कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २९ गते)

  ०७७ वैशाख २९ गते

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार वैशाख २९ गतेसम्म १ सय ३४ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । कर्णाली प्रदेशबाहेक ६ प्रदेशका १७ जिल्लाका १ सय ३४ जनामा कोरोना देखिएको हो । निको भएर घर फर्किएका ३३ जनामध्ये तीन जनामा पुनः सङ्क्रमण देखिएको छ ।

Nepali_infected_may11

प्रदेश १ को उदयपुरमा ३२, झापामा दुई र भोजपुरमा एक गरी ३५ जनामा सङ्क्रमण देखिएकामा उदयपुरका १४ जना, झापा र भोजपुरका एकएकजना गरी १६ जनालाई निको भएको छ । प्रदेश २ को पर्सामा २५, रौतहटमा तीन, बारामा दुई, सर्लाही र सप्तरीमा एक/एक जना गरी ३२ जनामा सङ्क्रमण देखिएकामा पर्साका तीन र रौतहटका एक जना निको भइ घर फर्किएका छन् ।

बागमती प्रदेशको काठमाडौँमा पाँच जनामा सङ्क्रमण देखिएकामा सबै जना उपचारपछि घर फर्किएका छन् । चितवनमा दुई जनामा सङ्क्रमण देखिएकामा दुवै जना डिस्चार्ज भइसकेका छन् । गण्डकी प्रदेशको बागलुङमा दुई जनामा कोरोना पोजेटिभ देखिएकामा दुवै जना उपचारपछि निको भइसकेका छन् ।

प्रदेश ५ को बाँकेमा २४, कपिलवस्तुमा २१, रुपन्देहीमा सात र बर्दियामा एक जनामा सङ्क्रमण देखिएकामा सबै जना उपचाररत छन् । वैशाख २९ गते मात्रै प्रदेश ५ मा २३ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको हो । कर्णाली प्रदेशमा भने वैशाख २९ गते दिउँसोसम्म कोरोना सङ्क्रमित पुष्टी भएको अभिलेख स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा छैन । सुदूरपश्चिम प्रदेशको कैलालीमा चार र कञ्चनपुरमा एक जना गरी पाँच जनामा कोरोना पोजेटिभ देखिएकामा सबै जना उपचारपछि घर फर्किसकेका छन् ।

प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले कोभिड-१९ (कोरोना भाइरस) नियन्त्रण गर्न पीसीआर टेष्टको सङ्ख्या बढाउन र लकडाउनलाई क्रमशः खुकुलो पार्न सरकारलाई निर्देशन दिएको छ । समितिको वैशाख २९ गते बसेको बैठकले आरडीटी विधिबाट गरिने परीक्षण भन्दा पीसीआर विधिबाट गरिने परीक्षण विश्वसनीय भएको भन्दै तत्काल त्यसमा वृद्धि गर्न निर्देशन दिएको सांसद राजन केसीले जानकारी दिनुभएको छ । संसदको बैठकमा गृहमन्त्री रामबहादुर थापाले भारतीय सीमा पारी करिब २ हजार १ सय नेपालीहरू क्वारेण्टाइनमा रहेको जानकारी दिनुभएको छ ।

प्रदेश १

प्रदेश १ मा पीसीआर र आरडीटी विधिबाट १० हजार ३ सय बढीको परीक्षण गरिएको छ । वैशाख २९ गतेसम्म पीसीआर विधिबाट २ हजार २ सय ५९ जनाको स्वाब सङ्कलन गरिएको छ । ६ सय ४१ जना महिला र १ हजार ६ सय १८ जना पुरुष गरी २ हजार २ सय ५९ जनाको स्वाब सङ्कलन गरिएको हो । स्वाब सङ्कलन गरिएका मध्ये ६ सय २७ जना महिला र १ हजार ५ सय ३८ जना पुरुष गरी २ हजार १ सय ९५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेशमा कोरोना पोजेटिभ रिपोर्ट आउनेको सङ्ख्या ३५ जना रहेको छ । स्वाब सङ्कलन गरिएका मध्ये २९ जनाको रिपोर्ट आउन बाँकी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ मा आरडीटी विधिबाट ८ हजार ७३ जनाको परीक्षण गरिएको छ । आरडीटी परीक्षण गरिएका मध्ये २२ जनाको रिपोर्ट पोजेटिभ आएको छ । आरडीटी गरिएका १ हजार ५ सय ३२ जना महिला र ६ हजार ५ सय १९ जना पुरुष गरी ८ हजार ५ सय ५१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश १ मा ५ हजार ८ सय ७२ वबडको क्वारेन्टाइन निर्माण गरिएको छ । वैशाख २९ गते ७३ ओटा क्वारेन्टाइन घटाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ मा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ७ सय ४३ जना रहेको छ । होम क्वारेन्टाइनमा ८ हजार ९२ जना बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ विराटनगरले वैशाख २९ गते मोरङको धनपालथान गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्‍यो ।

प्रदेश १ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

प्रदेश २

प्रदेश २ मा वैशाख २९ गते थप एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सप्तरी जिल्ला डाक्नेश्वरी नगरापलिका-३ का १८ वर्षीय एक युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय टेकु, काठमाडौँले जनाएको छ । चितवनबाट वैशाख ९ गते ट्रकमा आइपुगेका उनीसहित १३ जना मजदुरलाई डाकनेश्वरी नगरपालिका-५ पातोस्थित कन्तचन्द्र माविको क्वारेन्टाइनमा राखिएकोमा पीसीआरको रिपोर्ट आउनु अगावै वैशाख २८ गते घर पठाइएको थियो ।

प्रदेश २ मा वैशाख २९ गतेसम्म कोरोना भाइरसका शङ्कास्पद ३ हजार ७ सय २५ जनाको स्वाब सङ्कलन गरिएको छ । जसमा २ हजार ५ सय ४४ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ३२ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिनु भयो । १ हजार १ सय ४९ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । त्यसैगरी, वैशाख २९ गतेसम्म आरडीटी किटबाट परीक्षण ५ हजार ४ सय ६३ जनाको गरिएकोमा ५ हजार ४ सय ५३ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १० जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेशमा विभिन्न जिल्लामा निर्माण गरिएको ४ हजार १ सय ५८ बेड क्षमताको १ सय ७९ वटा क्वारेन्टाइनमा १ हजार ४ सय ५६ जना व्यक्तिलाई राखिएको सामाजिक विकास मन्त्रालयका सचिव घिमिरेले जानकारी दिनु भयो । उहाँका अनुसार प्रदेश भरमा हालसम्म ४ हजार ४ सय ३८ जना व्यक्तिहरू होम क्वारेन्टाइनमा रहेका छन् भने ३ सय २ बेड क्षमताको आइसोलेसनमा ४० जना उपचारार्थ अस्पतालमा रहेका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनुषा जिल्ला प्रतिनिधि दीपेन्द्र प्रसाद सिंह र मानव अधिकारकर्मीहरूको पहलमा लकडाउनका कारण जनकपुरधाम उपमहानगरपालिका-८ स्थित बाह्र विगहा मैदानमा सामान्य त्रिपालको छाप्रोमा बस्दै आएका ३२ जना भारतीय नागरिकलाई वैशाख २९ गते राहत सामग्री वितरण गरियो ।

प्रदेश २ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

बागमती प्रदेश

कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमितको आशङ्कामा आरडीटी प्रविधिबाट यस प्रदेशमा वैशाख २९ गतेसम्म ९ हजार ३ सय १६ जनामा परीक्षण गरिएको छ । यसैगरी २ हजार ५ सय ४४ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

चितवनमा रहेका ७५ जना भारतीयले घर फर्कन चाहेको भन्दै नाम दर्ता गराएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले फर्कन चाहने भारतीय नागरिकलाई नाम दर्ता गर्न २८ गतेसम्म नाम टिपाउन भनिएको हो । दोलखा जिल्लामा किटको अभावले आरडीटी परीक्षण रोकिएको छ । यसअघि ४ सय १० जनाको र्‍यापीड टेष्ट परीक्षण गरिएकोमा अहिले शङ्का लागेको व्यक्तिको मात्र परीक्षण गर्न थालिएको छ ।

बागमती प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा वैशाख २९ गतेसम्म ७ सय २४ जनाको स्वाब परीक्षण गरिएको छ भने ६ सय ९५ जनाको परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । २७ जनाको स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ । प्रदेशमा वैशाख २९ गतेसम्म कुल ६ हजार ५ सय १४ जनाको र्‍यापीड डाइगनोष्टिक टेष्ट किटबाट कोरोना परीक्षण गरिएको छ ।

गण्डकी प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

प्रदेश ५

प्रदेश ५ को बाँकेमा २४, कपिलवस्तुमा २१, रुपन्देहीमा सात र बर्दियामा एक जनामा सङ्क्रमण देखिएकामा सबै जना उपचाररत छन् । वैशाख २९ गते मात्रै प्रदेश ५ मा २३ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको हो ।

कोरोनाको उच्च जोखिम बढेपछि कपिलवस्तु जिल्लालाई 'सिल' गर्ने निर्णय गरिएको छ । वैशाख २९ गते साँझ ५ बजेदेखि जेठ ५ गते मध्यरातिसम्म जिल्लालाई सिल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताउनु भएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा ६ सय ४८ जनाको थ्रोट स्वाब सङ्कलन गरी परीक्षण गरिएकोमा ५ सय ११ जनाको रिपोर्ट नेगेटिभ आएको र १ सय ३७ जनाको रिपोर्ट प्रक्रियामा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका  निमित्त प्रमुख डाक्टर राजेन्द्र गिरीले बताएका छन् ।

भारतले लकडाउन खुकुलो बनाएपछि भारतमा मजदुरी गरी जिविकोपार्जन गर्दै आएका नेपाली धमाधम घर फर्कन लागेपछि नवलपरासी सुस्ता पश्चिम जिल्लाभित्र जोखिम बढेको छ । भारतले नेपाल भारत सीमास्थित जनसङ्ख्या धेरै भएको र व्यवस्थापन गर्न पनि चुनौती रहेकाले भारतले सहजै पठाइरहेको हुँदा सीमामा अड्किएका जिल्लाबासी धमाधम आउन थालेका हुन् ।

जिल्ला प्रशासन कार्यालय बर्दियामा वैशाख २९ गते बसेको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले वैशाख ३० गतेदेखि लागु हुने गरी अत्यावश्यक उपभोग्य सामग्री पसल आइतबार देखि शुक्रबारसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ला गर्ने निर्णय गरेको छ । यसअघि बिहान ७ बजेदेखि ११ बजेसम्म हप्तामा तनि दिन खोल्ने निर्णय गरिएको थियो । हप्तामा तीन दिनमात्र खुल्दा अत्याधिक भिड बढेको र कोरोना भाइरस सर्ने जोखिम बढेको भन्दै वैशाख २९ गते गते अर्को निर्णय गरिएको हो ।

प्रदेश ५ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

कर्णाली प्रदेश

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि बनेका नीति नियम मापदण्ड कार्यविधिअनुसार कार्यान्वयन नभएको भन्ने रिटमाथि अदालतले सुनुवाइ गर्दै नीति नियम हुबहु कार्यान्वयन गर्न अन्तरिम आदेश भएको उच्च अदालत सुर्खेत, जुम्ला इजलासका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्दले बताउनु भएको छ । वैशाख २९ गते अदालतले रिटमाथि सुनुवाइ गर्दै चार बुँदे आदेश गरेको हो ।

जाजरकोट जिल्लाको भेरी नगरपालिकाले जगतीपुर, कुदु, भुर र बाहुनथानास्थित स्वास्थ्य चौकीका बर्थिङ सेन्टरमा गर्भवती तथा सुत्केरी हुन आउने महिलाको स्वास्थ्य अवस्था तथा कोरोना भाइरसको समस्या भए/नभएको बारेमा चेकजाँच गर्न चार ओटै बर्थिङ सेन्टरमा चार जना स्वास्थ्यकर्मी परिचालन गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख निशा थापाले बताउनु भयो ।

जिल्ला अस्पताल सल्यान र विभिन्न स्थानीय तहमा १ हजार ६८ जनामा आरडिटी विधिबाट १ हजार २२ ओटा र पीसीआर विधिबाट ४६ ओटा परीक्षण गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । जाँचमा सबैको रिपोर्ट नेगेटिभ आएको कार्यालयका प्रमुख डा. अर्जुनकुमार बुढाले जानकारी दिनु भयो ।

कर्णाली प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

सुदूरपश्चिम प्रदेश

अछाम जिल्लाको साँफेबगर नगरपालिका घर भई भारतको महाराष्ट्रको पुने शहरमा बस्दै आएका एकै परिवारका तीन जना २८ वर्षीय घरमूली, उनकी २२ वर्षीया श्रीमती र ५ महिनाका छोरामा कोरोना भाइरसको सङ्क्रमण देखिएको उनका आफन्तले जानकारी दिएका छन् । सङ्क्रमण देखिएका तीन जनाको स्थानीय अस्पतालमा एक हप्तादेखि उपचार भइरहेको छ ।

धनगढीको पशुपन्छी अन्वेषण प्रयोगशालामा स्थापना गरिएको आरटी-पीसीआर मेसिनमा वैशाख २९ गते ४५ जनाको कोरोना भाइरस परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताउनु भएको छ ।

लकडाउनका कारण दार्चुला जिल्लामा विकास निर्माणका रोकिएका तिङ्कर सडक महाकाली करिडोर अन्तर्गत मोटरेबल पुल, अपिहिमाल गाउँपालिकामा निर्माणाधीन मकरीगाड हाड्रोपावरलगायतका १९ योजनालाई सावधानी अपनाएर गर्न स्थानीय प्रशासनले अनुमति दिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका कम्प्युटर अपरेटर मोहन भट्टले बताउनु भयो । साथै, जिल्लाको शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वर मावि गोकुलेश्वरमा बनाइएको क्वारेन्टाइनमा बसेकाहरूले समयको सदुपयोग गर्दै विद्यालयमा रङ्ग रोगनका कार्य गर्न थालेका छन् ।

कोराना भाइरसको सङ्क्रमण बढेसँगै डोटी जिल्लाका नौ ओटै स्थानीय तहका प्रमुखले भारतमा अलपत्र परेका डोटीका नागरिकहरूलाई नेपाल ल्याउने व्यवस्था गर्न सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीसँग आग्रह गरेका छन् ।

बझाङ जिल्लाको थलारा गाउँपालिका घर भएका ९३ जना भारतको रामपुरमा एक सार्वजनिक घरमा बनाएको क्वारेन्टाइनमा रोकिएको ४५ दिन भएको छ । स्थानीय जनप्रतिनधिहरूसँग धेरै पटक फोन गरेर समस्या बताउँदा पनि सुनुवाइ नभएको क्वारेन्टाइनमा रहेका अम्मर थापाले बताउनु भएको छ ।

बाजुरा जिल्लाको बुढीगङ्गा नगरपालिकाले नगरक्षेत्रका किसानको तरकारी बारीबाटै खरिद गरी दैनिक ज्यालादारी, विपन्न गरिब परिवारलाई खाद्यान्नसँगै राहत वितरण गर्न थालेको नगरपालिकाका मेयर दिपकविक्रम शाहले बताउनु भयो । बैतडी जिल्लामा लकडाउनका कारण चार स्थानीय तहमा प्रभावित भएको खोप अभियान वैशाख २९ गतेबाट सुरु भएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिनु भएको छ ।

सुदूरपश्चिम प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ


अनलाइन डेस्क