कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २० गते)
साउन २० गते २ सय ५९ जनामा कोरोना पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या २१ हजार ९ जना पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन २० गते जारी गरेको प्रतिवेदन अनुसार सङ्क्रमितमध्ये १५ हजार २६ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । सङ्क्रमितमध्ये ५८ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । साउन २० गते ६५ जना डिस्चार्ज भएका छन् भने निको दर ७१.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । ५ हजार ९ सय २५ जनाको उपचार भइरहेको छ । गत २४ घण्टामा ७ हजार ६ सय ८७ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदनमा उल्लेख छ ।
प्रदेश २
प्रदेश २ मा साउन २० गते सम्ममा जम्मा ५ हजार ६ सय ३१ जना कोरोना सङ्क्रमित पुगेकोमा ३ हजार १ सय ८४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । प्रदेशमा हाल २ हजार ४ सय २७ जना सङ्क्रमितहरू उपचाररत छन् । साउन २० गते सम्ममा २० जना सङ्क्रमितको मृत्यु भएको नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार राजविराजको साइकृष्णा हस्पिटल एण्ड मेडिकल कलेजस्थित आइसोलेशन केन्द्रमा रहेका सङ्क्रमितहरूले साउन २० गते ‘गुणस्तरहीन खाना’ नखाने भन्दै बहिष्कार गरेपछि राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले साँझ केन्द्रका सङ्क्रमितहरूसँग भेटेर गुनासो सुन्नु भएको छ । सङ्क्रमितहरूले चामलसहित खाना गुणस्तरहीन भएको, पर्याप्त पानी नपाएको, बालबालिकाहरूसमेत भोकै पर्ने गरेको जस्ता समस्याबारे अवगत गराए । नगर प्रमुख यादवले रातिदेखि खानामा सुधार ल्याउने प्रतिबद्धता जनाउनु भयो । नास्ता, खानाको व्यवस्थापनको जिम्मा लिएका ठेकेदारले चामल परिवर्तन गर्ने र खाना स्तरीय दिने बताएको पनि प्रमुख यादवले बताउनु भयो । यसैगरी स्थानीय नेता, कार्यकर्तासहित गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पुग्नु भएका प्रदेश २ का मन्त्री शैलेन्द्रप्रसाद साहले आइसोलेशन केन्द्रको व्यवस्थापन, पीसीआर परीक्षणलगायत बढ्दो सङ्क्रमितको व्यवस्थापनबारे निमित्त मेडिकल सुपरिटेन्डेण्ट डाक्टर रणजितकुमार झासँग आवश्यक छलफल गर्नुभएको छ ।
धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार मिथिला विहारी नपा–२ मिथिलेश्वरका ३५ वर्षीय विश्वेश्वर यादवको स्वाब सङ्कलनका लागि गरिएको अनुरोध अस्पताल प्रशासन र स्थानीय सरकारले नसुनेका कारण साउन १७ गते बिहान आत्महत्या गरेको पीडित परिवारको आरोप छ । भारतको दिल्लीमा हल्दीराम भुजियामा कामदार रहेका यादव असार १६ गते नेपाल आएका थिए । मिथिला विहारी नगरपालिकाको पर्शुराम तलाउ माविको क्वारेण्टाइनमा राखिएका उनको स्वाब असार २६ गते सङ्कलन गरिएकामा कोरोना सङ्क्रमण भएको रिपोर्ट आएको थियो । उनलाई साउन १ गतेदेखि १० गतेसम्म नगराइन नगरपालिकाको गङ्गुलीको आइसोलेशनमा राखिएको स्वास्थ्य संयोजक विगुल यादवले बताउनु भयो । आइसोलेशनमा बस्दा कोरोना भाइरससम्बन्धी कुनै लक्षण नदेखिएपछि पुनः पीसीआर विधिबाट परीक्षण नगरी १० साउनमा घर फर्काएको आइसोलेशन प्रमुख सन्तोष ठाकुरले बताउनु भयो । उहाँले नेपाल सरकारको मापदण्ड अनुसार नै यादवलाई घर पठाएको दावी गर्नु भयो । आइसोलेशनबाट घर आउँदा घरपरिवारका सदस्यहरूले अन्तिम पटक टेष्ट नगरिएको भन्दै घर पस्न नदिएको भन्दै यादवले नगरपालिका प्रमुख अनिल यादवलाई जानकारी गराएका थिए । पीसीआर टेष्ट गराई नेगेटिभ आएको खण्डमा मात्रै घर आउन आग्रह गर्दै घर परिवारका सदस्यहरूले बाहिर चौरमा बस्न आग्रह गर्दै विशेश्वर यादवलाई खाना पानीसमेत घर बाहिर पातमा खुवाउँदै आएको आरोप थियो । पटक–पटक स्थानीय तहका प्रमुखलाई पीसीआर टेष्टको लागि अनुरोध गर्दै आएको विश्वेश्वर यादवको आग्रह कसैले नसुनेपछि घरपरिवारमा बस्न नसकेका विश्वेश्वर यादवले परसुराम तलाउस्थित क्वारेण्टाइनस्थल नजिकै आत्महत्या गरेको स्थानीय राजेन्द्र यादवले बताउनु भयो ।
महोत्तरी प्रतिनिधि अजयकुमार साहका अनुसार कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्यामा वृद्धिसँगै अग्रपङ्गतिमा खटिने स्वास्थ्यकर्मीहरूलेसमेत स्वास्थ्य चौकी बन्द गर्न थालेका छन् । साउन २० गते महोत्तरीमा १४ जना नेपाली सेना र एक जना सम्सीमा गरी १५ जनामा कोरोना पोजेटिभ देखिएको छ । केही स्वास्थ्यकर्मीहरूमा समेत कोरोना पोजेटिभ देखिएको भन्दै जलेश्वर नगरपालिकाको अनकार स्वास्थ्य चौकीले साउन २० गतेदेखि २६ गतेसम्म सो स्वास्थ्य चौकीका सम्पूर्ण सेवा बन्द गरेको छ । स्थानीय प्रशासनले साउन १७ गतेदेखि लगाएको निषेधाज्ञाकै क्रममा पीसीआरको चेकजाँच बढाएपछि सङ्क्रमितको सङ्ख्यामा वृद्धि देखिएको स्वास्थ्य कार्यालय महोत्तरीका कोभिड १९ फोकलपर्सन गिरेन्द्रकुमार झाले बताउनु भयो ।
रौतहट प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार जिल्ला प्रशासन कार्यालयले साउन २० गते एक प्रेस विज्ञप्ति जारी गर्दै कोभिड १९ सङ्क्रमणको जोखिम दिनानुदिन बढिरहेको र कन्ट्याक्ट ट्रेसिङबाट साउन २० गते राजदेवी नगरपालिकामा चार जना, गौर नगरपालिकामा एक जना तथा चन्द्रपुर नगरपालिमा एक जना गरी ६ जना कोरोना सङ्क्रमण पोजिटिभ देखिएकोले अति आवश्यक काम नपरी कोही पनि घर बाहिर ननिस्कन अनुरोध गरेको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत किरणनिधि तिवारीले बताउनु भयो ।
पर्सा प्रतिनिधि कृष्णचन्द्र लामिछानेका अनुसार पर्सामा कारोना परीक्षण गरिएकाहरूको साउन २० गते बिहान आएको रिपोर्ट अनुसार सङ्क्रमण पुष्टि भएका ३४ जनामा बीरगंज ब्यारेकका तीन जना नेपाली सेना, एक जना पत्रकार, एक जना वडा प्रहरी कार्यालय बिर्ताको थुनुवा, वयोधा अस्पताल र नेशनल मेडिकल कलेजका एक÷एक जना डाक्टर रहेका छन् । पाँच जना पेड पीसीआर परिक्षण गराउनेहरूमा स्क्रमण देखिएको छ ।
गण्डकी प्रदेश
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार समुदाय स्तरमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि व्यास नगरपालिका वडा नम्बर ९ र १० अनिश्चितकालको लागि बन्द गरिएको छ । जिल्ला प्रहरी कार्यालयमा स्याङजामा कार्यरत एक प्रहरी जवान व्यास नगरपालिका–१० मा रहेको आफ्नो घरमा आएको र उनी फर्केर गएपछि उनको कोरोना पोजेटिभ रिपोर्ट आएको हुँदा सो वडा गत साउन १६ गतेदेखि बन्द गरिएको छ । ती प्रहरी जवान घर आउँदा वडा कार्यालयमा पनि पुगेको कारण सर्वसाधरणलाई सङ्क्रमणबाट बचाउन वडा कार्यालयबाट प्रदान गरिने सबै सेवाहरू बन्द गरिएको वडा अध्यक्ष तुल्सीराम सापकोटाले बताउनुभयो ।
ती प्रहरी जवानको सम्पर्कमा आएका ४० जनालाई कन्टयाक्ट ट्रेसिङको आधारमा स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको वडाध्यक्ष सापकोटाले बताउनुभयो । त्यसैगरी वडा नम्बर–९ मा पनि समुदायमा कोरोना फैलन सक्ने सम्भावना भएको हुँदा स्थानीय जनतालाई सुरक्षित राख्न वडाको कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु साउन २० गतेबाट अर्काे सुचना नहुँदासम्म बन्द गरिएको वडा नम्बर–९ का वडाध्यक्ष सुरेश थापाले बताउनुभयो ।
प्रदेश ५
कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि बाँकेमा साउन १८ गतेदेखि लागु गरिएको निषेधाज्ञाको अवधि बढाइएको छ । जिल्ला सङ्कट व्यवस्थापन समिति (डिसिसीएमसी) को साउन २० गतेको बैठकले साउन २४ गते राति १२ बजे सम्मकालागि निषेधाज्ञा थप गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनु भयो । यसैगरी इलाका प्रहरी कार्यालय कोहलपुरमा एक जना थुनुवामा कोरोना सङ्क्रमण देखिएपछि साउन २० गतेदेखि इलाका प्रहरी कार्यालय सील गरिएको छ ।
साउन १४ गते गिरफ्तार गरिएका एक जना थुनुवामा कोरोना सङ्क्रमण देखिएपछि मातहतका सम्पूर्ण कर्मचारी तथा प्रहरीहरूलाई जनसम्पर्कबाट अलग गरिएको इलाका प्रहरीले कार्यालय, कोहलपुरका डिएसपी कुलदिप चन्दले बताउनु भयो ।
रुपन्देही प्रतिनिधि रीमा बिसीका अनुसार देवदह नपा–७ शितलनगरस्थित नेपाल मगर सङ्घमा रहेको क्वारेण्टाइनका सुरक्षा गार्ड देवदह नपा–५ का २४ वर्षीय विपिन बस्यालले साउन २० गते बिहान मटितेल छर्केर आत्महत्या गरेका छन् । पाँच दिनअघि क्वारेण्टाइनमा दैनिक ज्यालादारीमा सुरक्षा गार्डको रूपमा खटिइएका बस्यालले सफा गर्न राखेको मटितेल छर्केर आगो लगाएपछि उपचारका लागि पाल्पा मेडिकल कलेज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी प्रतितसिंह राठोरले इन्सेककर्मीलाई फोनमार्फत बताउनु भयो । क्वारेण्टाइनमा बसेका व्यक्तिहरूले मान्छेको शरीरमा आगो बलेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । घाइते बस्याललाई प्रहरीले देवदह मेडिकल कलेजमा लगेको थियो । देवदह मेडिकल कलेजले उपचार सम्भव नहुने भन्दै काठमाडौँ वा पाल्पा मेडिकल कलेजमा लैजान रेफर गरेको थियो । विद्यालयमा रहेको क्वारेण्टाइनलाई व्यवस्थापन गर्न नगरपालिकाले देवदह नपा–७ स्थित नेपाल मगर सङ्घको भवनमा साउन १५ गते सारिएको थियो । देवदह नपाका प्रमुख हीराबहादुर खत्रीले बिहान ४ बजेतिर फोन आएको र के कति कारणले घटना भएको हो भन्ने बुझ्न बाँकी रहेको बताउनु भयो ।
सुदूरपश्चिम प्रदेश
कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार सुदूरपश्चिममा कोराना सङ्क्रमित बढेसँगै सङ्घीय सरकारको सहयोगमा कैलालीमा थप एउटा कोरोना परीक्षण प्रयोगशाला स्थापना गरेको छ । स्वास्थ्य कार्यालयमा स्थापना गरेको प्रयोगशालाको पीसीआर मेसिनसहितका उपकरण जडान कार्य सम्पन्न भएको र मेसिनको भ्यालिडेसन भइरहेकाले साउन २२ गतेबाट प्रयोगशाला सञ्चालनमा आउने सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताउनु भयो । जनशक्तिको व्यवस्थापन भए दैनिक १ हजार जनाको स्वाब परीक्षण गरिने सूचना अधिकारी श्रेष्ठको भनाइ छ ।
डोटी प्रतिनिधि बासुदेव जोशीका अनुसार कोराना महामारी फैलिएपछि जिल्लास्थित विभिन्न विद्यालयमा रहेको क्वारेण्टाइनमा राखिएका व्यक्तिहरूले विद्यालयमा क्षति पुर्याएका छन् । दिपायल सिलगढी नगरपालिका–८ लडागडामा रहेको मेलतोला आधारभूत विद्यालयको बालविकास कक्षामा क्वारेण्टाइन बनाइएपछि क्वारेण्टाइनमा बसेका व्यक्तिहरूले विद्यालयभित्र रहेका कार्पेट, चकटी, टेबललगायतका सामग्रीहरू नष्ट गरेको स्थानीय जयबहादुर खडायतले बताउनु भयो । भारतबाट फर्किएर विद्यालयको क्वारेण्टाइनमा बसेकाहरूले विद्यालयका सम्पूर्ण फर्निचर र कार्पेटहरू कोठाभित्र जलाइएको र विद्यालयलाई गोठजस्तै बनाइएको मेलतोला आधारभूत विद्यालयका प्रधानाध्यापक चक्रबहादुर साउदले बताउनु भयो । क्वारेण्टाइनमा बसेकाहरूले झण्डै ३ लाख बराबरको क्षति गरेको प्रधानाध्यापक साउदको भनाइ छ ।
यसैगरी, दिपायल सिलगढी नगरपालिका–८ स्थित सुनादेवी माविमा क्वारेण्टाइनमा बसेकाहरूले विद्यालयमा तारहरु चुडाइएको, जताततै दिसा पिसाब गरिएको, क्वारेण्टानका लागि दिएका लुगाकपडा र मदिराका बोतलहरू फालिएको तथा खानेपानीको ट्यााङ्की तोडफोड गरी विद्यालयको झण्डै २ लाख बराबरको क्षति गरेको सुनादेवी माविका प्रधानाध्यापक नवराज पाठकले बताउनु भयो । के आई सिंह गाउँपालिका–३ बासुदेवीका बासुदेव माविमा रहेको क्वारेण्टाइनमा बसेका व्यक्तिहरूले १ सय टेबलकुर्सीहरू तोडफोड गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरज ऐरले बताउनु भयो । झिमेमालिका माविका विद्यालयका टेबलकुर्सी जलाइएको र ढोका तोडफोड गरिएको व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर खड्काले बताउनु भयो । भुवनेश्वरी आधारभूत विद्यालयका पाँच ओटा कुर्सी र १० ओटा टेबलहरू तोडफोड गरिएको र बल्बहरू फुटाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमराज जोशीले बताउनु भयो ।
पूर्वीचौकी गाउँपालिका–७ स्थित भवानी आधारभूत विद्यालयका प्रधानाध्यापक जयबहादुर खड्काले क्वारेण्टाइनमा बसेकाहरूले विद्यालयमा जडान गरिएको सौर्य उर्जासमेत तोडफोड गरी काम नलाग्ने बनाइएको बताउनु भयो । पूर्वीचौकी गाउँपालिका–५ काँडामाडौँका अध्यक्ष पदम धानुकले आफूले विद्यालयको अनुगमन गर्दा अधिकाङ्क विद्यालयहरूमा क्षति भएको बताउनु भयो । दिपायल सिलगढी नगरपालिकामा रहेका विद्यालयमा तयार पारिएका क्वारेण्टाइनमा स्थानीयले नै क्षति गर्नु दुःखद् रहेको र विद्यालयमा भएको क्षतिको विवरण लिएर समाधानका लागि पहल गरिने नगरपालिका शिक्षा इकाइ प्रमुख मञ्जु थापाले बताउनु भयो । के आई सिंह गाउँपालिका शिक्षा इकाइ प्रमुख जयराज जोशीले गाउँपालिका क्षेत्रमा रहेका विद्यालयमा भएको क्षतिको विवरण प्राप्त भएको र समस्या समाधानका लागि गाउँपालिकालाई अनुरोध गरिएको बताउनु भयो । जिल्ला समन्वय समिति, डोटीका अध्यक्ष रामबहादुर ऐरले नागरिक समाजसहितको टोलीले क्वारेण्टाइन स्थापना गरिएका विद्यालयहरूको अनुगमन गर्दा विद्यालयमा क्षति भएको पाइएकाले सम्बन्धित नगरपालिका र गाउँपालिकालाई विद्यालय मर्मतका लागि आग्रह गरिएको बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
घाइते आन्दोलनकारीको उपचारका क्रममा मृत्यु
तेहृथुमको म्याङलुङ नगरपालिका–९ जिरीखिम्ती स्थायी घर भई सुनसरीको धरानमा बस्दै आएका ४२ वर्षीय लाजेहाङ लिम्बू (पदम लिम्बू) को उपचारका क्रममा चैत १० गते मृत्यु भएको प्रदेश न.१ पुन: नामाङ्कन संयुक्त…
ठेकेदारको लापरवाहीले निर्माणाधिन अस्पताल अलपत्र, स्थानीयलाई सास्ती
जिल्लाकै सबैभन्दा विकट मानिने तमानखोला गाउँपालिकाका नागरिकलाई सहज स्वास्थ्य सेवा पुर्याउँने उद्देश्यले ०७७ सालमा निर्माण सुरू गरिएको पालिकास्तरीय अस्पताल ठेकेदारको लापरवाहीका कारण अलपत्र बनेको छ । समयमै अस्पताल निर्माण कार्य…
श्रीमानको कुटाइबाट घाइते महिलाको उपचारको क्रममा मृत्यु
श्रीमानको कुटपिटबाट घाइते पुतलीबजार नगरपालिका– १३ निवासी कमला न्यौपाने सुवेदीको उपचारको क्रममा नर्भिक अस्पताल काठमाण्डौँमा ०७९ चैत ८ गते मृत्यु भएको छ । ०७९ माघ २२ गते राती श्रीमान लक्ष्मीप्रसाद…
बम विष्फोट र संगठित अपराधमा चार वर्ष कैद
बम विष्फोट गराई प्रहरीहरूको ज्यानमार्ने उद्योग गरेको र संगठित अपराध गरेको कसूरमा खड्ग नगरपालिका–९ लालपट्टीका ४१ वर्षीय पशुपति चौधरीलाई चैत ९ गते ४ वर्ष कैद सजाय भएको छ । जिल्ला…
कैद ठहर भएका बालकलाई संरक्षककै जिम्मा
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बोदेबर्साइन नगरपालिका–३ गौराका १२ बर्षीय बालकलाई चैत ९ गते अदालतले ६ महिना कैद सजाय गरेको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले ठहर गरेको…