनीले घर छाड्न दबाब दिएपछि परिवार पाल्न र बस्न समस्या भएकोले घरमै झुण्डिएर आत्महत्या गरेको मृतकका काका झपट हुड्केले जानकारी दिनु भयो । बझाङ जिल्लाको छबिसपाथिभेरा गाउँपालिकाको क्वारेण्टाइनमा बसिरहेका दुई जनालाई ज्वरोलगायतका लक्षण देखिएपछि आइसोलेशनमा राखिएको र उनीहरूको नमूना स्वाब सङ्कलन गरी धनगढी पठाइएको जिल्ला अस्पतालले जनाएको छ ।

भारतको दिल्लीमा मजदुरी गर्दैर् आएका नौ जना नेपाली दार्चुला जिल्लाको व्यास गाउँपालिका-६ को बसेडी क्षेत्रमा महाकाली नदीमा पौडी खेली घर फर्किएकालाई वडा नम्बर ६ को क्वारेण्टाइनमा राखिएको इलाका प्रहरी कार्यालय हुतीका प्रहरी निरीक्षक प्रेम खड्काले बताउनु भयो ।

सुदूरपश्चिम प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ


अनलाइन डेस्क