कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २७ गते)

  ०७७ वैशाख २७ गते

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले थप सात जनामा कोरोना सङ्क्रमण पुष्टी भएको बताउनु भएको छ । सङ्क्रमित हुनेमा तीन महिला र चार पुरुष रहेका छन् । सङ्क्रमित तीन जना १८, ४५ र ६५ वर्षीया उदयपुर भुल्केका महिला हुन् । यसैगरी सङ्क्रमित चार जना पुरुषमध्ये १७ वर्षका एक र १८ वर्षका दुई जना कपिलवस्तुका र पर्सा छपकैयाका ६२ वर्षीय रहेका छन् । मन्त्रालयको विवरण अनुसार उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ९ पुगेको छ । जसमा ७८ जना पुरुष र ३१ जना महिला रहेका छन् ।

संक्रमितहरु प्रदेश १ मा ३४, प्रदेश २ मा ३१, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा दुई, प्रदेश ५ मा ३० र सुदूरपश्चिम प्रदेशमा पाँच जना रहेका छन् । उनीहरूमध्ये रुपन्देहीमा ६, बाँकेमा २४, चितवनमा एक, पर्सामा २७, मोरङमा २० गरी ७८ जनाको उपचार भइरहेको छ । सेती अस्पतालमा उपचाररत महिलाको परीक्षण रिपोर्ट नेगेटिभ आएकाले ३५ औँ दिनमा वैशाख २६ गते डिस्चार्ज भएकी छन् । डिस्चार्ज हुनेको सङ्ख्या ३१ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको पिसिआर विधिबाट परीक्षणलाई प्राथमिकतामा राखेको बताउनु भएको छ । मन्त्री ढकालका अनुसार पीसीआर परीक्षणका लागि पर्याप्त किट भएको जानकारी दिनुभएको छ । कोभिड–१९ बढी जोखिम देखिएको उदयपुर, पर्सा र नेपालगञ्जमा मन्त्रालयबाट विशेष टोली परिचालन गरिएको समेत उहाँले बताउनु भएको छ ।

प्रदेश १

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३५ पुगेको छ । वैशाख २७ गते उदयपुरमा चार जना थपिएपछि सङ्क्रमितको सङ्ख्या ३५ पुगेको हो । सङ्क्रमित भएका ३५ जनामध्ये १४ जना डिस्चार्ज भएका छन् । २० जनाको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचार भइरहेको छ । प्रदेशमा कोरोना भाइरसका शङ्कास्पद २ हजार बढीको स्वाब सङ्कलन गरिएको छ । वैशाख २७ गतेसम्म ५ सय ३४ जना महिला र १ हजार ४ सय ७५ जना पुरुष गरी २ हजार नौ जनाको स्वाब सङ्कलन गरिएको छ । वैशाख २७ गते मात्रै ९९ जना महिला र १ सय १५ जना पुरुष गरी २ सय १४ जनाको स्वाब सङ्कलन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । स्वाब सङ्कलन गरिएका मध्ये ५ सय २९ जना महिला र १ हजार ४ सय ४० जना पुरुष गरी १ हजार ९ सय ६९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । स्वाब सङ्कलन गरिएका मध्ये ६ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । प्रदेशमा आरडीटी विधिबाट ७ हजार २ सय ९५ जनाको परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २१ जनाको आरडीटी रिपोर्ट पोजेटिभ आएको छ । आरडीटी गरिएका १ हजार ३ सय ४ जना महिला र ५ हजार ९ सय ७० पुरुष गरी ७ हजार २ सय ७४ जनाको रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ मा ५ हजार ९ सय २२ बेडको क्वारेन्टाइन निर्माण गरिएको छ । क्वारेन्टाइनमा २ सय २० जना महिला र ८ सय २४ जना पु्रुष गरी १ हजार ४४ जना रहेका छन् । होमक्वारेन्टाइनमा बस्नेको सङ्ख्या ७ हजार ९ सय ४२ जना पुगेको छ । होमक्वारेन्टाइनमा १ हजार ५ सय ७३ जना महिला र ६ हजार ३ सय ६९ जना पुरुष रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

विराटनगर महानगरपालिका–१५ का विपन्न समुदायहरू राहत वितरणमा आफूहरूलाई बेवास्ता गरेको भन्दै वैशाख २७ गते विरोधमा उत्रिएका छन् । वडाका अति निम्न आय भएका ५८ परिवारले पहिलो चरणको राहत वितरणमा नै आफूहरूलाई छुटाएको भन्दै तत्काल राहत उपलब्ध गराउन माग गरेका छन् ।

सङ्खुवासभाको भोटखोला गाउँपालिकामा स्थानीयले राहत नपाएको गुनासो गरेका छन् । सरकारले विपन्न तथा ज्यालादारी मजुदुरलाई राहत दिन भने पनि भोटखोलामा वैशाख २७ गतेसम्म राहत वितरण नभएको भोटखोला गाउँपालिका–५ का जसधन राईले बताउनु भयो । भोटखोला गाउँपालिका कार्यालयले स्थानीयलाई राहत भन्दा पनि खाद्यान्न ढुवानी गरेर लगिदिने काम गरेको गाउँपालिका अध्यक्ष तेम्बा भोटेले बताए ।

ताप्लेजुङको सिदिङमा गाउँपालिकाले लकडाउनमा सामाजिक दूरी कायम गरेर ७ सय ३३ जनालाई गोरेटो बाटो तथा नाली व्यवस्थापनका काममा परिचालन गरिएको गाउँपालिका उपाध्यक्ष जीवन ताम्लिङले बताउनु भयो । प्रदेश १ का जिल्लाहरूमा मजदुर तथा सामग्रीको अभावले पूर्वाधार विकासका आयोजनाले गति लिन सकेका छैनन् । लकडाउन लामो समयसम्म कायमै रहँदा बजार केन्द्रित दैनिक मजदुरी गरेर गुजारा चलाउने विपन्न वर्गको जीवन यापनमा कठिनाइ भएको छ ।

प्रदेश  १ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

प्रदेश २

प्रदेश २ अन्तर्गत पर्सा जिल्ला बीरगञ्ज महानगरपालिका–३ छपकैयामा थप एक जनामा कोरोना सङ्क्रमण देखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौँले जनाएको छ । वैशाख २७ गते पीसीआर परीक्षणबाट कोरोना पोजेटिभ आएको ६२ वर्षीय स्थानीय पुरुष किराना पसल सञ्चालक भएको खुल्न आएको छ । उनको स्वाब सङ्कलन वैशाख २५ गते गरिएको थियो । उनलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि परिवारका २० जना सदस्य र उनको विवाहिता छोरीको परिवारका आठ जना सदस्यको कन्ट्रयाक्ट ट्रेसिङ गरिएको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले बताउनु भयो । उनको बीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेशन कक्षमा उपचार भइरहेको छ ।

छपकैयामा वैशाख २६ गते २ सय ७२ जना व्यक्तिहरूको स्वाब सङ्कलन गरिएको थियो । वैशाख २७ गते पनि उक्त क्षेत्रमा कन्ट्राक्ट ट्रेसिङ गरिएका २८ जना सहित कूल ५ सय जनाको स्वाब सङ्कलन गर्ने लक्ष्य सहित कार्य भइरहेको सचिव घिमिरेले जानकारी दिनु भयो । बीरगञ्ज महानगरपालिकाको छपकैयामा वैशाख २७ गतेसम्म २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेशमा वैशाख २७ गतेसम्म कोरोना भाइरसका शङ्कास्पद ३ हजार ५ सय २० जनाको स्वाब सङ्कलन गरिएको छ । जसमा २ हजार ४ सय १६ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ३१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका सचिव घिमिरेले जानकारी दिनु भयो । १ हजार ७३ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

जनकपुरधाममा ४२ बेडसहितको कोरोना भाइरस उपचारका लागि स्थापित ‘कोरोना विशेष अस्पताल’ वैशाख २७ गतेदेखि सञ्चालनमा आएको छ । प्रादेशिक अस्पताल जनकपुर अन्तर्गत रहेको जनकपुर नर्सिङ क्याम्पसमा सम्भावित कोरोना सङ्क्रमित गर्भवतीको प्रसूती साथै शल्यक्रिया गर्ने व्यवस्थासमेत रहेको छ ।

प्रदेश २ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

बागमती प्रदेश

बागमती प्रदेश अन्तर्गत कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि वैशाख २७ गते कुनै पनि स्वाब सङ्कलन भएको छैन । हालसम्म यस प्रदेशमा ९ हजार १ सय ५ आरडीटीबाट परीक्षण गरिएकामा २० जनाको रिपोर्ट पोजेटिभ आएको छ । राप्ती नगरपालिका, चितवनमा बेलायतबाट दुई महिनाअघि फर्किएकी ६१ वर्षीया महिलामा गरिएको पुनः परीक्षण पनि पोजेटिभ आएको प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी तथा चिकित्सा विभागका प्रमुख डाक्टर पुरुषोत्तम सेढाईले बताउनु भएको छ ।

रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानीले सो वडाका विपन्न परिवालाई खाद्यान्न वितरण गरेको छ । धादिङका १३ स्थानीय तहले १० हजार ७ सय ४७ परिवारलाई राहत वितरण गरेका छन् ।

कोरोना भाइरसको सङ्क्रमणबाट उत्पन्न जटिल परिस्थितिमा मानव अधिकारको अवस्थाबारे वैशाख २६ गते इन्सेक काभ्रेको अगुवाइमा जिल्ला कारागार काभ्रेमा अनुगमन गरिएको छ । इन्सेक र मानव अधिकार अनुगमन समिति काभ्रेले जिल्ला कारागारमा रहेका थुनुवा र कैदीबन्दीको स्वास्थ्योपचारको व्यवस्था, दैनिक खानपान र मानाव अधिकारबारे अनुगमन गरेको नेपाल बार एशोसिएशन काभ्रेका अध्यक्ष एवम् अनुगमन समिति काभ्रेका सदस्य देवकुमार मोक्तानले बताउनुभयो ।

सङ्घीय सरकारले बागमती प्रदेश सरकारलाई कोरोना भाइरस (कोभिड १९) को परीक्षणका लागि पीसीआर किट उपलब्ध गराएपछि हेटौँडामा कोरोनाको पीसीआर परीक्षण पुनः सुचारु भएको छ । किट अभावले वैशाख २४ गतेदेखि कोरोना परीक्षण रोकिएको थियो ।

बागमती प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

गण्डकी प्रदेश

गण्डकी प्रदेश वैशाख २७ गतेसम्म ६ सय ९५ जनाको स्वाब परीक्षण गरिएको छ । जसमध्ये दुई जनाको कोरोना पोजेटिभ, ६ सय ८५ जनाको नेगेटिभ र आठ जनाको स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ । गण्डकी प्रदेशमा वैशाख २७ गते सम्म कुल ६ हजार ४ सय ७३ जनाको ¥यापीड डाइगनोष्टिक टेष्ट किटबाट कोरोना परीक्षण गरिएको छ ।

कास्कीमा अन्नपूर्ण गाउँपालिकाले हालसम्म राहत वितरण गरेको छैन । गाउँपालिकाका अध्यक्ष युवराज कुवँरका अनुसार गाउँपालिकाले राहत वितरण भन्दा पनि विपन्न एवम् मजदूर वर्गलाई काममा लगाएर जिविकोपार्जनमा सहयोग गर्दै आइरहेका छ ।

जिल्ला प्रशासन कार्यालय तनहुँमा भएको सङ्कट व्यवस्थापन केन्द्रको बैठकले खाद्यान्न, निर्माण सामग्रीका पसल, ढुवानी तथा राजमार्ग क्षेत्रमा सीमित सङ्ख्यामा होटल र खाजा पसल सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले बिहानको समयमा खाद्यान्न पसल र साँझको समयमा निर्माण सामग्री पसल खुल्ला गर्ने निर्णय गरेको छ । गोरखामा यार्सागुम्बा सङ्कलनमा जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ । कोभिड–१९ को सम्भावित जोखिमलाई ध्यानमा राखेर यार्सा सङ्कलनमा रोक लगाइएको प्रशासनका अधिकृत हर्क रोकाले बताउनुभयो । यार्सा सङ्कलन समूहमा गरिने भएकाले अहिले उपयुक्त समय नभएको उहाको भनाइ छ ।

गण्डकी प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

प्रदेश ५

दुई हप्ता क्वारेन्टाइनमा बसिसकेकाहरू मध्ये हालसम्म २ हजार ६ सय ९६ जना आरडीटी परीक्षण भई सबैको रिपोर्ट नेगेटिभ आएको छ । वैशाख २७ गते १ सय ३५ जनाको आरडीटी परीक्षण भएकोमा सबैको रिपोट नेगेटिभ देखिएको छ । हालसम्म २ हजार ४ सय ९८ जना आरडीटी परीक्षण भई सबैको रिपोर्ट नेगेटिभ आएपछि होम क्वारेण्टाइनमा पठाएको छ । हालसम्म ४ सय ३७ जनाको परीक्षणका लागि स्वाब सङ्कलन भएको छ । स्वाब परीक्षणबाट १ सय ७० को रिपोर्ट ‘नेगेटिभ’ आएको छ  । २ सय ६५ जनाको स्वाब परीक्षण रिपोर्ट आउन बाँकी छ । स्वाब परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएका १ सय ७० जनालाई होम क्वारेण्टाइनमा पठाएको छ  ।

कपिलवस्तु जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पाँच पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा वैशाख २७ गते सङ्क्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले वैशाख २७ गते बिहान निकालेको विज्ञप्तिमा सो जानकारी दिइएको हो ।

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि रुपन्देहीको सैनामैना नगरपालिकाले कोरोना अस्थायी आइसोलेशन अस्पताल वैशाख २७ गतेदेखि सञ्चालनमा ल्याएको छ ।

बाँकेको नेपालगञ्जमा कोरोना सङ्क्रमित सङ्ख्या बढ्दै गएपछि रोकथाम र नियन्त्रणका लागि आवश्यक किट प्राप्त भएको छ ।  कोरोना परीक्षण हुने भेरी अस्पताल नेपालगञ्जका लागि २ हजार थान टेष्ट किट प्राप्त भएको भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर प्रकाश थापाले बताउनु भएको छ । जोखिम क्षेत्रमा स्वाब सङ्कलनले तीब्रता दिएको छ  ।

प्रदेश ५ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

कर्णाली प्रदेश

कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले कोरोना भाइरस नियन्त्रण र रोकथाम गर्न पिसिआर परीक्षणका लागि आवश्यक पर्ने भिटिएम र आरडीटी किट सल्यान अस्पतालका प्रमुख डाक्टर अर्जुन बुढालाई हस्तान्तरण गर्नुभएको छ ।

त्रिपुरासुन्दरी नगरपालिका–७ मा रहेको कस्तुरी निमावि क्वारेन्टाइनमा रहेका नागरिकहरूको वैशाख २६ गते आरडिटी परीक्षण गर्ने क्रममा

रास्कोट नगरपालिकाले नेपाल खाद्य संस्थान कालिकोटबाट खरिद गरि लकडाउनको समयमा विपन्न परिवारलाई राहातस्वरुप वितरण गरेको गुणस्तरहिन चामल । फोटो सौजन्यः नगरपालिकाको कार्यालय
रास्कोट नगरपालिकाले नेपाल खाद्य संस्थान कालिकोटबाट खरिद गरि लकडाउनको समयमा विपन्न परिवारलाई राहातस्वरुप वितरण गरेको गुणस्तरहिन चामल । फोटो सौजन्यः नगरपालिकाको कार्यालय

एक जना पुरुषको रिपोट पोजेटिभ देखिएपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट पिसिआर परीक्षणको लागि स्वाब सङ्कलन गर्न वैशाख २७ गते हेलिकप्टरमार्फत स्वास्थ्यकर्मीको टोली आवश्यक औषधि र उपकरणसहित डोल्पामा पुगेको छ । साथै, ठूलीभेरी नगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले कोरोना जोखिमबाट नगरलाई बचाउन पूर्वसतर्कताअनुरूप अनिश्चित समयका लागि नगर प्रवेश गर्ने सबै नाका सिल गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले लकडाउन भएकाले ज्याला मजदुरी गर्न नपाएका विपन्न परिवारलाई वैशाख २४ गते नेपाल खाद्य संस्थान कालीकोटबाट खरिद गरी राहतस्वरूप वितरण गरेको चामल गुणस्तरहीन भएकोले स्थानीय नागरिक बिरामी पर्न थालेको रास्कोट नगरपालिका–९ का स्थानीय डबलबहादुर बोगटीले बताउनु भयो ।

रुकुम (पश्चिम) जिल्लाको आठबीसकोट नगरपालिकाले ११ ओटै वडामा लामो समयसम्म भएको लकडाउनका कारण समस्यामा परेका मजदुर तथा विपन्न परिवारलाई रोजगारी दिन प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत खाद्यान्न कार्यक्रम सुरु गरिएको नगरप्रमुख गोर्खबहादुर केसीले जानकारी दिनु भयो ।

हुम्ला जिल्लामा ९ सयभन्दा बढी व्यक्तिहरू क्वारेन्टाइनमा रहेकाले कोरोना परीक्षण गर्ने आरडिटी किट अपुग भएको छ । मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–६ बाइलबगरमा रहेको हेल्थ डेस्कमा चार दिनदेखि थर्मलगनको ब्याट्रीमा समस्या आएकोले सेवा दिन नसकिएको स्वास्थ्य चौकीका इञ्चार्ज पदमबहादुर सेजुवालले बताउनु भयो ।

कर्णाली प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा तीन दिनदेखि रोकिएको कोरोना परीक्षण वैशाख २७ गतेदेखि सुरू भएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशानालयका प्रमुख डाक्टर गुणराज अवस्थीले वैशाख २६ गते राति ३ सय ८४ जनालाई पुग्ने आरएनए एक्सप्रेशन किट धनगढी आइपुगेको बताउनु भएको छ ।

कोरोना भाइरस (कोभिड–१९)को जोखिमलाई मध्यनजर गर्दै चैत १० गतेदेखि लकडाउनमा रहेको कञ्चनपुर जिल्लामा जिल्ला प्रशासन कार्यालयले निश्चित समय निर्धारण गरी र समय निर्धारण नगरी जतिसुकै बेला पनि गर्न सकिने काम तोकी वैशाख २७ गतेदेखि बजार खोल्ने अनुमति दिएको छ । लकडाउन केही खुकुलो गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताउनु भएको छ ।

बाजुरा जिल्लाका नौ ओटै स्थानीय तहका ३७ ओटा क्वारेन्टाइनमा ३ सय ३८ जना बसिरहेकामा १४ दिन क्वारेन्टाइन समय पुगेकालाई आरडिटी चेक गरेर मात्र घर पठाउने प्रावधान भए पनि किट अभावका कारण बिनापरीक्षण घर पठाउन लागेको जिल्ला स्वास्थ्य कार्यालय, बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताउनु भएको छ ।

सुदूरपश्चिम प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ


अनलाइन डेस्क