कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन १२ गते)
कोरोना सङ्क्रमितको सङ्ख्या साउन १२ गते १ सय ३९ जनामा पुष्टि भएसँगै १८ हजार ७ सय ५२ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन १२ गते जारी गरेको प्रतिवेदनका अनुसार सङ्क्रमितमध्ये १३ हजार ७ सय ५४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । साउन १२ गते ६ सय २६ जना डिस्चार्ज भएका छन् । ४ हजार ९ सय ५० जनाको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये निको दर ७३.३ प्रतिशत रहेको मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदनमा उल्लेख छ । साउन १२ गते थप दुई जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार ८ सय १८ जनाको स्वाब परीक्षण गरिएको थियो ।
प्रदेश १
प्रदेश १ मा साउन १२ गते ५ सय १८ जनाको पीसीआर परीक्षण गरिएको छ । प्रदेश १ मा साउन १२ गतेसम्म ४० हजार १८ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले बताउनुभयो ।
मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार कोशी अस्पताल विराटनगरमा कार्यरत एक जना डाक्टर र एक जना नर्समा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि अस्पतालको ‘पोस्टनेटल वार्ड’ सील गरिएको छ । साउन ११ गते मध्यरातिदेखि पोस्टनेटल वार्ड सील गरी सङ्क्रमति नर्सको सम्पर्कमा रहेकाहरूको स्वाब सङ्कलन सुरू गरिएको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासले बताउनुभयो । विराट नर्सिङ होम (विराटनगर अस्पताल) मा कार्यरत चार जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । विराटनगरमा साउन १२ गते पुष्टि भएका सात जना सङ्क्रमित मध्ये चार जना विराट नर्सिङ होममा कार्यरत नर्स हुन् । यसअघि सो नर्सिङ होमका सञ्चालकमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । उनको उपचार काठमाडौँमा भइरहेको छ ।
प्रदेश २
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार कोरोना सङ्क्रमणको जोखिम बढेपछि राजगढ गाउँपालिकाले साउन १३ गतेदेखि अनिश्चितकालका लागि सार्वजनिक सेवाहरू बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष परमानन्द यादवले साउन १२ गते एक सूचना प्रकाशित गरी अर्को सूचना नआउञ्जेल गाउँपालिकाबाट प्रदान गरिने अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द रहने जानकारी गराउनु भयो । विश्वव्यापी रूपमा फैलिरहेको कोरोना सङ्क्रमण समुदायमा फैलिने सम्भावनालाई मध्यनजर गर्दै जोखिम न्यूनिकरणका लागि गाउँपालिका र वडा कार्यालयहरू समेतबाट प्रवाह हुने सार्वजनिक सेवा बन्द गरिएको सूचनामा उल्लेख छ ।
गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डाक्टर रणजितकुमार झा र स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले न्यून जनशक्ति र आवश्यक सामग्रीको अभावमा कोभिड–१९ रोकथाम र नियन्त्रणमा समस्या भएको बताउनु भएको छ । लकडाउन र निषेधाज्ञाका बीच साउन १२ गते राजविराज नगरपालिका कार्यालयमा आयोजित छलफल कार्यक्रममा आउनु भएका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई उहाँहरूले जनशक्ति र भिटिएमसहित स्वास्थ्य सामाग्रीको अभाव तथा तिब्रताका साथ समुदायमा फैलिरहेको कोरोनाको सङ्क्रमणले पार्ने प्रभावबारे जानकारी गराउनु भयो ।
धनुषा प्रतिनिधि दिपेन्द्र सिंहका अनुसार कमला नगरपालिकाको टेरहामा घर भएका किराना, हार्डवेयर र खाद्य सामग्रीको पसल सञ्चालन गर्दै आएका ३८ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट साउन ११ गते राति मृत्यु भएको धनुषाका आइसोलेशन संयोजक डाक्टर जामुनप्रसाद सिंहले बताउनु भएको छ । डाक्टर सिंहले एक विज्ञप्ति जारी गर्दै साउन १० गते उच्च ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भई इमरजेन्सी वार्डबाट आइसीयू वार्डमा भर्ना गरिए पनि स्वास्थ्य अवस्थामा सुधार नभएपछि चिकित्सक र परिवारका सदस्यहरूको सल्लाहले थप उपचारको लागि सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएपछि बाटोमै मृत्यु भएको उल्लेख गर्नुभएको छ ।
बारा प्रतिनिधि भोलानाथ पौडेलका अनुसार फेटा गाँउपालिकाका ६० वर्षीय पुरुषको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा साउन १२ गते बिहान २ बजेको समयमा नोबेल कोरोना भाइरस (कोभिड–१९) रोगको उपचारका क्रममा मृत्यु भएको फेटा गाँउपालिकाका अध्यक्ष अमिरिलाल प्रसादले जानकारी दिनु भयो । सङ्क्रमित मृतक पुरूष निमोनिया, मष्तिष्कघात र मृगौलाको उपचार गराइरहनु भएको गाँउपालिकाका स्वास्थ्य संयोजक कुरान अलिले बताउनु भएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १६ गते)
असार १६ गते ३६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मकवानपुरको कैलाश गाउँपालिका–१० घर भई हाल कीर्तिपुर नगरपालिका कीर्तिपुर नगरपालिका–५ पागांलाछी बस्दै आएका २० वर्षीय साजन प्रजालाई प्रहरीले असार १५ गते राती गिरफ्तार गरेको…
जलाउँदै गरेको शव प्रहरीद्वारा नियन्त्रण, घटनाको अनुसन्धान सुरु
बहुदरमाई नगरपालिका–७, बिश्रामपुर टोलकी १५ वर्षीया महिमाकुमारी साह कलवारलाई आफ्नै परिवारका सदस्यले कुटपिट गरेका कारण मृत्यु भएको आरोपमा प्रहरीले बहुदरमाई नगरपालिका–७, छपकैयाबाट जलाइरहेको शव असार १५ गते राति नियन्त्रणमा लिएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले बागलुङ नगरपालिका–७ का ३२ वर्षीय नवराज गौतमलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका —६ का २० वर्षीय राजकुमार रम्तेललाई असार १३ गते गिरफ्तार गरेको छ । अर्का आरोपित कटारी नगरपालिका—६ का २२ वर्षीय देवराज…