कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २८ गते)

  ०७७ वैशाख २८ गते

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय १० पुगेको छ । जसमा ७८ जना पुरुष र ३२ जना महिला रहेका छन् । प्रदेश १ मा ३५, प्रदेश २ मा ३१, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा दुई, प्रदेश ५ मा ३० र सुदूरपश्चिम प्रदेशमा पाँच जना रहेका छन् । उनीहरूमध्ये ३१ जना निको भएर घर फर्किसकेका छन् । उनीहरूमध्ये रुपन्देहीमा ६, बाँकेमा २४, चितवनमा एक, पर्सामा २७, मोरङमा २१ गरी ७९ जनाको उपचार भइरहेको छ । सबैको स्वास्थ्य स्थिति सामान्य रहेको छ ।

Nepali_infected_may10 Nepali_Cured_May10

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ बाट सङ्क्रमित भएको आशङ्कामा पीसीआर विधिबाट १६ हजार ८ सय ९८ र आरडीटी विधिबाट ५६ हजार ५ सय ५० जनाको नमुना परीक्षण गरिएको जनाएको छ ।  जसमा प्रदेश १ मा ७ हजार ५५, प्रदेश २ मा ५ हजार ८ सय ९०, बागमती प्रदेशमा ९ हजार १ सय ८१, गण्डकी प्रदेशमा ६ हजार ३ सय ७७, प्रदेश ५ मा ६ हजार ७ सय ७४, कर्णाली प्रदेशमा ६ हजार ३ सय ६३ र सुदूरपश्चिम प्रदेशमा १४ हजार ९ सय १० ओटाको नमुना स्वास्थ्य परीक्षण गरिएको बताउनु भएको छ ।

प्रदेश १

कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचाररत थप दुई जना वैशाख २८ गते डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड-१९ मा उपचाररत दुई जना वैशाख २८ गते डिस्चार्ज भएसँगै प्रदेशबाट डिस्चार्ज हुनेको सङ्ख्या १६ पुगेको छ । अस्पतालमा अहिले १९ जना उपचाररत रहेको कोशी अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डाक्टर सङ्गीता मिश्राले बताउनु भएको छ ।

प्रदेश १ मा कोरोना भाइरसका शङ्कास्पद २ हजार १ सय ४० जनाको स्वाब सङ्कलन गरिएको छ । वैशाख २८ गते ६९ जना महिला र ६२ जना पुरुष गरी १ सय ३१ जनाको स्वाब सङ्कलन गरिएको छ । स्वाब सङ्कलन गरिएका मध्ये ५ सय ९७ जना महिला र १ हजार ५ सय ४ जना पुरुष गरी २ हजार १ सय १ जनाको रिपोर्ट नेगेटिभ आएको छ । स्वाब सङ्कलन गरिएका मध्ये ३५ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । स्वाब सङ्कलन गरिएका मध्ये ३९ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । प्रदेश १ मा आरडीटी विधिबाट ७ हजार ७ सय ३७ जनाको परीक्षण गरिएको छ । आरडीटी गरिएका मध्ये २१ जनाको रिपोर्ट पोजेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । आरडीटी गरिएको १ हजार ४ सय ४९ जना महिला र ६ हजार २ सय ६७ जना पुरुष गरी ७ हजार ७ सय १६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश १ मा वैशाख २८ गतेसम्म ५ हजार ९ सय २५ बेडको क्वारेण्टाइन निर्माण गरिएको छ । क्वारेण्टाइनमा १ सय ९७ जना महिला र ७ सय ४२ जना पुरुष गरी ९ सय ३९ जना रहेका छन् । होमक्वारेण्टाइनमा बस्नेको सङ्ख्या ७ हजार ९ सय ९७ जना पुगेको छ । होमक्वारेण्टाइनमा १ हजार ५ सय ८४ जना महिला र ६ हजार ४ सय १३ जना पुरुष रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

पाँचथरको मिक्जाजुङ गाउँपालिकाले कोरोना भाइरसका कारण आउन सक्ने खाद्यान्न सङ्कटलाई मध्य नगर गर्दै कृषिजन्य उत्पादनमा कृषकहरूलाई अभिप्रेरित गर्ने कार्यक्रम ल्याएको छ । ४० मुरी भन्दा बढी धान उत्पादन गर्ने कृषकलाई १ लाख रुपियाँ दिने जस्ता कार्यक्रम ल्याएको गाउँपालिकाले जनाएको छ ।

प्रदेश १ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

प्रदेश २

प्रदेशमा वैशाख २८ गतेसम्म कोरोना भाइरसका शङ्कास्पद ३ हजार ६ सय ८० जनाको स्वाब सङ्कलन गरिएको छ । जसमा २ हजार ५ सय १७ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ३१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिनु भयो । १ हजार १ सय ३२ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । त्यसैगरी, वैशाख २८ गतेसम्म आरडीटी किटबाट परीक्षण ५ हजार ४ सय ५० जनाको गरिएकोमा ५ हजार ४ सय ४० जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १० जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेशमा विभिन्न जिल्लामा निर्माण गरिएको क्वारेण्टाइनमा १ हजार ४ सय ४५ जनालाई राखिएको छ भने होम क्वारेण्टाइनमा ४ हजार ६ सय २ जना रहेको सामाजिक विकास मन्त्रालयका सचिव घिमिरेले जानकारी दिनु भएको छ ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा कोरोना भाइरस (कोभिड-१९) परीक्षण गर्ने आरडीटी किट र भिटीएम अभाव भएको छ । हाल अस्पतालमा पाँच/पाँच ओटा मात्र आरडीटी किट र भिटीएम उपलब्ध रहेको र प्रादेशिक स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्रले भिटीएम पठाउने आश्वासन दिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डाक्टर चुमनलाल दासले बताउनु भएको छ ।

लकडाउनको ४८ औँ दिन आइपुग्दा पनि महोत्तरीको सम्सी गाउँपालिकाले दैनिक ज्यालादारी गर्ने, गरिब तथा विपन्न परिवारलाई राहत नबाँडेको भन्दै गाउँपालिका कार्यालयमा स्थानीयले वैशाख २८ गते दोस्रो पटक तालाबन्दी गरेका छन् । स्थानीयले यसअघि वैशाख २३ गते पनि गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए । वैशाख २४ गते गाउँपालिकाका अध्यक्ष शेष फारुखले पाँच दिनभित्र राहत बाँड्ने बताएपछि ताला खुलेको थियो ।

लकडाउन अवस्थामा बजारमा व्याप्त कालो बजारी, अखाद्य वस्तु तथा म्याद गुज्रेको खाद्यान्न अनुमति विना विक्री वितरण गरेको जनगुनासो पछि सिरहाको गोलबजार नगरपालिकामा वैशाख २८ गते बजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा चुरोट, खैनी लगायतको सामग्री जफत गरी नष्ट गर्नुका साथै पेयपदार्थको डिलर र घरेलु राइसमिल शिल गरिएको छ । गोलबजार नगरपालिकाका उप-प्रमुख तथा अनुगमन समितिका संयोजक रेशम कुमारी थापाले अनुगमनका क्रममा भेटिएका म्याद नाघेका खाद्य सामग्रीहरू जफतगरी नष्ट गरेको बताउनु भयो । सोही क्रममा पब्लिक कोल्ड स्टोर (पेप्सी डिलर) मा पनि शिल गरिएको छ । डिलरमा पेप्सि, मिरिण्डा, माउन्टेन डिउ लगाएका म्याद गुज्रेका पेय पदार्थ फेला परेकाले डिलर शिल गरिएको हो । म्याद नाघेका पेय पदार्थ अनुगमन समितिको प्रत्यक्ष निगरानीमा कम्पनिमा फिर्ता गर्ने शर्त सहित डिलरमा शिल गरिएको र भावना राइस मिलले अनुमति बिना मापदण्ड विपरित गहुँको पिठो प्याकिङ गरी बजारमा विक्री गरेको पाइएपछि गोदाम शिल गरिएको इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर जनक पुरीले बताउनु भयो ।

प्रदेश २ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

बागमती प्रदेश

भारत घर भइ हाल चितवनमा रहेर भारत जान चाहने भारतीय नागरिकलाई जिल्ला प्रशासन कार्यालय चितवनले घर पठाउने भएको छ । जिल्ला प्रशासन कार्यालयले वैशाख २६ गते एक सूचना जारी गरेर चितवन जिल्लाभित्र रहेका घर जान चाहने भारतीयलाई परिचयपत्रसहित नाम टिपाउन आग्रह गरेको छ ।

रसुवा जिल्लभर जनप्रतिनिधि तथा स्वास्थ्यकर्मी कोरोना भाइरस सचेतनाका लागि सक्रियताका साथ लागेका छन् । गाउँगाउँमा कोरोना भाइरसबाट बच्न सचेतनामुलक कार्यमा लागेका छन् । स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिसँग नियमित सम्पर्क हुन थालेपछि हाम्रो साथ खोज्न थालेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा सहभागी विद्यार्थीलाई आन्तरिक मूल्याङ्कन गरेर अङ्क दिन नमिल्न जनाएको छ । दुई महिनअघि स्थगित भएर अनिश्चित बनेको परीक्षाका बारेमा आन्तरिक मूल्याङ्कन गरेर अङ्क दिन प्याब्सनले आग्रह गरेको केही दिनपछि बोर्डले वैशाख २८ गते यस्तो जनाएको हो ।

शिक्षा ऐनमै एसइइ परीक्षा बोर्डले लिने स्पष्ट पारेकोले कानुनको संशोधन नगरी कुनै पनि विधि अपनाउन नसकिने बोर्ड अध्यक्ष प्राध्यापक डाक्टर चन्द्रमणी पौडेलले जानकारी दिनु भएको छ ।

मकवानपुरगढी गाउँपालिकाले लकडाउनमा बाँझो जग्गालाई खनजोत गरी कृषि उत्पादन र पशुपालन गर्नेलाई अनुदान दिने निर्णय गरेको छ । लकडाउनको प्रभावले गाउँपालिकामा खाद्य सङ्कट उत्पन्न हुन सक्ने परिस्थितिलाई मध्यनजर गर्दै पाँच वर्षदेखि बाँझो जग्गा उपयोग गरी कृषि पेसा गर्नेलाई मल, बिउ र खनजोतको लागि प्रोत्साहन स्वरुप अनुदान दिने निर्णय कार्यपालिकाले गरेको हो । गाउँपालिकाभित्र ६० प्रतिशत जग्गा बाँझो रहेको गाउँपालिकाले जनाएको छ ।

बागमती प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा वैशाख २८ गते सम्म ६ सय ९५ जनाको स्वाब परीक्षण गरिएको छ । जसमध्ये ६ सय ८५ जनाको परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । तीन जनाको स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ । दुई जनामा कोरोना पुष्टी भएको छ । प्रदेशमा वैशाख २८ गतेसम्म ६ हजार ४ सय ८४ जनाको र्‍यापीड डाइगनोष्टिक टेष्ट किटबाट कोरोना परीक्षण गरिएको छ ।

कास्कीमा वैशाख २८ गतेदेखि लकडाउन खुकुलो बनाइएको छ । अत्यावश्यक सेवा सञ्चालन गर्ने सरकारी कार्यालय तथा सार्वजनिक संस्थानहरूको सेवा प्रवाहका लागि आवश्यक न्यूनतम कर्मचारीलाई आलोपालो प्रणालीबाट, बैङ्क तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सहकारीलगायत सञ्चालनमा आएका छन् । पर्वतमा पनि जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै लक डाउनलाई केहि खुकुलो बनाएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालद्वारा जारी सुचनामा लक डाउन कायमै रहे पनि अत्यावश्यक सेवाका विभिन्न कामहरू सञ्चालन गर्न भने लकडाउन खुकुलो बनाइएको जनाइएको छ ।

लकडाउन खुकुलो बनाइएपछि कृषि तथा पशुपक्षीजन्य सेवा तथा सामग्री, स्वास्थ्यसम्बन्धी सामग्री, पुस्तक पसलहरू, फलफुल, तरकारी, पानी, दुध, ग्यास, पेट्रोलियम पदार्थ, औद्योगिक कच्च पदार्थलगायतका सामान बोकेका सवारी साधनहरू सञ्चालनमा आएका हुन् ।

गण्डकी प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

प्रदेश ५

भारतका विभिन्न स्थानबाट नेपाल आउन लागेका १ हजार ५ सय भन्दा बढी नेपाली नागरिकलाई कपिलवस्तुका सीमा क्षेत्रमा सुरक्षाकर्मीहरूले प्रवेश गर्न नदिएपछि उनीहरू अलपत्र परेका छन् । सीमा क्षेत्र 'सिल' गरिए पनि उनीहरू रातको समयमा चोर बाटो हुँदै नेपाल प्रवेश गर्न खोजेको प्रहरीले जनाएको छ । बुद्धभूमि नगरपालिकामा लुकीछिपी भारतबाट आएका २ सय जना नागरिकलाई गोरुसिङ्गेस्थित गौतमबुद्ध माविमा व्यवस्थापन गरिएको मेयर केशवकुमार श्रेष्ठले बताउनु भएको छ ।

प्यूठानमा वैशाख २७ गते आरडीटी परीक्षण गरिएका दुई जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । काठमाडौँ र म्याग्दीबाट आएका प्यूठान नपा-२ का २० वर्षीय र ४५ वर्षीय पुरुषमा आरडीटी पोजेटीभ देखिएपछि उनीसँगै क्वारेण्टाइनमा बसेका अन्य तीन जनाको गरी पाँच जनाको स्वाब परीक्षणको लागि भैरहवा पठाइएको प्यूठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिले जानकारी दिनु भएको छ ।

दाङमा १ सय ३० जनाको स्वाश सङ्कलन गरेर पीसीआर विधिबाट परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । जिल्लाका आइसोलेशनमा रहेका १२ र क्वारेण्टाइनका १ सय १८ जनाको स्वाब परीक्षण भइरहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । दाङमा अहिले आइसोलेशनमा १२ र क्वारेण्टाइनमा १ सय ४४ जनालाई राखिएको छ ।

प्रदेश ५ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

कर्णाली प्रदेश

हुम्ला जिल्लामा कोरोना फैलन सक्ने भन्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दल रावलले विशेषज्ञ डाक्टरको टिम र आवश्यक स्वास्थ्य सामग्रीसहित वैशाख २८ गते पुग्नु भएको छ । डोल्पा जिल्लामा आरडिटी परीक्षणका क्रममा शङ्कास्पद देखिएका ११ जनाको स्वाब पीसीआर परीक्षणका लागि वैशाख २७ गते सुर्खेत लगिएकोमा रिपोर्ट नेगेटिभ आएको छ ।

लकडाउनबाट प्रभावित असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक तथा असहाय व्यक्तिहरूलाई जाजरकोट जिल्ला भेरी नगरपालिकाले राहतस्वरूप खाद्य सामग्री वितरण गरेको भए पनि ३, ४, ८ र ११ वडामा विपन्नको सङ्ख्या एकिन नहुँदा विपन्न परिवारले राहत नपाउने भएका छन् । साथै, शिवालय गाउँपालिकाले ३ सय घरपरिवारलाई दोस्रो चरणको राहत सामग्री वितरण गरेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार शाहीले बताउनु भएको छ ।

कालीकोट जिल्ला सान्नी त्रिवेणी गाउँपालिकाले स्वास्थ्यकर्मीसहितको टोली परिचालन गरी दीर्घरोगीहरूलाई निःशुल्क औषधि वितरण गरी चेकजाँच सुरु गरेको छ । साथै, मुसीकोट नगरपालिकाको कोरोना विशेष अस्पतालको आइसोलेशन भवन निर्माणको काम सम्पन्न भएको नगर प्रमख देविलाल गौतमले जानकारी दिनु भयो ।

दैलेख जिल्ला भैरवी गाउँपालिकाले भारत र बाहिर जिल्लाबाट आएका ३० जनाको वैशाख २८ गते कोरोना भाइरस भए नभएको जाँच्न गरिएको आरडीटी परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको छ ।

कर्णाली प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

सुदूरपश्चिम प्रदेश

किट अभावका कारण भारतबाट आएकामध्ये २ हजार ४ सय ४४ जनाको कोराना परीक्षण रोकिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासिले बताउनु भएको छ ।

बझाङ जिल्लाको सदरमुकाम चैनपुरको बजार बिहान-बेलुका दुई-दुई घण्टा खोल्ने गरिएको छ । विद्युत, बैङ्क, टेलिकमजस्ता केही अतिआवश्यक कार्यालयहरूमा कर्मचारीहरूको आलोपालो गरी सञ्चालन गरिएको छ । साथै, जिल्लामा कोरोना परीक्षण गर्ने किटको अभाव भएको छ ।

भारतको उत्तराखण्डस्थित क्वारेण्टाइनमा १४ दिनसम्म बसेका १ सय ५० जनाभन्दा बढी नेपाली नागरिकहरूलाई वैशाख २६ गते क्वारेण्टाइनबाट निकालेपछि १५ किलोमिटर हिँडेर नेपाल भारत सीमा क्षेत्र पुगेको अवस्थामा एसएसबीले कुटपिट गरी पुरानै ठाउँमा जान भनेपछि भोकभोकै उत्तराखण्डको खटिमास्थित क्वारेण्टाइनमा फर्किनु परेको क्वारेण्टाइनमा बस्दै आएका नेपाली नागरिकहरूले बताएका छन् ।

बाजुरा जिल्ला बुढीनन्दा नगरपालिकाका नगर कार्यपालिकाको वैशाख २८ गते बसेको बैठकमा लकडाउनको कारण सबै बजारक्षेत्र बन्द भएपछि सुनौला हजार दिनकी आमा र बच्चालाई कुपोषण हुनबाट जोगाउन पोषिलो खाना घरघरमा गएर उपलब्ध गराउने तथा प्रसुतीका लागि सुत्केरी माहिला, अशक्त, एकल महिला र रिफर गरिएका सुत्केरी महिलालाई स्वास्थ्य केन्द्रसम्म पुर्‍याउन लकडाउन अवधिभर निःशुल्क गाडीको व्यवस्था नगरपालिकाले गर्ने निर्णय गरेको बुढीनन्दा नगरपालिकाका मेयर पदम गिरीले बताउनु भएको छ ।

भारतले वैशाख २६ गते दार्चुला जिल्लाको व्यास गाउँपालिकाको कालापानी, लिपुलेक हुँदै चीनसँग सीमा जोड्ने गरी सडक निर्माण गरेपछि सरकारले तत्काल व्यासको छाङ्गरुमा लकडाउनका कारण ढिलाइ भएको सशस्त्र प्रहरीको बीओपी राख्ने भएको छ ।

सुरक्षित मातृत्व सञ्जाल महासङ्घ नेपालले धनगढी उपमहानगरपालिकाभित्रका अतिविपन्न एवम् सीमान्तकृत समुदायका सुत्केरी तथा गर्भवती महिलाहरूलाई खाद्य तथा पोषण सामग्री वितरण गरेको छ ।

लकडाउनका कारण रोजगारी गुमाएर घर फर्कने व्यक्तिहरूका लागि अछाम जिल्ला पञ्चदेवल विनायक नगरपालिकाले रोजगारका नीति तथा कार्यक्रम तयार गरिने उक्त नगरपालिकाका उपप्रमुख अम्बिका चलाउनेले बताउनु भएको छ ।

भारतबाट महाकाली नदीमा ट्युबमार्फत स्वदेश भित्रिने क्रम नरोकिएकाले सीमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त गस्ती सुरु गरिएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनु भएको छ ।

सुदूरपश्चिम प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ


अनलाइन डेस्क