कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन १० गते)

  ०७७ साउन १० गते

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १८ हजार ४ सय ८३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन १० गते जारी गरेको प्रतिवेदनका अनुसार सङ्क्रमितमध्ये १३ हजार ५३ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । ५ हजार ३ सय ८५ जनाको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये निको दर ७०.६ प्रतिशत रहेको मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदनमा उल्लेख छ । साउन १० गतेसम्म कोरोना सङ्क्रमणबाट ४५ जनाको मृत्यु भएको छ । मन्त्रालयले २४ घण्टामा १ सय ६ जना निको भएका र १ सय ९ जनामा कोरोना देखिएको जनाएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार ७५ जनाको स्वाब परीक्षण गरिएको थियो । साउन १० गतेसम्म ३ लाख ३९ हजार १ सय ५७ जनाको स्वाब परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । साउन १० गते १८ हजार १ सय ८३ जना क्वारेण्टाइनमा रहेका छन् ।

 

प्रदेश २

प्रदेश २ मा साउन १० गते सम्ममा जम्मा ४ हजार ८ सय १७ जना कोरोना सङ्क्रमित पुगेकोमा २ हजार ८ सय ९८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । प्रदेशमा हाल १ हजार ९ सय ९ जना सङ्क्रमितहरू उपचाररत छन् । साउन १० गते सम्ममा १० जना सङ्क्रमितको मृत्यु भएको नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार उपचाररत बिरामीमा कोरोना सङ्क्रमित पुष्टि भएपछि सिल गरिएको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको आकस्मिक कक्ष साउन १० गतेबाट सुचारु भए पनि सेवा प्रभावित बनेको छ । नियमित परीक्षण र रेखदेखमा खटिएका चार चिकित्सकसहित अहेव, हेल्थ असिष्टेण्ट गरी १४ जना स्वास्थ्यकर्मीलाई एकै पटक स्थानीय होटलको क्वारेण्टाइनमा राख्नु पर्दा सेवा सञ्चालनमा कठिनाई भएको बताउँदै अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रणजितकुमार झाले अन्य वार्ड र फाँटका सीमित कर्मचारीलाई खटाएर सेवा सञ्चालन गर्नु परेको जानकारी दिनु भयो ।

त्यसै गरी, क्वारेण्टाइनमा रहेका चिकित्सक र स्वास्थ्यकर्मीहरूले साउन ८ गते रातिदेखि खान नपाएको भन्दै इन्सेक प्रतिनिधिलाई साउन ९ गते बिहान ९ बजे फोन गरी समाधानका लागि आग्रह गरेका छन् । साउन ८ गते बिहानदेखि ड्युटीमा रहेकोमा रातिको खानाको व्यवस्था नहुँदा चाउचाउ किनेर भोक टारेको र बिहान नास्ता पनि नपाएको भन्दै एक स्वास्थ्यकर्मीले सो आग्रह गरेका हुन् । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर झालाई समस्या समाधानको लागि आग्रह गर्दा उहाँले होटलमा कामदार नभएकाले राति खाना नपाएपछि फास्टफुडको व्यवस्था मिलाइएको र साउन ९ गते बिहान सबै जनालाई एउटै होटलमा सारेर बस्ने र खाने सम्पूर्ण व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

पर्सा प्रतिनिधि कृष्णचन्द्र लामिछानेका अनुसार साउन ८ र ९ गते कोरोना सङ्क्रमण पुष्टि भएका  पटेर्वासुगौली गाउँपालिकाका एक जना, सखुवाप्रसौनी गाउँपालिकाका तीन जना र वीरगंज महानगरका २६ जना सङ्क्रमितलाई आइसोलेशन बेडको अभावमा होम क्वारेण्टाइनमा बस्न भनिएको छ । नारायणी अस्थायी कोभिड गण्डक अस्पतालको आइसोलेशन भरिभराउ भएको र सिद्धार्थ माविको प्रि–आइसोलेशनमा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको अभावले सङ्क्रमित राख्ने वातावरण नभएको हुँदा अहिले देखिएका कोरोना सङ्क्रमितहरूलाई आइसोलेट गर्न समस्या भएको हो । गण्डक अस्पतालमा अहिले ५४ जना सङ्क्रमित छन् । ७० शैयाको आइसोलेशनमा १० वार्ड चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको लागि र १० वार्ड आइसियू बनाइएको छ भने ५० शैया आइसोलेशन सर्वसाधारणको लागि छुट्याइएको छ । वीरगंज महानगरपालिकाले सिद्धार्थ माविमा १ सय ९० शैया प्रि–आइसोलेशन तयार गरेको थियो । यसअघि नारायणी कोभिड अस्पताललाई जनरल अस्पतालमा परिणत गर्दा त्यतिखेर सङ्क्रमित देखिएका १७ जनालाई प्रि–आइसोलेशनमा राखिएको थियो । अहिले प्रि–आइसोलेशन दुई महिनादेखि खाली छ । त्यहाँ स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरू छैनन् । यसबारे वीरगंज महानगरप्रमुख विजय सरावगीले सङ्क्रमितहरूको लागि प्रि–आइसोलेशन महानगरपालिकाले निर्माण गरिदिएको र त्यसको सम्पूर्ण व्यवस्थापन नारायणी अस्पतालले गर्नु पर्ने बताउनु भयो ।


अनलाइन डेस्क